News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा पहिलो आमनिर्वाचन २०१५ साल फागुन ७ गते सम्पन्न भएको थियो जसमा १०९ संसदीय स्थानका लागि मतदान भएको थियो।
- नेपाली कांग्रेसले ७४ सीट जितेर दुईतिहाइ बहुमत पाएको पहिलो आमनिर्वाचनमा बीपी कोइराला मात्र पार्टी प्रमुख विजयी भएका थिए।
- २०१६ जेठ १३ मा बीपी कोइरालालाई पहिलो जननिर्वाचित प्रधानमन्त्री नियुक्त गरिएको थियो र २०१७ पुस १ मा राजा महेन्द्रले संसद् विघटन गरी शासन सत्ता आफ्नो हातमा लिएका थिए।
१६ माघ, काठमाडौं । जनप्रतिनिधिमूलक शासन प्रणालीका लागि निर्वाचनलाई अपरिहार्य राजनीतिक कार्य मानिन्छ । नेपालमा प्रजातन्त्र प्रारम्भ हुँदा २००७ साल फागुन ७ गतेको शाही घोषणामाआमनिर्वाचन गराउने भनिएको थियो ।
शाही घोषणामा गरिएको प्रतिबद्धताअनुरूप नै तत्कालीन राजा त्रिभुवन शाहले २००८ साल कात्तिक २६ मा सुवर्णशमशेर (नेपाली कांग्रेसका नेता होइनन्) लाई निर्वाचन आयुक्त नियुक्त गरेका थिए । तर, त्यसपछि पनि आमनिर्वाचन भने हुन सकेन।
राजा त्रिभुवनको शाही घोषणामा मुलुकको शासन व्यवस्था जनताबाट निर्वाचित विधान सभाले बनाएको संविधानबमोजिम सञ्चालन हुने भनिएको थियो । तर, घोषणाअनुसार विधान सभाको निर्वाचन भने भएन । बरू विधान सभाका लागि भनिएको निर्वाचन अन्तत: संसद्का लागि हुने भयो ।
‘जसअनुसार २०१५ साल फागुन ७ गतेदेखि संसद्का लागि निर्वाचन भयो । यो नै नेपालमा बालिग मताधिकारको आधारमा भएको पहिलो आम निर्वाचन भयो,’ निर्वाचन आयोगद्वारा प्रकाशित ‘नेपालको निर्वाचन इतिहास–१’ नामक पुस्तकमा भनिएको छ ।
तत्कालीन राजा महेन्द्र शाहले २०१५ फागुन १ गते नेपाल अधिराज्यको पहिलो संविधान घोषणागरेका थिए । राजाबाट संविधान घोषणा भएपछि २०१५ साल फागुन ७ गते देशमा पहिलो आमनिर्वाचन सुरु भयो ।
लेखक तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. जगत नेपालको पुस्तक ‘पहिलो संसद : बीपी–महेन्द्र टकराव’ मा पहिलो चरणमा मतदान भएका क्षेत्रमा दुई दिनमै परिणाम घोषणा गरिएको उल्लेख छ ।
‘करिब हप्ता दिनको समय राखेर दोस्रो चरणको चुनाव भएको थियो। देशभरी चुनाव गर्न ४५ दिन लागेको थियो,’ पुस्तकमा लेखिएको छ, ‘निर्वाचनको अन्तिम परिणाम भने निर्वाचन सकिएको ३० दिनपछि अर्थात २०१६ साल वैशाख २८ गते मात्र आएको थियो।’
पहिलो संसदीय चुनावका उल्लेखनीय पक्ष
प्रथम आम निर्वाचन–२०१५ मा १०९ वटा संसदीय स्थानका लागि मतदान भएको थियो । आमनिर्वाचनमा कुल मतदाताको संख्या ४२ लाख ४६ हजार ४६८ थिए।आमनिर्वाचनमा नौ वटा राजनीतिक दलका ५१८ र स्वतन्त्र २६८ जना गरी ७८६ उम्मेदवारले मनोनयन दर्ता गरेका थिए ।
प्रथम आमनिर्वाचन–२०१५ मा २५ वर्ष उमेर पुगेको नेपाली नागरिक उम्मेदवारका लागि र २१ वर्ष उमेर पुगेका नागरिक मतदानका लागि योग्य मानिएको थियो। आमनिर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद पाँच हजार रुपैयाँ तोकिएको थियो ।
निर्वाचन सम्पन्न गर्न १७ हजार कर्मचारी खटाएको थियो । प्रथम आम निर्वाचनमा सात जनामात्रै महिला उम्मेदवार थिए । जसमध्ये दुई जना दलनिकट र पाँच जना स्वतन्त्र उम्मेदवार थिए ।
निर्वाचन आयोगले २०१५ को आमनिर्वाचनमा कम्तीमा २२ स्थानमा चुनाव लड्ने राजनीतिक दललाई मात्रै राष्ट्रिय राजनीतिक दलको मान्यता दिएर चुनाव चिन्ह दिने निर्णय गरेको थियो ।
निर्णयअनुसार सात राजनीतिक दलले राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गरेका थिए ।
ती सात दलमा नेपाली कांग्रेस, नेपाल राष्ट्रवादी गोरखा परिषद्, संयुक्त प्रजातन्त्र पार्टी, नेपाल प्रजा परिषद् (घन कोदालो), नेपाल प्रजा परिषद् (भद्रकाली), नेपाल कम्युनिष्टपार्टी र प्रजातान्त्रिक महासभा परेका थिए ।
‘नेपालको निर्वाचन इतिहास–१’ पुस्तक अनुसार एक निर्वाचन क्षेत्रमा बढीमा ५४ र घटीमा ११ वटा मतदान केन्द्र तोकिएको थियो। मतगणनाको परिणाम सबैभन्दा पहिले निर्वाचन क्षेत्र नम्बर ९२ (गुल्मी मध्यपूर्व) र अन्तिम निर्वाचन क्षेत्र नम्बर ८७ (बागलुङ उत्तर क्षेत्र) को घोषणा भएको पुस्तकमा उल्लेख छ।
२०१५ वैशाख १ गते २१ वर्ष पुगेका बालिग नेपालीले निर्वाचनमा मतदान गरेका थिए ।निर्वाचनमा सबैभन्दा बढी मतदाता निर्वाचन क्षेत्र नम्बर ७४ (जुम्ला दक्षिण) मा ५६ हजार ९३२ र सबैभन्दा कम निर्वाचन क्षेत्र नम्बर ६७ (बैतडी पूर्व–दक्षिण) २३ हजार ४६७ थिए।
निर्वाचनमा सबैभन्दा बढी मत निर्वाचन क्षेत्र नम्बर १ मा (२७ हजार ३९४) र सबैभन्दा कम निर्वाचन क्षेत्र नम्बर ७६ मा (६ हजार ८७) खसेको थियो।
आमनिर्वाचनमा सबैभन्दा धेरै उम्मेदवार निर्वाचन क्षेत्र नं. ४ भक्तपुर उपत्यकामा १७जना थिए । सबै भन्दा कम निर्वाचन क्षेत्र न ७८ सल्यानमा तीन जना उम्मेदवार थिए ।
कांग्रेसलाई रूख, कम्युनिस्टलाई मकैको घोगा
निर्वाचन आयोगले कम्तिमा २२ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने राजनीतिक दललाई छुट्टै निर्वाचन चिह्न दिने निर्णय गरेको थियो। आयोगका अनुसार उक्त निर्णय बमोजिम कम्तिमा २२ निर्वाचन क्षेत्रबाट उम्मेदवार उठाउने भनेर सूचना दिने दलहरुलाई निर्वाचन चिह्न दिइएको थियो।
नेपाली राष्ट्रिय कांग्रेसले २२ निर्वाचन क्षेत्रमा चुनाव लड्ने गरी ‘छाता’ चुनाव चिह्न पाएको थियो। तर, चुनाव लड्दा २० क्षेत्रमा मात्रै उम्मेदवार खडा गरेको ‘नेपालको निर्वाचन इतिहास–१’ मा उल्लेख छ।
नेपाली कांग्रेसले त्यसबेला पनि रुख चिह्न लिएको थियो । कम्युनिस्ट पार्टीको भने हँसिया, हथौडा वा सूर्य चिह्न नभएर मकैको घोगा र हँसिया चिह्न थियो । नेपाल राष्ट्रिय कांग्रेसले छाता र तराई कांग्रेसले लंगौटी लगाएको मानिसको टाउकोमा गहुँको बिटा बोकेको चिह्न पाएको थियो ।
नेपाल प्रजा परिषद्का दुई गुटले हलो र धान भरेको डालो चिह्न पाएका थिए । गोर्खा परिषदले झुपडी र नेपाल प्रजातान्त्रिक महासभाले हात चुनाव चिह्न पाएको थियो ।
निर्वाचनमा १२ वटा स्वतन्त्र निर्वाचन चिह्न दिइएको थियो। जसमा घडी, चरा, माछा, औंला, हात्ती, तराजु, घण्टा, सारंगी, धारा, घोडा, डुंगा र फूल थिए ।

कांग्रेसलाई दुईतिहाइ, कम्युनिस्टलाई चार सिट
प्रथम आम निर्वाचन–२०१५ मा १०९ सीट मध्ये दुईतिहाइ बहुमत पाएको नेपाली कांग्रेसले ७४ सीट जितेको थियो । नेपाल कम्युुनिस्ट पार्टीले चार सीट मात्रै जितेको थियो । कांग्रेसले १०८ र कम्युनिस्ट पार्टीले ४७ सिटमा उम्मेदवार खडा गरेको थियो ।
कांग्रेसपछि प्रमुख प्रतिपक्षी दल बनेको नेपाल राष्ट्रवादी गोरखा परिषद्ले १९ सीट जितेको थियो । तेस्रो ठूलो दल बनेको संयुक्त प्रजातन्त्र पार्टीले पाँच सीट ल्याएको थियो ।
नेपाल प्रजा परिषद् (कोदालो) ले दुई सीट र नेपाल प्रजापरिषद (हलो) ले एक सीट जितेका थिए । स्वतन्त्र उम्मेदवारले चार सीट जितेका थिए ।
चुनावमा भाग लिएका नौ दलमध्ये तराई कांग्रेस, नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक महासभाले शून्य सीटमा चित्त बुझाउनुपरेको थियो ।
नेपाली कांग्रेसले त्यसबेला देशभरिबाट छ लाख ६६ हजार ८९८ मत पाएको थियो भने नेपाली कम्युनिस्ट पार्टीले पाएको मत एक लाख २९ हजार १४२ थियो ।
गोर्खा परिषद्ले तीन लाख पाँच हजार ११८ मत पाएको थियो । संयुक्त प्रजातन्त्र पार्टीको पक्षमाएक लाख ७७ हजार ४०८ मत खसेको थियो । नेपाल कम्युनिस्ट पार्टी मत र सीट दुबै हिसाबले चौथो शक्ति बनेको थियो ।
पार्टी प्रमुखमा चुनाव जित्ने बीपीमात्रै
प्रथम आम निर्वाचन–२०१५ मा नेपाली कांग्रेसका सभापति विश्वेश्वरप्रसाद कोइराला (बीपी) बाहेक सबै राजनीतिक दलका अध्यक्षहरू पराजित भएका थिए ।
बीपीले मोरङ क्षेत्र नम्बर ३२ मोरङबाट उम्मेदवारी दिएका थिए । उनी नौ हजार ५७९ मतसहित निर्वाचित भएका थिए । बीपीका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दिलबहादुर श्रेष्ठको पक्षमा पाँच हजार २८८ मत खसेको थियो ।
नेपाली राष्ट्रवादी गोर्खा परिषद्का अध्यक्ष रणधीर सुब्बा क्षेत्र नम्बर २६ धनकुटाबाट पराजित भएका थिए। उनी नेपाली कांग्रेसका नेता तेजमान तुम्बाहाङ्फेसँग पराजित भएका हुन् ।
तुम्बाहाङ्फे चार हजार ३९८ मतसहित विजयी हुँदा अध्यक्ष सुब्बा दुई हजार १२२ मतका साथ तेस्रो भएका थिए । यहाँ दोस्रो भएका स्वतन्त्र उम्मेदवार गणेशबहादुर प्रसाईंले दुई हजार ६२१ मत पाएका थिए ।
यस्तै तराई कांग्रेसका वेदानन्द झाले क्षेत्र नं ३९ सिराहा (मध्य) बाट हारेका थिए। उनी नेपाली कांग्रेसका देवनाथ दाससँग पराजित हुनुपरेको थियो । झा निर्वाचन क्षेत्र नम्बर ४० सिराहा (पश्चिम) बाट पनि निर्वाचन हार्नुपरेको थियो । ३९ सिराहामा चौथो भएका झा ४० सिराहामा तेस्रो भएका थिए ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव डा. केशरजङ रायमाझी निर्वाचन क्षेत्र नम्बर ९३ पाल्पाबाट पराजित भएका थिए। यहाँ नेपाली कांग्रेसका अच्युतराज रेग्मी विजयी भएका थिए । रायमाझी चौथो स्थानमा आएका थिए ।
नेपाल प्रजातान्त्रिक महासभाका अध्यक्ष रङगनाथ शर्माले पनि प्रथम आम निर्वाचनमा पराजय व्यहोर्नु परेको थियो । उनी निर्वाचन क्षेत्र नम्बर ५, काठमाडौंमा संयुक्त प्रजातन्त्र पार्टीका लोचन शमशेरसँगपराजित भएका थिए । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता सूर्यप्रसाद उपाध्याय दोस्रो भएका थिए ।
निर्वाचन क्षेत्र नम्बर २, काठमाडौंबाट नेपाली राष्ट्रिय कांग्रेसका डिल्लीरमण रेग्मीले पनि हारेर चित्त बुझाए। यहाँ गोरखा परिषद्का श्रीनरबहादुर थापाक्षेत्री छ हजार २६२ मतका साथ विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका त्रिपुरवर सिंहले पाँच हजार १३ ल्याएका थिए ।
राष्ट्रिय कांग्रेसका रेग्मी ६१८ मत पाएर सातौं भएका थिए । यो क्षेत्रमा आठ जना उम्मेदवार थिए । ती उम्मेदवारहरू सबैको दलीय आवद्धता थियो । स्वतन्त्र कोही पनि थिएनन् ।
नेपाल प्रजापरिषद्का भद्रकाली मिश्रले पनि निर्वाचन हारेका थिए । उनी निर्वाचन क्षेत्र नम्बर ४५ महोत्तरीमा उम्मेदवार थिए ।
यहाँ नेपाली कांग्रेसका वेणिमाधव सिंह १० हजार ३६० मतले विजयी हुँदा दोस्रो भएका मिश्रको पक्षमाचार हजार १८० मत खसेको थियो ।
प्रथम आम निर्वाचनमा पार्टीका नेतृत्वकर्ता मात्रै नभएर ठूला–ठूला हस्तीहरू पनि पराजित भएका थिए । मुलुकमा प्रजातान्त्रिक आन्दोलनको पहिलो बिगुल फुक्ने पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्य काठमाडौं क्षेत्र नम्बर ५ बाट पराजित भएका थिए।

कांग्रेसको चार शीर्ष नेता मध्येका एक सूर्यप्रसाद उपाध्यायले पनि निर्वाचनमापराजय व्यहोर्नु परेको थियो । राजा महेन्द्रका विस्वासपात्र योगविक्रम शाह र हरिशमशेर राणा पनि निर्वाचनमा पराजित भएका थिए ।
‘चुनाव हारेपछि पूर्व प्रधानमन्त्रीहरू टंकप्रसाद आचार्य र डा. केआई सिंह तथा प्रजातान्त्रिक महासभाका अध्यक्ष रंगनाथ शर्माले धाँधली भएको भन्दै छानबिनका लागि राजासमक्ष उजुरी समेत गरेका थिए,’ ‘पहिलो संसद : बीपी–महेन्द्र टकराव’ मा नेपालले लेखेका छन् ।
चुनाव हारेका किशुनजी सभामुख
प्रथम आम निर्वाचनमा सन्तनेता कृष्णप्रसाद भट्टराई (किशुनजी) पराजित भएका थिए। उनलाई नेपाली कांग्रेसले निर्वाचन क्षेत्र नम्बर १०४ गोरखामा उम्मेदवार बनाएको थियो ।
भट्टराईले नेपाल राष्ट्रवादी गोरखा परिषद्का उम्मेदवार विश्वनाथ सुवेदीसँग पराजय भोग्नु परेको थियो । सुवेदी तीन हजार १३३ मतका साथ निर्वाचित हुँदा भट्टराईले दुई हजार ८०८ मत प्राप्त गरेका थिए।
प्रतिनिधिसभा निर्वाचनमा पराजित भए पनि उनलाई सभामुखमा नियुक्त गरिएको ‘नेपालको निर्वाचन इतिहास–१’ उल्लेख छ। भट्टराईले चुनावी प्रतिष्पर्धा गरेको क्षेत्रमा नौ जना उम्मेदवार थिए । स्वतन्त्र उम्मेदवार पूर्णप्रसाद ब्राह्मणको पक्षमा शून्य मत थियो ।
द्वारिकादेवी एकमात्र महिला मन्त्री
दुईतिहाइ बहुमत प्राप्त गरेको उक्त निर्वाचनमा नेपाली कांग्रेसले द्वारिकादेवी ठकुरानीलाई मात्र महिला उम्मेदवार बनाएको थियो। उनी निर्वाचन क्षेत्र नम्बर ६६ डडेल्धुराबाट निर्वाचित भएकी थिइन्।

ठकुरानी नेपालकी प्रथम महिला मन्त्री हुन्। उनलाई पहिलो जननिर्वाचित मन्त्रिमण्डलमा स्वास्थ्य तथा स्वायत्त शासन उपमन्त्री बनाइएको थियो।
निर्वाचनमा भाग लिने चर्चित नेताहरू
प्रथम आम निर्वाचन–२०१५ मा भाग लिने चर्चित नेताहरुमा बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, तुलसीलाल श्रेष्ठ, सुवर्ण शमशेर जबरा, डिल्लीरमण रेग्मी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, द्वारिकादेवी ठकुरानी, बेनीबहादुर कार्की लगायत थिए ।
बीपी कोइराला निर्वाचन क्षेत्र नम्बर ३२ विराटनगर, पुष्पलाल श्रेष्ठ क्षेत्र नम्बर १ काठमाडौं, टंकप्रसाद आचार्य क्षेत्र नम्बर ५ काठमाडौं, गणेशमान सिंह क्षेत्र नम्बर १ काठमाडौं, तुलसीलाल अमात्य क्षेत्र नम्बर ३ काठमाडौंबाट उम्मेदवार थिए ।

यस्तै डिल्लीरमण रेग्मी क्षेत्र नम्बर २ काठमाडौं,कृष्णप्रसाद भट्टराई क्षेत्र नम्बर १०४ गोरखा, द्वरिकादेवी ठकुरानी क्षेत्र नम्बर ६६ डडेल्धुरा र बेनीबहादुर कार्की क्षेत्र नम्बर १४ रामेछापबाट उठेका थिए ।
सुवर्णशमशेर : तीन क्षेत्रमा उम्मेदवार, तीनै क्षेत्रमा विजयी
नेपाली कांग्रेसका नेता सुवर्णशमशेर जबराले तीन क्षेत्रबाट उम्मेदवारी दिएका थिए । उनी तीनै निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।
सुवर्णशमशेरलाई नेपाली कांग्रेसले निर्वाचन क्षेत्र नम्बर ९१ गुल्मी, निर्वाचन क्षेत्र नम्बर ५२ बारा र निर्वाचन क्षेत्र नम्बर ५३ बारा, पर्सा (पूर्व) बाट उम्मेदवार बनाएको थियो ।
सुवर्णशमशेरले निर्वाचन जितेका क्षेत्र नम्बर ५२ बारा र निर्वाचन क्षेत्र ९१ गुल्मीबाट राजीनामा गरेपछि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा नेपाली कांग्रेसले ५२ बारा गुमाउनु परेको थियो ।
यहाँ नेपाल राष्ट्रिय गोर्खा परिषद्का मनमोहन मिश्र छ हजार १५० मतले विजयी हुँदा कांग्रेस उम्मेदवार परमहंस यादवले तीन हजार ८२६ ल्याएका थिए ।
निर्वाचन क्षेत्र ९१ गुल्मीमा भने कांग्रेसकै पुस्करनाथ खरेल विजयी भएका थिए । उनी ११ हजार २५६ मतसहित निर्वाचित हुँदा नेपाल कम्युनिस्ट पार्टीका खुपीराम उपाध्यायले तीन हजार २८ मत पाएका थिए ।
नेपाली कांग्रेसका नेता शिवराज पन्त निर्वाचन क्षेत्र नम्बर ७० थलरा डोटी (उत्तर) र ७१ डोटी (दक्षिण) मा उम्मेदवार थिए । दुवै क्षेत्रमा विजयी भएपछि उनले क्षेत्र नम्बर ७० बाट राजीनामा दिएका थिए ।
पन्तको राजीनामा पछि भएको उपनिर्वाचनमा क्षेत्र नम्बर ७० थलरा, डोटी (उत्तर) बाट कांग्रेसकै नवराज जोशी निर्विरोध निर्वाचित भएका थिए ।
परिणाम आएको दुई सातापछिमात्रै बीपी प्रधानमन्त्री
प्रथम आम निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक (२०१६ वैशाख २८) भएपछि राजा महेन्द्रले २०१६ जेठ १३ मा नेपाली कांग्रेस संसदीय दलका नेता बीपी कोइरालालाई प्रथम जननिर्वाचित प्रधानमन्त्री नियुक्त गरे ।
बीपी कोइरालालाई प्रधानमन्त्री नियुक्त गरेकै दिन राजाबाट १९ सदस्यीय मन्त्रिमण्डल घोषणा गरियो । भोलिपल्ट (जेठ १४) बसेको मन्त्रिमण्डल बैठकबाट प्रधानमन्त्री, मन्त्री र उपमन्त्रीहरूको कार्यविभाजन गरियो ।
त्यसबेलासम्म औपचारिक रुपमा नेपाल अधिराज्यको संविधान–२०१५ लागू भइनसकेकाले मन्त्रिमण्डललाई अन्तरिम मन्त्रिपरिषद्को संज्ञा दिइएको थियो । २०१६ असार १६ मा संविधान औपचारिक रुपमा लागू भएपछि मन्त्रिमण्डललाई औपचारिक रुपमा जवननिर्वाचित घोषित गरियो । सोही दिन मन्त्रिमण्डल पनि हेरफेर गरिएको थियो ।

जननिर्वाचित सरकार गठन भएको डेढ वर्षमै ‘कू’
जननिर्वाचित सरकार गठन भएको डेढ वर्षमै तत्कालीन राजा महेन्द्रले ‘कू’ गरेर शासन सत्ता आफ्नो हातमा लिएका थिए । उनले २०१७ पुस १ गते संसद् विघटन गरेर जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई पदच्यूत गरेका थिए ।
महेन्द्रले पुस १२ मा आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गरेका थिए । उनले २०१९ चैत २० मा डा. तुलसी गिरीलाई मन्त्रिरिषद् अध्यक्ष बनाएका थिए । गिरी पछि २०२१ माघ १३ मा सूर्यबहादुर थापा अध्यक्ष बनाइएका थिए ।
राजा महेन्द्रले थापालाई २०२३ माघ १४ मा प्रधानमन्त्री नियुक्त गरेर शासन सत्ता सञ्चालन गरेका थिए ।
प्रतिक्रिया 4