+
+
Shares

कलेजमा मोबाइल ल्याएको भन्दै जफत गर्नु र जरिवाना तिराउनु कति उचित ?

पुरानै समयको नियम थोपर्ने नभई विद्यार्थीहरूको वास्तविक आवश्यकता र फाइदालाई ध्यान दिने बेला भएको छ ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८२ माघ १६ गते ११:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कविता खड्काले कलेजमा मोबाइल ल्याएकोमा ५०० रुपैयाँ जरिवाना तिरेकी छिन्, जबकि उनले आपत्कालीन अवस्थामा प्रयोग गर्न मोबाइल साथमा राखेकी थिइन्।

कविता खड्का काठमाडौंको सुकेधारास्थित बाग्मती कलेजमा कक्षा ११ कक्षामा पढ्छिन् । उनी कपन बालुवाखानीबाट आउने भएकाले बिहान साढे पाँच बजे नै घरबाट निस्किन्छिन् ।

जाडो मौसममा यो समयमा अँध्यारो हुने भएकाले बाटोमा लाइट बाल्न र कुनै आपत्कालीन अवस्थामा अभिभावकलाई फोन गर्न मोबाइल लिएर कलेज जान्छिन् । पढाइ भइरहेको बेला उनी मोबाइललाई साइलेन्ट मोडमा राख्छिन्, ताकि यसले कक्षाको वातावरणलाई बाधा नपुर्‍याओस् ।

यद्यपि, कलेजमा मोबाइल लैजान पूर्णरूपमा निषेध छ । एक दिन कोअर्डिनेटरले सबै विद्यार्थीहरूको मोबाइल जाँच गरे र कविताको मोबाइल जफत गरे । मोबाइल निषेधको नियम उल्लङ्घन गरेको भन्दै ५०० रुपैयाँ जरिवाना तोकियो ।

कलेजको यस्तो हर्कतले उनी निकै दु:खी भइन् । ‘बिहान कलेज जाँदा अँध्यारो हुन्छ, लाइट बाल्न नै पनि मोबाइल चाहिन्छ । त्यसमाथि बाटोमा कुनै आपत् परेर अभिभावकलाई फोन गर्नुपर्‍यो भने के गर्ने ?’ उनी प्रश्न गर्छिन् ।

कलेजमा मोबाइल चलाएर बसेको होइन, ब्यागबाट झिकेर जफत गर्नुभयो’ कविता सुनाउँछिन्, ‘मोबाइल कलेजमा ल्याएकै भरमा ५०० रुपैयाँ जरिवाना तिर्नु भनेको विद्यार्थीहरूका लागि बोझ हो।’

यस्तै समस्या धुम्बाराहीको प्रोलिफिक एकडेमीमा कक्षा 12 मा पढ्ने सुरज तामाङले पनि भोगे । कलेजमा मोबाइल लैजान नपाइने नियम छ, तर सुरज टोखाबाट दुईवटा गाडी फेरेर धुम्बाराही आउँछन् । बाटोमा कुनै समस्या परेमा फोन गर्नुपर्ने भएकाले मोबाइल बोकेर आउँछन् । एक दिन कोअर्डिनेटरले उनको मोबाइल देखेर ५०० रुपैयाँ जरिवाना तिराए ।

उनका अनुसार कलेजले मोबाइल ल्याएर लकरमा राखेर घर जाने बेला लिएर जाऊ भन्छन्, तर लकरमा राखेको पनि १००० रुपैयाँ जरिवाना तिर्नुपर्छ । त्यही कारण आफूले साथमै राख्ने गरेको सुरज बताउँछन् ।

स्कुल, कलेजमा मोबाइन फोन बोक्न दिने कि नदिने भन्ने विषयमा नेपाला लामो समयदेखि बहस हुँदै आएको छ ।

शिक्षा विभागले प्लस टु स्तरसम्मको कक्षाकोठामा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाएको छ, जसको उद्देश्य पढाइ प्रभावकारी बनाउनु हो । तर, यो नीति धेरै कलेजहरूमा पूर्ण निषेध (ल्याउनै नपाइने) मा बदलिएको छ, जसले गर्दा विद्यार्थीहरूले जरिवाना तिर्नुपर्ने वा मोबाइल जफत हुने समस्या बढेको छ ।

अहिलेको समयमा मोबाइललाई पूर्ण निषेध गर्ने होइन, बरु यसलाई शिक्षा प्रणालीसँग जोड्नु अर्ने अहिलेको आवश्यकता रहेको मनोविद् गृष्मा पनेरु बताउँछिन् । ‘मोबाइललाई ‘बिगार्ने’ वस्तु ठान्नु पुरानो सोच हो’ उनी भन्छिन्, ‘यो आधुनिक जीवनशैलीको अभिन्न अंग हो, जसबाट सूचना प्राप्त गर्न, सिक्न, अनुसन्धान गर्न र सम्पर्कमा रहन सकिन्छ ।’

पनेरुका अनुसार, कलेजहरूले विद्यार्थीलाई कक्षा चलिरहेका बेला मोबाइल अफ वा साइलेन्ट मोडमा राख्न सिकाउनुपर्छ । एयरप्लेन मोड, साइलेन्ट मोड वा ‘डु नट डिस्टर्ब’ जस्ता फिचरहरू प्रयोग गरेर मोबाइललाई नियन्त्रणमा राख्न सकिन्छ । यी सुविधाहरू विशेष गरी कक्षा, बैठक वा अस्पताल जस्ता ठाउँमा डिस्टर्ब नहोस् भनेर नै बनाइएका हुन् । यसरी गर्दा विद्यार्थीहरूको सुरक्षा सुनिश्चित हुन्छ र उनीहरूले प्रविधिबाट फाइदा पनि लिन सक्छन् ।

मोबाइललाई शिक्षा प्रणालीमा एकीकरण गर्दाका फाइदा धेरै हुने पनेरूको भनाइ छ । उदाहरणका लागि, विद्यार्थीहरूले शिक्षकले पढाइरहेको विषयमा तुरुन्तै थप जानकारी खोज्न सक्छन्, अनलाइन स्रोतहरू प्रयोग गर्न सक्छन् वा एआई टुलहरूबाट सिक्न सक्छन् । यसले सिकाइलाई अन्तर्क्रियात्मक र प्रभावकारी बनाउँछ । सही तरिकाले प्रयोग गर्दा मोबाइलले विद्यार्थीहरूको डिजिटल सीप विकास गर्छ र सिकाइमा सकारात्मक प्रभाव पार्ने कुरा अध्ययनहरूले समेत देखाएका छन् ।

तर, मोबाइलको प्रयोगका चुनौतीहरू पनि छन् । कक्षामा अनियन्त्रित प्रयोगले ध्यान भंग गर्छ, टिकटक जस्ता सामाजिक सञ्जालमा समय बर्बाद हुन्छ र साइबर बुलिङजस्ता समस्या निम्त्याउन सक्छ । यसैले पूर्ण प्रतिबन्धभन्दा सन्तुलित नीति आवश्यक हुने मनोविद् पनेरू बताउँछिन् ।

कलेजहरूले मोबाइलको दुरुपयोग रोक्न निम्न नियमहरू लागू गर्न सक्ने पनेरु सुझाउछिन् ।

-कलेज परिसरमा मोबाइल ल्याउन पाइने, तर कक्षाकोठामा साइलेन्ट मोड वा अफ राख्नुपर्ने ।

-आपत्कालीन अवस्थामा प्रयोग गर्न अनुमति ।

-लकरमा राख्ने सुविधा तर त्यसका लागि अतिरिक्त शुल्क नलिने ।

-शिक्षकहरूले मोबाइललाई पढाइमा प्रयोग गर्ने तरिका सिकाउने जस्तै क्विज, अनलाइन रिसर्च आदि ।

-विद्यार्थीहरूलाई जिम्मेवार प्रयोग सिकाउने कार्यशाला सञ्चालन गर्ने ।

‘यसरी गर्दा विद्यार्थीहरू हतोत्साहित नहुने र प्रविधिसँगै अघि बढ्ने वातावरण बन्छ । टाढाबाट आउने, होस्टेलमा बस्ने वा यात्रामा लामो समय बिताउने विद्यार्थीहरूका लागि मोबाइल अनिवार्य जस्तै हुन्छ । बाटोमा समस्या पर्दा, गाडीको समय हेर्न वा अभिभावकसँग सम्पर्क गर्न यसको आवश्यकता पर्छ । कलेजहरूले प्रविधिलाई निषेध गर्ने होइन, यससँगै अघि बढ्ने नीति अपनाउनुपर्ने सुझाव मनोविद पनेरूको छ ।

समय र प्रविधिसँगै शिक्षा प्रणाली पनि बदलिनुपर्छ । पुरानै समयको नियम थोपर्ने नभई विद्यार्थीहरूको वास्तविक आवश्यकता र फाइदालाई ध्यान दिने बेला भएको उनको भनाइ छ ।

मोबाइललाई नियन्त्रणमा राखेर प्रयोग गर्ने संस्कृति विकास गर्दा मात्र शिक्षा प्रणालीले फड्को मार्न सक्छ । यसले विद्यार्थीहरूलाई जिम्मेवार डिजिटल नागरिक बनाउँछ र उनीहरूको सिकाइलाई थप प्रभावकारी बनाउँने मनोविद् पनेरू बताउँछिन् ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?