+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

महाशिवरात्रि महिमा

शिवरात्रि केवल धार्मिक पर्व मात्र नभई सामाजिक र सांस्कृतिक महत्वको चाड पनि हो ।

खिमा ओली खिमा ओली
२०८२ फागुन २ गते १०:१४

महाशिवरात्रि पर्व कसरी सुरु भयो भन्नेबारे बिभिन्न भनाइहरु पाइन्छ । त्यसमध्ये संस्कृतिविद् सत्यमोहन जोशीले ‘नेपाल चाडबाड’ पुस्तकमा महाशिवरात्री पर्वबारे एउटा कथा उल्लेख गरेका छन्–

एक जना व्याधा थियो । एक दिन ऊ सिकारको खोजीमा वनजङ्गलभित्र पस्यो । त्यस दिन रात पर्दा पनि उसले सिकार भेटाउन सकेन । अन्त्यमा दिनभरिको हैरानीले दिक्क भई, ऊ त्यतै वनजङ्गलतिरको जलाशयनजिकैको बेलपत्रको रूखमुनि बास बस्यो । त्यसै ठाउँमा बेलपत्रले छोपिएको शिवजीको प्रतिमा रहेछ । व्याधाले अनायास बेलपत्र टिप्दै त्यसै प्रतिमामा फाल्दो रहेछ । यसैको प्रभावले गर्दा व्याधाको वृत्तिमा केही परिवर्तन हुन थाल्यो ।

पछि त्यहाँ एउटी मृगिणी पानी खान आएको देखेर त्यस व्याधाले त्यसलाई हान्न धनुषबाण ठीक पार्यो । तर त्यस मृगिणीले व्याधासँग निवेदन गरेर भनी ‘व्याधा दाइ, कृपया मलाई अहिले नमार । किनभने मेरा दूध खुवाउनुपर्ने बच्चाहरू छन् । उनीहरूलाई पहिले दूध ख्वाउन जान्छु । अनि म फेरि यहीं आउँछु ।’

मृगिणीको यो हृदयविदारक कुरा सुनेर व्याधाको मन पग्ल्यो । अनि त्यसले ‘हुन्छ’ भनेर त्यस मृगिणीलाई जान दियो । पछि फेरि यस्तै अरू घटनाहरू पनि त्यहा भए । त्यस व्याधाले कुनै पनि मृगलाई मार्न भनेर धनुषबाण चलाउने मन गर्न सकेन ।

पछि ती सब मृगहरू आ–आफनो वचन राख्नलाई व्याधाका सामु देखा परे । तर शिवजीको प्रतिमामा अनायास बेलपत्र चढाउने त्यस व्याधाको अन्त:करणमा सत्वगुणको विकास भइसकेको थियो । यसैले जब ती मृगहरू आ–आफ्नो सत्य वचन राख्नका लागि व्याधाका सामु देखा परे । त्यो व्याधामा धार्मिक वृत्ति जाग्रत भएकाले उसले ती मृगहरूमा धनुषबाण चलाउने हिम्मत नै गर्न सकेन ।

त्यस व्याधाले आत्मचिन्तन गर्यो र थाहा पायो ‘त्यो दिन फाल्गुन कृष्ण चतुर्दशी महाशिवरात्रिको दिन परेको रहेछ, अनि शिवजीको प्रतिमामा बेलपत्र चढाउन पुगेको प्रभावले उसको ज्ञानदृष्टि खुलेको रहेछ ।’

पछि कथाको अन्त्यमा शिवदूतहरू आएर त्यस व्याधालाई शिवलोकमा लगेको प्रसङ्ग आउँछ र धर्मबाट सद्गति प्राप्त हुने एउटा ज्वलन्त उदाहरण बन्दछ ।

शिवरात्रि हिन्दू धर्मको एक अत्यन्त पवित्र, ऐतिहासिक र आध्यात्मिक महत्व बोकेको पर्व मानिन्छ । काठमाडौंको पशुपति क्षेत्र, कालमोचन क्षेत्रमा प्रत्येक वर्ष फागुन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिमा मनाइने यो पर्व भगवान् शिवको आराधना गरी भव्य रुपमा मनाइन्छ ।

‘शिव’ शब्दको अर्थ कल्याण, मंगल र शुभ हो भने ‘रात्रि’ को अर्थ रात हो । शिवरात्रि अज्ञानताको अन्धकारबाट ज्ञानको उज्यालोतिर भन्ने अर्थमा पनि लिन सकिन्छ ।

दार्शनिक रूपमा शिवरात्रि आत्मज्ञानको पर्व हो । ‘शिव’ चेतनाको उच्चतम अवस्था हो भने ‘रात्रि’ अज्ञानको प्रतीक हो । आधुनिक व्यस्त जीवनबाट उत्पन्न हुने तनाव, अशान्ति र भौतिक सुखको खोजीमा हिडेका मानिसका लागि शिवरात्रिले आत्मसंयम, ध्यान र मानसिक शान्ति दिने विश्वास गरिन्छ ।

शिवरात्रिको दिन भक्तजनहरूले व्रत बस्ने, पूजा–आराधना गर्ने र जागरण बस्ने परम्परा प्राचिनकालदेखि चल्दै आएको छ । काठमाडौंको पशुपति क्षेत्रमा देश र विदेशबाट आएका हजारौं भक्तजनहरु दर्शनका लागि लामवद्ध हुन्छन् ।

केही भक्तजनहहरु रातभर जागरण बस्छन् । जोगीहरुले धुनी बाल्छन् । रातभर जागरण बस्नुको अर्थ आत्मचिन्तन, ध्यान र साधना गर्नु हो । शिवलाई साधु, तपस्वी र संहारका देवताका रूपमा लिइन्छ । त्यसैले शिवको आराधना गर्दै रातभर जागरण बस्छन् ।

महाशिवरात्रिको मुख्य दिन बिहान गुठी संस्थानबाट पञ्चामृत (दूध, दही, घ्यू, मह, सख्खर)  र शुद्ध जल अर्पण गर्ने चलन छ, जसलाई पञ्चामृत स्नान भनिन्छ । सोही दिन बेलुका संस्थानबाट श्री पशुपतिनाथको वरिपरि बत्ती बाल्ने परम्परा छ ।

धार्मिक विश्वासअनुसार बेलपत्रका तीन पात शिवका तीन नेत्र, त्रिदेव (ब्रह्मा, विष्णु, महेश्वर) अर्थात सत्, रज र तम गुणका प्रतीक मानिन्छन् । सत्, रज र तम हिन्दू दर्शन, विशेषगरी सांख्य दर्शनबाट आएको एक आधारभूत अवधारणा हो । यसलाई त्रिगुण भनिन्छ । यी तीन गुणले सम्पूर्ण सृष्टि, मानव स्वभाव र व्यवहारलाई चलायमान बनाएको मानिन्छ ।

नेपालमा शिवरात्रि राष्ट्रिय पर्वका रूपमा मनाइन्छ । विशेषगरी काठमाडौंको पशुपतिनाथ मन्दिरमा भव्य रुपमा महाशिवरात्री मनाइन्छ । शिवरात्रीमा शिवजीको आराधना गर्न देश–विदेशबाट लाखौं साधुसन्त, भक्तजन पशुपतिनाथ आउने गरेका छन् । साधु–सन्यासीहरूको ठूलो जमघट, भजन–कीर्तन, धूनी बाल्ने परम्परा र विशेष पूजा–आराधनाले पशुपति क्षेत्र लगायत काठमाण्डौं उपत्यका अत्यन्तै आध्यात्मिक वातावरणले शिवरात्रीमय हुन्छ ।

गुठी संस्थानले पशुपति मन्दिर परिसर लगायत सम्पूर्ण अखडाहरुमा साधुहरुलाई धुनी बाल्नका लागि तराई मधेशका जिल्लाहरुबाट अग्राखको दाउरा (मुढा) को व्यवस्था गर्दै आएको छ । यो वर्ष पशुपति क्षेत्रमा एकादशीदेखि औंशीसम्म धुनी बाल्न करिब ५० हजार किलोग्राम दाउरा व्यवस्था गरिएको छ ।

धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले पनि शिवरात्री पर्व नेपालका लागि अत्यन्त महत्वपूर्ण छ । यो राष्ट्रिय पर्व भएकाले यस दिन सरकारले सार्वजनिक बिदा दिने चलन छ ।

पुराणहरूका अनुसार शिवरात्रिको दिन भगवान् शिव पृथ्वीमा अवतरित भएका थिए भन्ने विश्वास छ । साधु–सन्यासीदेखि सर्वसाधारणसम्मको सहभागिताले शिवरात्रिलाई महान बनाएको छ ।

शिवरात्रीमा लाल मोहरिया, महन्त, महापुरुष, सन्यासी/भेषधारी र अन्य साधारण साधुहरुको उपस्थिति रहन्छ । गुठी संस्थानले उनीहरुको बिदाइ गर्दा यही वर्गीकरणका आधारमा दक्षिणाको व्यवस्था गर्दछ ।

शिवरात्रि केवल धार्मिक पर्व मात्र नभई सामाजिक र सांस्कृतिक महत्वको चाड पनि हो । शिवरात्रीमा भजन, कीर्तन, नाचगानजस्ता सांस्कृतिक गतिविधिहरू सञ्चालन गरिन्छ । पछिल्लो समय युवा पुस्ताले पनि यो पर्वलाई विशेष महत्वका साथ मनाउँदै आएका छन् । युवापुस्ताले पनि सांस्कृतिक कार्यक्रम, स्वयंसेवा र सरसफाइ अभियानमार्फत पर्वमा सक्रिय सहभागिता जनाउने गरेका छन् ।

एकादशीको दिन गुठी संस्थानले राडी, च्यादर, बख्खु, कमन्डलु, शंखघण्ट, लोटा, पिताम्बरी, सिदा लगायतका सामाग्रीहरु राष्ट्रप्रमुख (राष्ट्रपति) बाट संकल्प पूजा गराएर ल्याउने चलन छ । संकल्प गरेका सामाग्रीहरु साधुहरुलाई वितरण गरिन्छ । शिवरात्रीको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशका विशिष्ट व्यक्तिहरुले पशुपतिनाथको दर्शन र पूजा गर्ने प्रचलन छ

शिवरात्रीका दिन भारत र नेपाल गरी लाखौं भक्तजनहरु विशेष पूजा र आराधनका लागि पशुपति क्षेत्र आउँछन् । शिवरात्रिमा साधुसन्तहरु प्रमुख आकर्षणका केन्द्र हुन् ।

साधुसन्तहरू पशुपतितर्फ : मन्दिर परिसरमा नागा साधुहरु, राममन्दिरमा वैश्णव साधुहरु, मृगस्थली गोरखनाथमा नाथजीहरु, भस्मेश्वर अखण्डामा उदासी साधुहरु, राजराजेश्वरी निर्मल अखडामा उदासी साधुहरु बस्छन् ।

कालमोचन क्षेत्रतर्फ :  बैरागी, उदासी, सन्यासी र गोरखनाथ अखडामा साधुसन्तहरु धुनी बालेर रातभर बस्छन् । उनीहरुलाई गुठी संस्थानले धुनी बाल्न दाउरा, परम्परा बमोजिम भोजन सहित आवश्यक व्यवस्थापन गर्दै आएको छ । नागा बाबाहरुलाई मन्दिर परिसरभित्र बस्ने व्यवस्था मिलाइएको हुन्छ ।

पशुपति विकास कोषले शिवरात्रीमा मन्दिर क्षेत्रको सुन्दरता सजावट, भक्तजनहरुको लाइन व्यवस्थापन, आकस्मिक स्वास्थ्य सेवा, खानेपानी, शौचालय र प्रवेश अनुमति पासको व्यवस्थापन गर्दै आएको छ । स्थानीय प्रशासनले शान्ति सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गर्दै आएको छ ।

गत वर्ष दुई हजार तीन सय उनानब्वे (२३८९) साधुसन्तहरु शिवरात्री मनाउन आएका थिए । पशुपति क्षेत्रमा साधुसन्त आएपछि विशेषखालको धार्मिक रौनक हुन्छ ।

शिवरात्रीको अन्तिम दिन गुठी संस्थान र पशुपति विकास कोषले साधुसन्तहरुको स्तरअनुसार दक्षिणा, मिठाइ र रुद्राक्षको माला लगाएर बिदाइ गर्ने चलन छ । उनीहरुलाई अर्को वर्ष फेरि शिवरात्रीमा स्वागत गर्ने अपेक्षा राखिन्छ । यसरी महाशिवरात्री पर्व भव्य रुपमा मनाइन्छ ।

लेखक
खिमा ओली

ओली गुठी संस्थान भक्तपुरकी प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?