१ वैशाख, तेह्रथुम । पूर्वी नेपालको पर्यटकीय गन्तव्य चो?लुङ पार्कदेखि तिनजुरे हुँदै गुफापोखरीसम्मको क्षेत्र नयाँ वर्षसँगै पर्यटकको प्रमुख रोजाइ बन्दै आएको छ ।
तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम क्षेत्रमा फैलिएको टिन्जुरे-मिल्के-जलजले (त्:व्) पदमार्ग अहिले प्रकृतिप्रेमी, घुमफिरका सौखिन तथा फोटोग्राफरहरूको आकर्षणको केन्द्र बनेको छ ।
वसन्त ऋतु सुरु भएसँगै यो क्षेत्र गुराँसको रंगीन संसारमा परिणत हुन्छ । ‘गुराँसको राजधानी’का रूपमा परिचित यस क्षेत्रमा नयाँ वर्षका दिन हजारौंको संख्यामा पर्यटकहरू पुग्ने गरेका छन्।
विभिन्न प्रजातिका गुराँसले डाँडाकाँडालाई राताम्ये बनाउँदा यहाँको प्राकृतिक सौन्दर्य झन् आकर्षक बन्छ । तिन्जुरे डाँडादेखि मिल्के र जलजले क्षेत्रसम्म फैलिएको गुराँसे वनले पर्यटकलाई लोभ्याउने प्रमुख आधार बनेको छ ।
चो?लुङ पार्क यस क्षेत्रको प्रवेशद्वारजस्तै हो । यहाँबाट सुरु हुने यात्रा आरआर गार्डेन, घुर्बिसे, पाथीभरा हुँदै उकालो चढ्दै तिनजुरे डाँडासम्म पुग्छ ।

तीनजुरेबाट देखिने कञ्चनजंघा, मकालु र कुम्भकर्ण हिमालको मनोरम दृश्यले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ । तिनजुरेबाट अगाडि बढ्दा पर्यटकहरू चौकीबजार र मंगलबारे हुँदै मिल्के–जलजले क्षेत्रको काखमा अवस्थित गुफापोखरी पुग्छन्।
धार्मिक तथा प्राकृतिक दुवै दृष्टिले महत्वपूर्ण गुफापोखरीको शान्त वातावरण, वरिपरि फैलिएको गुराँसे वन र चिसो हावाले पर्यटकलाई आध्यात्मिक तथा मानसिक शान्ति प्रदान गर्छ ।
नयाँ वर्षका दिन यहाँको चहलपहल झन् बढ्ने गर्छ । नेपालका पूर्वी तराईका जिल्लाबाट मात्र होइन, छिमेकी भारतका सिक्किम, दार्जिलिङ र पश्चिम बंगालबाट समेत हजारौं पर्यटकहरू यहाँ आउने गरेका छन्। गुराँस फुल्ने मौसम, हिमालको दृश्य र चिसो मौसममा नयाँ वर्ष मनाउने उद्देश्यले पर्यटकहरूको उल्लेख्य भीड लाग्ने गरेको स्थानीयवासी बताउँछन् ।
पर्यटकहरूको बढ्दो चापसँगै यहाँका होटल तथा होमस्टेहरू भरिभराउ हुने गरेका छन्। गुफा बजारका होटल व्यवसायी हिमा खनालका अनुसार नयाँ वर्ष र गुराँस फुल्ने सिजनमा बस्नका लागि दुई–चार दिन अगावै कोठा बुक गर्नुपर्ने अवस्था हुन्छ । स्थानीय श्रीप्रसाद कार्कीका अनुसार यो सिजनमा होटल मात्र होइन, होमस्टेहरूले समेत पर्यटकको चाप धान्न मुस्किल हुने गरेको छ ।
यस क्षेत्रमा ठूला तथा साना दुवै सवारीसाधनबाट सहजै पुग्न सकिने भएकाले पनि पर्यटकहरूको आकर्षण बढ्दो छ । सडक पहुँच विस्तार भएसँगै मोटरसाइकल, जिप र बसमार्फत पर्यटकहरू सिधै नजिकसम्म पुग्ने गरेका छन्। यही सहज पहुँचले त्:व क्षेत्रलाई अन्य दुर्गम पर्यटकीय गन्तव्यभन्दा फरक बनाएको छ ।
बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न घुर्बिसे क्षेत्रमा बसपार्क निर्माण गरिएको छ । यसले सवारी व्यवस्थापन, ट्राफिक नियन्त्रण र पर्यटकको आवतजावतलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । स्थानीय तह र समुदायको सहकार्यमा गरिएको यस्तो प्रयासले पर्यटन प्रवर्द्धनमा थप टेवा पुगेको देखिन्छ ।
त्:व क्षेत्र जैविक विविधताको दृष्टिले पनि समृद्ध छ । यहाँ सयौं प्रजातिका वनस्पति, दुर्लभ जडीबुटी, चराचुरुङ्गी तथा वन्यजन्तु पाइन्छन्। ट्रेकिङका हिसाबले पनि चो?लुङ पार्कदेखि गुफापोखरीसम्मको यात्रा शान्त, सुरक्षित र अत्यन्त रमणीय मानिन्छ । गाउँ–गाउँ जोड्ने पदमार्ग, स्थानीय संस्कृति, होमस्टे र अर्गानिक खानाको अनुभवले पर्यटकलाई ग्रामीण जीवनसँग नजिक बनाउँछ ।
यद्यपि, यति धेरै सम्भावना हुँदाहुँदै पनि पूर्वाधार विकास, प्रभावकारी प्रचार–प्रसार र दीर्घकालीन पर्यटन व्यवस्थापनमा अझ सुधार आवश्यक देखिन्छ । सम्बन्धित निकायले योजनाबद्ध रूपमा काम गर्न सकेमा यो क्षेत्र नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा अझ स्थापित हुन सक्ने देखिन्छ ।
नयाँ वर्षमा चो?लुङ पार्कदेखि तिन्जुरे हुँदै गुफापोखरीसम्मको यात्रा प्रकृति, संस्कृति र शान्तिको खोजीमा निस्कनेहरूसँगै साहसिक पदयात्रा रुचाउनेहरूका लागि उत्कृष्ट रोजाइ बनेको छ । गुराँसले रंगिएको डाँडा, हिमालको मनमोहक दृश्य, सहज पहुँच र व्यवस्थित सवारी व्यवस्थापनले यो क्षेत्रलाई साँच्चिकै ‘नयाँ वर्षमा घुम्नैपर्ने गन्तव्य’का रूपमा स्थापित गरेको छ ।



प्रतिक्रिया 4