News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले आफ्नी आमासँग बिताएका बाल्यकालका सम्झनाहरू साझा गर्नुभएको छ जसले जीवनका साना क्षणहरूलाई उजागर गर्छ।
- लेखकले नेपालको ऐतिहासिक भूगोल र गोर्खाली राज्य विस्तारका घटनाहरूको गहिरो अध्ययन र प्रश्न उठाउनुभएको छ।
- लेखकले इतिहासमा अज्ञात साधारण मानिसहरूको योगदान र उनीहरूको कथालाई उजागर गर्ने प्रयास गर्नुभएको छ।
म आमालाई एकछिन पनि छाड्दिनथें ।
आमाको धोतीको फेरो समातेर पछिपछि हिँडेको, उभिएको सम्झिन्छु । आमा काम गरिरहनुहुन्थ्यो, म बोलिरहन्थें । आमा गोठनजिकैको थाँक्रोमा आकाशतिर हेरेर सुकेका बोडी वा सिमी टिप्दै हुनुहुन्थ्यो । म भुइँतिर हेरेर खसेका गेडा गनिरहेको हुन्थें ।
‘यी पनि जम्मा गर्ने हो ?’ म सोध्थें ।
‘पर्दैन, पछि ती आफैँ उम्रन्चन्,’ आमा भन्नुहुन्थ्यो ।
‘सप्पै उम्रन्चन् त ?’
‘कति चराले खानन् । कति कुहिएर, सुकेर जानन् । कतिलाई घामपानी नमिल्ला । दुईटा दाना टुसाए पनि धेरै हुन्च ।’
अहिले आमा हुनुहुन्न, भएको भए भन्ने थिएँ, ‘आमा, अज्ञात बाँझो जमिनमा खसेका अनेकौं बीउमध्ये टुसा हालेको एउटा बीउको कथा हो ।’
कैयौं बीउ खसे होलान्, मनको चेतन–अवचेतन जमिनमा । कुन चाहिँ उम्रियो होला ? कुन चाहिँ झाङ्गिएर यो आकारमा आयो होला । कति धेरै यसै हराए होलान् ।
यति बेला सम्झेसम्मका बीउहरूको फेहरिस्त बनाउने तरखरमा छु ।
बीउ–एक
आफूभन्दा ठूला कक्षाका दाजुहरूको पुस्तक पढ्ने रहर लाग्थ्यो । त्यहाँ अनेक कथा र कहिल्यै नसुनेका कुरा हुन्थे । एक दिन आफूले फुटाउन नसकेका वाक्य हेरेर घोरिएको सम्झन्छु । आमा पछाडि उभिएर हेरिरहनुभएको रहेछ ।
मेरी आमा, जसले स्कुलका कुनै कक्षा उत्तीर्ण गर्नुभएन । भन्नुहुन्थ्यो, ‘ठूलो भाइलाई बानी पार्न चार महिना गएकी हुँ ।’
आमाले मेरो काँधमाथिबाट हेरेर बिस्तारै गाउनुभयो-
धेरै वर्षअघिको
कथा नालापानीको
सानुसानु नेपाल
नालापानी किल्लामा
नलिई आराम छिनभर
नसुती चारै प्रहर
खुबैसित लडे रे
बलभद्र कुँवर ।
अहिले सम्झिन्नँ, त्यसपछिको कुरा । तर त्यति भनिसक्दा मैले पक्कै प्रश्नका ओइरो लगाएँ हुँला !
‘कति सोधेको ? ठूलो भएर आफैं पढ्नू नि,’ आमाले धेरै पटक यस्तै भन्नुहुन्थ्यो ।
यी र यस्तै प्रसङ्गले दिएको भावुकता र कल्पनाको बाटोमा हिँडेर दस कक्षासम्म पुग्दा नेपालको ऐतिहासिक रुपरेखा कैयौं पटक पढेको सम्झिन्छु ।
धेरै वर्षपछि पनि प्रश्नले पछ्याउन नछाडेपछि देहरादुन नजिकैको खलङ्गा (नालापानी किल्ला) पुगेको थिएँ ।
भारतीय भूमि । सानो पहाडी थुम्को । त्यसको शिरमा बसेको खलङ्गा । त्यहाँ बलभद्र स्मारक लेखिएको बोर्ड देखेर हामीलाई भारतीय ट्याक्सी ड्राइभरले भनेका थिए, ‘दाजी, कुछ तो बडा किया होगा उन लोगों ने यहाँ । तभी तो लोग आज भी याद करते है।’
पछि कैयौं पुस्तक पढ्दै जाँदा थाहा भयो । अङ्ग्रेज फौजलाई भरोसा थियो– गोर्खालीहरूलाई त यसै जितिन्छ । हामीलाई देखेपछि ती कि भाग्छन्, कि आत्मसमर्पण गर्छन् ।
देहरादुनको नालापानी त लड्नै पनि नपर्ने, यसै कब्जा गर्न सकिने बाटोमा परेको सानो किल्ला हो । इस्ट इन्डिया फौज १ नोभेम्बरमा अर्की (बडाकाजी अमरसिंह थापाको मुकाम) पुग्न हिँडेको थियो । तर नालापानीमा उनीहरूले नसोचेको लडाइँ लड्नुपर्यो । त्यहाँ छुटेको एउटा गोली जनरल जिलेस्पीको मुटु फुटाएर निस्कियो ।
आक्रमणकारी फौज एक महिनाभन्दा बढी त्यहीँ रोकियो । त्यो विश्वविजेता अङ्ग्रेजका लागि अप्रत्याशित थियो । त्यसले पश्चिमको लडाइँ लामो समय तन्काइदियो ।
त्यहाँ दुई जिद्दी जमात लडेका थिए । त्यो लडाइँका कैयौं विदारक प्रसङ्ग छन् । मलाई भने जिलेस्पीको मुटु छेड्ने गोली छुटेको बन्दुक, त्यो बन्दुक समात्ने हात र त्यो हातको धनी सिपाहीले पिछा गरिरह्यो । उधिन्दै जाँदा त्यो सिपाहीसँग जोडिएर ऊ जस्तै अनेकौं अज्ञात मान्छेका लस्कर भेटिए ।
बीउ–दुई
काठमाडौं छिरेपछि ५० को दशकका सुरुवाती वर्षहरूमा कान्तिपुर दैनिक (यकिन छैन तर कान्तिपुर नै हो जस्तो लाग्छ) मा विशाल नेपालसम्बन्धी स्तम्भ साप्ताहिक रुपमा प्रकाशन हुन्थ्यो । त्यसमा नेपालको बृहत् आकारको चर्चा हुन्थ्यो ।
गोर्खालीले गरेका लडाइँ र फैलिएको गोर्खाको सिमानाका अनेक प्रसङ्गको त्यसमा चर्चा हुन्थ्यो । हरेक पटक किशोर मनले प्रश्न गर्थ्यो । त्यो समयका के–कस्ता घटनाबाट गुजे्रर सानो पहाडी राज्य त्यति पर पुग्यो होला ?
त्यही प्रश्नले लखेटिएर जेठको एउटा दोपहरमा पृथ्वीनारायण शाहको गोर्खा दरबारको आँगनमा उभिएको थिएँ । त्यहाँदेखि राम शाहको चौतारोसम्म गर्मीका लामा दिन बिताएको थिएँ ।
त्यहाँ मलाई कुनै एक क्षणका लागि मात्रै भए पनि भरखरै जुँगाको रेखी बसेको किशोरको मनोविज्ञानको झिल्को देख्नु थियो । त्यो किशोर, जो सानो र गरिब राज्यको युवराज थियो । तर कुनै प्रेरणा, लालसा र लोभले चन्द्रागिरिमा उभिएर नेपाल खाल्डोपट्टि फर्केर जुँगामा ताउ लगाएको थियो ।
साहस र दुस्साहसको अन्तर अत्यन्तै झिनो हुन्छ जस्तो लाग्छ । साहससँगै योजना, प्रतिबद्धता र निरन्तरता आउँदो हो । दुस्साहस परालको आगो झैं ह्वार्र बलेर सकिँदो हो । तर त्यो दुस्साहस रहेनछ, तब त अहिलेको आँखाको चेतनाले हेर्दा ठीक वा बेठिक देखिने कैयौं प्रसङ्गपछि त्यो किशोर गोर्खाको बागडोर सम्हालेको २५ वर्षमा नेपाल खाल्डोमा आइपुग्यो ।
प्रश्नले फेरि रुप फेर्यो । के साहस र दुस्साहसको सीमामा उभिने त्यो युवक एक्लै थियो ? वा त्यहाँ अरुको पनि लाम थियो ? ऊसँगै उभिएका सयौं–हजारौंको नाम आजपर्यन्त थाहा छैन । तर ती पनि त्यहीँ उभिएका हुँदा हुन् ।
मलाई इतिहासले चिनाएका ज्ञात अनुहारभन्दा बढी अज्ञात पात्रहरूले तानिरहे । केही उत्तरको आसमा पुगेको थिएँ । तर झन् धेरै प्रश्नले खेदिएर ओरालै–ओरालो झरें ।
बीउ–तीन
२०६० सालमा इन्जिनियरिङ सकिएपछिको पहिलो जागिरको अभिमुखीकरण तालिम राष्ट्रिय योजना आयोगमा थियो । त्यहाँ एक जना प्रशिक्षकले सोध्नुभयो, ‘अन्तर्राष्ट्रिय नक्सामा आधिकारिक रुपमा नेपाल राज्य स्थापित भएको वर्ष कुन हो ?’
सुन्नेहरूसँग उत्तर थिएन । तर उहाँ आफैंले फेरि सोध्नुभयो, ‘अबको १५ वर्षमा यो देशले आधुनिक विश्वमा परिचय पाएको दुई सय ५० वर्ष पुग्दै छ । यो राष्ट्रिय जीवनका लागि महङ्खवपूर्ण कोसेढुङ्गा हो । तर यो वर्ष र समयलाई वर्तमानले बिर्सेको जस्तो लाग्छ ।
सबै देशको राष्ट्रिय दिवस वा ‘नेसनल डे’ हुन्छ । हाम्रो भने छैन । के यो विचार गर्नुपर्ने, सम्झिनुपर्ने कुरा होइन ?’ भर्खर कलेज सकेर निस्किएको मसँग त्यस प्रश्नको उत्तर थिएन, अझै पनि छैन ।
त्यसपछि २०६२–६३ को आन्दोलन भइहाल्यो । आन्दोलनअघि स्कुले शिक्षाका क्रममा शाहदेवगाथाको पढाइ छँदै थियो । देश गणतन्त्रमा प्रविष्ट हुँदै गर्दा कतिपय आवाजमा नेपाल बन्दै गर्दाको अत्यन्तै अँध्यारो चित्रका कथा पनि चर्चामा आए ।
तर नेपालको वर्तमान भूगोलको सत्य जीवनका अरु धेरै सत्य जस्तै दुई अतीतहरूको बीचबाट हिँडेको हुनुपर्छ । न सम्पूर्ण रुपमा उज्यालो, न सम्पूर्ण रुपमा अँध्यारो । दुई ओटै रङ मिसिएर बनेको खैरो, घुर्मैलो विशाल नदी ।
८८८
हजार कमजोरी र कमीसहित हामीले चिनेको इतिहास हाम्रो हो । यो अहिलेको भूगोलसँग जोडिएको तथ्य हो । गोर्खाका नवयुवक राजा पृथ्वीनारायण शाह गद्दीमा चढेपछि (विसं १७९९) उनलाई मन परेको नेपाल खाल्डोको राजा हुने इच्छापूर्तिमा काम सुरm गरे । झन्डै २५ वर्षको प्रयासपछि गोर्खा फैलिएर काठमाडौं उपत्यकासम्म आयो । अनेकौं लडाइँ, कूटनीति, बल, राजनीति आदिको प्रयोगले त्यस राज्यको विस्तार चलिरह्यो ।
१८७१ सालमा सुरु भएको गोर्खा–अङ्ग्रेज लडाइँसम्म तत्कालीन सत्ताको एउटै ध्येय राज्य विस्तार रहेको देखिन्छ । त्यो तत्कालीन सत्ताको सङ्कल्प जस्तो लाग्छ । हरेक राजा (सत्ता) ले धेरैथोरै राज्य विस्तार गरेकै भेटिन्छ । नेपालको आधुनिक इतिहासमा सम्पूर्ण सत्ता एउटै उद्देश्यमा दत्तचित्त भएको अर्को कालखण्ड भेटिन मुस्किल छ ।
त्यसकै परिणाम, तत्कालीन गोर्खा राज्य (नेपाल) को सिमाना सतलजदेखि टिस्टासम्म फैलिन पुग्यो । त्यो फैलिने क्रममा अहिलेको समयमा सही, गलत वा रोमाञ्चक लाग्ने उपाय वा रणनीति अपनायो । त्यसका विविध कोणहरूको उत्खनन विश्लेषण भएकै छ र हुने नै छ ।
संसारभरि हेर्दा लाग्छ, हरेक पुस्ताले दोहोर्याएर इतिहास लेख्छ । आआफ्नोनो युगको चेतनाअनुसार तिनै घटनाको नयाँ दृष्टिबाट विश्लेषण गर्छ र आआफ्नोनो दृष्टि बताउँछ । इतिहास त्यही रहन्छ । तर नयाँनयाँ वर्तमानले नयाँ प्रश्न र दृष्टिकोण बोकेर आउँछ । नेपालको इतिहासको सन्दर्भमा पनि यो लागु भएकै छ र हुने नै छ । विभिन्न समयमा, विभिन्न कोणबाट गरिएका विश्लेषणमा कम–अधिक सत्य सबैसँग छ । ती सबै सत्य परिपूरक जस्ता लाग्छन् । सबै जोडिँदा मात्र सम्पूर्ण सत्य बन्छ ।
गोर्खाली सत्ताले बृहत् आकार लिँदा दर्जनौं राज्यको सीमा मिच्यो । गाउँका गाउँ मान्छे काटिए, मासिए । कैयौं भाषा परम्परा त्यो घमासानको चपेटामा परेर हराए वा सदाका लागि कमजोर भएर गए । त्यो सत्य हो । सँगसँगै यो पनि सत्य हो, झन्डै ७० वर्ष चलेको अभियानले आजको राष्ट्रिय परिचय दियो । त्यसमा हजारौं मान्छेले रगत–पसिना मिसाए ।
प्राण मिसाए । ठूलो सङ्ख्यामा सिपाही, किसान, खोला तार्ने माझी, हतियार बनाउने, बाजा बजाउनेहरू संलग्न भए । ती साना मान्छेमध्ये कैयौं रोजगारीको इच्छाले जोडिए होलान् । कैयौं राजाको आज्ञा मान्नैपर्ने तत्कालीन चेतनाका कारणले जोडिए होलान्।
एक पटक लागेपछि नुनको सोझो गर्नैपर्ने तत्कालीन नैतिक चेतनाले उनीहरूलाई डोर्यायो होला । उनीहरू जन्मेर कुनै पनि लडाइँको एउटा भाग बन्दासम्म हिँडेका जीवनका बाटा हजारौं होलान् । त्यहाँ हजारौं कथा नउधिनिएर बसेका होलान् । ती सारा कथाको उत्खनन असम्भवप्रायः लाग्छ ।
बीउले जमिनमा खुट्टा टेकेको हुँदो हो । मनमा धसिएका जराले पेचिलो प्रश्न बनेर घोच्न थाले । यो नेपालको निर्माता को हो ? वा कोको हुन् ? के यो कुनै एउटा राजाको ठूलो राज्यको भोग गर्ने लोभले मात्रै जन्मिएको हो ? वा उक्त समय, समाज त्यो परिवर्तनका लागि उत्सुक, इच्छुक र तयार थियो ?
प्रश्न ठूलो लाग्यो । उत्तरको सुरुवातमा त्यो समयको कल्पना आयो । कल्पनामा हजारौं हजार मान्छेको लस्कर आयो । ती अनेक वर्ग, पेसा र अरु सामाजिक विभाजनसहित आए । तर ती सबै अनेक अनुहार लिएर आए । प्रश्न झन् थपिएर आयो, हाम्रो इतिहासले तिनीहरूको छुट्टाछुट्टै अनुहार चिनेको छ कि छैन ?
इतिहासका अनेकअनेक ठेलीमा डिका लागेका सहस्र वाक्य छन् । ती डिकामा झुन्डिएका दर्जनौं नाम छन् । तर मैले कल्पिएका यी मान्छेका नाम त्यहाँ आइपुग्दैनन् । सायद अक्षरका लहरहरूमा आइपुग्न उनीहरूको हैसियत पुग्दैन । सायद उनीहरूको पहुँच पुग्दैन ।
ती हराउँछन्, तिनै लहरबीच पर्ने खाली ठाउँमा ।
ती भन्छन्, ‘हामी सैनिक थियौं । सामान्य, अतिशय सामान्य दर्जाका । लड्यौं, घाइते भयौं, मर्यौं, सकियौं ।’
ती भन्छन्, ‘हामी किसान थियौं । राज्यका लागि खेती गर्यौं । एक मुठी फल्दा आधाआधा बाँड्यौं, कुलो काट्यौं, खोरिया फाँड्यौं। सकेसम्म गर्यौं । आधा भरिएको पेट र आधा छोपिएको ज्यानबाट गर्मीभरि पसिना बगाइरह्यौं । जाडोमा कठ्याङ्ग्रिएर डल्लो पर्यौं । नाङ्गै ज्यानमा कहर काटेरै पनि लागिरह्यौं । तर त्यही कहरसँगै डल्लिएर हरायौं ।’
ती सिपाही, किसान, भरिया, हुलाकी, माझी, ढलेट र अरु अनेकौं भूमिकामा आउँछन् । सिङ्गो समाज र अभियान थाम्छन् । तर गुमनाम रहन्छन् । अज्ञात रहन्छन् । प्रश्न छाडेर जान्छन् । यो देश कसले बनायो ? यो सिमाना कसले कोर्यो ? कसले थाम्यो ? इतिहासका गुरुले राजाको नाम पढाए ।
दर्जन वा त्योभन्दा बढी भारदार सेनानायकको नाम पढाए । तर प्रश्न बाँकी रहन्छ, त्योभन्दा पर के छ ? त्योबाहेक के छ ? कहाँ छन् ती इतिहासका डिकामा झुन्डिएका हरेक नामपछाडि उभिएका हजारौं हजार अनामहरू । हजारौं हजार अज्ञातहरू । उनीहरूको पनि गन्ती हुनुपर्ने । उनीहरूको जीवनको पनि माने हुनुपर्ने । ती उभिन्छन् यसै, एउटै नाम र एउटै अनुहार लिएर । के उनीहरूको भिन्नाभिन्नै नाम छैन ? के उनीहरूको भिन्नाभिन्नै विचार, व्यवहार र कथा छैन ?
कल्पनाको घोडा दौडाएर, इतिहासका उबडखाबड सतहमा अज्ञात मान्छेको कथा खोज्न मन लाग्यो । यो दुस्साहस वा साहसले आकर्षित गरिरह्यो ।
अज्ञात ७० वर्षसम्म चलेको त्यो अभियानको गाथा होइन । यो इतिहास र त्यसको सम्पूर्ण कथा पनि होइन । एउटा विशाल नदीभित्र मिसिएका हजारौं हजार मसिना पानीका धर्सामध्ये कुनै एउटा धारको काल्पनिक कथा हो । इतिहासले राजा, महाराजालाई चिन्छ । भारदार, काजी, दरबार, सेना, नायकहरूलाई चिन्छ । तर तत्समयमा नेतृत्व लिएकालाई सघाएका सामान्य मानिस अज्ञात नै रहन्छन् । यो तिनै हजारौं अज्ञातमध्येका केही कथाको बुनोट मात्रै हो ।
यो एउटा लेखकले गरेको प्रयत्न हो, फगत प्रयत्न । न त्योभन्दा कम, न त्योभन्दा बढी । लेख्न बस्दा उठेका कैयौँ प्रश्न ज्युँका त्युँ छन् र रहनेछन् । नेपाली भाषाका महाकविले शाकुन्तल महाकाव्यको भूमिकामा लेखेका शब्द मनमा ठोकिइरहन्छन् ।
देवकोटाले भन्दा राम्रोसँग भन्ने ह्याउ मसँग छैन । उहाँकै शब्दको आड लिएर यो भारी बिसाउँछु— ‘यो एउटा भागीरथी गङ्गा हो, थाप्लामा बोक्न मुस्किल छ । एकबार यस्तै भयो । पछि अझ राम्रो गरम्ला ।
(केशवराज ज्ञवालीको ‘अज्ञात’ फाइन प्रिन्टबाट प्रकाशित उपन्यास हो)
प्रतिक्रिया 4