+
+
Shares

कांग्रेसमा विभाजन दोहोरिन लागेको हो ?

०५१ सालमा गिरिजाबाबुले यस्तै भेला बोलाउनुभएको थियो,’ डा. जगत नेपालले विगत स्मरण गर्दै भने, ‘त्यो भेलालाई सभापति कृष्णप्रसाद भट्टराईले आफैं सम्बोधन गरेर अपमान खेपेर भए पनि पार्टीलाई जोगाउनुभएको थियो । त्यो कदमबाट शिक्षा लिएर पार्टीलाई जोगाउन सक्ने आधारहरू त प्रशस्त छन् ।’

केशव सावद केशव सावद
२०८२ पुष १८ गते १७:०८

१८ पुस, काठमाडौं । जेनजी आन्दोलनपछि मुलुकमा विकसित फरक राजनीतिक परिवेशमा ४९ दिन लामो केन्द्रीय कार्यसमिति बैठकमार्फत् नेपाली कांग्रेसले १५ औं महाधिवेशन कार्यतालिका तय गरेको थियो ।

सर्वसम्मत पारित भएको कार्यतालिकाअनुसार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर १६ पुसमा देशव्यापी वडा अधिवेशन गर्ने भनिएको थियो । तर, क्रियाशील सदस्यता नवीकरण र वितरणको कामले पूर्णता पाउन नसकेपछि वडा अधिवेशन प्रभावित बन्यो ।

कार्यतालिका प्रभावित हुने छाँटकाँट पहिले नै देखिए पनि केन्द्रीय कार्यसमितिले मतहतलाई वडा अधिवेशन गर्ने–नगर्ने बारे औपचारिक रूपमा भने कुनै परिपत्र गरेको गरेन ।

भोलिपल्ट बिहीबार (१७ पुस)मा कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गरेर केन्द्रीय कार्यसमिति बैठकबाट पारित भएको महाधिवेशन कार्यतालिका स्थगित गरे ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचनामार्फत् स्थगित गरिएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको थियो ।

त्यसअघि विशेष महाधिवेशन पक्षधर समूहले महामन्त्रीद्वयसँग आन्तरिक छलफल गरेर २७ पुसमा विशेष महाधिवेशन आयोजना गर्ने प्रयोजनका लागि बुधबार नै भृकुटीमण्डप बुकिङ गरेको थियो ।

महामन्त्रीहरूले विज्ञप्तिमार्फत् नै नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि विकल्पका रूपमा विशेष महाधिवेशन अघि आएको भनेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाए ।

एकातिर महामन्त्रीद्वयले नियमित महाधिवेशनको कार्यतालिका स्थगित गर्नु र अर्कोतिर कार्यवाहक सभापति खड्काले कार्यसम्पादन समिति बैठक बोलाउनुलाई राजनीतिवृत्तमा चासोका साथ हेरिएको छ ।

कतिपयले कांग्रेस विभाजनको डिलमा पुगिसकेको दाबी गरिरहेका छन् । तथापि, पार्टी विभाजन हुन्छ–हुँदैन अहिले नै ठोकुवा गर्न सकिने अवस्था छैन । तर, पनि लामो राजनीतकि विरासत बोकेको कांग्रेस यतिबेला संकटमा छ ।

कांग्रेस अहिलेको अवस्थामा कसरी पुग्यो त ? त्रिभुवन विश्वविद्यालयको इतिहास विभागका पूर्व प्रमुख प्रा.डा. बद्री नारायण गौतम भन्छन्, ‘पार्टी भिजन र इथिक्सबाट चल्नुपर्छ । कांग्रेस नेताहरू भिजन र इथिक्समा डिपेन्ड देखिएनन् । पार्टीमा सुरूदेखि नै गुटबन्दी भए पनि मूल कुरो भिजन र इथिक्समा पार्टी चलेन । त्यसकै परिणाम हो ।’

उनी अहिलेको अवस्था आउनुमा मुख्य दोषी सभापति शेरबहादुर देउवालाई मान्छन् । नेतृत्वले विधान मिचेर आफूअनकूल निर्णयहरू गर्दै जाँदा कांग्रेसमा भाँडभैलो भएको गौतमको भनाइ छ ।

‘यसको सम्पूर्ण दोष नेतृत्वले लिनुपर्छ । किनभने नेतृत्वले बाँध्न सक्नुपथ्र्यो । नेतृत्वले बाटो नछाडेको भए पो सबै कुरा सही हुन्थ्यो,’ उनले भने, ‘नेतृत्वले भिजन, इथिक्स र पार्टीविधान अनुकूलभन्दा आफूअनकूल हुने निर्णय गर्न थालेपछि आखिरमा आउनु भनेकै भाँडभैलो नै थियो । अहिलेको अवस्था त्यही भाँडभैलोको पक्ष हो ।’

‘नेपालको प्रजातान्त्रिक इतिहास र नेपाली कांग्रेस’ पुस्तकका लेखक डा. राजेश गौतम कांग्रेसमा देखिएको पछिल्लो परिदृष्यलाई जेनजी आन्दोलनको मर्म र भावनासँग तुलना गर्छन् । कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको कदमलाई उनी विद्रोह ठान्छन् ।

‘सडकमा देखिएको नवयुवा पुस्ताको चाहना कांग्रेस भित्र पनि प्रतिबिम्बित भएको हो । सधैं एउटै पुस्ताले, एउटै किसिमले सत्ता सञ्चालन गर्नुपर्छ भन्ने दृष्टिकोणका विरुद्धमा युवा पुस्ताको विद्रोह हो,’ इतिहासकार गौतमले भने, ‘म विद्रोह नै भनिरहेको छु । यो विद्रोह त्यस रूपबाट अगाडि बढेको हो ।’

उनले विशेष महाधिवेशनको मागलाई संस्थापन पक्ष बेवास्ता गरेर अगाडि बढे कांग्रेसका लागि दुर्भाग्य हुने टिप्पणी गरे । ‘विशेषको माग उपयुक्त छैन भन्ने दृष्टिकोण राखेर जुन किसिमले संस्थापन पक्ष अगाडि बढ्ने प्रयास गरिरहेको छ, अहिलेको अवस्थामा त्यो कांग्रेसका लागि दुर्भाग्य हुन्छ,’ गौतमले टिप्पणी गरे ।

डा. गौतमले सभापति शेरबहादुर देउवाको व्यवहार कांग्रेस अन्त्य गर्न खोजेको जस्तो देखिएको पनि आरोप लगाए । ‘पूर्णबहादुर खड्काजीलाई कार्यवाहक दिइसकेपछि शेरबहादुरजी अब कांग्रेसमा अभिभावकमात्रै स्वीकारेर अगाडि बढ्न खोज्नुभएको हो कि भन्ने लाग्थ्यो,’ उनी भन्छन्, ‘तर, अहिले कांग्रेस भित्र शेरबहादुरजीको तरिकाहरू हेर्दा, व्यवहारहरू हेर्दा कांग्रेसलाई उहाँले नै अन्त्य गर्न खोजे हो कि भन्ने लाग्छ ।’

कांग्रेसको आन्तरिक राजनीतिकलाई नजिकबाट नियाल्ने लेखक तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. जगत नेपाल कांग्रेसमा देखिएको पछिल्लो संकटलाई विधि–प्रक्रियाअनुसार पार्टी नचलेपछि नेता–कार्यकर्तामा बढेको अविश्वासको चरमोत्कर्षका रूपमा लिन्छन् ।

कांग्रेस नेतृत्वले विधानबमोजिम समयमै अधिवेशन गराउन नसकेको र युवा पुस्ताले निर्वाचन नजिकिँदै गर्दा महाधिवेशनमा जाँदा पुग्ने क्षतितर्फ ध्यान नपुर्‍याएको उनको बुझाइ छ ।

‘अहिलेको अवस्था मुख्यतः कांग्रेस जुन विधि र प्रक्रियाअनुसार चल्नुपर्थ्यो, सैद्धान्तिक आधारमा चल्न सकेन भन्ने जुन पार्टीपंक्तिमा अविश्वास थियो, त्यसैको चरमउत्कर्ष हो,’ नेपालको भनाइ छ, ‘लिडरसिपले पनि समयमा अधिवेशन गराउन नचाहेको, युथले पनि लास्ट आवरमा जुन इलेक्सनको तयारी गर्नुपर्ने बेलामा महाधिवेशनमा जाँदा पुग्ने क्षतितर्फ ध्यान नपुर्‍याएको देखिन्छ ।’

उपप्राध्यापक नेपालले कांग्रेसको आन्तरिक विवादले लोकतन्त्र नै दुर्घटनामा पर्न सक्छ कि भन्ने चिन्ता पनि व्यक्त गरे ।

‘कांग्रेसभित्रको आन्तरिक विवादभन्दा पनि कांग्रेसको विवादका कारण कतै लोकतन्त्र नै दुर्घटनामा पर्न सक्छ कि भन्ने चिन्ता छ,’ उनले भने, ‘किनभने विगतमा कांग्रेस फुट्दा प्रजातन्त्र गएको अवस्था भएका कारणले त्यो ठूलो खतरा हुन सक्छ ।’

उपप्रध्यापक नेपालले चिन्ता व्यक्त गरेजसरी के कांग्रेस पार्टी फुट्ने अवस्थामा पुगेको हो ? इतिहासकार गौतम भन्छन्, ‘युवा पुस्तालाई पार्टी भित्र प्रतिनिधित्व गर्न नदिने, हिजोको पुस्ताले हिजोकै तरिकाबाट पार्टी सञ्चालन गर्नुपर्छ भन्ने दृष्टिकोण राखेर अगाडि बढ्यो भने निश्चित रुपमा पार्टी फुट्ने सम्भावना हुन्छ ।’

गौतम महामन्त्रीद्वय थापा र शर्माले कांग्रेस विभाजन गरेर अगाडि बढ्नुलाई दुर्भाग्य मान्न नहुने पनि तर्क गर्छन्। उनीहरूले कांग्रेसमा देखाएको आँटलाई समर्थन गर्नुपर्ने उनको भनाइ छ ।

‘युवा पुस्ताले पार्टी फुटाएर अगाडि बढे भने त्यसलाई दुर्भाग्य मान्नु हुँदैन । त्यो सही रुपबाट अगाडि बढ्न लागेको हो भन्ने बुझ्नुपर्छ,’ गौतमले भने, ‘किनभने आँट नगरिकन परिवर्तन हुँदैन ।आँट युवा पुस्ताले गर्नुपर्छ । युवा पुस्ताले यतिखेर कांग्रेस भित्र आँट गरिरहेको छ । त्यो आँटलाई समर्थन गर्नुपर्छ भन्ने दृष्टि छ ।’

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागका पूर्व प्रमुख गौतम कांग्रेसको आन्तरिक जीवनमा धेरैपल्ट संकटपूर्ण अवस्था आएको भए पनि पछिल्लो अवस्थालाई अहिलेसम्मकै डरलाग्दो अवस्था बताउँछन् । ‘कांग्रेसको आन्तरिक जीवनमा धेरैपल्ट संकटपूर्ण अवस्था आएको छ । तर, अहिले सबैभन्दा डरलाग्दो हो । मैले बुझेको,’ उनको भनाइ छ ।

प्रा.डा. गौतमले कांग्रेस अहिलेको स्थितिभन्दा पनि अझै अप्ठ्यारो अवस्थामा पुग्ने सम्भावना औंल्याउँछन् । ‘कांग्रेस अझै अप्ठ्यारो अवस्थामा पुग्छ । त्यसपछि यसरी नै अगाडि बढ्यौं भने हामी सिद्धिन्छौं भन्ने भएपछि मात्रै मिल्ने हो,’ अनलाइनखबरले कांग्रेसको सम्भावित मिलनविन्दुबारे राखेको जिज्ञासामा उनले भने, ‘अहिले त्यो देखिँदैन । किन भने छोड्नेले छोडिसके, न विचार, न नीति छ, न कानुन छ । विधानअनुरूप चले पो सबै कुरा हुन्छ ।’

उपप्रध्यापक डा. नेपालका नजरमा भने कांग्रेस अहिले नै विभाजन हुने अवस्थामा पुगिसकेको छैन । उनले २०५१ मा कांग्रेसको उत्कर्षमा पुगेको विवाद समाधानका लागि तत्कालीन सभापति कृष्णप्रसाद कोइरालाले चालेको कदमबाट शिक्षा लिएर अहिले पनि विवाद समाधान गर्न सकिने उपाय सुझाए ।

‘कांग्रेस फुट्ने अवस्थामा पुग्यो भनिहाल्ने अवस्थामा छैन । किनभने अन्तिम घडिसम्म मिलाउन सक्ने अवस्था हुन्छ । ०५१ सालमा गिरिजाबाबुले यस्तै भेला बोलाउनुभएको थियो,’ उनले विगत स्मरण गर्दै भने, ‘त्यो भेलालाई सभापति कृष्णप्रसाद भट्टराईले आफैं सम्बोधन गरेर अपमान खेपेर भए पनि पार्टीलाई जोगाउनुभएको थियो । त्यो कदमबाट शिक्षा लिएर पार्टीलाई जोगाउन सक्ने आधारहरू त प्रशस्त छन् ।’

इतिहासकार डा. गौतम पनि सभापति देउवाले युवा पुस्ताको आवाज सम्बोधन हुने र पार्टी सग्लो रहने गरी कदम चाल्नुपर्ने बताउँछन् । ‘नेतृत्वले विशेष अधिवेशन बोलाइदिएर युवा पुस्ताको माग सम्बोधन गर्ने किसिमबाट अगाडि बढ्ने दृष्टिकोण अपनाउनुपर्छ,’ उनले भने ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?