+

पोखरामा साफ यू–१९ महिला च्याम्पियनसिप खेल्न सबै टोली तयार

२०८२ माघ  १६ गते २०:१६ २०८२ माघ १६ गते २०:१६
पोखरामा साफ यू–१९ महिला च्याम्पियनसिप खेल्न सबै टोली तयार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा शनिबारदेखि सुरु हुने साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन्।
  • अखिल नेपाल फुटबल संघले च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।
  • पहिलो खेल शनिबार भुटान र बंगलादेशबीच १२ बजे र नेपाल र भारतबीच ३ बजे पोखरा रंगशालामा हुनेछ।

१६ माघ, पोखरा । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार पोखरामा शनिबारदेखि सुरु हुने साफ यू–१९ महिला च्याम्पियनसिपका सबै टिमले तयार रहेको बताएका छन् ।

प्रतियोगिताअघि शुक्रबार पोखराको लेकसाइडमा आयोजित प्रि-म्याच कन्फेरेन्समा सहभागिता चारै टोलीका मुख्य प्रशिक्षक र कप्तानले च्याम्पियनसिपका लागि तयार रहेको प्रतिक्रिया दिएका हुन् । च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन् ।

स्थानिय आयोजकको रुपमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । नेपाली यू–१९ महिला टोलीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले प्रतियोगिताका लागि राम्रो तयारी भएकाले नतिजा राम्रो आउने विश्वास व्यक्त गरेका छन् ।

यस्तै पहिलो पटक उमेर समूहमा कप्तानी गरिरहेकी सुशिला केसीले घरेलु मैदानमा हुने प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गर्ने प्रतिक्रिया दिइन् ।

बंगलादेशका मुख्य प्रशिक्षक पिटर बटलर र कप्तान अर्पिता विश्वास अर्पिताले यू-१९ महिला च्याम्पियनसिप नयाँ खेलाडीहरुका लागि राम्रो अवसर भएको बताए ।

यस्तै भुटानकी मुख्य प्रशिक्षक टंका माया घलेले टोलीको तयारी राम्रो रहेको बताइन् । भुटानकी कप्तान सोनम छोदेनले टिमको तयारी राम्रो भएको र खेल्न उत्सहित रहेको बताइन् ।

भारतकी मुख्य प्रशिक्षक पामेला कोन्टीले टोलीमा अधिकांश खेलाडी १७ वर्षभन्दा मूनिको रहेको जानकारी दिइन् । यस्तै भारतकी कप्तान जुलान नोङमैथेमले तयारी राम्रो भएको र टोलीले उत्कृष्ट प्रदर्शन गर्ने बताइन् ।

पहिलो पटक राजधानी काठमाडौं बाहिर साफको उमेर समूहको प्रतियोगिता आयोजना हुन लागेको हो । यसअघि सन् २०१९ मा सिनियर साफ महिला च्याम्पियनसिप विराटनगरमा भएको थियो ।

साफले सकेसम्म आफ्नो प्रतियोगिताहरुलाई राजधानी भन्दा बाहिर शहरहरुमा पनि लैजाने योजना अनुसार यस पटक साफ यू-१९ महिला च्याम्पियनसिप पोखरामा आयोजना गर्न लागिएको हो ।

साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत पहिलो खेल शनिबार भुटान र बंगलादेशबीच पोखरा रंगशालमा हुनेछ । खेल मध्यान्ह १२ बजे सुरु हुनेछ ।

यस्तै शनिबारै घरेलु टोली नेपालले भारतसँग आफ्नो पहिलो खेल खेल्नेछ । यो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

साफ यू-१९ महिला च्याम्पियनसिपको खेल हेर्नका लागि साधारण प्यारापिटतर्फ २०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ ।

साफ यू–१९ महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय