News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७६ वर्ष पूरा भएको छ र सबै कम्युनिस्ट घटकहरूले ७७औँ स्थापना दिवस मनाइरहेका छन्।
- नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीभित्रको नोकरशाहीकरण र आन्तरिक लोकतन्त्रको अभावले वामपन्थी पार्टीहरूलाई पराजयमा पुर्याएको बताए।
- पाण्डेले पार्टीमा रिफर्म होइन, आइडियोलोजी, सङ्गठन र सक्रियतामा आमूल परिवर्तन (रेभोलुसन) आवश्यक रहेको र युवा नेतृत्वलाई अघि ल्याउनुपर्ने बताए।
नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको आज ७६ वर्ष पुगेको छ । यो अवसरमा सबैजसो कम्युनिस्ट घटकहरूले ७७औँ स्थापना दिवस मनाइरहेका छन्, नेताहरूले शुभकामना वक्तव्य जारी गरेका छन् ।
तर स्थापना दिवस मनाइरहँदाको पृष्ठभूमि चाहिँ उनीहरूलाई निकै पीडादायी बनेको छ । गत २१ फागुनको निर्वाचनबाट वामपन्थी पार्टीहरूले शर्मनाक पराजय बेहोर्नुपरेको छ । २० वर्षपछि देशमा वामपन्थीविहीन सरकार बनेको छ ।
यिनै सन्दर्भमा नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग अनलाइनखबरकर्मी सइन्द्र राईले कुराकानी गरेका छन् । प्रस्तुत छ, अन्तर्वार्ताको सम्पादित अंश:
कम्युनिस्ट पार्टीहरू यो स्थितिमा पुग्छन् भन्ने कल्पना गर्नुभएको थियो ?
मलाई यस्तो हुन सक्छ भन्ने लाग्थ्यो । हाम्रो आन्दोलन र पार्टीभित्र हुर्किरहेका प्रवृत्तिहरूले यस्तै सङ्केत गरिरहेका थिए । राजनीतिक दल भनेको लोकसेवा आयोग होइन, जहाँ एक दिन जेठो हुँदैमा कोही सिनियर हुन्छ । राजनीतिमा त क्षमताशील छ भने जुनियर मान्छे पनि सिनियर मोस्ट नेता बन्न सक्छ । तर हामीले पार्टीलाई नोकरशाहीकरण गर्दै गयौँ ।
पार्टीभित्र आलोचनात्मक विचार राख्ने मान्छेहरूलाई नसहने र उनीहरूमाथि त्रास सिर्जना गरेर ‘तेरो भविष्य अप्ठ्यारोमा पार्दिन्छु’ भन्ने जस्तो डरको परिवेश बन्दै गयो । यसले पार्टीभित्र असन्तुष्टि भए पनि मानिसहरू नबोल्ने, नबताउने र बाहिर सबै ठीक छ भन्ने प्रवृत्ति बढ्यो । जब यस्तो प्रवृत्ति हुर्किन्छ, त्यस पार्टीले कुनै न कुनै बिन्दुमा गएर ठुलो पराजय भोग्नु अनिवार्य थियो ।
जस्तो- राजतन्त्रको हकमा पनि हामीले त्यही देख्यौँ । पञ्चायतकालमा विद्यार्थीहरूलाई ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भनेर जबर्जस्ती र्याली निकालिन्थ्यो । त्यो स्वेच्छाले थिएन । करबल र बाध्यता थियो । तर एउटा बिन्दुमा पुगेपछि त्यो रहेन । हामीले हेर्दाहेर्दै राजतन्त्र चकनाचुर भयो ।
त्यसैले कुनै पनि कुरा अजम्बरी हुँदैन । सकारात्मक रूपमा रूपान्तरण गर्न सकियो भने मात्र संस्था टिक्छ । उदाहरणका लागि अमेरिकामा दुई सय वर्षदेखिका पार्टीहरू आज पनि एकअर्कामा प्रतिस्पर्धा गरिरहेका छन् । त्यहाँ नयाँ पार्टी उदाउन नसक्नुको कारण ती पार्टीभित्र स्पेसहरू फराकिलो हुनु र लचकता हुनु हो ।
कम्युनिस्ट पार्टीमा झन् धेरै लचकता चाहिन्छ । त्यो नहुँदाका परिणाम हुन् यी । यद्यपि २०४६ सालपछि एमाले एउटा लचकदार पार्टी बनेको थियो । जनताको बहुदलीय जनवाद (जबज) मार्फत हामीले दुईवटा कुरा परिवर्तन गर्यौँ ।
पहिलो, १४ वटा लोकतान्त्रिक विशेषतालाई अङ्गीकार गर्यौँ । दोस्रो, व्यक्तिको सम्पत्तिको हकलाई स्वीकार गर्यौँ । जसलाई पहिले परम्परागत कम्युनिस्टहरूले पूँजीवादी विचार भन्थे । सम्पत्तिको हक स्वीकार्नु भनेको व्यक्तिगत स्वतन्त्रतालाई मान्नु हो । यसरी हामीले परम्परागत विचारलाई त्यतिबेलै छाडेका थियौँ ।
वामपन्थीहरूले यो तहको पराजय बेहोर्नुमा यसभित्र रहेको नोकरशाहीकरण पनि हो ?
एउटा मुख्य कारण हो । समाज द्रुत गतिमा ‘नलेज इकोनोमी’ र ‘इन्फर्मेसन सोसाइटी’तर्फ बदलिरहेको छ । यस्तो तीव्र आर्थिक सङ्क्रमणलाई पुरानो समाजले स्वीकार्न सक्दैन, त्यो ढल्छ ।
जसरी नेपाली समाजमा सामन्ती व्यवस्था (जमिनदार, मुखियातन्त्र) ढल्दै गर्दा राजतन्त्र पनि ढल्यो, त्यसैगरी अहिलेको बदलिँदो सूचना समाजलाई दलहरूले नेतृत्व गर्न नसक्दा पराजित हुनुपर्यो ।
पुराना पार्टीहरूले लोकतन्त्रको नयाँ रूप चिन्न सकेनन् ?
हो । २००६ सालमा हामीले गरेको लोकतन्त्रको व्याख्या फरक थियो । त्यो बेला एउटा गोरखापत्र निस्कन्थ्यो नेपालमा । त्यतिबेला बोल्न, सभा गर्न र सङ्गठन गर्न पाइँदैनथ्यो । राज्यले निषेध गरेको बेला पार्टीले भन्थ्यो- ‘राज्यले निषेध गरे पनि पार्टी खुला छ, यहाँ आएर विचार राख ।’ त्यतिबेला मानिसहरू त्यसकै पछाडि सङ्गठित भए ।
आजको लोकतन्त्र २००६ सालको जस्तो छैन । आज नागरिकको हातहातमा मोबाइल छ, जसलाई ‘मोबाइल लोकतन्त्र’ भन्न सकिन्छ । मानिसलाई जे मन लाग्छ, तुरुन्तै विश्वव्यापी रूपमा राख्न सक्छ । अब पार्टीले पुरानै शैलीमा ‘पार्टीको कुरा पार्टीमै राख’ भनेर हुन्छ र ? हातमा मोबाइल बोकेर लोकतन्त्रको प्रयोग गर्ने युवा जमातले पार्टीभित्र त्योभन्दा उन्नत स्तरको लोकतान्त्रिक पद्धति खोज्छ । त्यो नभएपछि युवाहरू अर्को पार्टीमा जान्छन् नि !
तर त्यसो गर्दा नेतृत्व कमजोर हुन्छ भन्ने पार्टीहरूले भन्दै आएका छन् नि ?
राजतन्त्र फाल्दा पनि त त्यो व्यवस्था कमजोर भएकै थियो नि ! राजनीतिक चेतना तीव्र गतिमा आएको बेला हामीले त्यसलाई समातेर अघि बढ्न सकेनौँ भने जनताले हामीलाई पनि फाल्दिन्छन् ।
परिवर्तनलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ । प्रविधिको प्रयोग गरेर पुराना पार्टीलाई कमजोर गर्ने सङ्गठित वा व्यक्तिगत प्रयास भयो होला, त्यहाँ षड्यन्त्र पनि होला, तर यो परिवर्तनलाई कसैले रोक्न वा लुकाउन सक्दैन । हामीले यसलाई बुझेर पार्टीलाई नयाँ ढङ्गले व्याख्या गर्ने र रूपान्तरण गर्ने सामर्थ्य राख्नैपर्छ ।
आर्थिक, सामाजिक र चेतनामा आएको परिवर्तनलाई बुझ्न नसक्दा विरासत बोकेका कांग्रेसलगायत पुराना पार्टीहरूले अहिले धक्का खानुपरेको हो ?
पक्कै हो । विश्वव्यापी रूपमै वामपन्थ कमजोर भइरहेको अवस्थामा त्यसको प्रभाव हाम्रो समाजमा पर्नु स्वाभाविक थियो । तर यो वामपन्थको मात्र कुरा होइन; नेपाली कांग्रेस, मधेसवादी दल वा सन् १९९० पछि उदाएका जातीय र भाषिक नारा बोकेका कुनै पनि पार्टीले अहिले राम्रो नतिजा ल्याउन सकेनन् । 
बदलिरहेको समाजमा जेनजी आन्दोलन एउटा पानीढलो मात्रै बन्यो ?
समाजशास्त्र र अर्थशास्त्रको दृष्टिकोणबाट हेर्दा समाज निरन्तर विशिष्टीकरणतर्फ गइरहेको छ । जस्तै- पूँजीवादले श्रमको विभाजन ल्यायो । अर्थशास्त्रीहरू यसलाई एउटा कारखानाभित्रको घटना मान्छन्, तर समाजशास्त्री इमाइल दुर्खिमले यसलाई समाजकै विशिष्टीकरण भनेका छन् ।
अहिले पूँजीवादी समाजमा डाक्टर, इन्जिनियर, नर्सदेखि विभिन्न पेसागत विशिष्टता चाहिएको छ । त्यसैले जेनजी आन्दोलन पनि त्यही बृहत् सामाजिक परिवर्तनको एउटा प्रकटीकरण हो । वैदेशिक रोजगारीले पारिवारिक संरचना र मनोविज्ञानमा ल्याएको परिवर्तन, घट्दो जनसङ्ख्या वृद्धिदर र त्यसले श्रम बजारमा पारेको बहुआयामिक असर- यी सबै कुराको राजनीतिक विश्लेषण सत्तामा बस्ने दलहरूले गर्नुपर्थ्यो । तर उनीहरूले जहाँ छन् त्यहीँ बसेर पुरानै चस्माले समाजलाई हेरे, जसको परिणाम यो आन्दोलन र अहिलेको चुनावी नतिजा हो ।
यदि जेनजी आन्दोलन नभएको भए पनि यो असन्तुष्टि अर्को कुनै रूपमा प्रकट हुन्थ्यो ?
बिल्कुल । त्यो आन्दोलन नभएको भए पनि अरू कुनै न कुनै रूपमा त्यो विस्फोट हुन्थ्यो नै । किनभने समाजमा बहुआयामिक परिवर्तनहरू एकसाथ भइरहेका थिए ।
तपाईं आफैँ पनि ‘टप लेयर‘ का नेता । सम्भावित असफलता रोक्ने प्रयत्नलाई केले रोकेको थियो ?
सामान्यतया राजनीतिक दलहरूमा प्रमुख नेताहरू बढी जिम्मेवार हुन्छन् । कतिपयले मलाई पनि ‘तपाईंले चाहिँ के हेरेर बस्नुभयो ?’ भनेर सोध्छन् । पार्टीका अध्यक्ष वा प्रधानमन्त्री भनेका आजको समयमा सीईओ जस्ता हुन् । उनीहरूले सबैलाई समन्वय गरेर आइरहेको परिवर्तनलाई आत्मसात् गर्नुपर्थ्यो । तर त्यो न हाम्रो पार्टीमा भयो, न अरू पार्टीमा ।
शीर्ष नेतृत्व असफल हुँदा त्यसको दोष भने समग्र पार्टी र कार्यकर्ताले भोग्नुपरेको छ नि, होइन र ?
स्वाभाविक हो । मस्तिष्कमा समस्या भयो भने त्यसको असर औँलादेखि शरीरका सबै अङ्गमा पर्छ । औँलामा समस्या हुँदा मस्तिष्कलाई असर नपर्ला, तर मुख्य ठाउँ असफल भएपछि पूरै शरीर (पार्टी) ले त्यसको मूल्य चुकाउनुपर्छ ।
पछिल्लो समय एमालेभित्र आन्तरिक लोकतन्त्र पनि थिएन । यसले अझ बढी समस्या भयो ?
गएको महाधिवेशनमा र त्योभन्दा अघिको विधान महाधिवेशनदेखि नै हामीले पार्टीभित्र लोकतान्त्रिक अभ्यास गरौँ, नेतृत्व परिवर्तन वा नयाँ ढङ्गले जाऔँ भनेर बहस उठाएकै हौँ । तर बहस उठाउनेहरू कारबाहीमा पर्ने वा पाखा लाग्ने स्थिति बन्यो ।
तपाईंले भनेकै स्थितिलाई लिएर वामपन्थीहरू अझै पनि जीवित रहलान् र पनि भनिँदै छ नि ?
यहाँ दुईवटा बाटा छन् । एकथरी मान्छे अझै पनि ‘नयाँहरू बदनामी हुन्छन् र हाम्रो पालो फेरि आउँछ’ भनेर कुरेर बसेका छन् । तर म त्यस्तो देख्दिनँ । राणा शासन ढलेपछि गोर्खा परिषद्ले पनि यस्तै सोचेको थियो, तर राणा शासन फर्किएन । बरु १७ सालको काण्डपछि गोर्खा परिषद् नै कांग्रेसमा समावेश भयो ।
अहिले पनि पुराना दलहरूले गल्ती गरे भन्दैमा राप्रपाजस्तो पुरानै शक्तिले भोट पाएन, बरु नयाँ शक्तिहरू उदाए । खोला कहिल्यै फर्केर पछाडि आउँदैन, अगाडि नै बग्छ । त्यसैले पार्टीहरूले आफ्नो स्पिड बढाएर समाजको परिवर्तनसँगै कुद्न सके भने मात्र उनीहरू फेरि माथि उठ्न सक्छन् । ‘मेरै पालो आउँछ’ भनेर कुरेर बस्ने हो भने अब केही हुनेवाला छैन ।
तपाईंको पार्टी महासचिवले केही समयअघि एउटा उदाहरण दिँदै भन्नुभएको थियो– ०५९ सालमा गिरिजाप्रसाद कोइरालाविरुद्ध आवाज उठ्यो, तर देशमा निम्तिएको अनिष्टले गिरिजालाई राजनेता बनायो । केपी ओलीको हकमा पनि त्यस्तै हुनेछ । यसबारे के भन्नुहुन्छ ?
देशमा फेरि अनिष्ट आउन सक्छ, २३-२४ भदौ अन्तिम अनिष्ट हो भन्ने ठान्दिनँ । तर पुरानालाई नै फर्काउनेगरी आउँछ भन्ने मलाई लाग्दैन । नयाँ सङ्कटले नयाँ विकल्पतिरै लैजान्छ । त्यसैलै पुरानै शैलीमा बसेर ‘मेरै पालो आउँछ’ भनेर सोच्नु गलत हो ।
पार्टीभित्रको स्थिति हेर्दा मलाई लाग्छ- अब रिफर्म (सुधार) ले मात्र पुग्दैन, रेभोलुसन (आमूल परिवर्तन) कै खाँचो छ । त्यो रेभोलुसन पार्टीको आइडियोलोजी, सङ्गठन र सक्रियता सबै पक्षमा हुनुपर्छ ।
आइडियोलोजीकै पनि रेभोलुसन जरुरी छ ?
समयको मागअनुसार समीक्षा गर्नुपर्छ । आवश्यक पर्यो भने हामीले समीक्षा किन नगर्ने ? हामीले ‘माओ विचारधारा’ मान्ने नीति पनि त कुनै बेला छोडेकै थियौँ नि ! त्यो छोड्दैमा हामी कम्युनिस्ट नभएको हो र ?
जबजले १४ वटा विशेषता अगाडि सार्दा कतिपयले हामीलाई पूँजीवादी भयो, नक्कली कम्युनिस्ट भयो भनेर आलोचना गरेका थिए । तर हामीले समयको आवश्यकतालाई बुझेर त्यो नीति ल्यायौँ । जबजलाई अझ परिष्कृत गर्नुपर्छ । जबजले जनताको विश्वास र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने कुरा गर्छ, त्यो त नराम्रो होइन नि !
तर जबज भनेर सत्तामा जान थालेको एमाले सत्ताबाट बाहिर निस्कनै नसक्ने स्थितिले सङ्कट ल्यायो भन्ने लाग्दैन ?
मदन भण्डारीले भन्नुहुन्थ्यो- सेना वा बन्दुक भएकै कारणले मात्र कम्युनिस्ट पार्टी बन्छ भन्ने होइन । उसले बोक्ने निश्चित नीति र ध्येयले कम्युनिस्ट पार्टी बन्छ ।
जबजले त अझ धेरै लोकतान्त्रिक र प्रतिस्पर्धी बन्न सिकाएको हो । जस्तो- कुनै पनि धर्मले नराम्रो काम गर्न सिकाउँदैन, तर धर्म मान्नेहरूले खराब काम गर्दा धर्म नै खराब हो कि भन्ने भ्रम पर्छ । जबज खराब होइन, तर यसको प्रयोग गर्नेहरूले गलत ढङ्गले अभ्यास गरिदिए । अब हामीले ‘यहाँ-यहाँ गल्ती भयो’ भनेर इमानदारीपूर्वक समीक्षा गर्नुपर्छ । त्यही भएर मैले भनेको हुँ- अब रिफर्म होइन, रेभोलुसन नै चाहिन्छ ।
रेभोलुसनको थालनी कहिलेबाट हुन्छ ?
अहिले विशेष परिस्थिति छ । आज शल्यक्रिया गरेको बिरामीलाई भोलि नै ‘किन दौडिनस्’ भन्न मिल्दैन । निको हुन समय लाग्छ । चुनावमा यत्रो धक्का खाएको अवस्थामा आजकै भोलि दौडिन खोज्नु व्यावहारिक हुँदैन । तर कमजोरीहरू सच्याएर हामी नदौडी सुखै छैन ।
तर अहिलेको हाम्रो केन्द्रीय कमिटीले आजको चुनौती बोक्न सक्दैन, यो एकदम प्रस्ट छ । उदाहरणका लागि, गएको महाधिवेशनमा प्रतिनिधि बढाउन कतिपय जिल्लामा धुमधामले पार्टी सदस्य थपिए । तर चुनावमा पार्टी सदस्य बराबर पनि भोट आएन । यस्तो नक्कली सदस्यबाट बनेको केन्द्रीय कमिटीले अबको आन्दोलनको नेतृत्व गर्न सक्दैन ।
त्यसैले, तल वडा कमिटीदेखि केन्द्रीय कमिटीसम्मै नयाँ ढङ्गले पुनर्संरचना नगरेसम्म यो पार्टी उठ्नै सक्दैन । यसको सुरुवात माथि (नेतृत्व तह) बाटै गर्नुपर्छ, तलबाट होइन । माथिबाट गाँठो फुकाउन थाल्नुपर्छ ।
पार्टी अध्यक्ष तयार हुनुहोला ?
समयको आवश्यकता हो, नफुकाइकन उपाय नै छैन । जस्तो मान्नुस्- भूकम्प आयो भने मान्छेले पहिला आफैँलाई जोगाउँछ र बाहिर निस्केपछि मात्र अरूको खोजी गर्छ । यो मान्छेको प्राकृतिक स्वभाव हो । पार्टीमा पनि अहिले त्यस्तै सङ्कट छ । आफू नै सकिने अवस्था आएपछि कसरी अरूलाई बोकेर हिँड्न सकिन्छ ?
अब पार्टीमा लागेर ‘म सांसद वा मेयर बन्छु’ भन्ने स्वतन्त्र सम्भावना छैन । हिजोको पुस्ताले गरिदिएको पौरख (ढुकुटी) सकियो । अब आफैँले पौरख गरेर पार्टी बनाउनुपर्छ, नत्र सिद्धिनुको विकल्प छैन । यहाँ कसैलाई जोगाइदिने कुनै महापिता वा भगवान् छैनन् ।
तर तपाईंहरू जस्ता दोस्रो तहका नेताहरूले समेत जनताको भावनाभन्दा पनि नेताहरूको चाकरीमा लाग्दा जेनजी विद्रोह र २१ फागुनको नतिजा आयो भन्नेमा सहमत हुनुहुन्छ ?
सबैलाई एउटै विश्लेषण सही हुँदैन । कतिमा त्यस्तो महसुस छ र कतिमा छैन । सबैमा त्यस्तो चेत भए त परिवर्तन नै भइहाल्थ्यो नि, बिग्रिएको पनि त्यसैले हो । यो त लुकाउने कुरै भएन ।
तर अब फलानो मान्छेलाई हटाएर म नेतृत्वमा आउँछु भन्ने दौडधुपमा छैन । म त भन्छु- बरु पाँचौँ पुस्ता वा नाति पुस्तालाई नै नेतृत्व दिएर भए पनि जाऔँ । हामी बिदा लिएर सल्लाहकार वा सहयोगी भएर बस्न तयार छौँ । मुख्य कुरा नयाँ अठोट भएका मानिसहरूको नेतृत्व पङ्क्ति निर्माण गर्नुपर्छ ।
एउटा विधि बनाऔँ- ३० वर्षभन्दा मुनिकालाई वडा र नगर कमिटीको प्रमुख बनाऔँ । ४० वर्षभन्दा मुनिकालाई जिल्ला कमिटीमा राखौँ । अनि केन्द्रीय कमिटीमा आधा मान्छे ४० वर्ष उमेर समूहका युवालाई राखौँ । यसले केन्द्रीय कमिटीमा आधा मानिस अनुभवी पाकाहरू हुन्छन् । मैले अघि भनेजस्तै पार्टीलाई रिफर्म होइन, रेभोलुसन (क्रान्ति) चाहिएको छ ।
तर सम्भव होला र ?
नेपालका करिब १ करोड विद्यार्थी स्कुलदेखि विश्वविद्यालयसम्म पढ्दै छन् । उनीहरूका हातहातमा मोबाइल छ । मोबाइल लिएर हिँड्ने युवाहरूले प्रविधिमार्फत उपभोग गरिरहेको अधिकार (जनवाद) लाई पार्टीभित्र सङ्कुचन गरियो भने पार्टीमा को आउँछ ? आउँदैन नि ।
त्यसैले लेनिनले भूमिगत कालमा गरेको ‘जनवादी केन्द्रीयता’ को व्याख्याले अब पुग्दैन । पार्टी सदस्यले मोबाइलबाट पठाएको म्यासेज (सुझाव/असन्तुष्टि) को सुनुवाइ हुने वातावरण पार्टीभित्र बनाउनुपर्छ । पुराना अप्रासङ्गिक सोचहरूलाई त्यागेर वैचारिक र साङ्गठनिक रूपमा युवा पुस्ताको ओरिएन्टेसन गर्नुपर्छ ।
तपाईंलाई अझै पनि कम्युनिस्ट पार्टीहरू उठ्छन् भन्ने विश्वास लाग्छ ?
आवश्यक पर्यो भने कम्युनिस्ट पार्टीहरूले ‘रिथिङ्क’ गर्नुपर्छ र गर्छन् ।
इतिहास हेर्ने हो भने, राजाहरूसँग लड्दा पूँजीवादीहरूले ‘लेसेस-फेयर’ को कुरा ल्याएका थिए । यसको अर्थ, व्यक्तिको स्वतन्त्र सोचमा राजा वा राज्यले हस्तक्षेप गर्नु हुँदैन । यो एउटा मुक्तिको सिद्धान्त थियो । तर हामीले त्यसलाई ‘पूँजीवादीहरूको मात्रै विचार हो’ भनेर बुझ्यौँ, जुन गलत थियो ।
आज युरोपका पूँजीवादी समाजभित्र पनि समाजवादी सुरक्षाहरू प्रशस्त छन् । चीनले सन् १९७८ मै परम्परागत कुरा छाडेर ‘सोसलिस्ट मार्केट इकोनोमी’ मार्फत आर्थिक सुधार गर्यो र त्यहाँ अर्बपतिहरू जन्मे । समाजवादी व्यवस्थामा अर्बपति हुन्छन् भन्ने कसैले सोचेको थियो ? थिएन नि । तर नेपालमा अझै पनि ‘पैसा कमाउने मान्छे कसरी कम्युनिस्ट हुन्छ ?’ भन्ने पुरानो सोच छ । के गफ हाँकेर हिँड्ने मात्र कम्युनिस्ट हुन्छ र ? कर तिरेर, राज्यको नियम मानेर पैसा कमाउनु अपराध होइन नि ।

वामपन्थी शक्ति उठ्ने सामाजिक–आर्थिक आधारहरू पनि छन् ?
म तीनवटा कुरा हेर्छु ।
पहिलो- २००६ सालमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टी एउटै नारामा सङ्गठित थिए । आखिर पार्टी भनेको सामाजिक सङ्गठन हो । समाज जस्तो छ, पार्टी त्यसरी बन्छ । कांग्रेसले प्रजातन्त्र, समाजवाद र राष्ट्रियता भन्यो । कम्युनिस्टहरूले जनतन्त्र, जनजीविका र राष्ट्रियता भन्यौँ ।
तर आज समाज त्यो अवस्थामा छैन । २००६ सालमा ९५ प्रतिशत मान्छे गरिबीको रेखामुनि थिए, आज त्यो १७.४ प्रतिशतमा झरेको छ । मध्यम वर्गको बाहुल्य भएको समाजमा हामी सधैँ गरिबको मात्र पार्टी भनेर कसरी बस्ने ? मध्यम वर्गको प्रतिनिधित्व कसरी गर्ने भनेर विधानमै परिवर्तन गर्नुपर्छ ।
दोस्रो- त्यतिबेलाको लोकतन्त्र भनेको गोरखापत्र पढ्न पाउनु थियो । आजको लोकतन्त्र भनेको हातमा इन्टरनेट र मोबाइल हुनु हो । यसको आधारमा लोकतन्त्रको व्याख्या गर्नुपर्छ ।
तेस्रो- त्यतिबेला औपनिवेशिक पूँजीवादका कारण देशै कसैले खाइदेला कि भन्ने डर थियो । आज आर्थिक राष्ट्रवाद छ । हरेक मान्छेलाई कमाउनुपरेको छ । कोही मलेसिया उडेको छ, को कहाँ उडेको छ । रोजगारी कसरी सिर्जना गर्ने र कमाइ कसरी बढाउने आजको मुख्य राष्ट्रवाद हो ।
हिजो वामपन्थीहरूले गीत गाउँथे- ‘जान्नँ म गोर्खाभर्ती मलाया छाउनीमा, पापी मरो कुइरेको देशमा ।’ विदेश जानुलाई राष्ट्रघाती भनेर गीत गाउँथे वामपन्थीहरू । आज रोजगारीको सुरक्षित गन्तव्य भनिरहेका छौँ ।
त्यसैले, आजको सन्दर्भमा लोकतन्त्र, जीविका र राष्ट्रवादको नयाँ परिभाषाको खाँचो छ ।
तर तपाईंकै पार्टी अध्यक्षले चुनावी हारको समीक्षा बाह्य हस्तक्षेप भन्दै हुनुहुन्छ नि ?
नेपालमा सुगौली सन्धिदेखि आजसम्मका सरकार परिवर्तनमा कहिले विदेशीको हात वा षड्यन्त्र थिएन र ? सधैँ थियो । विदेशी संलग्नता हुँदै हुँदैन म भन्दिनँ । तर मुख्य कुरा देश हाँक्ने सरकार र नेताहरूको सुझबुझ (सचेतना) कति छ भन्ने हो ।
बाह्य प्रभावलाई कसरी कन्ट्रोल गर्ने, कहाँ सम्झौता गर्ने वा कसरी मिनिमाइज गर्ने भन्ने कुरा त हाम्रो आफ्नै सामर्थ्यमा भर पर्छ नि । आफूले केही नगर्ने अनि सधैँ अर्कालाई दोष लगाएर ‘विदेशीले गर्दियो’ भन्ने हो भने त हामी शासन सञ्चालन गर्नै अयोग्य छौँ भन्नुपर्यो नि ! सक्षम मान्छेले विदेशीलाई मात्र दोष दिएर पन्छिन मिल्दैन ।
तर सार्वभौमिकताको सवाल उठ्दा राष्ट्रियताबारे बोल्नु जोखिमपूर्ण पनि छ नि ?
५०० वर्षदेखि विश्वमा पूँजीवाद आएपछि एउटा ‘वर्ल्ड सिस्टम’ बनेको छ । इरानमा युद्ध हुँदा यहाँ तेलको अभाव हुन्छ । यस्तो ‘इन्टरकनेक्टेड’ विश्वमा हामीले सार्वभौमसत्ताको व्याख्यालाई नयाँ सन्दर्भमा हेर्नुपर्छ ।
सार्वभौमसत्ता इन्कार गरौँ भनेको होइन, तर यसको व्यावहारिक अर्थ खोज्नुपर्छ । के अब हामी सार्वभौम छौँ भनेर तेल नकिनी गुफा युगमा फर्कन सक्छौँ र ? रासायनिक मल नल्याई बस्न सक्छौँ ? त्यसैले कम्युनिस्ट मात्र होइन, राजादेखि अहिलेका नयाँ पार्टीहरूलेसमेत प्रयोग गरिरहेको राष्ट्रवादको भाष्य ‘पपुलिजम’ मात्र हो ।
फेरि वामपन्थीतिरै फर्कौँ । युवा पुस्ताको मनोविज्ञान कम्युनिस्टप्रति नराम्रो बनिरहेको देखिन्छ । उनीहरूलाई कसरी फकाउने ?
‘ए केटाकेटी हो, म तिमीहरूलाई बाटो देखाउँछु, मकहाँ आऊ’ भन्ने पुरानो शैलीले अब काम गर्दैन ।
अब भन्नुपर्छ- ‘नौजवानहरू, नेतृत्व लिनुस् । हामीले यहाँसम्म ल्यायौँ, त्यसलाई अगाडि बढाउने कर्तव्य तपाईँहरूको हो । यहाँसम्म आउँदाको इतिहास पढ्नुस्, वर्तमान बुझ्नुस् र अगाडि बढाउने जिम्मेवारी काँधमा लिनुस् ।’
युवाहरूलाई उपदेश दिने होइन, उनीहरूको नेतृत्वमा अगाडि बढ्ने स्थिति बनाउनुपर्छ ।
पुराना पुस्ताले सङ्घर्ष नगरेका भए हामी कुन अवस्थामा हुन्थ्यौँ ? संक्षेपमा सम्झनुस् न …
बीपी, गणेशमान, पुष्पलाल र मनमोहन अधिकारीहरूले राणा र पञ्चायतविरुद्ध नलडेको भए के हुन्थ्यो ? हामी अझै अन्धकार युगमै हुन्थ्यौँ होला । पञ्चायत ढलेपछि आएको आर्थिक र श्रम उदारीकरणकै कारण आज नेपाली युवाहरू पढ्न र रोजगारीका लागि विश्वभर जान पाएका हुन् ।
यदि त्यो स्वतन्त्रता नभएको भए आजका यी युवाहरू नेविसङ्घ र अखिलका कार्यकर्ता भएर सडकमा ढुङ्गा हानिरहेका हुन्थे होलान् । अहिलेको नेतृत्वका कारण युवाहरू मात्र विदेश जान बाध्य भए भन्नु गलत कुरा हो । युरोपका मान्छे अमेरिका गएका छैनन् र ? यो त विश्वव्यापी अवसरको खोजी हो ।
तर ‘देशका नेता राम्रा नभएकाले विदेश जानुपरेको‘ भन्ने भाष्यकै यत्रतत्र चर्चा छ नि ?
नयाँ सरकार बनेको छ । अब विदेशमा रहेका ५० लाख युवाहरू फर्कन्छन् र ? समाचार सुन्दै थिएँ, नयाँ सरकारले दस वटा देशमा रोकिएको श्रम स्वीकृति खुला गरिदिएको छ ।

नयाँ सरकारबारे केही भन्नुहुन्छ ?
म उहाँलाई धेरै चिन्दिनँ, नबुझीकन टिप्पणी गर्नु उचित हुँदैन । तर उहाँहरूसँग दुईतिहाइ बहुमत छ र संसद्मा पढेलेखेका, विदेशको अनुभव भएका युवाहरूको ठुलो पङ्क्ति छ । यो उहाँहरूका लागि ठुलो अवसर हो । उहाँहरूले नेपाली परिवेश बुझेर रूपान्तरणको प्रक्रियामा लाग्नुभयो भने धन्यवादकै पात्र बन्नुहुनेछ ।
अन्त्यमा, तपाईंहरूकै पार्टी नेतृत्वको बारेमा के भन्नुहुन्छ ?
अहिले यो सानो छलफलमा त्यतातिर नलागौँ । त्यसको एउटा लामो शृङ्खला छ । उहाँमा राम्रा र नराम्रा दुवै पक्ष थिए । राम्रो नभएको भए त्यो पोजिसनमा पुग्नुहुन्नथ्यो, नराम्रो नभएको भए आज यो अवस्था आउँदैनथ्यो । उहाँले आफैँ पनि समीक्षा गर्दै हुनुहोला । पार्टी र हामी सबैले पनि गम्भीर समीक्षा गर्नैपर्छ ।
७७औँ कम्युनिस्ट पार्टी स्थापना दिवसको सन्दर्भमा मेरो एउटै कुरा छ- अब क्रान्तिकारी पुनर्गठन नगरी सुखै छैन । यो बाटो सजिलो छैन, हामीले धेरै पापड बेल्नुपर्नेछ ।
प्रतिक्रिया 4