News Summary
Generated by OK AI. Editorially reviewed.- राजा महेन्द्र र रानी रत्न सन् १९६० मे ४ मा अमेरिकाको मिनेसोटास्थित मेयो क्लिनिक भ्रमणमा पुगेका थिए।
- रानी रत्नलाई मेयो क्लिनिकमा सानो छालाको समस्याका लागि उपचार गरिएको थियो।
अमेरिकाको मिनेसोटास्थित राज्यमा अवस्थित मेयो क्लिनिक, ६ दशकभन्दा लामो समयदेखि नेपाल–अमेरिका सम्बन्धको अटूट प्रतीक बनेर उभिएको छ । राज्यको मुख्य शहर मिनियापोलिसनजिक रहेको क्लिनिकमा तत्कालीन रानी रत्नले स्वास्थ्योपचार गराएकी थिइन् ।
आजभन्दा ६६ वर्षअगाडि राष्ट्रप्रमुखको हैसियतमा राजकीय भ्रमणमा आउँदा राजा महेन्द्रले अमेरिकामा भ्रमण गरेका विभिन्न स्थान मध्ये एक थियो, उत्तरी राज्य मिनेसोटाको सदरमुकामस्थित मिनियापोलिस शहर । अमेरिकाको सुदूर उत्तरी राज्य मिनेसोटाको क्यानडासँग सीमा जोडिएको छ ।
निकै हिमपात भइरहने र चिसो मध्येको एक राज्य हो मिनेसोटा । यस्तो स्थानमा त्यो पनि आजभन्दा झण्डै ७० वर्षअगाडि राजा महेन्द्र किन आइपुगे होलान् आश्चर्य लाग्नु अस्वाभाविक होइन । अमेरिकाको पहिलो राजकीय भ्रमणका अवसरमा राजा महेन्द्र सन् १९६०, मे ४ मा यहाँ आइपुगेका थिए ।
नेपालमा जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सरकार रहँदा महेन्द्रले राष्ट्रप्रमुखको हैसियतमा सन् १९६० अप्रिल २५ देखि जुन १ सम्म अमेरिकी महादेशको भ्रमण गरेका थिए । २७ देखि ३० अप्रिल (१५–१८ बैशाख २०१७) सम्म राजकीय भ्रमणका क्रममा वासिंगटन डिसीमा रहँदा राजा महेन्द्रले अप्रिल २८ का दिन अमेरिकी संसदमा सम्बोधन गरेका थिए ।
त्यसपछि उनले १६–१८ मे मा मेक्सिकोको भ्रमण गरे भने २५–२८ मे सम्म क्यानडाको भ्रमण गरेको अमेरिकी विदेश मन्त्रालयको अभिलेखमा उल्लेख छ । त्यसक्रममा राजारानीले अमेरिकाको न्यूयोर्क, हवाई, डिज्नील्याण्ड, टेनिसी, ओरेगनको सेलम र यूजिन, क्यालिफोर्नियाको लस एञ्जलस र सानफ्रान्सिस्को, न्यूमेक्सिको, टेक्ससको डलास, फ्लोरिसडाको मायामी, मिसिगन जस्ता राज्यको भ्रमण गरेको अमेरिकी विदेश मन्त्रालयको अभिलेखमा छ ।
तत्कालीन दुई ध्रुवीय विश्वमा अमेरिका र सोभियत संघबीच शीतयुद्ध मडारिएको थियो । यस्तो समयमा दुई वर्षअघि सन् १९५८ मा राजा महेन्द्रले कम्युनिस्ट सोभियत संघको भ्रमण गरेका थिए । सोभियत संघ भ्रमणका क्रममा नेपालको विकासका लागि आर्थिक सहयोगसमेत जुटाएकोबारे जानकारी बटुलेर बसेको अमेरिकाले राजा महेन्द्रको स्वागतमा निकै ठूलो खातिरदारी गरेको २८ अप्रिलको समाचारमा चर्चित पत्रिका न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।
राजालाई स्वागत गर्न शक्तिशाली अमेरिकी राष्ट्रपति ड्वैट आइजनहावर स्वयं विमानस्थलमा उपस्थित थिए । संयोग के थियो भने राजा महेन्द्र ५ हप्ताको अमेरिका भ्रमणमा रहँदा अर्को शक्तिशाली मुलुक चीनका प्रधानमन्त्री चाउ एन लाई भारत भ्रमण सकाएर स्वदेश फर्कने क्रममा नेपाल पुगेका थिए ।
न्यूयोर्क टाइम्स लेख्छ, ‘राष्ट्रिय विमानस्थलमा राजालाई स्वागत गर्दै राष्ट्रपति आइजनहावरले भने, ‘नेपालका शासनरत राजाले यस महादेशमा पाइला टेकेको यो पहिलो अवसर हो, र तपाईंले यस्तो सम्भव बनाउनुभएकोमा हामी वास्तवमै गर्व गर्छौं ।’
राजाले नेपाली भाषामा जवाफ दिँदै आफू र आफ्नी रानी अमेरिकाका विभिन्न भागका जनतासँग भेटघाट गर्न र अमेरिकी जनताले हासिल गरेका महान् उपलब्धिहरूको प्रत्यक्ष जानकारी प्राप्त गर्न उत्सुक रहेको बताए ।
राजकीय स्वागत समारोहमा २१ तोपको सलामी, बिगुलको धुन र सम्मान गार्डको निरीक्षण गरिएको थियो । त्यसपछि राष्ट्रपति र राजा खुल्ला कारमा सँगै बसेर पोटोम्याक नदी पार गर्दै वाशिङ्टन शहरको केन्द्र हुँदै राष्ट्रपति अतिथि भवनतर्फ जुलुसको अग्रभागमा प्रस्थान गरे । आकाशमा अमेरिकी झण्डासँगै नेपालको झण्डा पनि फहराइरहेको थियो, जसमा रातो रङका दुई त्रिकोणमा चाँदीले बनेका सूर्य र चन्द्रमाका प्रतीक अंकित छन् ।’
नेपालजस्तै राजा पनि लामो समयको एकान्त अवस्थाको उत्पादन हुन् भन्दै संवाददाता दाना आदम स्मिद समाचारमा अगाडि लेख्छन्, ‘४० वर्षका राजा महेन्द्रले आफ्नो परम्परागत पोशाकमाथि पश्चिमी शैलीको खैरो कोट लगाएका थिए । उनको पोशाकमा घुँडासम्म पुग्ने खैरो कमिज र खैरो जोधपुर पाइन्ट समावेश थियो ।

रानी रत्नले आफ्नो रातो र चाँदी रङको साडीमाथि मिंकको कोट लगाएकी थिइन् । प्रायः कालो चश्मा लगाएर देखिने राजा महेन्द्र स्वभावले अलि संकोची व्यक्ति मानिन्छन्।
शक्तिशाली राणा परिवारले सत्ता कब्जा गरेर राजालाई केवल प्रतीकका रूपमा राखेको थियो । लामो शासनकालमा उनी र उनका परिवारलाई करिब १० वर्षअघिसम्म दरबारमै कैदीसरह राखिएको थियो । राजा महेन्द्रले निजी शिक्षकहरूबाट शिक्षा प्राप्त गरेका थिए । २००७ सालको क्रान्ति र संवैधानिक राजतन्त्रको स्थापना भएपछि उनले आफ्नो देशलाई नजिकबाट बुझ्ने प्रयास सुरु गरे ।
त्यसयता उनले देशका धेरैजसो पहुँचयोग्य क्षेत्रहरूको भ्रमण गरेका थिए । उनी प्रायः करिब दुई हजार जनाको टोलीसहित गाउँ–गाउँमा पैदल यात्रा गर्दै आफ्ना प्रजासँग भेटघाट गर्थे र उनीहरूबाट सम्मान ग्रहण गर्थे । हिन्दू धर्मावलम्बीहरूले उनलाई भगवान विष्णुका वंशज मान्थे ।’
राजा फर्केको तीन महिनापछि सोही वर्षको सेप्टेम्बर २२ मा प्रधानमन्त्री बीपी कोइराला पनि अमेरिका पुगेका थिए । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेको समयमा प्रधानमन्त्री कोइरालाले पनि राष्ट्रपति आइजनहावरसँग भेटवार्ता गरेको सन्दर्भ विदेश मन्त्रालयको अभिलेखमा सुरक्षित देखिन्छ ।
बीपी फर्केको तीन महिना नपुग्दै पुष १ मा राजा महेन्द्रले जननिर्वाचित संसद भंग गरी सेनाको सहयोगमा सम्पूर्ण शासनाधिकार आफ्नो हातमा लिए।
राजा महेन्द्र किन पुगे मेयो क्लिनिक ?
भ्रमणमा आएका राजारानी अमेरिकाको पनि एक कुनामा रहेको मिनेसोटा र मेयो क्लिनिकचाहिँ किन पुगे भन्ने कौतुहलता लाग्नु स्वाभाविक हो ।
चर्चित चिकित्सक चक मेयोको परिवारले स्थापना गरेको मेयो क्लिनिक मिनेसोटाको सदरमुकाममा पनि छैन । राजधानी सेन्टपलभन्दा करिब १२५ किलोमिटर टाढा रहेको रोचेस्टर सिटीमा रहेको छ । जहाँ पुग्न नै करिब डेढ घण्टा लाग्छ । तैपनि राजा महेन्द्र र रानी रत्न भ्रमण टोलीसिहत ४ मे १९६० को दिन त्यहाँ पुगे । यसको संयोग भने नेपालबाटै जोडिएको थियो ।
यसअघि सन् १९५६ मा मेयो परिवारले नेपालमा राजा र रानीसँग भेट गरेका थिए । त्यतिबेला डा. चक राजा महेन्द्रको राज्याभिषेक समारोह (२१ वैशाख २०१३) मा अमेरिकी राष्ट्रपति आइजनहावरको आधिकारिक प्रतिनिधिको रूपमा सहभागी भएका थिए । त्यसै अवसरमा मेयो परिवारले राजालाई ‘कहिल्यै रोचेस्टर आउनुभयो भने भेट्नुहोला’ भन्ने निम्तो दिएका थिए ।
त्यही आतिथ्यता स्वीकार्न चार वर्षपछि, राजारानी दक्षिण–पूर्वी रोचेस्टरको लोब फिल्डमा सुपर जी कन्स्टेलेसन विमानबाट अवतरण गरे । सहृदयी एक मित्रको आमन्त्रण स्वीकार्दै रोचेस्टर पुगेकी रानी रत्नलाई भने मेयो क्लिनिकमा स्वास्थ्य उपचार नै गराउनु परेको थियो । यसबारेमा मिनेसोटाको एक पत्रिका पोष्ट बुलेटिनले समाचार नै प्रकाशन गरेको थियो ।
समाचारमा लेखिएको छ, ‘नेपालकी रानी रत्नराज्यलक्ष्मी शाह आफ्नो पति राजा महेन्द्रसँग ४ मे १९६० मा रोचेस्टरको आधिकारिक भ्रमणमा थिइन्, त्यतिबेला उनलाई मेयो क्लिनिकमा चिकित्सकीय उपचार आवश्यक परेको थियो । रानीको अवस्था गम्भीर त थिएन, तर यसका कारण उनले मेयोवुडमा आयोजना गरिएको स्वागत समारोह र साँझको भोजमा सहभागी हुन पाइनन् । राजदम्पती डा. चक र एलिस मेयोका अतिथिको रूपमा एक दिने भ्रमणका लागि त्यहाँ पुगेका थिए ।’
पोष्ट लेख्छ, ‘विमानस्थलमा एलिस मेयोले परम्परागत हिन्दु साडी लगाएकी रानी रत्नलाई रातो गुलाफको गुच्छा दिँदै स्वागत गरिन् । राजा महेन्द्रले खैरो रङको व्यवसायिक सूट लगाएका थिए । स्वागत समितिसँग भेटघाटपछि (जसमा शहरका अधिकारी र मेयो क्लिनिकका प्रतिनिधिहरू पनि थिए) राजदम्पतीले रोचेस्टर शहरको सवारी भ्रमण गरे ।
उनीहरू अस्पताल, चर्च, विद्यालय र पार्कहरू हुँदै शहर अवलोकन गर्न निस्किए । फलवेल स्कूलमा सातवटा गाडीको मोटरकेड रोकियो, जहाँ विद्यार्थीले बनाएका नेपाली झण्डाहरू राजा र रानीलाई प्रस्तुत गरियो । ‘धेरै बालबालिकाको उपस्थितिले महाराज र महारानी निकै खुसी देखिन्थे’ स्थानीय पत्रिका पोष्ट बुलेटिनले रिपोर्ट गरेको थियो ।
अन्य विद्यालयहरूमा पनि विद्यार्थीहरूलाई बाहिर निस्केर राजकीय मोटरकेड हेर्ने अनुमति दिइएको थियो । त्यस्तै, हजारौं स्थानीय नागरिक पनि सडकको दुवैतर्फ उभिएर राजदम्पतीलाई स्वागत गरेका थिए ।’
पोष्ट बुलेटिनलाई उधृत गर्दै पत्रकार थोमस वेबर लेख्छन्, ‘दिउँसो २ बजे उनीहरू कहलर होटल पुगे । जहाँ उनीहरू ‘नेपाल सुइट’ नाम दिइएको कोठामा बस्ने योजना थियो । त्यहाँ पुगेपछि राजदम्पतीलाई दुई घण्टा आराम गर्ने समय दिइएको थियो । त्यसपछि रानीलाई मेयो क्लिनिक लगियो, जहाँ उनको हातमुनि देखिएको ‘सानो छालाको समस्या’ का लागि उपचार गरिएको थियो ।
यसबीच राजा महेन्द्रले मेयो क्लिनिकको पूर्वनिर्धारित भ्रमण जारी राखे । ‘महाराज शान्त तर सतर्क देखिन्थे र क्लिनिकको भ्रमणमा गहिरो रुचि देखाएका थिए’ पोस्ट–बुलेटिनले उल्लेख गरेको थियो । रानीको स्वास्थ्य समस्याका कारण उनी त्यस दिउँसो कहलर होटलमा आयोजित स्वागत समारोहमा उपस्थित हुन सकिनन् । त्यहाँ राजा महेन्द्रले २५० जना आमन्त्रित अतिथिलाई स्वागत गरेका थिए ।’
पत्रिका थप लेख्छ, ‘सार्वजनिक रूपमा प्रायः अंग्रेजी नबोल्ने राजा महेन्द्रले दोभाषेको माध्यमबाट भने, ‘यहाँको आत्मीय स्वागतले हामी अत्यन्त प्रभावित भएका छौं, र तपाईंहरू सबैसँग भेट्न पाउँदा खुसी लागेको छ ।’ त्यसपछि, निकै व्यस्त दिन बिताएपछि उनले एउटा सिगरेट र स्कच–सोडा पिएको पनि पोस्ट–बुलेटिनले उल्लेख गरेको छ ।
राजाको साँझ मेयोवुडमा आयोजना गरिएको ५० जना अतिथिको भोजमा सहभागी भएर समाप्त भयो, जबकि रानी होटलको आफ्नो सुइटमा आराम गरिरहेकी थिइन् । भोलिपल्ट बिहान राजा महेन्द्र किनमेलका लागि बाहिर निस्किए । उनले रिडमोर न्यूजस्टोरबाट बालबालिकाका लागि खेलौना र नरम खेलौना जनावरहरू किनेका थिए । उता रानी भने ‘स्वस्थ र आराम गरिसकेकी’ देखिएकी थिइन्, अब राजदम्पती आफ्नो अमेरिकी भ्रमणको अर्को गन्तव्य ओरेगनका लागि विमानस्थलतर्फ प्रस्थान गरे ।’
यहाँ बस्ने नेपालीहरू राजाले भ्रमणका क्रममा मेयो क्लिनिकको सेवा आफ्नो देशमा पनि लैजान सकिन्छ कि भन्ने विषयमा पनि छलफल गरेको आफूहरुले सुन्ने गरेको बताउँछन् । १०० वर्ष अगाडि सन् १८६४ मा स्थापित अमेरिकामै प्रसिद्ध स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको गैरनाफामुलक यस क्लिनिकले जस्तै नेपालमा पनि कुनै रुपको स्वास्थ्य प्रणाली विकास गर्न सकिन्छ कि भन्ने सोच राजा महेन्द्रमा यस क्लिनिक भ्रमणबाट भएको देखिन्छ ।
मेयो क्लिनिककै सेवा नेपालसम्म लैजान नसकिए पनि कालान्तरमा आएर सन् १९९५ मा रोचेस्टर र काठमाडौंबीच भने भगिनी संस्थाको सम्बन्ध कायम गरिएको छ । जसले हिमालयको काखमा अवस्थित सुन्दर नेपाल र विशाल अमेरिकाको मध्य उत्तरी क्षेत्रमा रहेको मिनेसोटा राज्यलाई भावनात्मक सूत्रमा बाँधेको छ ।
प्रतिक्रिया 4