मानिस किन मायामा पर्ने गर्छन् ? किन कुनै माया लामो समयसम्म रहिरहन्छ तर कुनै छोटो समयमै हराएर जान्छ ? किन मायामा परेकाहरू खुशी हुँदै बच्चा जन्माउँछन् तर तिनै बच्चाले जोडीहरू बीचको मायालाई असर गरिरहेको हुन्छ । के बच्चा भइसकेपछि, आफन्तहरूको किचकिचमाझ, दुई मानिसका खटपटमाझ या अन्य समस्यापछि पनि माया रहिरहन्छ त ?
मानिसहरू युगको सुरुआतदेखि नै मायामा पर्दै आएका छन् । तर पनि यसको वास्तविक कारण जान्न सकेका थिएनन् । मायाको निश्चित सूत्र छैन तर मानिस मायामा पर्न र रहन जन्मेका हुन् । मायामा पर्ने बेलाको उत्साह हाम्रो मस्तिष्कमा गाढा बनेर बसेको हुन्छ । मायामा पर्न सजिलो छ तर मायामा रहिरहन निकै मुश्किल ।
संस्कृतमा मायाका लागि करिब ९६ शब्द छन् भने अङ्ग्रेजीमा जम्मा एक । त्यसकारण पनि विभिन्न किसिमका मायालाई हामी एकै कोस्टकभित्र राख्ने गर्छौं ।
ग्रीसका महान् दार्शनिकहरूले मायाका सात प्रकार या शब्दहरू छन् भन्ने गर्छन्– इरोज, फिलिया, लुडोज, स्टोरेज, फिलाउटिया, प्राग्मा, आगापे ।
इरोज रोमान्टिक भावुक या कामुक माया हो । फिलिया साथीभाइको जस्तो माया हो भने लुडोज फलर्ट गर्ने किसिमको (चञ्चल, रमाइलो) माया हो । स्टोरेज पारिवारिक, विना स्वार्थको माया हो । फिलाउटिया दयालु आफूलाई गरिने माया हो भने प्राग्मा प्रतिबद्ध सहयात्री बीचको माया हो । यस्तै किसिमले आगापे समानुभूतिपूर्ण सारा संसारलाई गरिने माया हो ।
माया मान्छेको एक सामान्य भावना हो । तर यसलाई बुझ्न सजिलो छैन । त्यसकारण पनि हाम्रा लेखक, कविहरूले यसलाई कलात्मक किसिमले प्रस्तुत गर्ने गर्छन् ।
कसैलाई मनपराउनु र माया गर्नुमा फरक छ । कहिलेकाहीं हामी कोहीसँग समय बिताउन चाहन्छौं, कसैलाई कदर र प्रशंसा गर्छौं, त्यसलाई माया भन्न मिल्दैन । कहिलेकाहीं हामी दयालाई पनि मायाको रूपमा लिइरहेका हुन्छौं ।
माया अझ गाढा हुन्छ । यसमा अझ बढी तीव्र आत्मीयता र सम्पर्क राख्ने इच्छा हुन्छ । मन पराउने मानिससँग साथै रहनुमा रमाइलो हुन्छ तर माया गरिनेसँग उसका आवश्यकताहरू आफ्नै आवश्यकता सरह हेरचाह गरिन्छ ।
१९८६ मा साइकोलोजिस्ट रोबर्ट स्टन्वर्गले मायामा त्रिकोणात्मक सिद्धान्तको प्रतिपादन गर्नुभएको थियो । यसमा ३ अवयव छन् (आत्मीयता, जोश र प्रतिबद्धता) ।
आत्मीयता र प्रतिबद्धताको संयोजनले दयालु या कम्पासियोनेट माया दिन्छ । जोश र आत्मीयताले भरिएको माया रोमान्टिक हो । तीनै माया भएको खण्डमा त्यो संसारकै उत्कृष्ट माया बन्छ ।
माया वैज्ञानिक भाषामा भन्नु पर्दा शरीरमा भएका विभिन्न हर्मोनहरूको उतारचढाव हुँदा आउने भावनाहरू हुन् ।
रोमान्टिक माया जैविक सामाजिक प्रक्रिया हो । युवावस्थामा मानिस बाल्यकालमा आमाबाबासँग भएको सम्बन्धबाट निर्धारित हुन्छ । त्यही सिकाइ युवावस्थासम्म निरन्तर हुन्छ र त्यही सम्बन्धको स्थायित्वको कारण बन्छ । युवावस्थाको मायाको अनुभवले मानिसको मूल्यमान्यतालाई असर गरिरहेको हुन्छ । जब समय आउँछ कोही मानिस बाल्यकालमा आफ्नो बाबा या आमाबाट पाएको जस्तै माया र स्नेह दिने जोडी खोज्ने गर्छन् । कोही बाबा या आमामध्ये एकको माया पाएको छैन भने त्यो भावनालाई परिपूर्ति गर्ने जोडी खोज्छन् । बाल्यकालमा मनपरेको मान्छेको स्वभाव भएका जोडी पनि युवावस्थामा खोजिने रोजाइ हुन् ।
बच्चा बाबाआमा दुवैको माया पाउन बनेका हुन्छन् । दुईमध्ये एकको माया छैन या एक अभिभावकले बच्चाको गलत प्रयोग गरेको छ भने उक्त बच्चाले युवावस्थामा स्थापना गर्ने सम्बन्धमा नकारात्मक असर गरिरहेको हुन्छ । हामी हाम्रो बाल्यकाल कस्तो हुन्छ निर्धारण गर्नमा समर्थ थिएनौं तर हाम्रा बच्चाहरूको बाल्यकाल कस्तो बनाइदिने त्यो सामर्थ्य हामीसँग छ ।
माया मस्तिष्क या शरीरमा भएका रासायनिक पदार्थको शिक्षाले बुझाउन सकिन्छ । रोमान्टिक मायाका तीन किसिम हुन्छन् । तीन भिन्न मस्तिष्कको प्रणालीसँग सम्बन्धित छन्— वासना, आकर्षण (रोमान्टिक) र दीगो सम्बन्धको (याट्याचमेन्ट) माया ।
वासना पुरुष र महिलाहरूमा भएको पुरुष बनाउने हर्मोन टेस्टोस्टेरोन र महिलाको हर्मोन इष्ट्रोजनसँग सम्बन्धित छ । महिला राम्रो टेस्टोस्टेरोन भएको पुरुष मन पराउँछिन् । गाढा स्वर, चौडा काँध, बाहिर स्पष्ट देखिएको बङ्गरा हुने पुरुष बढी पुरुष हर्मोन भएको मानिन्छ । त्यस्तै बढी महिलाको हर्मोन इष्ट्रोजन हुनेहरूमा सुन्दर मुहार, पुष्ट छाती, नितम्बको दाँजोमा कम्मरको अनुपात ७० प्रतिशत भएको आदि पर्छन् ।
वासना यौनको सन्तुष्टिसँग सम्बन्धित छ । यो जीवहरूको प्रजननको लागि आवश्यक छ । प्रकृतिले आफ्ना जीवहरूको निरन्तरताको लागि वासनाको सृजना गरेकी हुन् ।
त्यस्तै आकर्षणको अर्को चरण शरीरको इनाम अथवा रिवार्ड दिने प्रक्रियासँग सम्बन्धित छ । यस चरणमा डोपामिन र नरइपिनेफ्रिन बढ्छ भने सेरोटोनिन घट्ने गर्छ । डोपामिन हर्मोनका कारणले मानिस ती कार्यहरू गर्छन् जसले आनन्द दिन्छ । मायामा परेकासँग समय बिताउँदा यौन सम्पर्क गर्दा यो हर्मोन बढ्ने गर्छ । यस हर्मोनहरूले मानिसलाई ऊर्जावान् र उत्साहपूर्ण बनाउँछ । यसले खाना कम खाने र निद्रा कम लाग्ने पनि बनाउन सक्छ । प्रेमी आफ्नो जोडीसँग भेटिरहन चाहने, सँगै समय बिताउन चाहने, हर समय उसको बारेमा सोचिरहने हुन्छन् । त्यस्तै नरइपिनेफ्रिन डर लागेको बेला, उडेको बेला या झगडा परेको बेला निक्लने हर्मोन हो । यस हर्मोनले गर्दा आफ्नो जोडीलाई भेट्दा मुटु जोडजोडले धड्कने जस्तो परिवर्तन आउँछ । यो हर्मोन बढेकाले मानिस सतर्क रहिरहन्छ । त्यसकारण पनि जोडीहरूले यस चरणमा अर्को जोडीको हरेक चाहनाको सम्झना र ख्याल गरिरहेका हुन्छन् ।
सेरेटोनिन यस्तो हर्मोन हो जसले मानिसलाई नियन्त्रण गर्छ । मूर्ख बनाउनबाट रोक्छ । जस्तै डोपामिन बढी भएको मान्छे बजारमा नाङ्गै हिंड्न चाहला तर सेरोटोनिनले उक्त कार्य गर्न रोक्छ । त्यसकारणले सेरोटोनिन कम भएको यस चरणमा मानिस मूर्खतापूर्ण कार्य गर्न पनि हिचकिचाइरहेका हुँदैनन् । यस समयमा मानिसहरू जोडीका नराम्रा बानीहरू पनि नजरअन्दाज गर्ने गर्छन् ।
तेस्रो र अर्को चरण साथी, सहयात्रीको माया, बच्चासँगको बन्धन, सामाजिक बन्धन आदि लिएर आउँछ । यसमा गाढा प्रगाढ सम्बन्ध हुन्छ । यो लामो समयको उठबसपछि आउने गर्छ । यसबेला अग्जिटोसिन र भासोप्रेसिनको महत्वपूर्ण भूमिका छ । अग्जिटोसिनले सामान्यतया स्तनपान गराउने बेला महिलाको स्तनबाट दूध निकाल्न मद्दत गर्छ । यो बच्चा जन्मने बेला अत्यधिक मात्रामा निक्लने गर्छ । यो अँगालोको, चुम्बनको हर्मोन पनि हो ।
यी चरणहरू सबै क्रमैसँग आउँछन् भन्ने हुँदैन । कोही लामो साथी भएपछि अकर्षणको चरणमा प्रवेश गर्न सक्छन् । कोही आकस्मिक यौन सम्बन्ध पछि लामो सम्बन्धमा जान सक्छन् ।
अर्को यथार्थता यो पनि हो कि माया सधैं रोमाञ्चित र आनन्दको हुन्छ भन्ने छैन । माया ईर्ष्या, अनियमित, तर्कहीन भाव लिएर पनि आउँछ । डोपामिन यस्तो हर्मोन हो जो कुलतसँग पनि सम्बन्धित छ । मायामा पर्नु, मायामा धोका पाउनु र कुलत जस्तै कोकिनको प्रयोगले मस्तिष्कको एकै स्थानमा प्रभाव पार्ने गर्छ ।
आकर्षण चरणको माया सामान्यतया १८ महिनादेखि २ वर्षपछि सकिने हुन्छ । यो समय अन्त्य हुन किन पनि आवश्यक छ भने मानिस सधैं आकर्षणको स्थितिमा रह्यो भने अन्य संसारका यावत् कार्यहरू यसै रहिरहने थिए । मानिस सधैं आफ्नो जोडीसँग आकर्षित भइरहने थिए । संसारले प्रगति गर्थेन । फेरि बाँच्नका लागि माया मात्र पर्याप्त छैन । अनि अर्को बुझ्नुपर्ने के छ भने प्रकृति जैविक भिन्नता चाहन्छिन् । सधैं एकै साथीसँग बसोस् भन्ने उनको चाहना हुँदैन ।
तर यस स्थितिको भोगाइ गरिसकेकाले पुरुष त्यस समयको अनुभव र लत अर्को महिलामा खोज्ने गर्छ । तर पुरुषमा प्रगाढ सम्बन्ध भएर अग्जिटोसिन निक्लिसकेकाले आफ्नो मायासँग पुरुष सम्बन्ध टुटाउन सक्दैन । बाहिर जति सम्बन्ध भए पनि पुरुष घरकी मायासँग छुट्टिन सक्दैन । स्वाभाविक छ परस्त्रीसँगको सम्बन्ध राख्नुपूर्व पुरुष जोखिम र लाभको स्पष्टसँग तुलना गर्ने गर्छ ।
त्यस्तै महिलाहरूमा पनि आकर्षणको हर्मोन कम हुने गर्छ । उनीहरू पनि भन्ने गर्छन्– ‘पहिला त श्रीमानले कति माया गर्थे । आजकल पहिलाको जस्तो सम्बन्ध छैन । कास ती दिनहरू फर्केर आए !’
त्यस बेलासम्म जोडीका बच्चा जन्मिसक्ने भएकाले महिलाहरूमा मातृत्वको जिम्मेवारी आइसकेको हुन्छ । तर पुरुषको जस्तै उनीहरू पनि रोमाञ्चित परपुरुषको सम्बन्धमा रोमाञ्चित नहुने भन्ने हुँदैन । समाजले थाहा नपाउने हो भने उनीहरू पनि अन्य पुरुषसँग आकर्षित हुन्छन् । पुरुषप्रधान समाजले यस महिलाको मनस्थितिलाई दबाइराख्न खोज्ने प्रयास गरे पनि या नजरअन्दाज गरे पनि यो मानिसको मात्र होइन जैविक यथार्थता हो । वैज्ञानिकका अनुसार तीनदेखि ५ प्रतिशत प्राणी मात्र मोनोग्यामस हुन्छन् । त्यसमा मानिस पर्दैन ।
यसका अलावा वासनायुक्त मायाले मानिसको आलोचनात्मक सोचाइ, चेतना, तर्कसंगत क्रियाकलाप गर्ने मस्तिष्कको क्षेत्रलाई निषेध गर्छ । हामी सबै कमसेकम एकपटक मायामा परेकै छौं । के हामीले विशेषत: रोमान्टिक मायामा त्यस्तै कुनै उट्पट्याङ कार्य गरेका छैनौं र ?
प्रतिक्रिया 4