+
+
Shares

सीआईएद्वारा इरानमा विद्रोह भड्काउन कुर्दिस लडाकुलाई सशस्त्र बनाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १५:३३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । फोटो : एक्स

काठमाडौं । सीआईएले इरानमा जनविद्रोह भड्काउने उद्देश्यले कुर्दिस लडाकुहरूलाई हतियार उपलब्ध गराउने तयारी गरिरहेको सीएनएनले दाबी गरेको छ । ट्रम्प प्रशासनले इरानी विपक्षी समूह र इराकका कुर्दिस नेताहरूलाई सैन्य सहयोग उपलब्ध गराउने विषयमा उनीहरूसँग सक्रिय छलफल गरिरहेको सीएनएन दाबी छ ।

इरानी कुर्दिस सशस्त्र समूहका हजारौं लडाकुहरू इराक-इरान सीमा क्षेत्रमा, विशेष गरी इराकको कुर्दिस्तान क्षेत्रमा सक्रिय छन्। युद्ध सुरु भएदेखि नै यीमध्ये धेरै समूहले सार्वजनिक विज्ञप्ति जारी गर्दै आसन्न सैन्य कारबाहीको संकेत दिएका छन् र इरानी सैन्य बललाई विद्रोह गर्न आग्रह गरिरहेका छन्।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) ले भने कुर्दिस समूहहरूमाथि निरन्तर आक्रमण गर्दै आएको छ । गत मंगलबार दर्जनौं ड्रोनहरू प्रयोग गरी ती लडाकुहरूलाई निशाना बनाएको दाबी गरेको छ।

योजनासँग परिचित एक स्रोत र कुर्दिस्तान क्षेत्रीय सरकारका एक वरिष्ठ अधिकारीका अनुसार, इरानी कुर्दिस समूहहरूलाई सीआईएले दिँदै आएको सहयोग युद्ध सुरु हुनुभन्दा केही महिना अगाडि नै सुरु भएको थियो।

एक वरिष्ठ इरानी कुर्दिस अधिकारीका अनुसार मंगलबार नै राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘डेमोक्र्याटिक पार्टी अफ इरानी कुर्दिस्तान’ (केडीपीआई) का अध्यक्ष मुस्तफा हिज्रीसँग कुराकानी गरेका छन् । केडीपीआई ती समूहहरूमध्ये एक हो, जसलाई आईआरजीसीले निशाना बनाएको थियो।

ती वरिष्ठ इरानी कुर्दिस अधिकारीले सीएनएनलाई बताएअनुसार, आगामी केही दिनभित्रै पश्चिमी इरानमा हुने स्थलगत सैन्य कारबाहीमा इरानी कुर्दिस विपक्षी शक्तिहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ।

यस अभियानको समयबारे प्रस्ट पार्दै स्रोतले भनेको छ, “हाम्रो विचारमा अहिले हाम्रो लागि ठूलो अवसर छ।” ती लडाकुहरूले यस अभियानमा अमेरिका र इजरायलको सहयोग रहने अपेक्षा गरेका छन्।

‘एक्सियोस’ले पहिलो पटक सार्वजनिक गरेको समाचारअनुसार, दुई अमेरिकी अधिकारी र उक्त कुराकानीबारे जानकार अर्को एक स्रोतले बताएअनुसार राष्ट्रपति ट्रम्पले गत आइतबार इराकका कुर्दिस नेताहरूसँग पनि टेलिफोन संवाद गरेका छन् ।

उक्त संवाद इरानमा जारी अमेरिकी सैन्य कारबाही र यो अभियान अघि बढ्दै जाँदा अमेरिका र कुर्दहरूले कसरी सहकार्य गर्न सक्छन् भन्ने विषयमा केन्द्रित थियो ।

इरानी कुर्दिस समूहहरूलाई सशस्त्र बनाउने कुनै पनि प्रयासका लागि इराकका कुर्दहरूको समर्थन अनिवार्य हुन्छ, ताकि हतियारहरू त्यहाँबाट ओसारपसार गर्न र इराकी कुर्दिस्तानलाई आक्रमणको आधार इलाकाका रूपमा प्रयोग गर्न सकियोस्।

कुर्दिस्तान क्षेत्रीय सरकारका एक वरिष्ठ अधिकारीले आफ्नो डर व्यक्त गर्दै भने , “यो अत्यन्तै खतरनाक छ, तर हामी के गर्न सक्छौँ र ? हामी अमेरिकासँग प्रतिवाद गर्न सक्दैनौँ। हामी निकै त्रसित छौँ ।”

यस छलफलसँग परिचित एक व्यक्तिका अनुसार, कुर्दिस सशस्त्र बलले इरानी सुरक्षा फौजसँग भिडन्त गरी उनीहरूलाई अल्झाइराख्ने योजना बनाइएको छ । यसो गर्दा ठूला सहरहरूमा रहेका निशस्त्र इरानी नागरिकहरूलाई बाहिर निस्कन सहज हुनेछ र गत जनवरीको द्वन्द्वमा झैँ उनीहरूले पुनः नरसंहार भोग्नुपर्ने छैन।

अर्का एक अमेरिकी अधिकारीका अनुसार, कुर्दहरूले यस क्षेत्रमा अस्थिरता फैलाउन र इरानी शासनको सैन्य स्रोत-साधनलाई कमजोर बनाउन मद्दत गर्न सक्छन् । यसबाहेक, अन्य योजनाहरू भने कुर्दहरूले इरानको उत्तरी भूभाग कब्जा गरी आफ्नो नियन्त्रणमा राख्न सक्छन् कि सक्दैनन् भन्ने विषयमा केन्द्रित छन्, जसले इजरायलका लागि एउटा ‘बफर जोन’ (मध्यवर्ती क्षेत्र) को काम गर्नेछ।

बुधबार इराकका राष्ट्रिय सुरक्षा सल्लाहकार कासिम अल-आराजीले एक विज्ञप्ति जारी गर्दै इराकले कुनै पनि समूहलाई ‘इरानी सीमाभित्र छिर्न वा सीमा पार गरेर इराकी भूमिबाट आतंकवादी गतिविधि सञ्चालन गर्न’ अनुमति नदिने बताएका  छन्।

उनले थप भने, “कुर्दिस्तान क्षेत्रको गृह मन्त्रालयले इरानसँगको सीमा क्षेत्रमा पेसमर्गा सुरक्षा बलको थप दस्ता पठाएको छ ।”

यस विषयमा सीआईएले भने कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेको छ।

कुर्दहरूलाई अमेरिकी सहयोगबारे सोधिएको प्रश्नमा रक्षा सचिव पिट हेगसेथले बुधबार पत्रकारहरूसँग कुरा गर्दै भने, “हाम्रा कुनै पनि उद्देश्यहरू कुनै खास सशस्त्र समूहलाई हतियार उपलब्ध गराउने कुरामा आधारित छैनन् । त्यसैले अन्य निकायहरूले के गरिरहेका छन् भन्नेमा हामी सचेत छौँ, तर हाम्रा उद्देश्यहरू त्यसमा केन्द्रित छैनन् ।”

विद्रोहलाई तीव्रता दिनेस्पष्ट प्रयास

पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालका पूर्व वरिष्ठ पेन्टागन अधिकारी एलेक्स प्लिट्सासका अनुसार, अमेरिकाले आफ्ना ऐतिहासिक क्षेत्रीय सहयोगी कुर्दहरूलाई सशस्त्र बनाएर इरानी जनताद्वारा शासन सत्ता उल्ट्याउने प्रक्रियालाई ‘स्पष्ट रूपमा तीव्रता दिन’ खोजिरहेको छ।

“सामान्यतया इरानी जनता निशस्त्र छन् र जबसम्म त्यहाँको सुरक्षा निकाय धराशायी हुँदैन, तबसम्म कसैले हतियार उपलब्ध नगराए उनीहरूका लागि सत्ता कब्जा गर्न कठिन हुनेछ,” प्लिट्सासले भने, “मलाई लाग्छ, यस कदमले इरानका अन्य मानिसहरूलाई पनि त्यसै गर्न प्रेरित गर्नेछ भन्नेमा अमेरिका आशावादी छ।”

पूर्व राष्ट्रपति जो बाइडनको कार्यकालमा मध्य पूर्व मामिला हेर्ने विदेश मन्त्रालयकी पूर्व वरिष्ठ अधिकारी जेन ग्याभिटोले भने कुर्दहरूलाई सशस्त्र बनाउँदा आइपर्ने सम्भावित परिणामबारे पूर्ण रूपमा विचार पुर्‍याइएको छ कि छैन भन्नेमा आफ्नो चिन्ता व्यक्त गरेका छन् ।

“हामीले पहिले नै सीमाको दुवैतर्फ अस्थिर सुरक्षा स्थितिको सामना गरिरहेका छौँ,” ग्याभिटोले भने, ” यसले इराकको सार्वभौमसत्तालाई कमजोर बनाउने र कुनै जवाफदेहिता नभएका सशस्त्र मिलिसियाहरूलाई सशक्त बनाउने सम्भावना रहन्छ, जसले भविष्यमा कस्तो परिस्थिति निम्त्याउन सक्छ भन्नेबारे निकै कम बुझाइ रहेको छ।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु । फोटो : रोयटर्स

पछिल्ला दिनहरूमा इजरायली सेनाले इराकको सिमानामा रहेका इरानी सैन्य र प्रहरी चौकीहरूमा आक्रमण गरिरहेको छ। स्रोतका अनुसार, यो आंशिक रूपमा उत्तर-पश्चिमी इरानमा सशस्त्र कुर्दिस सेनाको सम्भावित प्रवेशका लागि आधार तयार गर्न गरिएको हो। एक इजरायली स्रोतले आगामी दिनहरूमा यी आक्रमणहरू अझ तीव्र हुने सम्भावना रहेको बताएको छ।

यद्यपि, इरानी शासनलाई सत्ताच्युत गर्न सहयोग गर्ने उद्देश्यले कुर्दिस स्थल सेनालाई दिइने कुनै पनि अमेरिकी र इजरायली सहयोग व्यापक हुनुपर्ने यस मामिलाका जानकारहरूले बताएका छन्।

अमेरिकी गुप्तचर निकायको मूल्याङ्कनले इरानी कुर्दहरूसँग हाल सरकारविरुद्ध सफल विद्रोह गर्न सक्ने प्रभाव वा स्रोतसाधन नरहेको निरन्तर देखाउँदै आएको एक स्रोतले जनाएको छ। साथै, यस मामिलाका जानकार अर्का एक व्यक्तिका अनुसार इरानी कुर्दिस पार्टीहरूले कुनै पनि प्रतिरोधात्मक अभियानमा सहभागी हुनुअघि ट्रम्प प्रशासनबाट राजनीतिक प्रतिबद्धताको खोजी गरिरहेका छन्।

कुर्दिस विपक्षी समूहहरू पनि आपसी तनाव, फरक विचारधारा र प्रतिस्पर्धी एजेन्डाहरूका कारण विभाजित छन्। यी समूहहरूलाई सहयोग गर्ने विषयमा छलफलमा सहभागी केही ट्रम्प प्रशासनका अधिकारीहरूले अमेरिकालाई सहयोग गर्ने उनीहरूको वास्तविक मनसायप्रति चिन्ता व्यक्त गरेका छन्।

यस प्रकारको सहकार्यका लागि आवश्यक पर्ने उच्च तहको विश्वासलाई मध्यनजर गर्दै, अधिकारीहरूले यो आन्तरिक खिचातानीले वर्तमान अमेरिका-कुर्द कार्यगत सम्बन्धलाई जोखिममा पार्न सक्ने प्रश्न उठाएका छन्।

“यो कुनै प्रोक्सी बललाई अमेरिकी स्वार्थका लागि लड्न राजी गराए जत्तिकै सरल नहुन सक्छ,” ट्रम्प प्रशासनका एक अधिकारीले भनेका छन्, “तपाईंको सामु यस्तो एउटा समूह छ जो आफ्नो हितका बारेमा सोचिरहेको छ, र मुख्य प्रश्न यो हो कि उनीहरूलाई यसमा संलग्न गराउनु उनीहरूको आफ्नो हितसँग मेल खान्छ कि खाँदैन ।”

कुर्दिस सशस्त्र बलसँग अमेरिकाको लामो इतिहास

कुर्दहरू एउटा यस्तो जातीय अल्पसंख्यक समूह हुन्, जसको आफ्नो कुनै आधिकारिक राष्ट्र छैन। हाल टर्की, इराक, इरान, सिरिया र आर्मेनियाका विभिन्न भूभागहरूमा फैलिएको यस क्षेत्रमा करिब २ करोड ५० लाखदेखि ३ करोड कुर्दहरू बसोबास गर्ने अनुमान गरिएको छ। अधिकांश कुर्दहरू सुन्नी मुस्लिम हुन्, तर कुर्द जनसङ्ख्यामा विविध सांस्कृतिक, सामाजिक, धार्मिक र राजनीतिक परम्पराहरूका साथै विभिन्न भाषिकाहरूको बाहुल्यता रहेको छ।

केही कुर्दहरूले अमेरिकी सेनासँगको सहकार्यको बदलामा इराकको अर्ध-स्वायत्त कुर्दिस्तान क्षेत्रले पूर्ण स्वतन्त्रता प्राप्त गर्ने आशा राखेका थिए, यद्यपि त्यो कहिल्यै सफल हुन सकेन।

ट्रम्प प्रशासनका धेरै अधिकारीहरूले विगतमा अमेरिकासँग काम गर्दा कुर्दिस लडाकुहरूमा उत्पन्न भएको मोहभङ्ग र उनीहरूलाई अप्ठ्यारो समयमा एक्लै छाडिदिएको भनी उनीहरूले गर्ने गरेका गुनासाहरूबारे गोप्य रूपमा सचेत गराएका छन्।

कुर्दिस्तान क्षेत्रीय सरकारका एक वरिष्ठ अधिकारीले यस समस्याको एक मुख्य पाटोबारे स्पष्ट पार्दै भने , “एक दिन ट्रम्पले हामी इरानी शासन सत्ता उल्ट्याउँछौँ भन्नुहुन्छ, अर्को दिन फेरि अर्कै कुरा गर्नुहुन्छ। उहाँको नीति नै स्पष्ट छैन ।”

“यसमा कुनै शङ्का छैन कि कुर्दिस जनताले इरानी इस्लामिक गणतन्त्रको शासनको कडा विरोध गर्दछन्,” ती अधिकारीले भने, “उनीहरूले यस शासनलाई दमनकारी र अस्थिरता निम्त्याउने शक्तिका रूपमा हेर्छन् र यसको खराब प्रभाव अन्त्य गर्नका लागि अमेरिकाले दिने सार्थक सहयोगको स्वागत गर्छन्। तैपनि, उनीहरूमा फेरि एकपटक अप्ठ्यारोमा एक्लै पर्ने डर छ।”

“यदि जनविद्रोह असफल भयो र अमेरिका पछि हट्यो भने, यसले कुर्दहरूलाई बीचैमा अलपत्र पारिएको भन्ने भाष्यलाई थप बल पुर्‍याउने चिन्ता छ,” प्लिट्सासले भने ।

ट्रम्पको पहिलो कार्यकालमा तत्कालीन रक्षा सचिव जिम म्याटिसले राजीनामा दिनुको एउटा मुख्य कारण पनि ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णय नै थियो। म्याटिसले यसलाई त्यहाँका अमेरिकी सहयोगी कुर्दहरूमाथिको एउटा अक्षम्य विश्वासघातका रूपमा हेरेका थिए ।

इराक युद्धको एउटा पाटोका रूपमा सीआईएको इराकी कुर्दिस गुटहरूसँग दशकौँ लामो र जटिल इतिहास रहेको छ। यस मामिलाका जानकार दुई व्यक्तिका अनुसार, हाल इरानसँगको सीमा नजिकै इराकी कुर्दिस्तानमा सीआईएको एउटा आउटपोस्ट रहेको छ। अमेरिकाको इराकी कुर्दिस्तानको राजधानी अर्बिलमा एउटा वाणिज्य दूतावास पनि छ र आईएसआईएस विरुद्धको अभियानको हिस्साका रूपमा त्यहाँ अमेरिकी र गठबन्धन सेनाका दस्ताहरू तैनाथ छन्।

केही कुर्दहरूले अमेरिकी सेनासँगको सहकार्यको बदलामा इराकको अर्ध-स्वायत्त कुर्दिस्तान क्षेत्रले पूर्ण स्वतन्त्रता प्राप्त गर्ने आशा राखेका थिए, यद्यपि त्यो कहिल्यै सफल हुन सकेन।

अमेरिकाले हालका वर्षहरूमा इराक र सिरियामा इस्लामिक स्टेट विरुद्धको आफ्नो अभियानका क्रममा कुर्दिस लडाकुहरूमाथि ठूलो भरोसा गरेको थियो । यस अन्तर्गत सिरियाको उत्तरी क्षेत्रमा रहेका अस्थायी बन्दी शिविरहरूमा हजारौँ आईएसआईएस बन्दीहरूको सुरक्षा गर्ने जिम्मेवारी समेत कुर्दहरूले सम्हाल्दै आएका छन् ।

तथापि, यसै वर्षको सुरुमा अमेरिका पक्षधर नयाँ सिरियाली सरकारले देशको उत्तरी भागमा नियन्त्रण कायम गर्न तीव्र सैन्य अभियान सुरु गर्यो, जसमा आईएसआईएस माथि आक्रमण गर्ने र कुर्दिस नेतृत्वको ‘सिरियन डेमोक्र्याटिक फोर्सेस’ ई त्यहाँबाट धकेल्ने कार्यहरू सामेल थिए।

यस सैन्य अभियानको सामना गर्दै, अमेरिकी सेनाले देश छोडेपछि कुर्दिस फौजहरूले ती क्षेत्र खाली गरे र आईएसआईएसका कारागारहरूको सुरक्षा गर्न छोडिदिए। गत जनवरीमा सिरियाका लागि अमेरिकी विशेष दूत टम ब्याराकले ‘एसडीएफ’ सँगको अमेरिकी गठबन्धनको उद्देश्य ‘मुख्य रूपमा समाप्त भइसकेको’ बताएका थिए ।

(सीएनएनमा प्रकाशित सामग्रीको भाषानुवादमा आधारित)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?