+
+
Shares

आधुनिक ‘टेक्स्टिङ’लाई पछि पार्ने इतिहासका केही प्रेमपत्र

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १ गते १३:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भिटा स्याकभिल वेस्टले भर्जिनिया वुल्फलाई लेखेको पत्रमा उनले आफ्नो गहिरो प्रेम र यादलाई व्यक्त गरेकी छिन्।
  • रोनाल्ड रेगनले न्यान्सी रेगनलाई ३१औं वैवाहिक वार्षिकोत्सवमा प्रेम र कृतज्ञता व्यक्त गर्दै पत्र लेखेका थिए।
  • हेनरी आठौंले एनी बोलिनलाई आफ्नो इमानदार सेवा र प्रेमको वाचा गर्दै पत्र लेखेका थिए।

आजको युगमा रोमान्टिक भावनाहरू प्रायः गुडनाइट टेक्स्ट र इन्स्टाग्राम क्याप्सन मै सीमित भइरहेका छन् । प्रेम पत्र आदानप्रदान गर्ने कुरो अहिलेको समयमा धेरैलाई अलि पुरानो लाग्छ ।

तर, प्रेम पत्रहरू विगतका कुरा भए पनि यो कम्ता उत्कृष्ट हुँदैन । यस लेखमा इतिहासका केही प्रेम पत्रहरू नेपालीमा भावानुवाद गरिएको छ । 

१. भर्जिनिया वुल्फलाई भिटा स्याकभिल वेस्टको पत्र

२०औं शताब्दीको सबैभन्दा प्रसिद्ध लेस्बियन प्रेम सम्बन्धमा भर्जिनिया वुल्फ र भिटा स्याकभिलवेस्ट परेका थिए । उनीहरूबीच निकै पत्राचार भएको पाइन्छ । जसबाट उनीहरूले एकअर्कालाई कति प्रेम गर्थे, थाहा पाउन सकिन्छ ।

भिटाले भर्जिनियलाई लेखेको पत्रको एउटा अंश,

म एउटा यस्तो मान्छेमा परिणत भएकी छु, जसलाई केवल तिम्रो मात्र चाहना छ । हिजो राति निन्द्रा नलागेका ती पट्यारलाग्दा क्षणहरूमा मैले तिम्रf लागि एउटा निकै सुन्दर चिठ्ठी कोरेको थिएँ । तर, अहिले ती सबै शब्दहरू हराए । म त बस तिमीलाई याद गरिरहेको छु- एउटा सामान्य मान्छेले गर्ने याद जसरी ।

तिमी, जो यति राम्रा र अर्थपूर्ण चिठ्ठीहरू लेख्छ्यौ, तिमीले सायद यति साधारण शब्दहरू कहिल्यै लेख्ने छैनौ । सायद तिमीले यस्तो महसुस पनि गर्दिनौ । तैपनि मलाई विश्वास छ, तिमीले मेरो अभावलाई अलिकति भए पनि महसुस गर्नेछौ । तर तिमीले त्यसलाई यति सुन्दर शब्दहरूमा सजाउनेछौ कि त्यसको वास्तविकता कता हो कता हराउनेछ ।

मेरा लागि भने यो पीडा एकदमै प्रस्ट छ, मैले जति सोचेको थिएँ, त्योभन्दा कयौँ गुणा बढी तिम्रो यादले मलाई सताइरहेको छ । त्यसैले यो चिठ्ठी मेरो एउटा सानो चित्कार मात्र हो । मेरो जीवनका लागि तिमी कति महत्त्वपूर्ण भइसकेछौ, म आफैँलाई अचम्म लाग्छ ।

मलाई थाहा छ, मान्छेहरूले तिमीलाई यस्ता कुराहरू भनिरहन्छन् र तिमीलाई यसको बानी परिसक्यो होला । धत् ! तिमी कति भाग्यमानी छौ । यसरी आफ्नो मनको कुरा सबै खोलेर भन्दा तिमीले मलाई अझ बढी माया त गर्दिनौ होला । तर मेरी प्रिय, म तिमीसँग बाठो बन्ने वा टाढा बस्ने नाटक गर्नै सक्दिनँ । म तिमीलाई धेरै नै माया गर्छु । साँच्चै नै धेरै।

म नचाहने मान्छेहरूदेखि कति रुखो हुन्छु र उनीहरूदेखि टाढा बस्न सक्छु भन्ने तिमीलाई पत्तै छैन । त्यो त मेरा लागि एउटा कला जस्तै हो । तर, तिमीले मेरा ती सबै पर्खालहरू भत्काइदियौ । र, मलाई यसमा कुनै गुनासो छैन ।

२. न्यान्सी रेगनलाई रोनाल्ड रेगनको पत्र

रोनाल्ड रेगन अमेरिकाका ४०औं राष्ट्रिपति थिए । अनि न्यान्सी रेगन फर्स्ट लेडी । राजनीतिमा भएता पनि रोनाल्डले आफ्नी श्रीमतीलाई पत्र लेख्न फुर्सद पाउँथे । र, मिठा शब्दहरूमा लेख्थे । तलको पत्र रोनाल्ड राष्ट्रपति हुँदा कै बखत ३१औं वैवाहिक गाँठको छेकोमा लेखिएको थियो ।

प्रिय फर्स्ट लेडी,

हाम्रो चलनअनुसार आजको बिहानी मैले तिम्रो नास्ताको ट्रेमा ‘एनिभर्सरी’को शुभकामना कार्डहरू राख्नुपर्ने थियो । तर यसपालि कुरा अलि फरक भयो । कार्डको सट्टा मैले केही हप्ता अघि नै तिमीलाई उपहार दिइसकेको थिएँ ।

तैपनि, आजको दिन विशेष छ । यो दिन भनेको हाम्रो ३१ वर्षको सुखद् यात्रा पार गरेको समय हो, त्यस्तो विरलै मान्छेको भाग्यमा हुन्छ । मैले तिमीलाई एकपटक भनेको थिएँ- हाम्रो सम्बन्ध एउटा किशोरले सोचेको सुन्दर सपना जस्तै छ । आज पनि त्यो बदलिएको छैन ।

तिमीलाई थाहा छ, मलाई हाम्रो बस्ती कति मनपर्छ । तर, यी बितेका दुई दिनले मलाई एउटा कुरा प्रस्ट पारिदिए- मलाई त्यो ठाउँ तब मात्र मनपर्छ जब तिमी त्यहाँ हुन्छौ । साँचो भन्नुपर्दा, यो कुरा हरेक ठाउँ र हरेक समयको लागि लागू हुन्छ । जब तिमी साथमा हुन्नौ, म कतै नभएको जस्तो महसुस गर्छु, म समय र शून्यतामा हराए जस्तै हुन्छु ।

म तिमीलाई माया मात्र गर्दिनँ, तिमी बिना म अधुरो छु । तिमी नै मेरो जीवन हौ । जब तिमी टाढा हुन्छौ, म तिम्रो पर्खाइमा मात्र हुन्छु ताकि तिमी आएपछि म फेरि बाँच्न सुरु गर्न सकूँ ।

एनिभर्सरीको धेरै-धेरै शुभकामना र यी ३१ सुन्दर वर्षहरूका लागि धन्यवाद ।

तिम्रो कृतज्ञ पति

३. हेनरी आठौंले एनी बोलिनलाई लेखेको पत्र

हेनरी आठौं बेलायतका राजा थिए अनि एनी बोलिन रानी । उनीहरूको सम्बन्धको अन्त्य नाजुक तरिकाले भयो । त्यो एउटा सच्चा प्रेमीले सोच्न समेत सक्दैनन् । तर, यी दुई बीचको सम्बन्ध बिग्रनु अघि हेनरीले एनिलाई निकै प्रेमिल पत्रहरू लेखेका थिए । विभिन्न वाचाहरू दिएका थिए । यति सम्मकी आफ्नै धर्म समेत त्याग गरेका थिए ।

उनै हेनरीले एनीलाई लेखेको पत्र:

यदि तिमी एउटा सच्चा प्रेमी र साथीको रूपमा आफ्नो शरीर र हृदय मलाई सुम्पिन तयार छौ भने, म प्रतिज्ञा गर्छु कि म तिम्रो सबैभन्दा इमानदार सेवक बन्नेछु । (यदि तिम्रो कठोरताले मलाई रोक्दैन भने) म यो पनि वाचा गर्छु कि म तिमीलाई केवल मेरो नाम मात्र दिने छैन, बरू तिमीलाई नै मेरो एकमात्र ‘रानी’ बनाउनेछु । तिमी बाहेक अरू सबैलाई म आफ्नो विचार र मायाबाट सदाका लागि हटाउनेछु । केवल तिम्रो मात्र सेवा गर्नेछु ।

मेरो यो सामान्य चिठ्ठीको मलाई एउटा स्पष्ट जवाफ देऊ, ताकि मैले तिमीमाथि कति भरोसा गर्न सक्छु र हाम्रो सम्बन्ध कहाँसम्म पुग्न सक्छ भन्ने कुरा थाहा पाउन सकूँ!

यदि तिमीलाई लेखेर जवाफ दिन मन छैन भने कुनै एउटा यस्तो ठाउँ तय गर, जहाँ म आफैँ आएर तिम्रो मुखबाट त्यो कुरा सुन्न सकूँ । म त्यहाँ पूरा मन लगाएर आउनेछु ।

४. लर्ड अल्फ्रेड डगलसलाई ओस्कर वाइल्डले लेखेको पत्र

ओस्कार वाइल्ड १९औँ शताब्दीका प्रसिद्ध आयरिस साहित्यकार हुन् । अंग्रेजी साहित्यमा उनको छुट्टै पहिचान छ । तर, उनी समलिङ्गी थिए । उनको प्रेमी थिए, लर्ड अल्फ्रेड डगलस । अल्फ्रेड भने कवि र पत्रकार थिए ।  तत्कालीन समयमा समलिङ्गी प्रेम सम्बन्ध मान्य थिएन । यद्यपि उनीहरूले आफ्नो प्रेम पत्रहरूमा खुलेरै देखाउँथे ।

 लर्ड अल्फ्रेड डगलसलाई ओस्कर वाइल्डले लेखेको पत्रको अंश:

मेरो प्रिय,

तिमीकहाँ फर्किएकोमा सबैजना मसँग निकै क्रोधित छन् । तर, उनीहरू हाम्रो सम्बन्ध बुझ्दैनन् । मलाई लाग्छ, म जेसुकै गर्न सक्छु । तर, तिम्रो साथले मात्र सम्भव छ । मेरो यो उजालिएको र बिग्रिएको जीवनलाई फेरि सम्हालिदेऊ । यो भए मात्र संसारको नजरमा हाम्रो मित्रता र मायाको एउटा छुट्टै अर्थ हुनेछ ।

मलाई त लाग्छ, जब हामी रुएन (शहरको नाम) मा भेटिएका थियौँ, हामी कहिल्यै छुट्टिनु नपर्ने थियो । अहिले हाम्रो बीचमा जमिन र दूरीको एउटा ठूलो खाडल छ । तै पनि हामी एकअर्कालाई माया गर्छौँ ।

५. महारानी भिक्टोरियालाई प्रिन्स अल्बर्टको पत्र

महारानी भिक्टोरिया र अल्बर्ट दिदीबहिनीका छोराछोरी थिए । भिक्टोरिया १८३७ मा १८ वर्षको उमेरमा बेलायतको महारानी बनेकी थिइन् । त्यसको केही समयपछि फेब्रुअरी १०, १८४० मा उनी र अल्बर्टले विवाह गरेका थिए । भनिन्छ, भिक्टोरिया अल्बर्टको प्रेममा यति पागल थिइन् कि उनले आफ्नै डायरीमा अल्बर्टलाई ‘अत्यन्तै सुन्दर र मनमोहक’ भनी वर्णन गरेकी छिन् । उनै भिक्टोरियालाई अल्बर्टले लेखेको प्रेम पत्र:

मेरी प्रिय, असाध्यै प्यारी भिक्टोरिया,

मैले भनिरहनु पर्दैन कि जबदेखि म त्यहाँबाट निस्किएँ, मेरा सारा सोचहरू तिमीसँगै विन्ड्सरमै छन् । मेरो आत्माभरि केवल तिम्रै आकृति छाएको छ । मैले त सपनामा पनि सोचेको थिइनँ कि यो धर्तीमा मैले यति धेरै माया पाउनेछु ।

तिमी मेरो नजिकै भएको र तिम्रो हात मेरो हातमा भएको त्यो पल अझै पनि मेरो आँखाअगाडि झलझली नाचिरहेछ । ती दिनहरू कति छिटो बितेर गए, तर हाम्रो यो बिछोडको समय पनि त्यसरी नै छिट्टै कट्नेछ ।

कहिल्यै नबदलिने माया र समर्पणको बाचाका साथ तिम्रो अल्बर्ट

कस्मोपोलिटनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?