+
+
Shares
आलेख :

हीनताबोधको जगमा उभिएको महामानवता : इरान, इजरायलदेखि नेपालसम्म

विश्वको शक्ति समीकरण बदलिरहेको यो समयमा स्थिरता र सार्वभौमसत्ताको नाममा जति जे जोगिएको छ, त्यसको भविष्य पनि अनिश्चित नै देखिन्छ। यस्तो संवेदनशील घडीमा हामीलाई विवेक, दूरदर्शिता, अनुशासन र मेहनतको खाँचो छ।

दोभान राई दोभान राई
२०८२ फागुन १८ गते २२:१५

इजरायल र अमेरिकाले इरानमाथि गरेको आक्रमण र त्यसले निम्त्याएको युद्ध विश्वमञ्चमा भइरहेको नाटकीय घटनाक्रमको शृंखलाको पछिल्लो असंगत अध्याय हो । यो अवास्तविक लाग्छ, तर अपेक्षित पनि ।

नैतिकताको तर्कबा  ट हेर्दा यो अर्थहीन देखिन्छ, तथापि, शक्तिको हताश नाच र कुण्ठाको विष्फोटको अनुक्रमको आधारमा यो अपरिहार्य झैँ देखिन्छ । अतिवादी पात्र र अतिरञ्जित परिघटनाहरुको अविरल झैँ लाग्ने लहर- विचित्र लाग्दा लाग्दै अजीब तरिकाले परिचित पनि लाग्छ -मानौ ती हामीभित्रैका सुसुप्त चेतका अँध्यारा छायाहरु हुन्, प्राचीन चेतावनीहरूका प्रकटीकरण हुन् ।

मानव सभ्यताको एक विशेष कालखण्डमा छौं हामी । विश्व व्यवस्था र सामाजिक विघटनको तरल स्थितिमा, पर्यावरणीय विनाश, आर्थिक अनिश्चितता र प्रविधिको तीव्रताले रन्थनिएको मानवसमुदायको ठूलो हिस्सा हतास मनोवृत्तिको भूमरीमा छ । हाम्रो सूचना र भावनाको मण्डल – डर र आत्म-संशय, क्रोध र उन्मादले एकदम धुलित, अध्यारो भएको छ ।

यस्तो समयलाई हामीले कसरी बुझ्ने ? हामी कसरी संवाद गर्ने ? भविष्यका सम्भावनाहरूप्रति उत्तरदायी हुँदै हामी कसरी जिम्मेवार भएर बोल्ने ? तथ्य र प्रामाणिकताको जगमा टेकेरै अनिश्चिततालाई कसरी आकलन गर्ने, अदृश्य तर निर्णायक छायाहरूलाई कसरी व्याख्या गर्ने ?

विगतको वैभवको धङधङीमा अल्झिएर सन्तुलन गुमाएको इरान र वर्तमानको प्रभुता गुम्दै गएर आत्तिएको अराजक अमेरिकासँगै, तेस्रो पात्र इजरायल मानव सभ्यताको रंगमञ्चमा एउटा प्रतीकात्मक पहेली हो ।

अविराम पीडा, युद्ध, अन्याय र आघातको घट्टमा निर्माण भएको इजरायल आजको दिनमा एउटा चेतावनीको बिम्ब हो: कि कसरी पीडित मनोवृतिले पीडकको उग्र रूप लिन्छ ।

‘द इजरायली माइन्ड’ मा एलोन ग्राचले यो सामूहिक मनोविज्ञानको वर्णन गरेका छन् । इजरायलीमा यहुदीहरुको ऐतिहासिक असहायताका अप्रिय अनुभवले लाज र हीनताबोधको आघात गहिरोसँग गाडिएको छ र त्यो लाज र हिनताबोधको छाया, अहमता र आत्मलीनतामा प्रकट हुन्छ ।

हुन त आघातले समानुभूति र विनम्रता पनि पैदा गर्न सक्छ, जुन कुरा हामी धेरै यहूदी विचारक र अभियन्ता र इजरायली नागरिकहरूको केहि हिस्सामा देख्छौं, तर राज्यका रूपमा इजरायलले आधिपत्यवादी वर्चस्वको बाटोमा गएको छ, अनियन्त्रित शक्तिउन्मादको उग्ररुप धारण गरेको छ – जस्को जरामा लाज र हिनतावोधको छाया छ ।

इजरायलको आक्रमण भन्दा ठिक अघि, भारतीय प्रधानमन्त्री मोदीले इजरायलको भ्रमण गरेका थिए, जसले धेरै अड्कलबाजीहरू निम्त्यायो । औपनिवेशिकताविरोधी नैतिक धरातलका कारण ऐतिहासिक रूपमा प्यालेस्टाइनको पक्षधर रहेको भारत, हाल मोदीको नेतृत्वमा इजरायलप्रति बिछट्टै आकृष्ट भएको छ ।

भारतले भर्खरै ‘एआई इम्प्याक्ट समिट’, अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो जहाँ म पनि सहभागी हुन गएको थिए । “सर्वजन हिताय, सार्वजन सुखाय- सबैको लागि कल्याण, सबैको लागि खुशी” को नारामा आयोजित यो सम्मेलन ‘भारत मण्डपम’ मा आयोजना गरिएको थियो, जहाँ ‘वसुधैव कुटुम्बकम्’ (विश्व एक परिवार हो) को संदेश रहेका अनुपम कलाकृतिहरू थिए ।

आफूलाई ‘विश्वगुरु’ भनेर ब्रान्डिङ गर्न खोजिरहेको भारतमा मानवता र लोकतन्त्रको संदेशका ऐतिहासिक ज्ञान र अनुभवका भण्डार छन्। तर आजको मोदी नेतृत्वको हिन्दुत्व-वादी भारत सरकार यहि मूल्यको प्रतिपक्षमा छ ।

भारतलाई हिन्दू धर्मको भूमि ठान्ने एउटा ठूलो तप्का भारतको इतिहासमा इस्लामिक साम्राज्य र बेलायती उपनिवेशद्वारा दमित हुनुपरेको लज्जा र हीनताबोधबाट ग्रसित बन्यो । त्यही हीनताबोधको जगमा ‘हिन्दुत्व’ को जन्म भयो । यो ‘हिन्दुत्वको उन्माद’ अल्पसंख्यकहरूमाथि क्रूरता र हिंसाको रूपमा प्रकट हुन्छ ।

भारतीय मिडिया र डिजिटल दुनियाँभरि सर्वोच्चताको मिथकले भरिएको यो हिन्दुत्वले भारतलाई भद्रगोल र अक्षमताको ओरालोमा धकेलिरहेको छ । त्यो भद्रगोल र अक्षमता हालैको ‘एआई इम्प्याक्ट समिट’ मा छताछुल्ल भयो । प्रविधि र नवप्रवर्तनलाई केन्द्रमा राख्नुपर्ने त्यो सम्मेलन, मोदीको छवि-निर्माण र ‘भीआईपी संस्कृति’ को बोझले थिचिएर अस्तव्यस्त बन्यो ।

शहरभरि एआई सम्मेलनका पर्चाहरू जताततै थिए, र हरेक पर्चामा मोदीको तस्वीर थियो । अभिभावकत्व लिनुपर्ने नेतृत्व नै यसरी बालोचित आत्मलीनतामा हराएको टिठलाग्दो स्थिति देखेर म दिक्क हुँदै फर्किएँ ।

नेपालमा राजनीतिक दलहरूले चुनावी घोषणापत्र सार्वजनिक गरेका रहेछन् । र रास्वपाको चुनावी घोषणापत्रको कभरको केन्द्रमा रवि र बालेनका तस्वीर देखें । झन्डा र चिह्नहरू पर्याप्त नभएर ती दुई पुरुष अनुहारहरूलाई नै प्रतीक बनाउन पर्ने स्थिति किन आयो, कुन मनोवृत्तिले आयो र यसले प्रतीकात्मक रूपमा के संकेत गर्न खोजेको हो ?

प्रतिक र संकेतहरू केलाउनुपर्ने माहौल छ। प्रतिक र संकेतहरूमै शक्ति संघर्ष हुँदैछ । यो शक्ति संघर्षमा अब्बल हुँदै उदाएका छन् रास्वपा र यस दलले भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेका बालेन, एक व्यक्तिको रूपमा, उनको बारेमा धेरै अड्कलबाजी र प्रक्षेपणहरू भइरहेका छन् । स्वयम् उनी र उनको टिमले उनको छवि र व्यक्तित्वलाई नै राजनीतिक अभियानको मुख्य आकर्षण बनाएका छन् ।

काठमाडौंको मेयर भएदेखि नै विवादास्पद रहेका उनीबारे विभिन्न रिपोर्टिङ र सर्वेक्षणहरूले उनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रक्षेपण गरिरहेका छन् । त्यसैले, उनको वास्तविकताबारे बुझ्नु आम नागरिकको चासो को विषय बनेको छ ।

एक नागरिकको हैसियतले मैले बालेनलाई जसरी देखेको छु र उनमा जे प्रवृत्तिहरू पाएको छु, त्यसले ममा सकारात्मक भावनाभन्दा बढी चिन्ता जगाएको छ । कतै यो मेरो पूर्वाग्रह त होइन भनेर मैले गहिरिएर बुझ्न खोजें, तर बुझ्ने क्रममा झन् भयावह कुराहरू पाए ।

भारतका मोदीजस्तै बालेनमा पनि सर्वव्यापी भएर सबैतिर छाउने महत्वाकांक्षा देखिन्छ, तर उनी आफ्नो छविलाई पूर्ण रूपमा नियन्त्रणमा राख्न चाहन्छन् । दोहोरो संवादलाई बहिष्कार नै गरेझैँ त्यसबाट तर्किने उनीहरूको चरित्रले मुख्यतया दुईवटा कुरा झल्काउँछ । पहिलो, उनीहरूमा लोकतान्त्रिक मूल्य र नागरिक संवादप्रति आस्था न्यून छ र दोस्रो, बाहिर जतिसुकै बलवान् छवि देखाउन खोजे पनि भित्रभित्रै यसले कायरता र कमजोरीको संकेत गर्छ ।

बालेनले ‘महामानव’ जस्तो जुन शक्तिको तेवर र दम्भ प्रदर्शन गर्छन्, त्यसको वास्तविक स्रोत के हो ? के यो लोककल्याणप्रतिको दूरदर्शिता र प्रतिबद्धतामा आधारित छ ? वा कतै यो गहिरो हीनताबोधको जगमा पलाएको ‘भ्रामक महामानवता’ (Delusional Grandiosity) मात्र त होइन ? उनका असंगतिहरू, भड्किला अभिव्यक्तिहरू, निर्धाहरूमाथि गरिने क्रूरता र जवाफदेहिताको शून्यता हेर्दा म उनमा कुनै अडिलो अभिभावकको भूमिका होइन, बरू शक्ति प्रदर्शनका लागि खडा गरिएको एउटा कृत्रिम सतही छवि मात्र देख्छु ।

रास्वपा, जसले चुनाव जितेर नयाँ सरकार बनाउने प्रक्षेपण गरिएको छ, उनीहरूका समर्थकहरूले आशा गरेझैँ कुनै ‘तिलस्मी आर्थिक क्रान्ति’ हुने सम्भावना म एकदमै न्यून देख्छु । नवउदारवादी विश्व आर्थिक व्यवस्था नै ध्वस्त हुँदै गइरहेको छ । जब यस व्यवस्थाका नाइके मानिने अमेरिका र युरोप नै ओरालो लाग्दै छन् भने, यही व्यवस्थाको पिँधमा आश्रित हामीलाई नवउदारवादी नीतिले कसरी समाधान दिन सक्छ?

आर्थिक न्यायको माग गर्ने हक हरेक नागरिकलाई छ र यो पूरा गर्नु सरकारको दायित्व हो। तर, यसका लागि इमानदार प्रतिबद्धता, गहिरो मन्थन र साधना चाहिन्छ। सामाजिक सञ्जालमा टाँस्ने सतही सामग्रीले मात्र पुग्दैन, समस्याको जराबाटै नयाँ परिकल्पना आवश्यक छ।

अस्थिरताबाट आजित नेपाली जनता स्थिरताको तिर्सनामा छन्। तर, घोषणापत्रको कभरमा अटाइनटाई टाँसिएका दुई पात्रहरूको अहम-व्यवस्थापनमै पार्टीको धेरै रचनात्मक ऊर्जा खर्च हुने म देख्छु।

रास्वपाले आफ्नै बलबुतामा स्थिरता दिन सक्ने म देख्दिनँ। बरु, मलाई ‘अर्को खालको’ स्थिरताको डर छ- लोकतन्त्रलाई नै बन्धक बनाएर ‘टेको’ लगाइएको कृत्रिम स्थिरता।

हीनताबोधमा आधारित राष्ट्रवाद र भ्रामक महामानवताको जगमा टेकेर बनेको ओली सरकारले निम्त्याएको विध्वंस हामीले हालैको जेन्जी आन्दोलनमा देख्यौँ।  हाम्रो संस्थागत कमजोरी र क्षयीकरण हुँदै गएको सामाजिक सबलता देख्यौं। एउटा नयाँ युवा ऊर्जा प्रस्फुटित भएको छ, तर यो रचनात्मक दिशामा कसरी अगाडि बढ्छ र बढाउने भन्ने अझै पहिल्याउन हामीले सकेका छैनौं ।

विश्वको शक्ति समीकरण बदलिरहेको यो समयमा स्थिरता र सार्वभौमसत्ताको नाममा जति जे जोगिएको छ, त्यसको भविष्य पनि अनिश्चित नै देखिन्छ। यस्तो संवेदनशील घडीमा हामीलाई समभाव, विवेक, दूरदर्शिता, इमानदार प्रतिबद्धता र मौलिक परिकल्पनाका साथै धेरैभन्दा धेरै अनुशासन र मेहनतको खाँचो छ।

यो यात्रामा हामीलाई चाहिने नेतृत्व हीनताबोधबाट निर्देशित बालसुलभ दम्भ र भ्रामक महामानवता होइन, बरु यथार्थको धरातलमा टेकेको, परिपक्व र आत्मसचेत अभिभावकत्व हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?