१४ माघ, काठमाडौं । आवधिक निर्वाचन लोकतन्त्रको अभिन्न अंग मानिन्छ । हरेक नागरिकले बिना कुनै डर–त्रास मताधिकार प्रयोग गर्न पाउनु निर्वाचनको आधारभूत विशेषता हो ।
गत भदौको जेन–जी आन्दोलनको बलमा तत्कालीन सत्ता विस्थापन भएपछि गठन भएको सुशीला कार्की नेतृत्वको नागरिक सरकारले आगामी फागुनमा प्रतिनिधिसभा निर्वाचन तय गरेको छ । २१ फागुनका लागि तोकिएको निर्वाचनका लागि दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गरिसकेका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचन लागि दुई हजार ६५५ जनाको मनोनयन दर्ता भएको छ । मनोनयन दर्ताको दिन (६ माघ) बेलुकी निर्वाचन आयोग जारी गरेको विज्ञप्तिअनुसार कुल मनोनयनमध्ये दलीय र स्वतन्त्र गरी ३०३ महिला उम्मेदवार थिए ।
मनोनयन दर्तासँगै दलहरूमा चुनावी सरगर्मी बढेको छ । दलहरूले अघि सारेका उम्मेदवारहरू आ–आफ्नो मनोनयन दर्ता गरेको निर्वाचन क्षेत्र पुगेर चुनावी प्रचार–प्रसारमा व्यस्त छन् । अहिले निर्वाचन आयोग निर्वाचनका लागि आवश्यक मतपत्रहरूको छपाइ गरिरहेको छ ।
छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाइ गर्नुपर्ने जनाएको छ । कुनै व्यवधान नपरे २१ फागुनमा निर्वाचन हुने निश्चित छ ।
निर्वाचन आयोगका अनुसार २० फागुनसम्म १८ वर्ष पूरा भएका मतदाताको संख्या एक करोड ८९ लाख तीन हजार ६८९ छ । जसमध्ये ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र दुई सय अन्य मतदाता छन् ।
अहिलेको मतदाता संख्या २०४८ को आमनिर्वाचनका कुल मतदाताभन्दा ७७ लाख ३९ हजार ९२ मत बढी हो । प्रजातन्त्र पुनर्स्थापनापछिकाे पहिलो त्यो आमनिर्वाचनमा (२०४८) मा मतदाताको संख्या एक करोड ११ लाख ९१ हजार ७७७ थियो ।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनको जगमा त्यो बेला नेपालमा राजतन्त्र ‘संवैधानिक’ रहनेगरी ‘बहुदलीय प्रजातन्त्र’को पुनर्स्थापना भएको थियो । जनआन्दोलनद्वारा स्थापित अन्तरिम मन्त्रिपरिषद्को परामर्शमा तत्कालीन राजा वीरेन्द्र शाहले २३ कात्तिक २०४७ मा दलका प्रतिनिधि र कानुनविदहरू रहेको संविधान सुझाव आयोग गठन गरेका थिए । सोही आयोगले तयार पारेको मस्यौदाका आधारमा तत्कालीन राजा शाहले ‘नेपाल अधिराज्यको संविधान–२०४७’ जारी गरेका थिए ।
संविधानमा २०५ सिटको प्रतिनिधिसभा(तल्लो सदन) र ६० सिटको राष्ट्रियसभा(माथिल्लो सदन) गरी दुई सदनात्मक संसद्को व्यवस्था गरिएको थियो । प्रतिनिधिसभाको निर्वाचन ‘पहिलो हुने निर्वाचन प्रणाली’(प्रत्यक्ष) को व्यवस्था गरिएको थियो ।
जसअनुसार २०४८ वैशाख २९ मा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनमा दर्ता भएका ४४ दलमध्ये २० दलले भाग लिएका थिए । तीन दल दर्ताको निवेदन आयोगले अस्वीकृत गरेको थियो ।
उक्त निर्वाचनमा सबैभन्दा धेरै ११० सिट नेपाली कांग्रेसले जितेको थियो । ६९ सिट जित्दै नेकपा एमाले दोस्रो भएको थियो । निर्वाचनमा सहभागी २० मध्ये ८ दलले मात्रै सिट जितेर संसद्मा स्थान बनाउन सफल भएका थिए । २०५ मध्ये २०२ सिटमा दलीय उम्मेदवार जित्दा तीन जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए ।
आमनिर्वाचन–२०४८ मा कुल मतदातामध्ये ६५.१५ प्रतिशत अर्थात् ७२ लाख ९१ हजार ८४ मतदाताले मताधिकार प्रयोग गरेका थिए । उम्मेदवार हुन कम्तीमा २५ वर्ष र मतदान गर्न कम्तीमा १८ वर्ष उमेर पुगेको हुनुपर्ने संवैधानिक व्यवस्था गरिएको थियो । आमनिर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद ७५ हजार रूपैयाँ मात्र थियो ।
उम्मेदवारले मनोनयन पत्र दाखिला गर्दा तीन हजार रूपैयाँ धरौटी राख्नु पर्ने व्यवस्था तत्कालीन सरकारले गरेको थियो । निर्वाचनमा एक हजार ३४५ जना उम्मेदवारमध्ये पार्टीका एक हजार १२६ र २१९ स्वतन्त्र उम्मेदवार थिए ।

प्रजातन्त्र पुनर्स्थापनापछि सम्पन्न पहिलो आमनिर्वाचनमा ८० जना महिलाको उम्मेवारी परेको थियो । निर्वाचनका लागि आठ हजार २२५ मतदान केन्द्र र छ हजार ५६४ उपकेन्द्र तोकिएको थियो । निर्वाचनका लागि सरकारले ६२ हजार ८८१ कर्मचारी र ५६ हजार १६४ सुरक्षाकर्मी खटाएको थियो । उक्त निर्वाचनमा खसेको मतको १० प्रतिशत नल्याउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था थियो । आमनिर्वाचनमा पाँच प्रतिशत उम्मेदवार महिला हुनुपर्ने र खसेको मतको तीन प्रतिशत मत ल्याएमा राष्ट्रिय पार्टीका रूपमा मान्यता दिइने प्रावधान गरिएको थियो ।
आमनिर्वाचन–२०४८ मा दुई जिल्लामा छ, सात जिल्ला पाँच, आठ जिल्ला चार र २१ जिल्लामा तीन वटा निर्वाचन क्षेत्र तोकिएको थियो । यस्तै दुई निर्वाचन क्षेत्र भएका २६ वटा र एउटामात्र निर्वाचन क्षेत्र भएका ११ जिल्ला थिए । तत्कालीन समयका अञ्चलमध्ये सबैभन्दा बढी उम्मेदवार जनकपुर अञ्चलमा १८१ जना थिए । जिल्लामध्ये रूपन्देहीमा सबैभन्दा बढी ६९ जना उम्मेदवार थिए । उक्त आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीका भरत विसुराल सबैभन्दा बढी चार स्थानबाट चुनाव लडेका थिए ।
आमनिर्वाचन पर्यवेक्षण गर्न २२ राष्ट्रका ६४ पर्यवेक्षकहरू नेपाल आएका थिए । त्याे आमनिर्वाचनमा २०१५ सालको आमनिर्वाचनमा विजयी भएका सात जना सांसदहरू पुनः विजयी भएका थिए । तत्कालीन समयमा दोहाेरिएर सांसद हुनेमा जगन्नाथ आचार्य (भक्तपुर), शेख इद्रिस (रौतहट), बलबहादुर राई (ओखलढुंगा), महेन्द्रनारायण निधि (धनुषा), वेनीमाधव सिंह (महोत्तरी) र दुर्गानन्दप्रसाद सिंह थारु (सप्तरी) थिए ।
यस्तो थियो चुनावी परिणाम
आमनिर्वाचन–२०४८ मा कांग्रेस ११० मा विजयी भएको थियो । कांग्रेसले २०४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी थियो । उक्त निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूले कुल २७ लाख ५२ हजार ४५२ मत प्राप्त गरेका थिए । दोस्रो भएको एमाले ६९ सिटमा विजयी भएको थियो । एमालेले १७७ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । एमालेका उम्मेदवारहरूले २० लाख ४० हजार १०२ मत प्राप्त गरेका थिए ।
यस्तै तेस्रो भएको संयुक्त जनमोर्चा नौ स्थानमा विजयी भएको थियो । ६९ सिटमा उम्मेदवार खडा गरेको संयुक्त जनमोर्चाका उम्मेदवारहरूले देशभरी तीन लाख ५१ हजार ९०४ मत पाएका थिए ।
नेपाल सद्भावना पार्टीले उम्मेदवारी दिएका ७५ सिटमा छ सिट जितेको थियो । सद्भावनाका उम्मेदवारहरूका पक्षमा दुई लाख ९८ हजार ६१० मत खसेको थियो । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (चन्द) का तीन जना उम्मेदवार प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । १५४ सिटमा उम्मेदवारी दिएको राप्रपा (चन्द)का उम्मेदवारहरूले देशभर चार लाख ७८ हजार ६०४ पाएका थिए ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ७५ स्थानमा उम्मेदवारी दिएको थियो । दुई सिट जितेको नेमकिपाका उम्मेदवारहरूले कुल मत ९१ हजार ३३५ मत पाएका थिए । यस्तै नेकपा (प्रजातन्त्रवादी) दुई सिटमा विजयी भएको थियो । उसले ७५ स्थानमा उम्मेदवारहरूलाई चुनावी मैदानमा उतारेको थियो । यो दलका उम्मेदवारहरूले कुल एक लाख ७७ हजार ३२३ मत पाएका थिए ।
राष्ट्रिय प्रजातान्त्रिक पार्टी (थापा) ले १६३ स्थानमा उम्मेदवार खडा गरेको थियो । जसमध्ये एक जनामात्रै जितेका थिए । राप्रपा (थापा) का उम्मेदवारहरूका पक्षमा देशभर तीन लाख ९२ हजार ४९९ मत आएको थियो ।
आमनिर्वाचन–२०४८ मा तीन जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । देशभर उठेका स्वतन्त्र उम्मेदवारहरूले कुल पाएको मत तीन लाख तीन हजार ७२३ मत थियो ।
जित निकाल्न नसकेका दलहरू
आमनिर्वाचन–२०४८ नेपाल राष्ट्रिय मोर्चाले ५० स्थानमा, नेकपा (वर्मा) ३५ स्थानमा, जनता दल (स.प्र) १५ स्थानमा, नेपाल राष्ट्रिय जनपार्टीले चार स्थानमा, नेकपा (अमात्य) ले १५ स्थानमा उम्मेदवारी दिएको थियो ।
यस्तै राष्ट्रिय जनता पार्टी नेपालले नौ, नेपाल कन्जरभेटिभ पार्टीले छ, बहुजन जनता दलले एक, जनवादी मोर्चा नेपालले १४, एकता पार्टीले एक, दलित मजदुर किसान पार्टीले एक स्थानमा उम्मेदवार खडा गरेका थियो । यिनीहरू कसैले पनि जित निकाल्न सकेनन् ।
प्रतिक्रिया 4