केही समयअघिइस्टोनियाली-जर्जियाली वार-फिल्म ‘ट्यांगरिन्स’ हेरेको थिएँ, जुन जर्जिया र अबखाजियाबीच भएको द्वन्द्वमा केन्द्रित छ । ‘ट्यांगरिन्स’ले युद्धलाई प्रत्यक्ष रूपमा नदेखाएर पनि सानो क्यानभास, थोरै पात्र र कम समयमा लडाइँका अनेक आयामलाई छोएको छ । उक्त फिल्मले युद्धको विषम समयमा मानवताको खोजी गर्छ । सोही युद्धमा आधारित भएर बनेको अर्को एउटा उत्कृष्ट उदाहरण हो- ‘कर्न आइल्याण्ड’, जसले फिल्मभरि लडाइँ देखाउँदैन, तर त्यसको भयावह तरङ्गलाई भने महसुस गराउँछ ।
‘कर्न आइल्याण्ड’ बुझ्नका निमित्त १९९२-१९९३ को जर्जिया-अबखाजिया युद्ध बुझ्न एकदमै जरूरी छ ।
सन् १९९२ अगस्टमा सुरू भएको जर्जियाली सरकार र अबखाजिया समूहबीचको युद्ध सन् १९९३ सेप्टेम्बरमा समाप्त भएको थियो । यसमा रूसको पनि सहभागिता थियो । सोभियत संघको समयमा अबखाजिया जर्जियाको एक स्वायत्त गणराज्य थियो ।
अबखाजियामा जर्जियनहरूको बाहुल्य थियो भने अबखाजियालीहरू अल्पसंख्यक थिए । जब सोभियत संघ विघटन भयो, अल्पसंख्यक अबखाजियालीहरूले आफ्नो छुट्टै पहिचान खोज्न थाले । उनीहरू जर्जियाको नियन्त्रणमा नबसी स्वतन्त्र हुन चाहन्थे । तर, जर्जिया भने राष्ट्रिय एकता चाहन्थ्यो । त्यहींबाट दुई पक्षबीच युद्धको आगो सल्कियो ।
त्यस युद्धमा जर्जियाली पक्षका १० देखि १५ हजार सैनिकको मृत्यु भएको थियो भने अबखाजियाली पक्षका ३ हजारदेखि ४ हजार लडाकुहरू मारिएका थिए । करिब ४ हजारदेखि ८ हजार आम-नागरिकले ज्यान गुमाएका थिए । युद्धपश्चात् जर्जियनहरूलाई अबखाजियाबाट विस्थापित गरियो, लगभग २ लाख ५० हजार जर्जियनहरू शरणार्थी बन्न पुगे । यसरी कैयौं निर्दोष मान्छेहरू मारिए, लाखौं शरणार्थी बन्न बाध्य भए । अबखाजियाले आफूलाई स्वतन्त्र घोषणा गर्यो, तर अन्तर्राष्ट्रिय समुदायले भने अबखाजियालाई आजसम्म पनि स्वतन्त्र देशका रूपमा मान्यता दिएको छैन । यो विवाद अझै समाधान भएको छैन । जर्जियाले अबखाजियालाई आफ्नो क्षेत्र मान्छ, तर अबखाजिया आफूलाई स्वतन्त्र मान्छन् ।
युद्धविराम भएता पनि दुई पक्षबीच अझैपनि शान्ति स्थापित हुन सकेको छैन । तनाव अझैं कायमै छ । ‘कर्न आइल्याण्ड’ले त्यही घाउलाई एउटा वृद्ध किसानको आँखाबाट देखाएको छ ।
‘इंगुरी नदी’ले जर्जियाली क्षेत्र र स्वघोषित स्वतन्त्र अबखाजियालाई भौगोलिक रूपमा छुट्याएको छ, जुन केवल पानीको बहाव मात्र नभएर एउटा सिमाना पनि हो । यस्तो प्रकृतिक सिमाना, जसका दुवै किनारमा एक-अर्कालाई निगरानी गर्न र सुरक्षाका लागि सेना राख्न अग्ला टावर र बंकरहरू छन् । त्यही इंगुरी नदीको बीचमा एउटा टापु छ, जसमा ती दुवै देशको अधिकार छैन । पानीको बहाव परिवर्तन भएर अथवा पानीको सतह घटेर बनेको उक्त सानो टापुमा फिल्म ‘कर्न आइल्याण्ड’ले आफ्नो कथा कोरेको छ ।

वसन्त ऋतुको समयमा हिमालको हिउँ पग्लेर नदीको तेज बहावले पहाडबाट माटो बगाएर ल्याउँदै, थुपार्दै उक्त अस्थायी टापु बनाएको थियो । यही टापुमा एक वृद्ध किसान र उनकी नातिनी जान्छन् । त्यहाँ झुपडी बनाउँछन् र मकै खेती गर्छन् । वर्षायाम लाग्नुअगाबै, नदीले उक्त टापु फेरि निल्नुअघि नै उनीहरू त्यहाँबाट मकै भित्र्याउन चाहन्छन् ।
यसरी पानीले छाडेको जामिन अथवा उमारेको माटोमा गरिने खेतीलाई नेपालको जनबोलीमा बगर खेती भनिने गर्छ । यस्तो प्रकारको जमिन कहिल्यै स्थायी हुँदैन । यो प्रकृतिको एउटा यस्तो चक्रीय उपहार जस्तै हो, जुन वर्षा याममा खोलाको गर्भमा हराउँछ र हिउँदमा पुन: माटो थुप्रिंदै त्यस्तै टापु वा बगर बन्ने गर्छ । नेपालमा पनि विशेषगरी तराई तथा भित्री मधेशमा यस्तो ठाउँमा गरिने बगर खेती निकै लोकप्रिय र जीविकोपार्जनको मुख्य आधार बन्दै आइरहेको छ ।
यस्ता बगर तथा टापु मुख्यतया विपन्न, भूमिहीन र सुकुम्बासी परिवारहरूका लागि वरदान सावित हुने गर्छ । नेपालको तराई क्षेत्रका नदीहरू जस्तै: कोशी, गण्डकी, कर्णाली, राप्ती र कञ्चनपुरको महाकाली क्षेत्रका बगरहरूमा यो चलन व्यापक छ । यस्ता खेती पूर्णतया मौसममा आधारित हुन्छन् ।
नदीले खोसेको जमिनबाटै पुनः जीवन खोज्ने यो प्रक्रिया प्राकृतिक चक्रसँगको सुन्दर सामीप्यता पनि हो ।
‘कर्न आइल्याण्ड’ एउटा यस्तो फिल्म हो, जसले शब्दभन्दा बढी दृश्य र मौनतामार्फत कथा कहन्छ । जर्जियाली निर्देशक ‘जर्ज ओभाश्विली’को यो फिल्मले २०१४ मा आयोजित ‘४९औँ कार्लोभी भ्यारी अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा ‘क्रिस्टल ग्लोब पुरस्कार’ साथै ‘एक्युमेनिकल जुरीको पुरस्कार’ जित्न सफल भएको थियो ।
‘कर्न आइल्याण्ड’ ८७औँ एकेडेमी अवार्ड्समा सर्वश्रेष्ठ विदेशी भाषाको विधामा सर्टलिस्टमा समेत पर्न सफल भएको थियो ।

फिल्मभरि कतै कुनै लडाइँ देखाइँदैन, तर नदीको दुवै किनारमा दुई शत्रु देशका सेनाहरू तैनाथ छन् । उनीहरूको उपस्थिति फिल्मभर पृष्ठभूमिका रूपमा रहिरहन्छ । वृद्ध किसान र उनकी नातिनी खेती गरिरहँदा छेउबाट बन्दुकधारी सैनिकका डुङ्गाहरू ओहोरदोहोर गरिरहन्छन् । उनीहरू ‘नो म्यान ल्याण्ड’मा छन्, त्यसैले त्यहाँ जुनसुकै बेला पनि गोली चल्न सक्छ । एकातिर नदीले आकार दिएको माटोको सानो चोक्टालाई फेरि पानीले नै आफूसँग लिएर जाने डर छ, अर्कोतिर किनारमा बसेका दुई पक्षका सैनिकहरूको बन्दुकको छायामा रहनुपर्ने बाध्यता छ । यी दुई जोखिमका बीचमा एउटा सानो परिवार (हजुरबुबा र नातिनी) ले फिल्ममा जीवन खोज्ने प्रयास गर्छ ।
एउटा घाइते जर्जियाली सैनिक भाग्दै उक्त टापुमा लुक्न आउँछ, वृद्धले उसलाई शरण दिन्छन् । उनले घाइते सैनिकलाई शत्रु अथवा मित्रको रूपमा हेर्दैनन् । उनले केवल उसलाई घाइते मान्छेका रूपमा हेर्छन्, जुन फिल्मको अर्को बलियो मानवीय पक्ष पनि हो । उक्त दृश्यले बुझाएको छ– युद्ध सिमानामा बस्ने सैनिक र शासकहरूका लागि मात्र हुन्छन्, जमिनसँग जोडिएका किसानका लागि मानवता नै सबैभन्दा ठूलो धर्म हुन्छ । ‘कर्न आइल्याण्ड’ले हाम्रोअघि एउटा गम्भीर प्रश्न तेर्स्याएको छ, ‘प्रकृतिले हामीलाई सबैथोक बराबरी दिएको छ, तर त्यसमा हामीले किन सिमाना कोरिरहेका छौँ ?’
फिल्ममा बोलिने संवादहरू औँलामा गन्न सकिन्छ । गहिरो दु:ख र कठोर परिश्रमका लागि शब्दको कुनै आवश्यकता पर्दैन भन्ने निर्देशकले देखाएका छन् । तर, नदीको बहाव, बालुवाका कण, मकैका पातहरू र पात्रहरूको मनोदशालाई हामी प्रष्टसँग सुन्न र पढ्न सक्छौँ । वृद्ध किसानको मौनता र आँखामा देखिएको दृढताले एउटा अनुभवी किसानको संघर्ष देखाएको छ, जसले जतिसुकै ठूलो संकट आए पनि हार मान्दैनन् । फिल्ममा उनकी नातिनीलाई सानी नानीबाट युवती बन्दै गरेको देखाइएको छ ।

यसरी उनले युद्धको छायामा हुर्किनुपर्ने एउटा निर्दोष पुस्ताको प्रतिनिधित्व गरेकी छिन् । उनी बाल्यकालबाट नारीत्वतर्फ प्रवेश गर्दै गरेको अवस्था र मकै हुर्किने चक्र समानान्तर रूपमा चल्दै जान्छ । उनको र उक्त घाइते सैनिकबीचको छोटो भेटले फिल्ममा मानवीय संवेदना अझै थपेको छ ।
ती वृद्ध किसानका लागि उक्त टापु केवल उब्जनी गर्ने ठाउँ मात्र नभएर त्यो उनको स्वतन्त्रताको जमिन पनि हो । उक्त टापु मानव जीवन र राष्ट्रियताको प्रतीक बनेको छ । युद्धले मान्छेको घर र जमिन खोस्न सक्छ, तर उसको सीप र बाँच्ने इच्छाशक्ति कहिल्यै खोस्न सक्दैन ।
वृद्धले कसैको पनि नभएको अथवा अधिकार नलाग्ने जमिनमा पसिना बगाएर आफ्नो अस्तित्व प्रमाणित गर्न खोजेका छन् । हतियार बोकेका सैनिकहरूका बीचमा निहत्था भएर कोदालो चलाउनु आफैँमा पनि एउटा मौन विद्रोह हो । उनले जमिनका लागि जीवन समाप्त गरिरहेकाहरूलाई सन्देश दिइरहेका छन्– म यही जमिनमा पुन: जीवन उमार्ने सामर्थ राख्छु । जसरी नदीले बालुवा-माटो थुपारेर बनाएको टापु फेरि आफैँले बगाउँछ, त्यसरी नै मान्छेको जीवन र उसले बनाएका साम्राज्यहरू पनि क्षणभंगुर हुन्छन् ।
‘कर्न आइल्याण्ड’को कथा ‘नो म्यान ल्याण्ड’मा हुनुले पनि बुझाउँछ, माटो वास्तवमा कसैको पनि हुँदैनन्, तर मूर्ख मान्छेहरूले भने त्यसलाई आफ्नो बनाउन रगत बगाउँछन् ।

बगर खेती गर्ने अधिकांश मान्छेहरू आर्थिक रूपमा निकै विपन्न हुन्छन् । उनीहरूसँग खेती गर्ने आफ्नो जमिन हुँदैन । फिल्ममा देखाइएझैँ, यदि त्यो सिजनमा मकै फलाउन सके, उनीहरूले वर्षभरि खान पाउँछन् । ‘बन्दुकको डरभन्दा भोकको डर कैयौँ गुणा ठूलो हुन्छ’, फिल्मले सिकाउने यो अर्को महत्वपूर्ण पाठ हो ।
फिल्ममा वृद्धले आफ्नी नातिनीलाई खेती गर्न सिकाउँछन्, त्यो एक पुस्ताबाट अर्को पुस्तामा ज्ञान हस्तान्तरण गर्ने प्रक्रिया पनि हो । मकैको बोटले आशा र सभ्यतालाई बुझाएको छ, त्यो एक प्रकारले फिल्ममा जीवन भएर ठडिएको छ, जुन केवल कडा परिश्रमले मात्र सम्भव छ । वृद्धले एक-एक गेडा मकै रोप्नु भनेको युद्धको छायामा पनि सिर्जनाको प्रयास गर्नु हो । इंगुरी नदी समय र नियति भएर फिल्ममा बगेको छ, जसले जीवन र मृत्यु दुवै दिएको छ । त्यसले कसैलाई पक्षपात गरेको छैन । उक्त नदीले दुई देशलाई मात्र छुट्याएको छैन, त्यसले हामी मान्छेका इच्छा र प्रकृतिको शक्तिबीचको सीमालाई पनि कोरेको छ ।
फिल्म खिच्नका लागि भनेर निर्देशकले नदीमा एउटा उपयुक्त टापु खोजेका थिए, तर त्यहाँ सुरक्षा र मौसमको जोखिम थियो । त्यसैले जर्जियाको एउटा ठूलो कृत्रिम तालमा इन्जिनियरहरू लगाएर नक्कली टापु निर्माण गरिएको थियो । टनका टन माटो र बालुवा ओसारेर त्यो टापु बनाइएको थियो । मकै रोपेको देखि हुर्केको र पाकेको दृश्य खिच्न फिल्म-टोलीले महिनाौँसम्म प्रतीक्षा गर्नुपरेको थियो ।
‘कर्न आइल्याण्ड’ले हामी दर्शकहरूको धैर्यताको परीक्षा लिन्छ । मान्छेले जमिनको टुक्राका लागि गर्ने युद्ध व्यर्थ छ भन्ने कुरा यसले देखाउँछ ।

अन्त्यमा जब भीषण बाढी आउँछ र टापु बिस्तारै डुब्न थाल्छ, वृद्धले मकैका घोगाहरू जोगाउन गरेको संघर्ष देख्दा मन रून्छ । प्रकृतिले जे दिन्छ, त्यसले एकदिन सबै फिर्ता लिएर जान्छ पनि तर, त्यो चक्रमा एउटा मान्छेले देखाएको धैर्यता र साहस नै ‘कर्न आइल्याण्ड’को वास्तविक कथा हो ।
‘कर्न आइल्याण्ड’ का दृश्य-कविताजस्तै लाग्छ । फिल्मले मान्छे र प्रकृतिको सम्बन्धलाई अत्यन्तै मर्मस्पर्शी ढंगले प्रस्तुत गरेको छ ।
अन्त्यमा जब सबै कुरा नदीले बगाउँछ, तब महसुस हुन्छ, मान्छेको अहंकार प्रकृतिको अगाडि कति सानो छ भनेर । निर्देशकले युद्धको निरर्थकतालाई बढो कलात्मक ढंगले देखाएका छन्, उनका अनुसार अन्त्यमा टापु डुबेको दृश्य खिच्न उनलाई निकै गाह्रो भएको थियो ।
‘कर्न आइल्याण्ड’ हेर्दा हाम्रो नेपालका सप्तकोशी, महाकालीका बगरमा रातभरि टहरो बनाएर बस्ने किसानहरूको याद आउँछ, उनीहरूलाई यस्तो टापुमा बस्नुपर्ने-बाँच्नुपर्ने बाध्यता छ, जहाँ सधैँ जंगली जनावर र बाढीको त्रास छ ।

प्रतिक्रिया 4