+
+
Shares
इलाम साहित्य महोत्सव :

इतिहास किन जान्ने ?

दुई दिन चलेको इलाम साहित्य महोत्सव सम्पन्न भएको छ । कविता, पर्यटन, आख्यान लगायतका विभिन्न विषयमा छलफल, रचनापाठ, सम्मान, पुरस्कार वितरण गर्दै महोत्सव सकिएको हो ।

सुदीप श्रेष्ठ गिरिराज बाँस्कोटा सुदीप श्रेष्ठ, गिरिराज बाँस्कोटा
२०८३ वैशाख १९ गते २०:३३

१९ वैशाख, इलाम । हामी भविष्य राम्रो बनाउन चाहन्छौँ, अतीततर्फ किन फर्किने, इतिहास किन पढ्ने ?

सुजित मैनालीको यो प्रश्नको उत्तर दिँदै इलामका युद्ध वैद्यले भने- ‘मुख्य कुरा इतिहासले आफैलाई चिनाउँछ । म को थिएँ, कहाँ थिएँ भन्ने विषय निक्कै महत्त्वपूर्ण हो ।’

महेन्द्र रत्न बहुमुखी क्याम्पसका पूर्वप्रमुख रहेका वैद्य ‘इलामको इतिहास’ पुस्तकका लेखक तथा इतिहासका जानकार समेत हुन् । पूर्वी पहाडको इतिहासको छलफलबाट सुरु भएको सेसनमा उनले यस्तो धारणा राखेका थिए ।

पाँचौँ संस्करणको इलाम साहित्य महोत्सव २०८३ ‘जराको कुरा, हाम्रो इतिहासको चर्चा’ विषयमा वैद्यसँगै लेखक मोहन मैनाली पनि छलफलमा थिए ।

‘अगाडि बढ्न केही पछाडि सर्नपर्छ, पछाडि के छ ? हेर्नुपर्छ । जीवनलाई सहज बनाउन इतिहास पढ्नुपर्छ । इतिहासलाई विद्यालयमा अनिवार्य पठनको विषय बनाउनुपर्छ’, मैनालीको थपे, ‘पानीको इतिहास राम्रोसँग पढेकोभए बेलासे ‘झापाबाट इलाम आउने छोटो बाटो’मा समस्या पर्दैन थियो ।’ मदन पुरस्कार जितेको पुस्तक मुकाम रणमैदानका लेखक मैनालीले इतिहास पढ्नैपर्ने विषय भएको चर्चा गरे ।

‘हिमालपारी, हिमालवारी’ विषयमा पनि इतिहासकै चर्चा भयो । नेपाल–चीन सम्बन्धको इतिहासको चर्चा पत्रकार सुधीर शर्माले गरेका थिए । ‘इतिहासकै निरन्तरता वर्तमान हो । इतिहास नहेरी अहिलेको चित्र बुझिँदैन । नेपालको लिखित इतिहास धेरै पुरानो छैन । तर चीनमा धेरै अगाडिदेखिका लेख्य सामाग्री छन्’, शर्माले भने, ‘नीति निर्माण तहका व्यक्तिहरूले, हामी आफैँ सच्चिन र देशलाई सही दिशामा लैजान इतिहास अध्ययन गर्नैपर्छ ।’

‘भिक्षु, व्यापार र विद्रोह’ पुस्तकका लेखक शर्माले विगतका गल्ती दोहोरिन नदिन र सशक्त राष्ट्रिय नीति निर्माणका लागि इतिहासको गहन अध्ययन अपरिहार्य धारणा राखेको थिए । पत्रकार दीपक सापकोटासँग छलफल गरेका उनले इतिहास महत्पूर्ण विषय भएको तर्क गरेका थिए ।

महोत्सवको पहिलो दिन ‘डिजिटल मासुभात र हामी पत्रकार’ विषयमा बोल्दै अनलाइन खबरका प्रदान सम्पादक बसन्त बस्नेतले इतिहास पढ्ने र पढाउने बेला आएको बताएका थिए ।

इलाम साहित्यको दोस्रो दिन शिक्षा विधेयकको सकसमा डा. योगेन्द्रमान श्रेष्ठ, पूर्ण गौतम, र टंक गौतमसँग सटेन्द्र जवेगुले छलफल गरेका थिए । यस्तै, सीमावर्ती साहित्यका बारेमा विनीता क्षेत्री, कृष्ण बराल र ज्ञानेन्द्र याक्सोसँग डा. हेम भण्डारीले छलफल गरेका थिए । दोश्रो दिन कविता बाचन भएको थिए ।

अरेन्ज इकोनोमी र ग्रीन इकोनोमीमार्फत इलामको विकास

इलाम साहित्य महोत्सव २०८३ को दोस्रो तथा अन्तिम दिन इलाम–१ का सांसद निष्कल राईले ‘अरेन्ज इकोनोमी र ग्रीन इकोनोमीमार्फत इलामको विकास’ को अवधारणा साझा गरेका छन् ।

उनले इलाम केवल दृश्य मात्र नभई संस्कृति र सभ्यता भएको उल्लेख गर्दै प्रकृतिलाई नष्ट नगरी स्रोतको उपयोग गर्नु नै ग्रीन इकोनोमी भएको बताए । ग्रीन इकोनोमीको अभ्यास शुरु गरिएपनि इलामले आगामी दिनमा अरेञ्ज इकोनोमीमार्फत इलामको पर्यटन विकास गर्नुपर्ने धारणा राखे । ‘हाम्रो संस्कृति, परम्परा, संगीत र कला पनि आर्थिक सम्पत्ति हुन् । चिया उत्पादन मात्र होइन, त्यो कथा र ब्रान्ड पनि हो, अब हामीले ती कथाहरू पनि बेच्नुपर्छ,’ उनले भने ।

पर्यटकहरू स्थान मात्र होइन, अनुभव र रैथाने कथा खोज्दै आउने भएकाले स्टोरीटेलिङ पर्यटनलाई प्रवर्द्धन गर्न आवश्यक भएको उनले बताए । सृजनात्मक अर्थतन्त्र वा अरेञ्ज इकोनोमीलाई अब इलामले बेच्नुपर्ने उनले धारणा राखे ।

इलाममा इको–टुरिजमका लागि पर्याप्त आधार रहेको उल्लेख गर्दै उनले संस्कृतिसँग जोडिएको अनुभव बेच्न सके पर्यटकको बसाइ लम्ब्याउन सकिने बताए । ‘अरेन्ज इकोनोमीका अभ्यास लागु गर्न सके इलामको पर्यटन दुईदेखि चारगुणासम्म बढ्न सक्छ,’ उनले भने ।

दुई दिन चलेको इलाम साहित्य महोत्सव सम्पन्न भएको छ । कविता, पर्यटन, आख्यान लगायतका विभिन्न विषयमा छलफल, रचनापाठ, सम्मान, पुरस्कार वितरण गर्दै महोत्सव सकिएको हो ।

लेखक
सुदीप श्रेष्ठ

श्रेष्ठ अनलाइनखबरका इलाम संवाददाता हुन् ।

गिरिराज बाँस्कोटा

बाँस्कोटा अनलाइनखबरका पाँचथर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?