देशलाई चुनावको गर्मीले छपक्कै छोपिसकेको थियो। अझ, त्योभन्दा बढी देशको सबैभन्दा पुरानो राजनीतिक दलमध्येको एक, नेपाली कांग्रेसभित्र युवाहरूको जमातले हिम्मतका साथ विशेष महाधिवेशनबाट निर्वाचित गरेर सभापतिको आसनमा स्थापित गरेको गगन थापाको कार्यसमितिलाई निर्वाचन आयोगले २०८२ माघ २ गते मात्रै मान्यता दिने निर्णय गरेको थियो। सोही दिन, आयोगको बैठकले चारतारे झन्डा र चुनाव चिह्न रुखसहित गगन थापाले नेतृत्व गरेको कार्यसमितिलाई आधिकारिक कांग्रेसको मान्यता दिएको थियो।
त्यति नै बेला, जगदीश घिमिरे प्रतिष्ठान मन्थली, रामेछापले आयोजना गरेको ११औँ जगदीश घिमिरे वार्षिक साहित्यिक सभामा काठमाडौँबाट एउटा साहित्यिक टोली मन्थली जाँदै थियो। बाटोभरि साहित्यिक मात्रै होइन, राजनीतिक कुराकानी पनि यथेष्ट मात्रामा भइरह्यो। किनकि, मानिस जतिसुकै कुनै राजनीतिक दलसँग आबद्ध छैन भने पनि, अन्ततोगत्वा राजनीतिक प्राणी नै हो।
त्यसमा पनि, जगदीश घिमिरे आफैँमा राजनीतिक हिसाबले धेरै सचेत व्यक्ति हुनुहुन्थ्यो, जसले ‘साबिती’, ‘लिलाम’ जस्ता उपन्यास र ‘बर्दी’ जस्तो सशक्त कथा लेख्नुभएको थियो। उहाँकी पत्नी दुर्गा घिमिरे, समाजसेवी, नेपालमा चेलीबेटी बेचबिखनका विरुद्धमा कार्यरत पहिलो गैरसरकारी संस्था एबीसी नेपालकी संस्थापक सदस्य तथा नेपाल विद्यार्थी सङ्घकी संस्थापक सदस्य पनि हुनुहुन्छ।
काठमाडौँबाट एउटा हायससहित अरू तीनवटा गाडी गएका थिए। हामी चढेको गाडीमा जगदीश घिमिरे प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरे समेत हुनुहुन्थ्यो।
रोशी खोलाले २०८१ साल असोजमा ध्वस्त बनाएको नेपालथोकसम्मको सडक कटाउन पनि यात्रुहरू व्यस्त त रहनु नै थियो। बाटो त सूर्यविनायक, भक्तपुरदेखि नै, ‘तिमीहरू मलाई चुनौती दिन्छौ भने म मात्रै के कम’ भन्ने गुरुरले यात्रुहरूलाई धुलोले नुहाइदिन तत्पर भएर तेर्सिएको थियो। त्यसमाथि बाटोसँग युद्ध गरेर जित्न तत्पर डोजरहरूले पनि बीच-बीचमा ‘तिमीहरूलाई सररर गुड्ने हक छैन’ भन्दै रोकिरहेका थिए।
बाटोकै कारणले किन नहोस्, काठमाडौँको व्यस्त जीवनमा विरलै त्यति धेरै समय बिताउन मुस्किल हामीलाई एक-अर्कासँग संवादको अवसर पनि दिइरहेको थियो। मैले दुर्गा दिदी (उहाँलाई यसरी नै सम्बोधन गर्ने गर्दछु) लाई, जगदीश दाइ (उहाँलाई पनि यसरी नै सम्बोधन गर्दथेँ) सँगको पहिलो भेट कसरी भयो; विवाह बन्धनमा कसरी बाँधिनुभयो आदि इत्यादि प्रश्न सोध्दै अगाडि बढ्यौँ। प्रश्नमा साथ दिनेहरूमा पूर्वप्राज्ञ ज्ञानु पाण्डे र साहित्यकार इल्या भट्टराई पनि हुनुहुन्थ्यो।
साँझ मन्थलीस्थित ‘तामाकोशी हस्पिटल’ को गेस्ट हाउसमा पुगियो; अँध्यारोले सर्लक्कै अँगालो हालिसकेको थियो। हस्पिटल तथा जगदीश घिमिरे प्रतिष्ठानका पदाधिकारीहरू पाहुनाको सत्कारमा तयार भएर हातमा खादा, जाडोलाई भगाउन शिवरात्रि सम्झाउने मुढा बालेर बसिरहनुभएको थियो। कार्यक्रम अनुसार मन्थली पुग्नुपर्ने साँझको ४ बजे नै थियो; तर, समयले सबै सोचेजस्तै कहाँ पुर्याउँछ र!
सबैले भारी बिसाइसकेपछि, परिचयको क्रम सुरु भयो। त्यहाँ पुग्ने धेरैले, धेरैलाई चिनेका थिए। साहित्यिक पत्रकारिताको जग बसाउने रोचक घिमिरे, साहित्यकार नगेन्द्रराज शर्मा, कथाकार श्रीओम श्रेष्ठ ‘रोदन’, पत्रकार/कवि मधु पाठक, कवि देविका तिमिल्सिना, साहित्यकार पवन आलोक तथा जगदीश/दुर्गा घिमिरेका छोरा हिमाल घिमिरे लगायत धेरैजना जगदीश घिमिरेले सुरु गर्नुभएको वार्षिक साहित्यिक सभामा उत्सवको उल्लास भर्न पुगेका थियौँ।
स्मरणीय छ, कार्यक्रम आयोजनाका लागि मन्थली नगरपालिकाले १ लाख सघाएको र पुरस्कारको राशी ५१ हजार राखिएको रहेछ । यो पुरस्कार हरेक वर्ष एकजना स्रष्टालाई प्रदान गरिने गरिएको छ ।
अन्ततः गाडी र बाटोको पैँठेजोरीका बाबजुद हामी मन्थली पुग्यौँ। आगन्तुकहरूको परिचयपश्चात्, ‘जगदीश घिमिरेलाई कसले, कुन कारणले चिन्नुहुन्छ वा सम्झनुहुन्छ ?’ भन्ने प्रश्नबाट उक्त दिनको कार्यक्रमको सुरुआत भयो। सबैका आ-आफ्ना अनुभव थिए, साहित्यकार/समाजसेवी/एनजीओकर्मी जगदीश घिमिरेको व्यक्तित्वलाई पर्गेल्न।
व्यक्ति भौतिक रूपमा यो संसार छाडेर जान्छ; तर, उसका कर्म, उसले राखेका सम्बन्ध, उसका कृति उसलाई चिन्नेहरू माझ मात्रै होइन, कालान्तरसम्म रहिरहन्छन्। जगदीश घिमिरे पनि त्यस्तै एक व्यक्ति हुनुहुन्थ्यो, जसले २०७० कात्तिक १४ गते यो संसार भौतिक रूपमा त्यागिसक्नुभएको थियो; तर, उहाँका साहित्यिक कृतिहरू र सामाजिक सेवाअन्तर्गतका कामहरूले उहाँलाई जिउँदै राखेका छन्।
हामी जुन स्थानमा बसेर उहाँको स्मृतिलाई अविस्मरणीय बनाइरहेका थियौँ, जहाँ हामी जम्मा भएका थियौँ, त्यहाँ उहाँले ४० वर्षअगाडि ‘तामाकोशी सहकारी अस्पताल’ को बिउ रोप्नुभएको थियो, जसलाई अहिले ‘तामाकोशी हस्पिटल’ भनेर चिनिन्छ। सन् १९८६ मा तीन महिनाको प्रशिक्षण दिएर तयार पारेको एउटा क्लिनिक सहायक राखेर, घाउको ड्रेसिङ गर्ने, साधारण ज्वरो आएको र सानातिना दुखाइहरू कम गर्ने औषधि राखेर खोलिएको एउटा क्लिनिक सन् २०१७ देखि २५ शय्याको अस्पतालमा परिणत भएको छ।
अहिले त सोही अस्पतालको कम्पाउन्डभित्र नै नयाँ भवन खडा गरेर त्यसमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान सर्जिकल सामुदायिक आँखा केन्द्र, रामेछाप खोलिएको छ। उक्त अस्पतालमा आगामी फागुनदेखि मोतियाविन्दुको अपरेसन शिविर सञ्चालन गरेर बिरामी हेर्न सुरु गर्ने जानकारी तामाकोशी अस्पतालका कार्यकारी निर्देशक तथा तिलगंगा आँखा प्रतिष्ठान सर्जिकल सामुदायिक आँखा केन्द्रका अध्यक्ष डा. सुमन कर्माचार्यले दिनुभयो। आयोजक टिममा कर्माचार्यको अतिरिक्त महेश घिमिरे, प्रकाश न्यौपाने, कुमार श्रेष्ठ, तुलसा उप्रेतीको पनि विशेष भूमिका रहेको थाहा पाएँ ।
सो आँखा अस्पताल, तिलगंगा आँखा अस्पतालको देशभर रहेका २१ वटा सेन्टरमध्ये एक हो। यहाँनिर के स्मरण गर्नुपर्छ भने, सन् १९९४ मा काठमाडौँको तिलगंगामा ‘द फ्रेड हलोज फाउन्डेसन’ को सहकार्यमा सुरु भएको तिलगंगा अस्पताल स्थापनामा जगदीश घिमिरे पनि सक्रिय हुनुहुन्थ्यो।
फेरि तामाकोशी अस्पतालकै सन्दर्भ, डाक्टर सुमन कर्माचार्य विगत तीन दशकदेखि तामाकोशी सेवा समिति/अस्पतालसँग जोडिनुभएको छ। उहाँलाई उक्त अस्पतालसँग जोड्ने व्यक्ति जगदीश घिमिरे नै हुनुहुन्थ्यो।
डाक्टर सुमनका अनुसार, फागुनमा केही अमेरिकी डाक्टरहरूको टोलीले रामेछाप जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविरको आयोजना गर्ने योजना छ। त्यसबाहेक अस्पतालले मुटु रोग, हाडजोर्नी र मानसिक रोगका विशेषज्ञको सेवा पनि नियमित रूपमा दिँदै आएको छ।
कुरा साहित्यिक सभाको हुँदै थियो; पुगियो, सामाजिक कार्यतिर; यही नै हो जगदीश घिमिरेको विशेषता, जसको व्यक्तित्वको एउटा मात्रै पाटो केलाएर यो आलेख पूर्ण हुनै सक्दैन। घिमिरे, एनजीओ फेडरेसनका संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो। तामाकोशी सेवा समितिले अस्पतालबाहेक खानेपानी, द्वन्द्व व्यवस्थापन, पौष्टिक आहार प्रवर्द्धन आदिको क्षेत्रमा पनि थुप्रै काम गरेको छ। एउटा व्यक्तिले देखेको सपनाले धेरैको भलो गरेको छ।
अहिलेलाई यहाँ साहित्यकार जगदीश घिमिरेको विगत कोट्याऔँ। साहित्यकार घिमिरेले नै साहित्य प्रतिष्ठानको आयोजनामा काठमाडौँबाट साहित्यकारहरूको टोली लगेर साहित्यिक कार्यक्रम गर्न सुरु गर्नुभएको थियो र उहाँले नै थालेको साहित्यिक कार्यक्रमको निरन्तरता थियो यो। जम्मा भएका समाजसेवी/साहित्यकारहरूले आ-आफ्नो रोचक अनुभव सुनाउँदै जानुभयो।
त्यसमध्ये केही संस्मरणले हामीलाई पञ्चायतकालीन इतिहास सम्झाउँथ्यो। त्यसको विवरण साहित्यिक पत्रकारिता थाल्ने अग्रज व्यक्ति, जसले वि.सं. २०१८ सालमा ‘रचना चौमासिक’ साहित्यिक पत्रिका सुरु गर्नुभएको थियो; संस्थापक/सम्पादक रोचक घिमिरेले दिनुभयो।
उहाँले जगदीश घिमिरेको उपन्यास ‘साबिती’ को प्रकाशनमा आएको कठिनाइलाई आफूले चतुर्याइँपूर्वक छापेको घटना बताउँदै भन्नुभयो, ‘जगदीश घिमिरेले ‘साबिती’ उपन्यास लेख्नुभएछ; तर, त्यो कसैले छापिदिएन। जगदीशजीले पहिले उपन्यास प्रकाशन गर्न रत्न पुस्तक भण्डारलाई पाण्डुलिपि दिनुभएछ, त्यहाँ छाप्न सकिन्न भनेछन्। त्यसपछि दार्जिलिङमा श्याम ब्रदर्स प्रकाशनमा लग्नुभएछ। त्यहाँ पनि यो नेपाली भाषाको किताब, नेपालमा नै सरकारविरोधी छ भनेर नछापिएपछि कसले पढ्छ र छाप्नु भनेछन्। मैले उहाँसँग पाण्डुलिपि मागेर पढेँ। मलाई यो त जसरी नि छाप्नुपर्छ भन्ने लाग्यो।’
अग्रज पत्रकार रोचक घिमिरेको कुराले वातावरण नै रोचक बनाइरहेको थियो; कतिपयलाई यो कुरा नयाँ थियो भने कतिपयले पटक-पटक सुनिसकेका थिए। जगदीश दाइले स्थान रोजेर रोप्न लगाएको समीको विशाल वृक्षमुनि, आगोको रापमा हामी पञ्चायती आगोका कुरा सुन्दै थियौँ। समीको वृक्षका तलतिर झोलिएका पातहरू सायद जगदीश दाइको कुरामा रमाउँदै हल्लिरहेका थिए।
अनि कसरी छापियो त ‘साबिती’ ? रोचक घिमिरेले ‘साबिती’ को पूरै अंश ‘रचना’ मा छाप्ने निर्णय गर्नुभएछ। तर, त्यतिबेला पत्रिका छापेपछि अहिले जस्तो आफ्नै सुरले प्रकाशन गरेर बजारमा पठाउन पाइँदैनथ्यो। त्यसका लागि तत्कालीन अञ्चलाधीश कार्यालयको स्वीकृति लिनुपर्थ्यो। उहाँले पञ्चायतकालका लोकप्रिय कवि/गीतकार क्षेत्रप्रताप अधिकारीको कविता पहिलो पेजमा र अन्य त्यस्तै खाले रचनाहरू अगाडिका पानाहरूमा छाप्नुभएछ र त्यसपछि ‘साबिती’ छाप्नुभएछ।
उहाँका अनुसार साबिती २०२६ सालमा नै लेखिएको हो। ‘रचना’ मा २०३२ वैशाख-जेठ अङ्कमा छापियो। त्यसपछि उहाँले अञ्चलाधीशकहाँ पास गर्न एकप्रति लिएर जानुभएछ। त्यहाँका कर्मचारीले अगाडिका पानाहरू पल्टाएर हेरेछन्, राजावादी कविको कविता देखेपछि ‘अरू पनि त्यस्तै त होला’ भनेर स्वीकृत गरिदिएछन्। उहाँले पास भएको प्रमाण लिएर हिँड्नुभएछ। त्यसपछि ‘साबिती’ बजारमा गयो।
बिक्री वितरणका लागि सबैतिर पठाइयो। त्यसले अत्यधिक चर्चा पायो। ‘म’ पात्रको मुखबाट दीनदुःखी परिवारको पीडा, राज्यले गर्नुपर्ने न्यूनतम मानवीय व्यवहार समेत गर्न नसकेको कथावस्तुमा आधारित उपन्यास तत्कालीन व्यवस्थाका पक्षधरलाई किन पच्थ्यो र! तापनि अलिकति चलाखीको कारणले छापिनु नै ठूलो कुरा थियो।
अनि दुई घिमिरेले ‘साबिती’ बारे अन्तर्क्रिया गर्ने सोच बनाउनुभएछ। एउटा रेस्टुरेन्टमा गएर गोष्ठी आयोजना गरिएछ। नेपालका त्यतिबेलाका प्रबुद्ध पत्रकार, साहित्यकार गरेर ३०-४० जना जम्मा भएर परिचर्चा गरिएछ। त्यो बेला नाम चलेका पत्रिकाहरू ‘समीक्षा’, ‘मातृभूमि’ आदिमा नामसहित ‘साबिती’ को चर्चा छापिएछ। त्यसपछि त अभिव्यक्ति स्वतन्त्रता विरोधी साथै व्यवस्था विरोधी सामग्री छापेको भनेर प्रेसलाई पुर्जी काटियो २०३२ साउनमा।
त्यो प्रेस उहाँका पिता पण्डित सोमनाथ घिमिरे ‘व्यास’ ले २०२३ सालमा कलकत्ताबाट हाइडेलबर्ग प्रेस र सम्पूर्ण मुद्रण सामग्री किनेर पठाउनुभएको प्रेस थियो। जसलाई ‘व्यास प्रेस’ भनिन्थ्यो। त्यसबेला अटोमेटिक हाइडेलबर्ग जर्मन प्रेस काठमाडौँका जोरगणेश प्रेस र व्यास प्रेससँग मात्र थियो, उहाँले भन्नुभयो।
त्यतिबेलाका अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ र सह-अञ्चलाधीश विष्णुप्रताप शाह थिए। रोचक घिमिरेलाई सिधै विष्णुप्रतापको कोठामा पुर्याएछन्; उनले ‘यस्तो आपत्तिजनक व्यवस्था विरोधी उपन्यास किन छापेको, यस्तो छाप्नु हुँदैन भन्ने थाहा छैन?’ भनेर गाली गरेजस्तो गरेछन्। उहाँले सोही कार्यालयबाट पास गराएर नै छापेको भनेर पत्र देखाउनुभएछ। अञ्चलाधीशसँग पहिले नै परिचित भएको कारणले ‘मलाई बचेर काम गर्नु’ भनेर जोगाए भन्नुहुन्छ रोचक घिमिरे।
यो घटनाबाट पनि थाहा हुन्छ, जगदीश घिमिरेको आलोचनात्मक चेतसहितको साहित्यिक लेखन कस्तो थियो। रोचक घिमिरेले जस्तै धेरैजनाले जगदीश घिमिरेसँगको आ-आफ्नो अनुभव सुनाउनुभयो। भोलिपल्टको पूरै दिन कविता वाचन र साहित्यिक चर्चा गरेर बित्यो। सोही सभाले साहित्यकारहरू पवन आलोक र मीना चौलागाईंलाई ‘जगदीश घिमिरे स्मृति पुरस्कार’ (क्रमशः २०८१ र २०८२) बाट पुरस्कृत गर्यो।
तामाकोशी अस्पताल र त्यहाँ बर्सेनि हुने साहित्यिक सभामा उपस्थित हुन पाएको यो दोस्रो पटक थियो। यसभन्दा पहिले २०७४ पुस २९ गते पनि पुगेकी थिएँ। त्यतिबेला पनि अहिलेकै ठाउँमा, सोही समीको रुखमुनि मुढा ताप्दै कोही कविता वाचनमा मग्न थिए, कसैको सुमधुर स्वरमा शब्दहरू रमाइरहेका थिए। त्यहाँ मुक्तकको रस र हास्यव्यङ्ग्यको सङ्गम भइरहेको थियो।
अचानक सबैलाई खल्बल्याउँदै ‘हुइयाँऽऽऽयाँ’ सुनियो। लाग्यो, कतै बच्चा रोइरहेजस्तो या रक्सीको नशाले उन्मत्त भएकाको हातबाट चुटाइ खाँदा निस्किएको चित्कार जस्तो! त्यतिबेला पनि तामाकोशी सहकारी अस्पताल कसरी स्थापना भयो भन्नेबारे जगदीश घिमिरे स्मृति फाउन्डेसनकी संस्थापक अध्यक्ष दुर्गा घिमिरेसँग कुराकानी गरेकी थिएँ।
त्यसै क्रममा उहाँले भन्नुभएको थियो, ‘२०३८/०३९ सालतिर हामी हाम्रा साना छोरा र छोरी लिएर गाउँ आउँदा गाउँको स्थिति पीडादायी थियो। राति स्याल कराएर सुत्न सकिँदैनथ्यो।’ उहाँले आजभन्दा ३९/४० वर्षअगाडिको सम्झना गर्दै हुनुहुन्थ्यो, हामी ८ वर्षअगाडि समेत स्यालको हुइयाँ सुन्दै थियौँ। तर, अहिले त्यहाँ धेरै विकास भइसकेको छ; सडकहरू पक्की बनिसकेका छन्।
दुर्गा घिमिरेले कुराकानीको क्रममा भन्नुभयो, ‘हामी साथमा आफ्ना छोराछोरीलाई बिरामी भए भने चाहिने सामान्य औषधिहरू लिएर आउँथ्यौँ र फर्किने बेलामा ती औषधिहरू स्थानीय व्यक्तिहरूलाई बाँडेर फर्कन्थ्यौँ।’
‘गाउँको अवस्था दयनीय थियो। काठमाडौँबाट जान आउन गाह्रो, बाटो थिएन। प्लेनमा ओहोरदोहोर गर्नुपर्थ्यो। महिलाहरू एक गाग्री पानीको लागि घण्टौँ हिँडेर पानी बोकेर ल्याउँथे। यो सबै देखेर र महसुस गरेर हामी श्रीमान्-श्रीमती मिलेर गाउँमा, गाउँलेकै लागि केही गर्ने निर्णय गर्यौँ। यसैको फलस्वरूप तामाकोशी सेवा समिति दर्ता भयो। त्यसमा स्व. जगदीश घिमिरे संस्थापक र म सहसंस्थापक भएर संस्था दर्ता गर्यौँ। संस्था दर्ता गर्न मैले आफ्नै पैसाबाट दुई हजार रुपैयाँ झिकेर दिएकी थिएँ।’
यसरी अशक्तलाई सशक्त बन्न टेवा दिने मिसन लिएर तामाकोशी सेवा समिति दर्ता भएको थियो। यो संस्था जिल्ला केन्द्रित संस्था हो।
त्यसरी साथमा बोकेर आएको औषधि र एक दम्पतीको सकारात्मक सोचले हालको तामाकोशी सहकारी अस्पतालको जग खनिएको र २०४३ तिर तामाकोशी सेवा समितिको सानो स्वास्थ्य केन्द्रका रूपमा सञ्चालित हुन थालेको; अनि पछि विक्रम संवत् २०६४ मा आएर उक्त अस्पतालले १५ बेडको तामाकोशी सहकारी अस्पतालको रूपमा सेवा प्रदान गर्न थालेको अस्पताल दुई व्यक्ति, जगदीश घिमिरे र उहाँकी पत्नी दुर्गा घिमिरेको दूरदृष्टिको परिणाम थियो। अस्पतालमा सबै सेवाहरूको सामान्य सेवा शुल्क बिरामीहरूले तिर्नुपर्दछ। औषधिहरू बजार मोल अनुसार बुझाउनुपर्छ। ती सबै रकमबाट अहिले अस्पताल आफ्नै खर्चमा धानिएको छ।
अस्पतालका सुरुका दिनमा रोग लागेका महिलाहरूलाई अप्रेसनका लागि तयार बनाउन साह्रै गाह्रो भयो। अस्पतालमा पहिलो अप्रेसनबारे आफ्नो स्मरण सुनाउँदै डाक्टर सुमन कर्माचार्य भन्नुहुन्छ, ‘हामीले गाउँ-गाउँ पुगेर बिरामी महिलाहरू खोजेर त ल्यायौँ तर अप्रेसन गर्न कोही तयार भएन। हामीलाई यहीँ काम गर्ने एक स्वास्थ्य सहायककी आमा पनि यसबाट पीडित भएको थाहा थियो, त्यसैले हामीले उहाँलाई कन्भिन्स गर्यौँ र उहाँको अप्रेसन गर्यौँ। त्यसपछि उहाँलाई देखेर अरू महिलाहरू पनि उक्त रोगको उपचार गर्न तयार भए।’
साहित्यिक व्यक्तित्वको स्मृतिमा गरिएको साहित्यिक सभाको वर्णन तामाकोशी अस्पताललाई छुट्याएर गर्न सम्भव नै छैन। जगदीश घिमिरेले त्यहाँ अस्पताल खोल्नुभएकै कारणले त हरेक वर्ष एक हुल साहित्यकारहरू पुगेर मन्थलीमा साहित्यको वातावरण तताउने गरेका छन्; यदि त्यो हुँदैनथ्यो भने यो हुन पनि मुस्किल हुन्थ्यो कि?
जगदीश घिमिरेले कुनै बेला लेख्नुभएको थियो, ‘मसँग थोरै पैसा थियो र धेरै आँट। सबैभन्दा ठूलो कुरा आफ्नो जन्मभूमिका लागि केही गर्नुपर्छ भन्ने आत्माको आवाज थियो। यही कारण गैरसरकारी संस्थाका रूपमा तामाकोशी सेवा समिति नामक संस्था खोलेका थियौँ। राम्रा काम गर्ने योजना थियो तर हाम्रो देशमा कुनै काम गर्नुको अर्थ कुनै पदमा पुग्ने र राजनीति गर्ने साधन बन्छ भन्ने सोच राखिन्छ भन्ने सोचेको थिइनँ। त्यही भयो।’
‘तामाकोशी सेवा समितिका स्वयंसेवक, सहयोगी र काम गरेका समुदाय एक ढिक्का भएर मेरो पक्षमा नउभिएका भए रामेछापमा सामुदायिक विकास गर्ने मेरो सपना नेताहरूकै कारण अपूरो मात्र होइन, धुलोपिठो हुने थियो। तामाकोशी सेवा समिति बाहिरबाट रामेछापमा विकासका कनिका छरी टोपल्न आएको मौसमी टुरिस्ट संस्था थिएन। यही जिल्लामा जन्मेको, यहीँको आँधीबेहरी खपेर हुर्केको, यहीँको पाखापखेरामा जरा गाडेर झ्याङ्गिन लागेको, यही जिल्लामा दिगो विकास गरिछाड्ने अठोटका साथ लागिपरेको, यही जिल्लाका मान्छेले नेतृत्व लिएको संस्था थियो। जस-जसले यसको कामलाई आफ्नो स्वार्थअनुरूप नहुने देखे, ती सबैले यसलाई बलियो सौता ठाने। नेताहरूसँग गाउँलेलाई दिने कोसेली जाली आश्वासन मात्रै थिए। मसँग ठोस काम थिए। मसँग खानेपानी, चर्पी, साना सिँचाइ, स्वास्थ्य, शिक्षा, बचत तथा ऋण सहकारी, आयआर्जन, महिला परिचालन लगायत हाताहाती कार्यक्रम थिए,’ घिमिरेको भनाइ थियो।
जगदीश घिमिरे प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरे तथा प्रतिष्ठानका सदस्यहरूको स्थानीय निकायसँग एउटै माग छ— मन्थलीमा जगदीश घिमिरे जन्मिएको घरलाई सरकारले सङ्ग्रहालयको रूप देओस् ताकि भोलिका पुस्ताहरूले जगदीश घिमिरेको जीवनबाट प्रेरणा लिएर अगाडि बढ्न सकून्।
प्रतिक्रिया 4