+

सहाराको आँट, हिमश्रीको साथ : आहा रारा गोल्डकपको अविचलित यात्रा

२०८२ फागुन  १ गते १४:०८ २०८२ फागुन १ गते १४:०८

यसबीचमा द्वन्द्वकाल भयो । २०७२ को भूकम्पले देश नै तहसनहस भयो । २०७६/७७ मा कोभिड–१९ फैलिँदा बाहिर निस्कन नमिल्ने अवस्था बन्यो । तर, आहा रारा गोल्डकप रोकिएन ।

सहाराको आँट, हिमश्रीको साथ : आहा रारा गोल्डकपको अविचलित यात्रा

१ फागुन, पोखरा । नेपाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘ए’ डिभिजन लिग सञ्चालन नभएको ३ वर्ष हुन लाग्यो । अखिल नेपाल फुटबल संघ एन्फाले गर्ने मुख्य घरेलु प्रतियोगिता नहुँदा नेपाली फुटबल नै गुमनाम जस्तो हुन पुगेको छ । तर, पोखरामा हरेक वर्ष सञ्चालन हुँदै आएको आहा रारा पोखरा गोल्डकप भने २५औं वर्षको ऐतिहासिक मोडमा छ । नेपाली फुटबलमा सुरु हुने र बिचमै रोकिने धेरै प्रतियोगिता छन् । तर, सहारा क्लब पोखराले सुरु गरेपछि एकपटक नरोकिई निरन्तर प्रतियोगिता गर्दै २५ वर्षको यात्रा तय गर्न सफल भएको हो ।

‘सहारा क्लबले मात्रै प्रतियोगिता गर्छु भनेर सम्भव छैन । यसमा सबै क्षेत्रको उत्तिकै हात छ । आयोजकले आँट लिने हो । त्यसलाई भरोसामा बदल्ने भनेको सबै स्टेकहोल्डर हुनुहुन्छ,’ क्लबका अध्यक्ष केशवबहादुर थापा भन्छन् ।

२५ संस्करणको अवसरमा सहाराले अस्थायी रुपमा फ्लड लाइट जडान गरेर सन्ध्याकालीन खेल खेलाउने प्रयास गर्‍यो । सुविधा सम्पन्न फुटबल स्टेडियममा सरकारी निकायबाट लाइट जडान हुन सकेपछि सहाराले अस्थायी रुपमा पनि फ्लड लाइट जोडेर सुरुआती खेल खेलायो । ‘२५औं संस्करण पनि भयो । दर्शक पनि कम भयो भन्ने छ । एउटा सन्धाकालीन खेल खेलायो भने पोखरामा नयाँ प्रयोग हो । यसबाट दर्शक बढ्ने अपेक्षा गरेका छौं,’ अध्यक्ष थापा भन्छन् । तर, सफल भने हुन सकेन । सुरुआती ३ दिन फ्लडलाइटमा खेलाए पनि प्रकाश नपुगेपछि सहारा दिउँसोमै खेल खेलाउने निर्णयमा पुगेको छ ।

निरन्तर हुने यो प्रतियोगिताले सक्षम खेलाडीलाई पहिचान दिने काम गरेको अध्यक्ष थापा बताउँछन् । उनी भन्छन्, ‘सहाराले जुन प्रतियोगिता गरेको छ, त्यसले खेलाडीलाई अवसर दिने हो । जो भोलि गएर राष्ट्रिय लिग र राष्ट्रको प्रतिनिधित्व गर्नका लागि सक्षम खेलाडीलाई पहिचान दिने काम गर्छ ।’

000

क्याराभान ह्विस्कीको मु्ख्य प्रायोजनमा सहाराले २०५८ सालमा पहिलोपटक क्याराभान गोल्डकप आयोजना गरेको थियो । यसबीचमा द्वन्द्वकाल भयो । २०७२ को भूकम्पले देश नै तहसनहस भयो । २०७६/७७ मा कोभिड–१९ फैलिँदा बाहिर निस्कन नमिल्ने अवस्था बन्यो । तर, आहा रारा गोल्डकप रोकिएन । कोभिड–१९ का समयमा दर्शक बिना नै भए पनि खेललाई निरन्तरता चलिरह्यो । सहारा क्लबका संस्थापक अध्यक्ष विकास थकाली भन्छन्, ‘देशमा धेरै उथलपुथल भए, धेरै प्राकृतिक प्रकोप भए, राजनीतिदेखि लिएर विभिन्न घटनाहरुले पनि आहा रारालाई छेकेन ।’

पहिलो संस्करणमा प्रायोजन गरेको क्याराभान ह्विस्कीले दोस्रो संस्करणमा साथ छोड्यो । सहारालाई अब कसरी प्रतियोगिता गर्ने ? चुनौती थपियो । त्यसपछि पहिलो संस्करणमा सहप्रायोजक रहेको हिमश्री फुड्सले सहारालाई साथ दियो । फुड्सका संस्थापक सूर्यबहादुर केसीले एकैपटक १० वर्षसम्म प्रायोजन गर्ने सम्झौता गरे । दोस्रो संस्करणमा प्रतियोगिताको नाम पनि फेरियो, क्याराभान गोल्डकपबाट ‘आहा गोल्डकप’ । त्यसपछि भने सहारालाई प्रायोजकको समस्या परेन । ‘२५औं संस्करणसम्म किन केही कुराले पनि छेकेन भन्दा खेरि सबैभन्दा ठूलो मेरुदण्ड भनेको हिमश्री फुड्स हो । सूर्यबहादुर केसी र उहाँको परिवार हो,’ सस्थापक अध्यक्ष थकाली भन्छन् ।

हिमश्री फुड्सले २०६९ सालमा दोस्रोपटक १० वर्षका लागि सम्झौता थप गर्‍यो । त्यसपछि प्रतियोगिताको नाममा ‘रारा’ पनि थपियो । हिमश्री फुड्सले उत्पादन गर्ने रारा चाउचाउको नामबाट प्रतियोगिताको नाम ‘आहा रारा गोल्डकप’ राखियो । फुड्सले २०७९ मा तेस्रोपटक १० वर्षका लागि सम्झौता थप गर्दै सहारासँगको सहकार्य बढायो । २०७९ पछि प्रतियोगिताको नाममा पोखरा थपेर ‘आहा रारा पोखरा गोल्डकप’ राखिएको छ ।

सहारासँगैको सहकार्य २५ वर्षमात्र नभई ५० वर्षभन्दा बढी हुने हिमश्री फुड्सका प्रबन्ध निर्देशक प्रकाश केसी बताउँछन् । ‘मिलेसम्म सहारासँग सहकार्य गर्छौं । गाह्रो अवस्थामा त गर्‍र्याैं । द्वन्द्व भूकम्प, कोभिडका बेला त गर्‍यौं । अब किन नगर्ने ? ५०औं वर्षसम्म हाम्रो सहकार्य हुन्छ,’ उनी भन्छन्, ‘फुटबलमा यस्तो राम्रो आयोजक पाएका छौं ।’

यसपटक पुरस्कार रकममा समेत वृद्धि गरिएको छ । विजेता टोलीले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पछिल्ला केही संस्करणदेखि आहा रारामा विदेशी टोलीको पनि सहभागिता हुँदै आएको छ । गत संस्करणको उपाधि स्वदेशी क्लबहरुलाई स्तब्ध पार्दै उज्वेकिस्तानको ब्ल्याक बुल्सले जितेको थियो । यसपटकमा पनि ४ विदेशी टोलीले सहभागिता जनाएका छन् । विदेशी टोलीले सहभागिता जनाउनु भनेको प्रतियोगिताको महत्व बढ्नु भएको अध्यक्ष थापा सुनाउँछन् ।

000

सहारा क्लबले २०६१ सालदेखि सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी सञ्चालन गरिरहेको छ । उक्त एकेडेमीमा अहिले १६ जिल्लाका ३० जना बालक आश्रित छन् । सहाराले २०५८ देखि नै फुटबल प्रशिक्षण गराउँथ्यो । तर, प्रशिक्षणमा खेलाडी नियमित नआएपछि सबैलाई एकैठाउँमा राखेर प्रशिक्षण गराउनुपर्ने सोचमा पुगेर सहाराले एकेडेमी खोल्यो ।

‘कहिले को नआउने कहिले को नआउने । २० जना जम्मा हुँदा पनि गाह्रो हुने रैछ । एकेडेमी भनेपछि एउटै स्कुल पढाउनुपर्ने रैछ । एकै ठाउँमा राख्नुपर्छ भन्ने भएपछि विपन्न वर्गका बालक छनोट गरेर एकेडेमी सञ्चालन गर्‍यौं,’ क्लबका पूर्वअध्यक्ष विक्रम थकाली भन्छन् ।

उनीहरुलाई सहाराले कक्षा १२ सम्म नि:शुल्क फुटबल प्रशिक्षण, शिक्षासँगै गाँस, बासको व्यवस्था गरेको छ । आहा रारा पोखरा गोल्डकपबाट बचत भएको रकम एकेडेमी सञ्चालन गर्ने अध्यक्ष थापाले जानकारी दिए ।

आहा राराकै एक संस्करणमा दर्शक घोडा, मोटरसाइकल चढेर मैदानमै छिरे । त्यतिबेला प्यारापिट थिएन । चौरमा दर्शक नअटेपछि बस्ने ठाउँ नहुँदा दर्शक आक्रोशित भए । ग्राउण्डमा छिर्ने दर्शक रोक्न जाँदा स्वयम् संस्थापक अध्यक्ष थकालीले नै कुटाइ खाए ।

थकाली भन्छन्, ‘नवौं हो कि दशौंमा हो । खेल त सकियो । चित्त नबुझ्ने दर्शकले बोत्तल हाने, ढुंगा हाने । सबै ग्राउण्डमा उत्रिए । दर्शकहरुलाई रोक्दाखेरि मैले पनि कुटाइ खाएँ ।’

केही वर्षअघिसम्म दर्शक भरिभराउ हुने आहा रारामा पछिल्लो संस्करणमा दर्शक नगण्य मात्रामा छन् । यो आहा राराको नभई फुटबलको चाम घटेको संस्थापक अध्यक्ष थकाली बताउँछन् ।

थकालीको तर्कमा हालका अध्यक्ष थापा पनि सहमत छन् । उनी भन्छन्, ‘फुटबलका माथिल्ला लिगहरु भइनरहँदा, नतिजा राम्रो नहुँदा र राष्ट्रिय खेलाडी बाहिर जाँदा दर्शक फुटबल हेर्न स्टेडियमसम्म नआएका हुन् की जस्तो लाग्छ ।’

तस्वीरहरू : सुदर्शन रन्जित

आहा रारा गोल्डकप पोखरा सहारा क्लब पोखरा

धेरै कमेन्ट गरिएका

लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय