News Summary
Generated by OK AI. Editorially reviewed.- हार्पर लीले साथी माइकल र जोय ब्राउनबाट एक वर्षको समय उपहार पाएर आफ्नो उपन्यास लेख्न पूर्णकालीन समय पाइनन्।
आज अर्थात् फेब्रुअरी १९ को दिनलाई विश्वभरका साहित्य-प्रेमीहरूले ‘हार्पर ली रिमेम्ब्रेन्स डे’ अथवा उनको स्मृति दिवसका रूपमा सम्झिने गर्छन् । तिनै ‘हार्पर ली’, जसले साथीहरू ( एक दम्पत्ती ) बाट एक साँझ पाएको जादुमयी उपहारका कारण उनको नाम विश्व साहित्यमा कहिल्यै नमेटिनेगरी लेखिएको छ ।
सन् १९५० को दशकमा हार्पर ली न्युयोर्कमा एउटा विमान सेवामा ‘रिजर्भेसन क्लर्क’का रूपमा काम गर्थिन् । त्यो समयमा अहिलेको जस्तो कम्प्युटर प्रणाली थिएन । टिकट काट्नु भनेको ठूला-ठूला रजिस्टरहरू पल्टाउनु, टेलिफोनमा यात्रीहरूको झर्कोलाग्दो कुरा सुन्नु र हातले नै सबै विवरण भर्नुहुन्थ्यो ।
दिनभरि ८ देखि १० घण्टाको त्यो मेकानिकल कामले उनको सिर्जनात्मक उर्जा पूरै सोसेर लैजान्थ्यो । जब उनी बेलुकी थकित अवस्थामा आफ्नो सानो अपार्टमेन्टमा फर्किन्थिन्, उनको मस्तिष्क शब्दहरूले नभएर विमानको उडान तालिका र यात्रीका नामहरूले भरिएको हुन्थ्यो । तर, पनि उनी लेख्ने प्रयास गर्थिन् । यसरी उनले आर्थिक अभावका कारण आफ्नो लेखनलाई पूर्ण समय दिन सकेकी थिइनन् ।
त्यो समयमा न्यूयोर्क जस्तो शहरमा एउटा सामान्य क्लर्कको तलबमा गुजारा चलाउनु निकै कठिन थियो । उनको आर्थिक अवस्था दैनिक जीवन चलाउने स्तरको साधारण मात्र थियो । त्यही आर्थिक सीमितताका कारण नयाँ कपडा किन्नु अथवा राम्रो रेस्टुरेन्टमा गएर खानु उनका लागि विलासिताका कुरा थिए । उनले आफ्नो धेरैजसो पैसा कागज, मसी र टाइपराइटरको रिबनमा खर्च गर्थिन् । धेरै पटक उनले पैसा बचाउनका लागि खाना समेत कटौती गर्थिन् ।

उनको भित्री मन एउटा महान् उपन्यास लेख्न छट्पटाइरहेको हुन्थ्यो, तर उनको बाहिरी शरीर टिकट काउन्टरमा कैद थियो । उनी बिहानै उठेर चिसो कोठामा कफी पिउँदै टाइपराइटर अगाडि बस्थिन्, कामबाट फर्केपछि पनि राति अबेरसम्म त्यहीअगाडि आफूलाई पाउँथिन् । तर, निद्रा र थकानले गर्दा उनी कतिपय रात एउटै अनुच्छेद पनि पूरा गर्न सक्दिनथिन् । उनलाई बिस्तारै लाग्न थालिसकेको थियो, उनको जीवन यसरी नै टिकट काट्दा-काट्दै बित्नेछ, उनीभित्रको लेखक कहिल्यै बाहिर आउन पाउने छैन ।
यसरी उनको सुन्दर सपनाको बिस्तारै अवसान हुँदै थियो ।
एकातिर उनका अधिकांश साथीहरू सफलताको उज्यालोमा थिए भने अर्कोतिर उनी चिसो अपार्टमेन्टको अन्धकारमा आफ्नो अस्तित्व खोज्दै थिइन् । लेखक ‘ट्रुमन कपोटी’का उनको बाल्यकालका निकै मिल्ने साथी थिए । चर्चित उपन्यास ‘इन कोल्ड ब्लड’ लेख्दा ट्रुमन कपोटीलाई उनले धेरै सहयोग पनि गरेकी थिइन् । ट्रुमन कपोटीलाई रूपमा ‘इन कोल्ड ब्लड’ले विश्वव्यापी रूपमा ख्याति दिलाएता पनि उनी त्यसअघि नै प्रतिभाशाली लेखकका रूपमा उदय भइसकेका थिए ।
ट्रुमन कपोटी त्यसबेला न्युयोर्कका साहित्यिक कार्यक्रमहरूमा जान्थे, ठूला प्रकाशक तथा सम्पादकहरूसँग उठबस गर्थे र सधैँ चर्चाको केन्द्रमा हुन्थे । जब उनी सफलताको उत्सव मनाइरहेका हुन्थे, हार्पर ली भने त्यही विमान सेवाको काउन्टरमा बसेर यात्रीहरूको झोलाको तौल र उडानको समय मिलाइरहेकी हुन्थिन् । यसरी आफ्नै बाल्यकालको साथीलाई शिखरमा देख्दा उनलाई खुसी त लाग्थ्यो, तर भित्रभित्रै आत्मग्लानि र असुरक्षाको भावनाले पनि उत्तिकै पिरोल्थ्यो ।
उनलाई लाग्थ्यो– उनको सबैभन्दा उर्जावान् उमेर र समय एउटा यस्तो काममा खर्च भइरहेको छ, जसको साहित्यसँग टाढा-टाढासम्म कुनै सम्बन्ध छैन । उनी ३० वर्षको नजिक पुग्दै थिइन्, त्यसबेलाको समय र समाजमा त्यो उमेरसम्ममा केही उपलब्धि हासिल गरिसक्नुपर्ने एक प्रकारको दबाब सबैलाई हुन्थ्यो । उनलाई लाग्थ्यो– यदि मैले अहिले लेख्न सकिनँ भने, म कहिल्यै पनि लेख्न सक्ने छैन । उनी एउटा यस्तो दलदलमा फसेकी थिइन्, जहाँबाट उम्कन उनलाई ठूलै चमत्कारको आवश्यकता थियो ।

न्युयोर्कमा रहँदा उनले पैसा बिनाको कलाकारिता निकै क्रूर हुन्छ भन्ने वास्तविकतालाई गहिरोसँग महसुस गरेकी थिइन् । उनले आफ्ना संस्मरण तथा पत्रहरूमा कतै-कतै उल्लेख पनि गरेकी छिन्, कसरी उनले न्युयोर्कको जाडोमा एउटा राम्रो ओभरकोट समेत किन्न सकेको थिइनन् । आफ्ना सफल र धनी साथीहरूका बीचमा उनी सधैँ गरिब साथीको रूपमा चिनिन्थिन्, जसको हातमा प्रतिभा त थियो, तर भाग्य थिएन ।
त्यही समय हार्पर लीको जीवनमा ‘माइकल ब्राउन’ र ‘जोय ब्राउन’ साथी भएर आए । उनीहरू उनका साथी मात्र भएनन्, भाग्य-विधाता नै बनेर आए । माइकल ब्राउन एक बहुप्रतिभाशाली व्यक्ति थिए । उनी गीतकार, संगीतकार तथा लेखक थिए । उनी कला जगतमा राम्रो सम्बन्ध भएका व्यक्ति मानिन्थे । जोय ब्राउन माइकलकी पत्नी थिइन् ।
उनी निकै सुझबुझ भएकी र कलालाई माया गर्ने महिला थिइन् । यी दुईसँग हार्पर लीको भेट सन् १९५० को दशकको सुरूतिर भएको थियो । उनीहरूलाई लेखक ‘ट्रुमन कपोटी’ले एक-अर्कासँग चिनाएका थिए ।
ब्राउन दम्पतीको घर न्युयोर्कका कलाकार तथा बुद्धिजीवीहरूको अखडाजस्तै थियो । उनीहरूले हार्पर लीको व्यक्तित्व र उनको बोल्ने शैलीमा एउटा गजबको कथाकार लुकेको देखेका थिए । ब्राउन दम्पतीले बुझिहाले, हार्पर लीसँग लेख्ने क्षमता अद्भुत छ, तर उनीसँग समय र मानसिक शान्ति र वातावरण छैन । उनले दिनभरि विमान सेवामा काम गरेर, राति थकित अवस्था र त्यो मनोदशामा कहिल्यै पनि एउटा ठूलो उपन्यास लेख्न सक्दिनन् ।
त्यसैले, सन् १९५६ को क्रिसमसमा उनीहरूले एउटा योजना बनाए । त्यो समयमा माइकलले भर्खरै एउटा म्युजिकल शोबाट राम्रै पैसा कमाएका थिए, जुन पैसा उनले आफ्ना लागि विलासितामा खर्चिनुभन्दा हार्पर लीको भविष्य किन्न प्रयोग गर्ने साहसी निर्णय गरे ।
सन् १९५६ को क्रिसमसको ठिक अघिल्लो साँझ क्रिसमस इभमा ब्राउन दम्पतीले हार्पर लीलाई आफ्नो घरमा डिनरका लागि निम्ता दिए, डिनरपछि उनीहरूले क्रिसमस ट्रीको मुनि झुण्डिएको एउटा खाम क्रिसमस-उपहार स्वरूप लीलाई दिए । लीलाई लागेको थियो, त्यसमा केही पैसा अथवा शुभकामनाको पोष्ट-कार्ड होला । तर, जब उनले खाम खोलिन्, त्यहाँ एउटा चिठी थियो, जसमा लेखिएको थियो, ‘तिमीसँग आफ्नो कामबाट एक वर्षको छुट्टी छ, अब तिमी जे चाहन्छौ, त्यही लेख्न सक्छौ । मेरी क्रिसमस ।’
सुरूमा त हार्पर लीलाई त्यो कुनै ठट्टाजस्तो लागेको थियो । उनले ‘यसको मतलब के हो ?’ भनेर सोधिन् पनि । ब्राउन दम्पतीले ‘उनीहरूले आफ्नो बचतबाट उनलाई एक वर्षको तलब बराबरको पैसा जम्मा गरिदिएको’ स्पष्ट पारे । बूढा-बूढीले मिलेर हार्पर लीलाई एक वर्ष पुग्ने गरी पुग्दो रकम जम्मा गरिदिएका थिए, ताकि उनले जागिर छोडेर ढुक्कसँग लेख्न सकून् । तर, उनीहरूको एउटै शर्त थियो, उनले केवल आफ्नो उपन्यासमा ध्यान दिनुपर्छ ।

साथीहरूबाट एक वर्षको समय उपहार पाएपछि लीले आफूलाई एउटा कडा नियममा बाँधिन् । यसरी उत्साह र प्रेरणाबाट डोहिरिंदै लीले जागिर छोडिन्, उनले लेखनलाई नै आफ्नो पूर्णकालीन जागिर बनाइन् । उनी हरेक बिहान सबेरै उठ्थिन् र आफ्नो टाइपराइटर अगाडि बस्थिन् । उनी दिनको ६ देखि ८ घण्टा लगातार लेख्ने गर्थिन् । बाहिरी संसारबाट अलग्गिएर उनी आफ्नै बाल्यकालका सम्झनाहरूमा डुब्न थालिन् । उनले आफ्ना बुबा, छिमेकी र साथीहरूलाई पात्रको रूपमा ढाल्न सुरू गरिन् ।
सन् १९५७ मा ३१ वर्षकी हार्पर लीले आफ्नो उपन्यास ‘गो सेट अ वाचम्यान’को पाण्डुलिपि प्रकाशकलाई पठाइन्, जुन ‘जे.बी. लिपिनकोट’ कम्पनीकी सम्पादक ‘टे होहोफ’को हातमा पुग्यो । उनले पाण्डुलिपिलाई तत्कालै छाप्न योग्य नभएको भनी अस्वीकार गरिन् । उनले लीलाई भनिन् ‘तिम्रो लेखाइमा दम छ, तर यो अझै काँचो छ, यो उपन्यास नभएर केवल साना-साना घटनाहरूको सङ्ग्रह जस्तो मात्र भएको छ । यसलाई पूर्ण रूपमा बदल्नुपर्छ ।’
त्यसपछि अर्को दुई वर्ष ( १९५७-१९५९ ) हार्पर लीले एउटै कथालाई बारम्बार लेख्ने, मेट्ने र फेरि लेख्ने काम गरिरहिन् । उक्त प्रक्रिया उनका लागि निकै पीडादायी र तनावपूर्ण थियो । उनी कहिलेकाहीँ एउटै अनुच्छेदमा हप्तौंसम्म अड्किन्थिन् । एक हिउँदको रात, त्यही पुनर्लेखनको प्रक्रिया चल्दै गर्दा हार्पर ली यति निराश भइन् कि उनलाई लाग्यो– अब उनी कहिल्यै लेखक बन्न सक्दिनन् । दिक्क भएर हार मान्दै उनले आफ्नो पाण्डुलिपिका पानाहरू झ्यालबाट बाहिर हिउँमा फालिन् र रूँदै सम्पादक होहोफलाई फोन गरिन् । तर, होहोफले उनलाई सम्झाउँदै तुरुन्तै बाहिर गएर ती पानाहरू टिप्न अह्राइन् । उनले कडा शब्दमा भनेकी थिइन्, ‘तुरुन्तै तल जाऊ र ती पानाहरू ल्याऊ, नत्र तिमी पछुताउनेछौ ।’ लीले रूँदै हिउँमा भिजेका ती पानाहरू टिपिन् र फेरि लेख्न सुरू गरिन् ।
यदि त्यस रात ती पानाहरू नटिपिएका भए, सायद आज संसारले एउटा महान् कृति पाउने थिएन ।

सम्पादक होहोफले लीलाई समय–समयमा मार्गनिर्देशन गरिरहिन् । एउटा ड्राफ्टपछि अर्को ड्राफ्ट लेख्ने क्रम चलिरह्यो । उनले कथालाई सन् १९३० को दशकको ‘ग्रेट डिप्रेसन’को पृष्ठभूमिमा कोर्न थालिन् । उनले ‘एटिकस फिन्च’को पात्रलाई न्याय र नैतिकताको एउटा बलियो खम्बाको रूपमा उभ्याइन्, पात्रहरूबीचको सम्बन्ध र कथाको प्रवाहलाई स्पष्ट बनाउन धेरै पटक सुधार गरिन् । लेखक र सम्पादकबीच घण्टौँसम्म छलफल हुन्थ्यो । कहिले लीले सम्पादकको कुरा मान्थिन्, कहिले सम्पादकले लीको विचार स्वीकार गर्थिन् । कहिलेकाहीँ त छलफलले कथालाई बिल्कुलै नयाँ मोड पनि दिने गर्थ्यो ।
अन्तत: धेरै पटकको पुनर्लेखन र सम्पादकसँगको घण्टौंसम्मको बहसपछि सन् १९५९ को अन्त्यतिर उपन्यासले पूर्णता पायो । यसरी ‘गो सेट अ वाचम्यान’को जगमा ‘टु किल ए मोकिङबर्ड’ तयार भयो ।
एउटा महान् कृतिको पछाडि लेखकको प्रतिभा मात्र नभएर एक कुशल सम्पादकको धैर्य र मार्गदर्शन कत्तिको महत्त्वपूर्ण हुन्छ, उनको लेखन-यात्राबाट बुझ्न सकिन्छ । हार्पर लीको वास्तविक नाम ‘नेल हार्पर ली’ हो । मान्छेहरूले उनको पहिलो नाम ‘नेल’लाई झुक्किएर अथवा उच्चारण गर्न नआएर ‘नेली’ भन्छन् कि भन्ने उनलाई डर थियो, त्यसैले उनले आफूलाई लेखकको रूपमा चिनाउन केवल ‘हार्पर ली’ नाम रोजिन् ।
‘टु किल ए मोकिङ्बर्ड’ सन् १९६० जुलाई ११ मा प्रकाशित भएपछि हार्पर लीको जीवन र विश्व साहित्यको जगतमा एउटा ठूलो सुनामी नै आयो । मान्छेहरू पुस्तक-पसलमा लाइन लाग्न थाले, उपन्यास केही हप्ताभित्रै ‘बेस्टसेलर’ सूचीको शीर्ष स्थानमा पुग्यो । अहिलेसम्म ‘टु किल ए मोकिङबर्ड’ चार करोडभन्दा बढी बिक्री भइसकेको छ ।
सन् १९६१ मा त्यसले साहित्यको सबैभन्दा ठूलो सम्मान ‘पुलित्जर पुरस्कार’ प्राप्त गर्यो । सन् १९९९ मा ‘लाइब्रेरी जर्नल’को सर्वेक्षणले ‘टु किल ए मोकिङ्बर्ड’लाई ‘शताब्दीकै उत्कृष्ट उपन्यास’ घोषित गर्यो । सन् १९६२ मै त्यसमा आधारित फिल्म पनि बन्यो, जसमा ‘ग्रेगोरी पेक’ले ‘एटिकस फिन्च’को भूमिका निभाएका थिए, उक्त भूमिकाबाट उनले अस्कर अवार्ड पनि जित्न सफल भए ।
बिस्तारै हार्पर लीलाई मिडिया र प्रशंसकले घेर्न थाले । उनको सानो अपार्टमेन्टबाहिर पत्रकारहरूको भीड लाग्न थाल्यो । उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘मलाई यति धेरै सफलताको कहिल्यै अपेक्षा थिएन । म त केवल समीक्षक र पाठकहरूबाट प्रोत्साहन चाहन्थेँ ।’
‘टु किल ए मोकिङबर्ड’ विश्वव्यापी रूपमा सफल भएपछि ब्राउन दम्पती निकै खुसी भए । उनीहरूले कहिल्यै पनि हार्पर लीसँग आफूले दिएको पैसा फिर्ता मागेनन्, न त त्यस सहयोगको क्रेडिट नै लिन खोजे । उनीहरूले त्यो सहयोग विशुद्ध मित्रता र कलाप्रतिको सम्मानका लागि गरेका थिए । हार्पर लीले पछि आफ्नो संस्मरणमा ब्राउन दम्पतीको बारेमा लेखेकी थिइन्, ‘उनीहरूले मलाई केवल पैसा दिएका थिएनन्, उनीहरूले मलाई ममाथि कसैले नगरेको विश्वास उपहारमा दिएका थिए, जुन उपहार मेरो जीवनको सबैभन्दा ठूलो चमत्कार बन्न पुग्यो ।’

‘टु किल ए मोकिङबर्ड’ उपन्यासले अमेरिकाको रंगभेद र त्यहाँको न्याय प्रणालीमाथि कडा प्रहार गरेको छ । त्यो समयमा उपन्यासको पात्र ‘एटिकस फिन्च’ नैतिकता र न्यायको विश्वव्यापी प्रतीक बनेको थियो, धेरै युवाहरू उपन्यास पढेर वकिल बन्न प्रेरित भएका थिए । अमेरिकाका कतिपय गोरा बाहुल्य क्षेत्रमा उपन्यासलाई खतरनाक र विवादास्पद संज्ञा दिएर किताबमाथि प्रतिबन्ध लगाउने प्रयास पनि गरिएको थियो । तर, जति विवाद भयो, ‘टु किल ए मोकिङबर्ड’को लोकप्रियता र चर्चा उति नै चुलिंदै गयो ।
सन् १९६० पछि हार्पर ली बिस्तारै सार्वजनिक जीवनबाट हराउँदै गइन् । उनले अन्तर्वार्ता दिन बन्द गरिन् । उनले नयाँ उपन्यास लेख्न र प्रकाशित गर्न पनि छाडिन् । उनी न्युयोर्कबाट आफ्नो पुर्ख्यौली गाउँ ‘मोन्ट्रोभिल’ फर्किएर एकान्त जीवन बिताउन थालिन् । त्यो मौनता सन् २०१५ मा उनको अर्को पाण्डुलिपि ‘गो सेट अ वाचम्यान’ प्रकाशित नहुन्जेलसम्म जारी रह्यो ।
हार्पर लीले थुप्रैपटक स्वीकारेकी थिइन्, यदि ब्राउन दम्पतीले उनलाई त्यो ‘एक वर्षको समय’ उपहार नदिएको भए, उनले कहिल्यै ‘टु किल ए मोकिङबर्ड’ पूरा गर्न सक्ने थिइनन् । ‘माइकल’ र ‘जोय ब्राउन’ इतिहासका त्यस्ता पात्र हुन्, जसले पर्दा पछाडि बसेर एउटा महान् कृतिलाई जन्म दिए । उनीहरूको कामले सावित गरेको छ, एउटा लेखकलाई सफल बनाउन कहिलेकाहीँ कलम र कागजले मात्र पुग्दैन । एउटा यस्तो साथी पनि चाहिन्छ, जसले उसको सपनामा आफूलाई पनि बिना स्वार्थ होम्न सकोस् ।
हार्पर लीको लेखन यात्राले ‘प्रतिभा’को मात्र नभएर धैर्य र पुनर्लेखनको कथा पनि कहन्छ । उनले उपहारमा पाएको त्यो एक वर्षको समयलाई अर्को थप दुई वर्षको कडा मिहिनेतले सिंचित गरिन् । उनले आफ्नो बाल्यकालका यादहरूलाई यसरी बुनिन्, त्यो केवल एउटा उपन्यास मात्र रहेन, बरू मानवता र न्यायको एउटा विश्वव्यापी दस्तावेज पनि बन्न पुग्यो ।
प्रतिक्रिया 4