News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरणमा ४० मध्ये २१ खेल सकिएका छन् ।
- समूह ए मा भारत र पाकिस्तानले लगातार दुई खेल जितेर ४-४ अंकसहित सुपर एटको दाबेदारी गरिरहेका छन् ।
- नेपाल रहेको समूह सी मा नेपाल दुवै खेलमा पराजित भई अंकविहिन छ र समूह चरणबाट बाहिरिने खतराdf छ ।
२ फागुन, मुम्बई । भारत र श्रीलंकामा भइरहेको आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणका ४० मध्ये आधाभन्दा बढी (२१) खेल समाप्त भइसकेका छन् ।
विश्वकपमा शुक्रबार जिम्बाबेले एक पटकको टी-२० विश्वकप विजेता अस्ट्रेलियालाई २३ रनले स्तब्ध पार्दा अमेरिका र यूएईले पनि पहिलो जित हात पारे ।
नेदरल्यान्ड्स र अमेरिकाले सर्वाधिक ३ खेल खेलिसक्दा बाँकी १८ टिमले भने २-२ खेल खेलेका छन् ।
समूह चरणको खेलपछि चार समूहका शीर्ष दुई टोली सुपर एटमा प्रवेश गर्ने प्रावधान छ ।
समूह चरणको आधा खेल सकिँदा कुनै पनि टिमले सुपर एटमा स्थान बनाएका त छैनन् तर केही टिम लगातार दुई खेल जित्दै सुपर एटको निकै नजिक पुगिसकेका छन् ।
केही टिम लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिने संघारमा छन् भने समूह चरणमा एक खेल जित्ने टिमले पनि सुपर एटको सम्भावना भने कायम राखेका छन् ।
शुक्रबारको तीन खेलपछि समूह चरणमा पनि केही फेरबदल भएको छ ।

सुपर एटको दाबेदार को-को छन्?
जिम्बाबेसँग अष्ट्रेलिया स्तब्ध हुनु बाहेक टेस्ट मान्यता प्राप्त राष्ट्रहरुले स्वभाविक रुपमा जित हात पारिरहेका छन् ।
समूह ‘ए’ बाट आयोजक भारत र पाकिस्तान लगातार दुई खेल जित्दै सुपर एटको होडमा अगाडि छन् । दुवैको समान ४ अंक छ । यस्तै ३-३ खेल खेलेका नेदरल्यान्ड्स र अमेरिकाको एक जित र दुई हारबाट २ अंक छ भने दुई खेलमा पराजित नामिबिया अंकविहिन हुँदै पूछारमा छ ।
यस समूहका भारत र पाकिस्तानबीचको बहुचर्चित भिडन्त आउने आइतबार कोलोम्बोमा हुने तालिका छ । यस खेलको नतिजापछि समूह ए बाट सुपर एटमा पुग्ने एक टोलीको टुङ्गो लाग्नेछ ।
यस्तै एक-एक खेल जितेका नेदरल्यान्ड्स र अमेरिकाको पनि सम्भावना कायम छ ।
समूह बी मा सहआयोजक श्रीलंकाले पनि लगातार दुई खेल जित्दै ४ अंक जोडेर शीर्ष स्थानमा छ । अस्ट्रेलियालाई पराजित गरेपछि जिम्बाब्बे पनि दुई खेलबाट ४ अंक जोड्दै अपराजित रहेर दोस्रोमा छ ।
एक जित र एक हारपछि अष्ट्रेलिया २ अंकसहित तेस्रोमा झरेको छ । अष्ट्रेलियाले अझै श्रीलंकासँग खेल्न बाँकी रहेको अवस्थामा अब सुपर एट पुग्न बाँकी दुवै खेल जित्नुपर्ने दबाबमा देखिएको छ ।
समान दुई हार बेहोरेका आयरल्याण्ड र ओमान अंकविहिन छन् । दुवै टोलीको सम्भावना कमजोर बनेको छ ।
यस्तै समूह ‘डी’ मा पनि न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले लगातार दुई खेल जितेर सुपर एट सम्भावना बलियो बनाएको छ । दुवैले अर्का टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गरिसकेकोले पनि सुपर एटको निकै नजिक पुगेको छ । यी दुई टोलीबीच अब हुने खेलबाट सुपर एट पुग्ने एक टोलीको टुङ्गो लाग्नेछ ।
सन् २०२४ मा भएको पछिल्लो टी-२० विश्वकपमा सेमिफाइनल प्रवेश गरेको अफगानिस्तान भने लगातार दुई हारपछि समूह चरणबाटै बाहिरिने खतरामा छ ।
यस समूहमा यूएईले शुक्रबार क्यानडालाई हराएपछि पहिलो जितसहित २ अंक जोडेको छ । अफगानिस्तानसँगै लगातार दुई खेल हारेको क्यानडा पनि अंकविहिन छ र समूह चरणबाट बाहिरिने खतरामा छ ।

नेपाल रहेको समूहको अवस्था र सुपर एट समीकरण
अहिले भइरहेको विश्वकपमध्ये सबैभन्दा रोमाञ्चक खेल नेपाल रहेको समूह सी मै देखिएको छ । दुई पटक विश्वकप जितिसकेका वेस्ट इन्डिज र इंग्ल्यान्डदेखि यसै विश्वकपबाट डेब्यू गरेको इटलीसम्म यही समूहमा छन् । यस्तै बंगलादेश विश्वकपबाट हटेपछि भाग्यमानी बनेको स्कटल्यान्ड पनि यसै समूहमा छ ।
समूह सी मा सबैले दुई खेल खेलिसक्का चार टिमले कम्तीमा एक खेल जितेका छन् भने नेपाल मात्र दुवै खेलमा पराजित हुँदै अंकविहीन छ ।
यस समूहमा वरियतामा तल रहेका दुई टोलीले आफूभन्दा माथिको टोलीलाई पराजित गरेको छ । जसमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई हराएको थियो भने २७औं वरियताको इटलीले १६औं वरियताको नेपाललाई स्तब्ध पारेको थियो ।
वेस्ट इन्डिज लगातार दुई खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ र उसको सुपर एटको सम्भावना सबैभन्दा बलियो छ । त्यसपछि क्रमश: स्कटल्यान्ड, इटली र इंग्ल्यान्ड छन। तीनै टोलीले एक जित र एक हारको नतिजा निकालेका छन् । नेपाल अंकविहिन हुँदै पूछारमा छ ।
यस समूहबाट सुपर एटमा पुग्ने समिकरण रोचक बन्दै छ । अंक गणितीय रुपमा अहिलेसम्म कुनै टोली बाहिरिएका छैनन् ।
अब यस समूहमा रहेका स्कटल्यान्ड र इंग्ल्यान्डबीच शनिबार खेल हुनेछ भने नेपालले आइतबार वेस्ट इन्डिजको सामना गर्नेछ । यो दुई खेलपछि यस समूहको समिकरण केही क्लियर बन्नेछ ।
अहिलेको अवस्थामा वेस्ट इन्डिज सबैभन्दा बलियो अवस्थामा छ भने इंग्ल्यान्ड, स्कटल्यान्ड र इटलीको पनि सुपर एट सम्भावना उस्तै छ । लगातार दुई खेल हारेपछि नेपाल भने समूह चरणबाटै बाहिरिने खतरामा छ ।
नेपालले पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शनका बाबजुद पनि ४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा इटलीसँग १० विकेटको लज्जास्पद पराजय बेहोरेको थियो ।
एकरूपको प्रदर्शन गर्न नसकेको नेपालले इटलीसँग अविश्वसनीय हार व्यहोरेपछि नेपाली समर्थकहरु निकै निराश छन् । इटलीसँग हारपछि आरिफ शेखले अब आउने खेलमा राम्रो प्रदर्शन गर्ने प्रतिक्रिया दिएका थिए ।
नेपाललाई हराएपछि इटली भने निकै उत्सहित छ । यस समूहमा इंग्ल्यान्ड, स्कटल्यान्ड र इटलीको उस्तै सम्भावना हुँदा नेपालको भविष्य भने वेष्ट इन्डिज विरुद्ध अब हुने खेलमा अडिएको छ । यदि त्यो खेलमा नेपाल पराजित भए समूह चरणबाटै बाहिरिनेछ । वेस्ट इन्डिजलाई हराउन सके भने झिनो सम्भावना कायम रहनेछ ।
यस समूहबाट नेपालले सुपर एटको यात्रा तय गर्ने हो भने नेपालले बाँकी दुवै खेलमा वेस्ट इन्डिज र स्कटल्यान्डलाई पराजित गर्नुपर्नेछ नै समूहका अब हुने अन्य खेलको नितजा पनि नेपालको फेभरमा आउनुपर्नेछ । त्यसका लागि अब बाँकी ५ वटै खेलको नतिजा मिराकल जस्तै हुनुपर्नेछ ।
प्रतिक्रिया 4