+
+
Shares

बर्खाका सम्झना

आज पनि झरी पर्दा, मलाई लाग्छ तिमी नजिक छ्यौ ओठमा हल्का स्पर्श, घाँटीमा कम्पन, हातको न्यानोपन महसुस हुन्छ ।

सरोज भट्टराई सरोज भट्टराई
२०८२ चैत २१ गते १९:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्यन र मायाको प्रेम कथा बर्खाको मौसममा सुरु भएर जीवनका विभिन्न पाटोहरू समेटेको छ।
  • माया गाडी दुर्घटनामा परी मृत्यु भएपछि आर्यनको जीवनमा गहिरो खालीपन आयो।
  • आर्यनले माया प्रति आफ्नो अमिट प्रेम र सम्झनालाई झरीका थोपा मार्फत व्यक्त गरेका छन्।

कहिलेकाहीँ जिन्दगी अक्षरहरू जस्तै लाग्छ ।

साँच्चै अक्षरहरू जस्तै बेतरतीब, मिलाउन खोज्दा झन् अल्झिने, तर त्यसैभित्र एउटा कथा लुकेको हुन्छ । त्यो कथा कहिल्यै पूर्ण हुँदैन, तर अपूरै भएर पनि मनको गहिराइमा बसेको हुन्छ । बर्खाको मौसम थियो । आकाश सधैंजसो धुम्म, बादलले भरिएको ।

झरी कहिले झमझम पर्थ्यो, कहिले स-सानो टपक्क-टपक्क झर्थ्यो । त्यो दिन पनि त्यस्तै थियो । आर्यन झ्यालको छेउमा उभिएको थियो । उसको आँखाले बाहिरको पानी मात्र हेरेको थिएन त्यो त झरीसँगै बगिरहेका पुराना सम्झनाहरू थिए ।

झ्यालको सिसामा पानीका थोपा बग्दा उसलाई लाग्थ्यो, मानौँ कसैले उसको मनभित्रका शब्दहरू पखालिरहेको छ । ‘कति अजीब छ है जिन्दगी…’ उसले आफैसँग बुदबुदायो ।

सरोज भट्टराई ।

झरीले उसलाई सधैं एउटै ठाउँमा पुर्याउँथ्यो ती दिनहरू, जहाँ हाँसो थियो, जहाँ मिठास थियो, तर त्यहीँ कतै गहिरो पीडा पनि थियो । – त्यो समय, जब उनीहरू कलेजमा थिए । बर्खा सुरु भइसकेको थियो । कलेजको आँगनमा पानी जमेको, बाटोहरू हिलाम्य ।

सबै विद्यार्थीहरू छाता लिएर दौडिरहेका, कसैले हाँस्दै, कसैले कराउँदै, कसैले झरीलाई गाली गर्दै । आर्यन भने सधैंजस्तै ढिलो । ‘तिमी कहिल्यै टाइममै आउँदैनौ है!’ उ आवाज उसले टाढैबाट चिन्थ्यो । माया उसको हातमा सानो निलो छाता थियो ।

आँखा हल्का रिसाएको जस्तो, तर भित्र कतै मुस्कान लुकेको । ‘म तिमीलाई पर्खिरहेको थिएँ,’ उसले भनिन् । आर्यन हाँस्यो । ‘तिमीले मलाई पर्खिनु पर्छ भन्ने कुनै नियम छ?’ मायाले छाता उसको टाउकोमाथि तान्दै भनिन्, ‘नियम छैन, तर बानी भइसकेको छ ।’ त्यो वाक्य सानो थियो, तर त्यसले आर्यनको मनमा गहिरो असर छोड्यो । त्यो दिन उनीहरू पहिलोपटक लामो समय सँगै हिँडे ।

भिजेको बाटो, सानो छाता, र दुई जनाको नजिकिँदो दूरी । दिनहरू बित्दै गए । हरेक बिहान, माया गेट नजिकै उभिएकी हुन्थिन् । आर्यन ढिलो आए पनि, ऊ कहिल्यै रिसाउँदिनथिन् कम्तिमा धेरै बेर होइन । ‘तिमी जान्दैनौ, पर्खिनु कस्तो हुन्छ,’ माया एकदिन भन्थिन् । आर्यनले हल्का हाँस्दै भन्यो, ‘म तिमीलाई सधैं पर्खिन दिँदिन ।’ मायाले उसको आँखामा हेरेर बिस्तारै भनिन्, ‘कहिलेकाहीँ, जीवनले आफै पर्खाइ बनाउँछ ।’ त्यो वाक्य त्यतिबेला सामान्य लाग्यो, तर पछि गएर त्यो आर्यनको सबैभन्दा गहिरो सत्य बन्ने थियो ।

बर्खाका दिनहरू उनीहरूको प्रेमको साक्षी बने । कलेजपछि उनीहरू सँगै चिया पिउन जान्थे । सानो टिनको छानो भएको चिया पसल, जहाँ झरी पर्दा आवाज अझै मिठो लाग्थ्यो । ‘एकदिन हामी यस्तै चिया पिउँदै बुढा हुन्छौँ,’ आर्यनले मजाकमा भन्यो । माया मुस्कुराइन्, ‘यदि तिमी फेरि ढिलो आएनौ भने ।’ दुवै हाँसे ।

एक साँझ, झरी निकै परेको थियो । मायाले अचानक भनिन्, ‘आर्यन, मलाई चुम्न मन लाग्यो भने?’ आर्यन चकित भयो । ‘के?’ मायाले उसको आँखामा हेर्दै भनिन्, ‘जिन्दगी छोटो हुन्छ भन्छन्… कहिलेकाहीँ मनले जे भन्छ, त्यो गर्नुपर्छ ।’ त्यो क्षण मौन भयो।

झरीको आवाज मात्र सुनिन्थ्यो । आर्यनले बिस्तारै उसको हात समात्यो । मायाको सास गहिरो भयो । र त्यसपछि पहिलो चुम्बन । न धेरै लामो, न धेरै नाटकीय तर त्यति नै साँचो । त्यो चुम्बनमा बर्खाको गन्ध थियो, डर थियो, र अनन्त माया थियो । त्यसपछि उनीहरूको सम्बन्ध अझ गहिरो हुँदै गयो । सानातिना कुरा फोनमा घण्टौँ कुरा, सँगै नोट्स पढ्ने, साना झगडा, अनि फेरि मिल्ने ।

‘तिमीबिना म अधुरो छु,’ माया कहिलेकाहीँ भन्थिन् । आर्यन हाँस्दै भन्थ्यो, ‘म तिमीलाई पूरा बनाउँछु ।’ तर जीवनले कहिल्यै कसैलाई पूर्ण हुन दिँदैन । माया केवल प्रेमिका थिइनन्, उनी उसकी सबैभन्दा मिल्ने साथी पनि थिइन् ।

कक्षा छुटेपछि, कहिले उनीहरू साथीहरूसँग घुम्न जान्थे नदी किनार, सानो पहाड, वा सहरको त्यो चिया पसल ।
एकदिन, मायाले साथीहरूसँग घुम्न जाने योजना बनाइन् ।’तिमी पनि आऊ न,’ उनले भनिन् ।
‘म काममा छु,’ आर्यनले बहाना बनायो ।

माया अलिकति निराश भइन्, तर मुस्कुराउँदै भनिन्, ‘ठिक छ, फर्केर भेट्छु ।’
त्यो ‘फर्केर भेट्छु’ नै अन्तिम वाक्य हुनेछ भन्ने कसैले सोचेको थिएन ।

त्यो दिन आकाश झन् भारी थियो ।
माया आफ्ना साथीहरूसँग गाडीमा थिइन् ।
हाँसो, संगीत, सानो रमाइलो सबै सामान्य थियो ।
अचानक…
एक ठूलो आवाज ।
र त्यसपछि सबै चुप ।
आर्यनको फोन बज्यो ।
‘माया… एक्सिडेन्ट…’
त्यो शब्द सुन्नासाथ समय रोकियो ।

अस्पतालको कोठा चिसो थियो ।
माया शान्त थिइन् ।
आर्यनले उनको हात समात्यो त्यो हात जुन पहिले सधैँ न्यानो हुन्थ्यो ।
‘एकपटक बोलिदेऊ न माया…’
उसको आवाज काँपिरहेको थियो ।
‘झरीको थोपा जस्तो आधि भए पनि फर्किदेऊ न… मेरो जिन्दगीबाट नबग न…’
तर माया चुप नै रहिन् ।

उसले बिस्तारै उनको निधार चुम्यो ।
त्यसपछि आँखा…
गाला…
र अन्तिमपटक ओठ ।
त्यो चुम्बन पहिले जस्तो थिएन ।
त्यो चिसो थियो, निस्प्राण ।
तर आर्यनका लागि त्यो अझै उस्तै थियो ।
‘यी ओठहरू…’ ऊ बुदबुदायो,
‘पहिले जस्तै छन्… मैले चुमेका ओठहरू… उस्तै छन्…’
उसको आँसु मायाको गालामा खस्यो ।

वर्षौं बिते ।
तर आर्यनको लागि समय त्यहीँ रोकियो ।
ऊ अझै त्यही चिया पसल जान्थ्यो ।
त्यो कुर्सीमा बस्थ्यो जहाँ माया बस्ने गर्थिन् ।
‘दुई कप चिया…’
ऊ अझै पनि भन्थ्यो ।

एकदिन, झरी परेको बेलामा,
ऊ त्यो पुरानो बाटोमा हिँड्दै थियो ।
अचानक उसलाई लाग्यो
कोही उसको नजिक छ ।
मायाको गन्ध ।
त्यो परिचित स्पर्श ।
उसले आँखा बन्द गर्यो ।
र त्यो क्षण
सबै फेरि जीवित भयो ।
त्यो साँझ…
माया उसको काँधमा टेकेर बसेकी थिइन् ।
‘आर्यन…’
‘हम्म ?’
‘यदि म हराएँ भने… मलाई कसरी सम्झिन्छौ?’
आर्यनले उसको घाँटी नजिक हल्का चुम्दै भन्यो,
‘यहीँ… यहीँ महशुस गर्छु तिमीलाई…’
माया मुस्कुराइन् ।
उनको सास गहिरो भयो ।
‘म तिमीलाई कहिल्यै छोड्दिन,’ उनले भनिन् ।

आज, वर्षौंपछि
त्यो सबै सम्झँदा पनि,
आर्यनलाई लाग्थ्यो
उनीहरू छुटेका छैनन् ।
‘हामी सधैं सँगै हुनेछौँ…’
उसले बिस्तारै भन्यो ।
‘कहिलेकाहीँ पाउनु मात्र माया हुँदैन…
उसको यादमा, उसलाई सम्झिएर दिन बिताउनु पनि माया हो…’
झरी अझै परिरहेको थियो ।
पानीका थोपा उसको अनुहारमा खसिरहेका थिए ।
त्यो आँसु थियो कि झरी उसलाई फरक थाहा थिएन ।
तिमी गएको दिनदेखि,
झरी उस्तै परिरहेछ माया…
तर म भने
हरेक थोपा गन्दै बस्छु
कुनचाहिँ तिमी हौ भनेर…
एकपटक बोलिदेऊ न…
नाम मात्र भए पनि…
म त अझै त्यहीँ छु
त्यो छातामुनि,
तिमीलाई कुरिरहेको…
तिमीले चुमेका ओठहरू,
आज पनि उस्तै छन्
फरक यत्ति हो,
अब तिमी छैनौ…
तिमीले छोएको घाँटीमा
आज पनि तिम्रो स्पर्श बाँचेको छ…
झरीको थोपा जस्तै

आधि भएर भए पनि फर्किदेऊ न…
मेरो जिन्दगीबाट
यसरी बगेर नजाऊ न…
माया,
तिमीबिना पनि बाँचिरहेको छु
तर बाँच्नु र जिउनुमा
कति फरक हुँदो रहेछ…
तिमी सम्झनामा मात्र भए पनि—
म अझै तिमीमै बाँचेको छु…

प्रिय माया,म तिमीलाई यो शब्दहरू मार्फत भनिरहेको छु, किनकि सायद त्यतिबेला म मुखबाट भन्न लाज लागेर सकिनँ । तिमी सही थियौ, माया । जीवन छोटो छ, तर हाम्रो मनको प्रेम कहिल्यै मर्दैन । तिमी मेरो मनको सिन्धुर हौ मेरो हरेक सोच, हरेक सास, हरेक थोपा झरीमा तिमीले आफ्नो अमिट छाप छोड्यौ ।

आज पनि झरी पर्दा, मलाई लाग्छ तिमी नजिक छ्यौ ओठमा हल्का स्पर्श, घाँटीमा कम्पन, हातको न्यानोपन महसुस हुन्छ । मेरो जीवनमा खालीपन छ, तर त्यो खालीपन तिमीले भरिदियौ । तिम्रो याद, तिम्रो मुस्कान, तिम्रो सास सबै मेरो हृदयमा सधैं बाँचेको छ ।माया, म वाचा गर्छु कसरी पनि, कहिल्यै तिमीलाई बिर्सने छैन । तिमी मेरो जीवनमा सधैँ रहनेछौ । हरेक पल, हरेक सास, हरेक थोपा, हरेक हावा, हरेक स्पर्शमा ।

म सम्झन्छु ती दिनहरू बर्खाको रिमझिममा हामीसँगै हिँडिरहेका, छातामुनि लुक्दै हाँसिरहेका, पहिलो चुम्बनमा घाँटीमा कम्पन, ओठमा न्यानोपन । ती स्मृतिहरू कहिल्यै मेटिँदैनन् । जीवनले तिमीलाई मलाई फर्काइ दिएन, तर माया, तिमी सधैँ मेरो भित्र छ्यौ स्मृतिमा, अनुभूतिमा, हरेक थोपा झरीमा ।

म तिमीलाई कहिल्यै छोड्दिन । तिमी मेरो जीवनको प्रकाश हौ । तिमीबिना म अधुरो छु, तर तिमीलाई सम्झँदा हरेक खालीपन पूरा हुन्छ । तिम्रो याद मेरो मनको सिन्धुर, मेरो हरेक सपना, मेरो जीवनको अमर कथा हो । जहाँ तिमी छैनौ, त्यहाँ बर्खा परेको जस्तो लाग्छ तर मलाई थाहा छ, झरी, समय, दूरी, र मृत्यु पनि हाम्रो प्रेमलाई मेट्न सक्दैन । तिमी मेरो मनमा सधैँ बाँच्छौ ।

सधैँ । म तिमीसँगै पूरा हुन चाहन्छु । हाम्रो अधुरो प्रेम पूरा गर्न, हाम्रो सपना साकार पार्न, हाम्रो हरेक पल फेरि सँगै अनुभव गर्न चाहन्छु सधैँ सधैँ
तिम्रो,आर्य

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?