News Summary
Generated by OK AI. Editorially reviewed.- माथवरसिंह थापा वि.सं. १९०२ जेठ ६ गते आफ्नै भाञ्जा जङ्गबहादुरको हातबाट गोली लागेर मृत्यु भए।
- भीमसेन थापाले वि.सं. १८९६ साउन १५ गते आत्महत्या प्रयास गरे र साउन २३ गते प्राण त्यागे।
- माथवरसिंह थापाले वि.सं. १८९९ माघमा भारतबाट नेपाल फर्किएर वि.सं. १९०० वैशाख ७ गते प्रधानमन्त्री पद सम्हाले।
अनेकौं खेलचुक्ली, षड्यन्त्र र खुराफात नेपाली राजनीतिको विशेषता रहँदै आएको छ । नेपाली राजनीतिमा देखिएको यस्तो नियतिले नेपालीको शिर विश्वमा उँचो बन्न सकेको छैन । सर्वसाधारणका लागि शान्ति र समृद्धि मृगतृष्णा बनेको छ ।
इतिहासतिर फर्केर हेर्दा कुनै समय नेपालमा जो सत्ताको बागडोर सम्हाल्न पुग्थ्यो, उसको मरण कालगतिले हुँदैनथ्यो । आफ्नो ज्यान कतिखेर तल–माथि हुने हो; त्यो पत्तो हुँदैनथ्यो, तत्कालीन भारदारहरूलाई । पृथ्वीनारायण शाहपछि उनका छोरा नातिहरू गतिला शासक देखिएनन् । फलत: विभिन्न खलकका भारदारहरूले आपसमा शक्ति सङ्घर्ष गर्ने अवसर पाए । आपसी काटमार चल्यो । समयक्रममा कोतपर्व पनि आइपुग्यो । त्यसपछि नेपाल एउटा अँध्यारो युगको यात्रातिर धकेलियो । समयले कहाँ फड्को मारिसक्यो, तर आज नेपाल संसारको गरीब र भ्रष्ट देशहरूको सूचीको अग्रस्थानमा छ ।
राजा रणबहादुर शाहको शासनकालपछि बगाले थापा परिवारका भीमसेन थापाको उदय भयो । ३१ वर्ष उनले नै नेपालको खास शासन चलाए । उनका माहिला भाइ काजी नयनसिंह थापाका कान्छा छोरा माथवरसिंह थापाले पनि एक समय नेपालको शासन चलाउने अवसर पाए ।
तत्कालीन मुख्तियार भीमसेन थापाका छोरा थिएनन्, काँगडामा युद्ध लड्दालड्दै ज्यान गुमाउने आफ्ना भाइका सन्तान भएकाले माथवरसिंह उनका धर्मपुत्र बराबर थिए । माथवरसिंहको जन्म वि.सं. १८५५ कात्तिक ९ गते भएको थियो । उनले १७ वर्षकै उमेरमा कप्तान दर्जा पाएका थिए (बाबुराम आचार्य, ‘जनरल भीमसेन थापा: यिनको उत्थान तथा पतन’–२०६९:३–४) । पछि यिनको पदोन्नति हुँदै जाँदा भीमसेन थापाकै समयमा कर्णेल हुँदै छोटा जनरलसम्म भए ।
भीमसेन थापा सर्वेसर्वा हुँदा माथवरसिंह पनि उत्तिकै शक्तिशाली थिए । उनलाई महत्त्वपूर्ण जिम्मेवारीहरू प्रदान गरिंदै आएको थियो । जब नायव महारानी ललित त्रिपुरसुन्दरीको देहान्त भयो, तब भीमसेन थापाको पतनको दिन शुरु भयो । बगाले थापा परिवारका सदस्यहरूले गोता खान थाले ।
भीमसेन थापाले थुनामै रहेको बेला वि.सं. १८९६ साउन १५ गते आत्महत्या प्रयास गरे । उनको अर्धमृत शरीरलाई विष्णुमती किनारमा लगेर बेवारिस रूपमा राखियो । साउन २३ गते उनले प्राण त्यागे (आचार्य, २०६९:२१६) । त्यो बेला माथवरसिंह स्वदेशमा थिएनन् । पछि रानी राज्यलक्ष्मीको जोडबलमा राजा राजेन्द्रले उनलाई स्वदेश झिकाएर सत्ताको बागडोर सम्हाल्ने जिम्मेवारी दिए । तर उनले लामो समय शासन गर्न पाएनन्, कतिसम्म भने आफ्नै भाञ्जा जङ्गबहादुरको हातबाट उनले ज्यान गुमाए ।

यो लेखमा उनै माथवरसिंह थापाले राजनीतिक जीवनमा भोगेको उतारचढावबारे सङ्क्षिप्त चर्चा गरिएको छ ।
बेलायत जाने प्रयास
नेपाल र अङ्ग्रेज बीचको युद्धपछि तत्कालीन मुख्तियार जनरल भीमसेन थापा कट्टर अङ्ग्रेज विरोधीका रूपमा चिनिएका थिए । पछि उनले अङ्ग्रेजसँग सम्बन्ध सुधार गर्ने प्रयास गरेका थिए । त्यही ध्येयले आफैं पनि बेलायत जाने इरादा राखेका थिए । तर उनको अभिलाषा पूरा हुन सकेन । त्यसपछि आफ्ना भतिजा माथवरसिंह थापालाई उनले बेलायत पठाउन दलबलसाथ बिदा गरे । माथवरसिंह थापा नेपालको प्रतिनिधिका रूपमा आफ्ना अनुयायीहरू साथ भारतको तत्कालीन राजधानी कलकत्तासम्म पुगेर त्यहाँका अङ्ग्रेज अधिकारीहरूसँग भेटघाट र शिष्टाचार गर्दै रहे तापनि बेलायतबाट राजकीय सम्मान हुने खालको निमन्त्रणा नपाएपछि साधारण यात्रुसरह भएर जान नचाही उनी त्यहींबाट फर्केर आए (ज्ञानमणि नेपाल, “नेपालको महाभारत”–२०५२:१०४) ।
माथवरसिंहको नेतृत्वमा बेलायत जाने टोलीका उनकै छोरा कप्तान रणउज्ज्वलसिंह, रनजोर थापा, कप्तान सुरतसिंह पन्थ, लप्टन फौदसिंह थापा, वकील लोकरमण उपाध्याय, मुन्सी लक्ष्मीदास, सुबेदार डिल्लीसिंह बस्न्यात, गम्भीरसिंह अधिकारी, खरिदार शिवनारायण र काजी जङ्गबहादुर कुँवर थिए (नेपाल, २०५२:१२२) ।
यो भ्रमण सफल भए नेपाललाई अङ्ग्रेजले स्वतन्त्र राष्ट्रको मान्यता दिने आशामा तत्कालीन राजा राजेन्द्रविक्रम र रानी साम्राज्यलक्ष्मी भीमसेन थापासँग प्रसन्न थिए । यही हौसलामा वि.सं. १८९२ असोजमा मुख्तियार मात्रै रहेका भीमसेन थापालाई कमाण्डर इन चिफ पद पनि प्रदान गरियो । त्यसको केही दिनपछि माथवरसिंह आफ्नो टोलीका साथ लण्डनका लागि कलकत्तातर्फ प्रस्थान गरे ।
उनको साथ कलकत्तासम्म मात्र जाने सर्वसाधारण र सैनिकको सङ्ख्या ६५० थियो । माथवरसिंहलाई इष्ट इण्डिया कम्पनीका तत्कालीन कार्यवाहक गभर्नर जनरल सर चार्ल्स मेट्काफले भव्य स्वागत गरे । कलकत्तामा माथवरसिंहको निकै ठूलो ठाँटबाँट थियो । उनले त्यहाँका अत्यधिक मात्रामा खर्चको खोलो बगाएका थिए (आचार्य, २०६९:१५३) ।
बेलायत भ्रमणका लागि हिंडेका माथवरसिंहको कलकत्ता बसाइको बारेमा एउटा पुरानो लेखोटमा यस्तो लेखिएको छ, “कलकत्ताको लाठबाट खबर हुँदा छोटा जनरल माथवरसिंह थापालाई हुकुम दिई तीन सय लेटर झिकेर पगरीहरूलाई समेत मोती जडेको कुर्था र पोशाक दिई बहुत ठस्सा गरी पठाए । माथवरसिंह थापाले पनि कलकत्तामा पुगी लाठसँग मुलाकात गरे आफ्नो दबदबाउ पाइन राखे । कलकत्ता शहरमा हात्ती चढी गल्ली गल्लीमा रुपियां छरेर ठूला ठूला कस्वी बिब्बीहरूको नाच तमाशा हेरे । त्यहाँ भारी भारी इनाम बक्स दिई सरकारको इज्जत राखे” (“प्राचीन नेपाल”, सङ्ख्या २५–कात्तिक २०३०:४) ।
तर माथवरसिंहलाई बेलायतले भिसा दिएन । त्यहाँका कार्यवाहक गभर्नर जनरल मेट्काफले एक स्वतन्त्र राष्ट्रको राजदूतका रूपमा लण्डन जाने अनुमति नदिई त्यतैबाट फर्काइदिए । आचार्य (२०६९:१५४) अनुसार नेपालका तत्कालीन अङ्ग्रेज राजदूत बी.एच. हज्सनले सम्भवत: एक गोप्य कलकत्ता पठाई माथवरसिंहलाई लण्डन प्रस्थानको लागि भिसा नदिन खबर गरे ।
त्यसपछि उनको बेलायत जाने योजना सफल हुन सकेन भने त्यसले यता मुख्तियार जनरल भीमसेन थापाको राजनीतिक शक्तिमा निकै ठूलो धक्का पर्न गयो ।
बाघ समात्ने बहाना लाहुर
भीमसेन थापाको पतन हुनै लाग्दा भारततिर हिंडेका माथवरसिंह थापा प्रधानमन्त्री हुनुभन्दाअघि विदेशी सेनामा काम गर्थे । अर्थात् उनी लाहुरे थिए । उनी लाहुरे अवस्थामा रहँदा रानी राज्यलक्ष्मीको चाहनामा राजा राजेन्द्रले उनलाई नेपाल झिकाएका हुन् ।
जब नायव महारानी ललितत्रिपुरसुन्दरीको वि.सं. १८८८ मा देहान्त भयो, तब लामो समयदेखिको भीमसेन थापाको एकलौटी सत्ता धर्मराउन थाल्यो । राजा राजेन्द्र जवान हुँदै गएपछि तत्कालीन मुख्तियार तथा कमाण्डर इन चिफ भीमसेन थापाको अधिकार कटौती गर्न थाले ।
काजी दामोदर पाँडेको हत्यापछि विस्थापित अवस्थामा रहेका पाँडे परिवार भारदारीमा पुनर्स्थापित हुने क्रम दामोदरका छोरा रणजङ्गले भारदारी जिम्मेवारी पाएका र उनी आफ्नो बुबाको हत्याको बदला लिने दाउमा थिए ।
वि.सं. १८९४ को पजनीमा राजा राजेन्द्रले भीमसेन थापाको हातमा रहेको फौजी तैनाथीको अधिकार आफ्नो हातमा लिएकै बेला साउन ११ गते जेठी महारानीतिरका बालक छोरा देवेन्द्रविक्रम शाहको निधन भयो । उनलाई विष प्रयोग गरी मारेको अभियोग भीमसेन थापामाथि पर्यो उनलाई पल्टन लगाएर उनकै बागदरबारमा गिरफ्तार गरियो (गंगा कर्माचार्य (हाडा), “सिनास जर्नल” वर्ष २७ अङ्क २– जुलाई २०००:२७३) ।
भीमसेन थापामाथि लागेको विष मुद्दाका क्रममा थापा परिवारका सबैजसो सदस्य मुछिएका थिए, त्यसमा माथवरसिंह अछुतो थिएनन् ।
तत्कालीन राजगुरु पण्डित रङ्गनाथ पौडेलको विशेष आग्रहपछि राजा राजेन्द्र र रानी साम्राज्यलक्ष्मीबाट थापा परिवारले विष मुद्दाबाट सफाइ पाए । त्यसपछि भीमसेन थापा आफ्नै मूल घर गोरखाको बोर्लाङ गएर बस्न थाले भने उनका भतिजा माथवरसिंह चाहिं तराईमा सेतो बाघ आएको छ भन्ने हल्लाले त्यसलाई पक्रन जाने बहानामा तराईतिर लागी त्यतैबाट भारततिर पलायन भए (बाबुराम आचार्य, “अब यस्तो कहिल्यै नहोस्”–२०६८:८३) ।
भारततिर गएका उनी विदेशी सेना काम गर्न थालेका थिए । फेरि राजदरबारभित्र भीमसेन थापामाथि लगाइएको विष मुद्दा बल्झियो । थापा परिवारका सदस्यमध्ये भीमसेन थापाका भाइ रणवीरसिंह थापा जोगी बनिसकेका र अङ्ग्रेज राज भएको सिमलामा भएकाले माथवरसिंह भने पक्राउ पर्नबाट बचे (आचार्य, २०६८:८५) ।
इतिहासकार रामजी उपाध्याय “नेपालको इतिहास अर्थात् दिग्दर्शन” (२००७:२२८)ले माथवरसिंह लाहोर पुगी त्यहाँको पञ्जावी सेनामा जर्नेली पदमै भर्ना भई सेवा गरेको उल्लेख गरेका छन् । इतिहासकार नेपाल (२०५२:२३०) ले भने सिमलामा रहेर उनले अङ्ग्रेज सेनामा जागिर खाएका र त्यहाँ उनको तलब मासिक एक हजार रुपैयाँ रहेको उल्लेख गरेका छन् ।
त्यो बेला मासिक एक हजार रुपैयाँ सानो रकम होइन । त्यति धेरै रकम तलब बुझ्ने उनी राजारानीबाट राम्रो जिम्मेवारी पाउने आश्वासनका साथ स्वदेश बोलावट हुँदा हजारौं रुपैयाँका सौगात र उपहार बोकेर आएका थिए (आचार्य, २०६८:९७) ।
यता “प्राचीन नेपाल” (२०३०:६–७) मा प्रकाशित एउटा पुरानो लेखोटमा भने माथवरसिंहलाई पञ्जावको राजा रणजित सिंहसँग सौहार्द भेटघाट गर्न पठाइएको तर रणजित सिंह र उनका छोरा खड्गसिंह परलोक भएकोले उनी लाहोरमै रहेको उल्लेख छ । उक्त लेखोट अनुसार पाँडेहरूले माथवरसिंह विरुद्ध नेपालस्थित अङ्ग्रेज दूत ब्राइन हज्सनसमक्ष अनेक कुरा लगाएका कारण उनलाई लाहोरबाट झिकाएर लुधियानमा ल्याई कैद गरिएको थियो ।
लुधियानामा आठ महिना कैदमा परेका उनी सिमलामा रहेका लाठ साहेव लगायत अङ्ग्रेज अधिकारीहरूको सल्लाहमा उनलाई सिमला झिकाइयो । उनी गोरखाली जनरल रहेका र उनको कलकत्तामा फोटो खिचेर बेलायत पनि पठाइएको थाहा भएपछि उनलाई सिमला झिकाइएको थियो । आफूलाई झिकाइएपछि उनी पञ्जावी पोशाक, हीराको माला, मोती पन्ना जडिएका गहनाका साथ ढाल तरबार भिरेर घोडामा चढी सिमला पुगेका थिए । उनलाई अङ्ग्रेज लाठ साहेबले टोप फुकालेर इज्जतका साथ स्वागत गरेका थिए ।
यताबाट हेर्दा माथवरसिंहले पहिले लाहोरमा पुगी पञ्जावी सेनामा सेवा गरेका र पछि त्यो छाडी सिमला आएर अङ्ग्रेज सेनामा सेवा गरेका थिए भन्ने अनुमान हुन्छ ।
नेपालमा पाँडेहरू सत्तामा हुँदा उनीहरूले अङ्ग्रेजविरोधी गतिविधि बढाएका कारण तत्कालीन अङ्ग्रेज राजदूत हज्सन उनीहरूदेखि चिढिएका थिए । त्यसबेला कान्छी महारानी राज्यलक्ष्मीको शक्ति क्रमश: बढ्दै गइरहेको थियो भने पाँडेहरूको सत्ता पतनोन्मुख थियो ।

आफ्ना छोरा रणेन्द्रलाई राजा बनाउने महत्वाकाङ्क्षाले उग्र रानी राज्यलक्ष्मीले सिमलामा रहेका माथवरसिंहलाई झिकाएर सत्ताको बागडोर सुम्पन्ने चाँजोपाँजो मिलाएर उनलाई नेपाल झिकाउन वि.सं. १८९९ माघमा मानिस दौडाइन् । तर उनी झट्टै काठमाडौं आएनन्, भारतभूमि गोरखपुरमा अडिएर परिस्थिति बुझ्दै रहे ।
उनलाई मुख्तियार वा प्रधानमन्त्री दिने भन्ने विश्वास दिलाएर काठमाडौं लिएर आउन रानी राज्यलक्ष्मीले उनकै भाञ्जा जङ्गबहादुरलाई खटाइन् । राज्यको बागडोर सम्हाल्ने गरी वि.सं. १९०० वैशाख ७ गते सजधजका साथ काठमाडौं उत्रिए । उनको भव्य स्वागत भयो (आचार्य, २०६९:१७५–७८) ।
उनलाई मिनिस्टर एण्ड कमाण्डर चिफमा नियुक्त गरियो । त्यो बेला मिनिस्टर भन्नाले मुख्तियार वा प्रधानमन्त्री भन्ने हुन्थ्यो । उनलाई नियुक्तिको लालमोहर दिइँदा “जिउताभरका लागि” भन्ने परेकोले उनलाई आजीवन पदमा रहने गरी नियुक्त गरिएको थियो (नेपाल, २०५२:१८०) ।
उनलाई मिनिस्टर एण्ड कमाण्डर चिफको पदीय हैसियतअनुसार विभिन्न अधिकार प्रदान गरिएको वि.सं. १९०१ वैशाख वदी ५ रोज २ को रुक्का यो लेखसँगै प्रकाशित छ ।
साह्रै बलिया, उत्तिकै घमण्डी
माथवरसिंह थापा निकै बलिया थिए । राजदरबारभित्र भने उनी विरुद्ध षडयन्त्र भइरहेको थियो । राजा राजेन्द्रविक्रम र रानी राज्यलक्ष्मीको निर्देशन अनुसार काजी गगनसिंहसँगको मिलेमतोमा उनकै भाञ्जा जङ्गबहादुर गोली हान्न तयार भएर बसेका थिए । रानी सिकिस्त बिरामी भएकीले दरबार आउनू भन्ने खबरका साथ उनलाई बोलाउन कुलमानसिंहलाई उनको घर बागदरबार पठाइयो ।
त्यस्तो मध्यरातमा दरबारबाट बोलावट आउँदा आशङ्का गरी उनका छोरा रणोज्ज्वलसिंहले केही आठपहरिया (अङ्गरक्षक)का साथ जाने अनुरोध गरेका थिए (नेपाल, २०५२:१८७) । यिनकी आमा रणकुमारीले पनि “रातको समय एक्लै नजानू, भरोसिला साथीहरू लिएर मात्रै जानू” भन्ने सल्लाह दिएकी थिइन् । तर यिनले “मलाई कसले के पो गर्न सक्छ र ?” भन्दै आमाको सल्लाहलाई उल्लङ्घन गरेका थिए ।
यस्तै मुख्य अङ्गरक्षकले “यसरी रातको समय राजदरबारमा एक्लै जानु ठीक हुँदैन, भोलि उज्यालो भएपछि मात्रै जानु उपयुक्त होला” मात्रै के भनेका थिए उनले “डर लाग्छ भने तँ नजा, म एक्लै भए पनि जान्छु” भन्दै आफूलाई बोलाउन आउने कुलमानसिंहका साथ उनी रातको समय राजदरबारतिर लागे (आचार्य, २०६८:१०९) ।
जब उनी राजदरबार पुगे, एक जना केटी मुस्कुराउँदै उनको छेउ आइन् र माथि जान आग्रह गरिन् । माथवरसिंह भर्याङ उक्लँदै गए, कुलमानसिंहले बाहिरबाट सबै ढोका एक–एक गरी बन्द गरिदिए । जङ्गबहादुर लोड गरिएको बन्दुक बोकेर तयारी हालतमा थिए भने षडयन्त्रको रचनाकार गगनसिंह पहरेदार भएर बसेका थिए ।
अचूक निशानावाज जङ्गबहादुरले प्रहार गरेको गोलीमध्ये एउटा माथवरसिंहको छातीमा लाग्यो र अर्को चाहिं हातमा । उनी रक्ताम्य भएर ढले । उनी कतिसम्म बलशाली थिए भने प्राण जाने बेलामा लात्तीले हानेर काठको भर्याङ टुक्राटुक्रा पारिदिए (पद्मजङ्ग राणा, “जङ्गबहादुरको जीवनयात्रा”–२०७४:५४) ।
वि.सं. १९०२ जेठ ६ गते आफ्नै भाञ्जा जङ्गबहादुरबाट मारिएका थिए तत्कालीन शक्तिशाली प्रधानमन्त्री माथवरसिंह थापा ।
माथवरसिंह जङ्गबहादुरको हातबाट मारिए पनि राजा राजेन्द्रले तत्काल माथवरसिंहलाई आफूले मारेको घोषणा गरे । उनले वि.सं. १९०२ वैशाख सुदी १२ रोज १ (जेठ ७ गते) भारतमा रहेका वकील बमबहादुर कुँवरलाई लेखेको पत्रमा “निमकहराम मातवरसिंथापाले…हामि दुवैको कुरा नमानी श्री ५ नानी महाराजधिराजलाई र मलाई बझाई उस्का घरैमा हाम्रो सवारी हुँदामा पनि देषाहा न पर्न्या यस्तै तवरसित ढेरै वढि मिचीकन काम गर्न लाग्यो हामिसित गर्याको धर्म पनि नराषि हाम्रो इज्जत लियो…तिमक हराम् माथवसिं थापालाई मेरा वावहुलीले पहिले बन्दुक वाहापछि तरवार चलाई मारि वक्स्यां…” (योगी नरहरिनाथ, “इतिहासप्रकाशमा सन्धि पत्र सङ्ग्रह” भाग १–२०५५:१०७) भन्ने उल्लेख छ ।
माथवरसिंह कतिसम्म बलशाली थिए भन्ने बयान इतिहासकार नेपाल (२०५२:१८७)ले गरेका छन् । उनी दशैंमा मार हान्दा एक हातले एक मुठी हाडे ओखर गमर्क्याएर झर्याप्प फोर्थे र अर्को हातले १२ धार्नीको बोको चटक्कै छिनाउँथे । तर त्यो साल त्यसै गरी मार हान्दा ओखर पनि फुटेनन् र बोको पनि छिनिएन । आफ्नो हत्या हुनुअघि राजदरबारतिर जान घोडा चढ्न लाग्दा अपसकुनस्वरूप घोडाले हिहिल्याउँदै सवारलाई पीठमा चढ्नै नदिएपछि उनी पैदलै हिंडेर दरबार पुगेको भन्ने अनुश्रुति पनि रहेको छ ।

माथवरसिंह शारीरिक रूपमा जति बलिया थिए, त्यति नै घमण्डी पनि । उसै पनि उनी राजा र रानीबाट बोलावट भएर प्रधानमन्त्री पदमा नियुक्त भएका तत्कालीन अवस्थामा शक्तिशाली थिए, त्यसमाथि महत्वाकाङ्क्षी रानी र सन्काहा छोराले उत्पन्न गरिदिएको पारिवारिक किचलोले राजा राजेन्द्र आत्मबल कमजोर भएका शासक थिए । उस्तै परे माथवरसिंह राजालाई नराम्रोसँग हेप्न पनि बेर लगाउँदैनथे ।
आफूलाई चाँडै राजा बनाउन माग गर्दै आएका युवराज सुरेन्द्र एक दिन बुबालाई घुर्क्याउँदै दरबार छाडी हिंडेपछि राजा राजेन्द्रले छोरालाई सम्झाई–बुझाई फर्काएर ल्याउन आदेश दिए । त्यसबेला माथवरसिंहले झोक्किएर ठूलो स्वरले राजालाई “स्वयम् सरकार त आफ्ना छोरालाई ऐंचमा राख्न सक्नुहुन्न भने म कसरी सम्झाएर फर्काएर ल्याउन सक्छु” भनी थर्काएका थिए ।
छोरालाई सम्झाएर फर्काउन हिंडेका राजा राजेन्द्रको छोरासँग हेटौंडामा भेट भयो । त्यहाँ पनि बुबा र छोरा बीच राजसिंहासन र शासनाधिकारबारे ठूलै विवाद भयो । त्यहाँबाट सुरेन्द्र फेरि बाटो लाग्दा केही भारदारहरूले “जानेलाई जान दिए हुन्छ, सिंहासनमा बस्ने तीन तीन भाइ मौजुद छँदैछन्” भन्दै एक जना माथवरसिंहमाथि जाइलागे ।
त्यहाँ मारमुङ्ग्री चल्यो । त्यहाँ राजा राजेन्द्रलाई माथवरसिंहले “ईऽऽ” भनी लोपारे र फौजका साथ युवराज सुरेन्द्रलाई भेट धुपुवाबासतिर दौडाए । उनले त्यहाँ मुख लाग्ने १३/१४ जना भारदारको हत्या गराए अनि त्यहीं युवराज सुरेन्द्रलाई नयाँ राजा घोषित गर्ने निधो गरे (नेपाल, २०५२:१७७–७८) ।
आफूले नियुक्त गरेको प्रधानमन्त्रीबाट यस्तो अपमान सहनु परेकोमा राजा राजेन्द्र उनीदेखि चिढिएका थिए नै, उता रानी राज्यलक्ष्मीको आफ्ना छोरा रणेन्द्रलाई राजा बनाइदेलान् भन्ने आशामा तुषारापात भएपछि राजा र रानीले माथवरसिंहलाई मार्ने निष्कर्ष निकाले ।
राणा (२०७४:५४)का अनुसार जङ्गबहादुरको गोली खाएर ढलेका माथवरसिंहको प्राण गइसकेपछि राजा राजेन्द्रले विछ्यौनाबाट उठेर जथाभावी गाली गर्दै शवका अनुहारमा कैयौं पटक लात्तीले हिर्काएका थिए ।
विधवा भाउजूको बात
भीमसेन थापाको समयमा छोटा जनरल पद पाएका माथवरसिंह आफैं पनि शक्तिशाली थिए ।
उनी शक्तिमा भएको बेला उनीमाथि एक जना विधवा युवती राखेको बात लागेको थियो (नेपाल, २०५२:१८५) । इतिहास शिरोमणि आचार्य (२०६८:७८) ले त ती युवती विधवा उनकै भाउजू भएको उल्लेख गरेका छन् । कतिसम्म भने बेलायत जान भनी कलकत्ता पुगेका माथवरसिंह त्यहाँबाट फर्केको एक महिनापछि ती विधवा भाउजूले अप्रत्यासित एउटा छोरो जन्माइन् । उक्त बच्चा माथवरसिंहकै थियो ।
थापाहरूको बेइज्जतीको लागि मौकाको ताकमा रहेका रणजंग पाँडेले माथवरसिंहको घरभित्र घटेको यो गुप्त घटनालाई बाहिर समाजमा यत्रतत्र फैलाइदिएपछि उनले लाजले मुख देखाउन नसक्ने भएर तीर्थ जाने बहानामा गोरखाको बोर्लाङ गएर बसेका थिए । यिनको लाज ढाक्न मुख्तियार भीमसेन थापाले यिनलाई गोरखा जिल्लाकै हाकिम बनाइदिएका थिए ।
‘सिनास जर्नल’ (सन् २०००:२७३)मा कर्माचार्य (हाडा)ले भने आफू क्रमश: शक्तिमा आउँदै गर्दा र वि.सं. १८९४मा सर्वस्व फिर्ता पाएका काजी रणजंग पाँडे माथवरसिंहमाथि यस्तो बात लगाएर उनलाई गोरखा धपाउन सफल भएको उल्लेख गरेकी छन् ।
नेपालमा सत्ताको खेलचुक्ली र षड्यन्त्रमा परेका भारदारमध्ये माथवरसिंह थापा पनि एक थिए । उनी आफैं पनि षड्यन्त्रमा सामेल थिए भने षड्यन्त्रमै परेर आफ्नो ज्यान गुमाएका थिए ।
प्रतिक्रिया 4