News Summary
Generated by OK AI. Editorially reviewed.- २०८० माघ ५ गते अभिषले सपनामा टाईगर देखेपछि समाधिस्थलमा बत्ती बाल्न फोन गरेका थिए।
- टाईगर २०७८ चैत्र ५ गते सडक दुर्घटनामा मृत्यु भएको थियो र १३ वर्षको उमेरमा परिवारको सदस्य बनेको थियो।
- नेदरल्याण्डमा पशु हिंसाविरुद्ध कडा कानुनले सडक कुकुर व्यवस्थापनमा सफलता मिलेको छ भने नेपालमा कानुन भए पनि कार्यान्वयन कमजोर छ।
माघ ५ गते बिहान, अभिष मास्केको फोन आयो ।
‘बाबा, आज सपनामा टाईगर देखेँ,’ अभिषले भन्यो, ‘उसको समाधिस्थलमा बत्ती बालिदिनू ।’ टाईगर हाम्रो घरको कुकुर, जसको २०७८ चैत्र ५ गते सडक दुर्घटनामा मृत्यु भएको थियो।
अभिषको फोनले मलाई बिचलित बनायो । टाईगरको यादले मन झस्कियो । भावनाको तरेलीमा टाईगरको याद बरफझैँ पग्लँदै–पग्लँदै हृदयको नजिक आइपुग्यो ।’
म मनको चोटले गलें । टाईगरलाई अझ केही वर्ष सँगै राख्न नसकेको पीडा आँखाको डिलबाट प्रतिविम्बित भइरहेको थियो ।
२०६६ असार–साउनतिर चितवनको सौराहाबाट २–३ महिनाको उमेरमा टाईगर (अर्को नाम रक्की) हाम्रो घरको सदस्य बनेर आएको थियो । १३ वर्षको बुढ्यौली उमेरमा दुर्घटनामा परी ज्यान गुमायो ।
चरिकोटमा सबैको प्यारो टाईगरका हरेक गतिविधि आज पनि मेरो मानसपटलमा कुनै वृत्तचित्रका दृश्यझैँ नाचिरहेका छन्,
म कलेज पढाउन जाँदा कक्षाकोठासम्म सँगै पुग्ने टाईगर ।
घर र हाम्रो सुरक्षाका लागि अहोरात्र निद्रा त्याग्ने टाईगर ।
बुढ्यौली उमेरमा पनि पारिवारिक स्नेहमा लुटपुटिने टाईगर ।
२०७२ को भूकम्पपछिको पीडादायी समयमा हामी सुतेको टेन्टबाहिर रातभर पहरा दिने टाईगर ।
चरिकोटमा सबैलाई खुसी बनाउने, सबैको प्रिय टाईगर ।
करेसाबारीमा धुपीको रूखमुनि रहेको टाईगरको समाधिस्थल मेरा आत्मीय तरङ्गहरूको अद्भूत स्नेहिल थलो बनिरहनेछ । बरण्डामा निस्किएर करेसा बारीलाई नियालिरहँदा टाईगरको बुढ्यौली अनुहारले मलाई सुरक्षित आश्रयको अपेक्षासहित हेरिरहेको भान हुन्छ । मैले उसलाई सुरक्षित गर्न नसकेको ग्लानिले मन खण्डित हुन्छ, आकाशको फिरन्ते कालो बादल जसरी ।
मलाई याद छ त्यो समय, म टाईगरकै लागि मासु लिन पसलमा उभिएको थिएँ । पत्रकार राजन शिवाकोटीले खबर दिए– टाईगरलाई बोलेरो जिपले ठक्कर दियो । म हतार– हतार दुर्घटनास्थलतिर दौडिएँ । टाईगर महाप्रस्थान भइसकेको रहेछ । छेउमा बसेर अभिष र अरुणा रुँदै थिए । मैले पनि आँसु थाम्न सकिने । टाईगरको मृत शरीरको छेउमा दियो बालिदिएर हामी धेरैबेरसम्म रोइरह्यौ !

कसरी दुर्घटनामा पर्यो होला ? किन मैले सुरक्षित गर्न सकिनँ ? मृत्युको क्षणमा उसको ढुकढुकीले मेरो ओत खोज्यो कि खोजेन होला । उसका शरीरले आत्मलाई छोडेपछि उसका भावनाहरू कता भौँतारिरहेको होला । कि कुनै शरीरमा प्रवेश गरेर अर्को संसारको सुखद् दैनिकीको मिठासमा हराउँदै छ कि !
म चाहन्न उसको आत्मा मेरो करेसाबारीको धुपीको रुखमुनि नै अलप बनोस् । म चाहन्छु, उसको आत्मा कुनै शरीरमा प्रवेश गरेर सुखद् दैनिकीको मिठासमा हराउन सकोस्।
उसले कलेजका कोठामा मेरो अध्यापन सुन्दै रमाएको पल भुलोस् । भूम्पकमा हामीले भोगेको पीडाको साक्षी बस्दा उसले देखेको विषाद् बिर्सियोस् । मेरा हातले, परिवारका अरू सदस्यको हातले उसको शरिरमा सुमसुमाएको मिठो पल भुलोस् ।
चरिकोटका प्रत्येक मानिसले आत्मीयतासँगै उसलाई दिएको स्नेह भुलोस् ।
टाईगरले हाम्रा लागि धेरै त्याग गर्यो । आफ्ना खुसी परित्याग गर्दै हाम्रो खुसी र सुरक्षाका लागि पुच्छर हल्लाउदै अघि–पछि गर्ने उसको दैनिकी हाम्रो आदत बनेको थियो ।
धेरै कुराबाट हामीलाई सुरक्षित गर्न सकेको टाईगरको सुरक्षामा हामीले लार्पबाही गरेको पश्चतापले सधैं मन पोलिरहेको हुन्छ । हामी अलिकति सचेत बनेको भए उसले दुर्घटनामा ज्यान गुमाउनु पर्दैन थ्यो कि !
पश्चतापको यो विन्दुले बेला-बेलामा मनमा तुफानी व्यग्रता ल्याउँछ । पुर्नजन्ममा विश्वास नहुँदा-नहुँदै पनि टाईगरको आत्मीय न्यानोपनले हरेक पल म उसको पुर्नजन्मको कामना गरिरहेको हुन्छु । हे भगवान ! सक्छौ, मेरै परिवारमा उसको पुर्नआगमन होस्, सक्दैनौ कुनै सम्पन्न परिवेशमा उसको पुर्नजन्म हुन सकोस् ।
अहिले हाम्रो घरमा अर्को कुकुर छ, युजि । टाईगर भएकै बेलामा युजि पनि हाम्रो घरमा भित्रिएको थियो । बेलाबेला म युजिको अनुहारमा टाईगरको प्रतिबिम्ब पहिल्याउन खोज्छु । अलि छुच्चो भएपनि युजि हाम्रो परिवारको सुरक्षामा चनाखो छ । युजिको स्नेहको बरफिलो छिर्काले हाम्रो परिवारमा एउटा तहको सन्तुष्टि दिएकै छ । तर, टाईगरलाई भुल्ने साहस मनले कल्पनै गर्न सक्दैन ।
……………………….
मेरो यात्राको हरेक पाइलामा सडक कुकुरहरूसँग जम्काभेट भइरहन्छ । भोग, रोग, भयका पीडाले रन्थनिदै मासु पसल र सडक पेटीमा आपसी कलह गर्दै दुई टुक्रा हड्डीको लालसामा बसेका ती अबोध कुकुरले मेरो मनमा अर्को तुफानी संताप छोडिदिन्छ ।
टाईगर पनि घर बाहिर हुँदा कतै यसैगरी हड्डीको लुछाचुँडी गर्दै रन्थनिएको पो थियो कि ! मनमा पश्चतापका अनगिन्ति खुट्को तैरिरहन्छन् ।
सडकमा भेटिने धेरै कुकुरहरु कुनै समय घर पालुवा थिए भन्ने अड्कल लगाउन कठिन छैन । निश्चित उमेरपछि ती कुकुरहरु सडकमा छोडिएका छन् । कुकुर र मानिसको शरीरमा के फरक छ र ? बुढ्यौली उमेरमा झन् बढी स्याहार र स्नेह चाहिने बेला सडकमा छोडिएका ती कुकुरको मनले आफ्ना मालिकलाई के भनिरहेको हुन्छ होला ।
मालिकले जतिसुकै नराम्रो गरे पनि सडकमा छोडिएका ती कुकुरहरू कतै मालिकको गन्ध आउँदा पनि पुच्छर हल्लाउँदै इमान्दारिता र आत्मीयता देखाउन भने छोड्दैन ।
कति महान छन् ती कुकुरहरू ! त्यही मालिकको निर्दयताले भोक, रोग र भयसँग सडकमा संघर्ष गरिरहँदा पनि मालिकको गन्धमा पुच्छर हल्लाउँदै इमान्दारिता देखाउन तम्सिन्छ । मानिसमा यो चेत कहाँ छ र ! हामी त गुण लगाउनेलाई पनि पछाडिबाट धकेली दिन्छौं ।
सडकमा छोडिएको त्यो कुकुरले बाटोमा भेट्दा पुच्छर हल्लाउदै आउँदा पनि लात्तले हिर्काउदै पन्छाएर बाटो लाग्ने मान्छे कति निर्दयी हुन्छ आखिर ।
म दुर्घटनामा मृत्यु भएको टाईगरका लागि त यतिधेरै प्रताडित बनेको छु । थाहा छैन, ती मालिकहरुले कसरी सकेका होलान आफूले पालेको कुकुरलाई स्नेह र स्याहार चाहिने बुड्यौली उमेरमा थपक्क सडकमा लगेर छोडिदिन ।
शिव मुखियाको एउटा लेख पढेको थिएँ, नेदरल्याण्डमा कुकुरको संरक्षण गर्दै देशलाई सडक कुकुर मुक्त बनाइएको प्रशंग उल्लेख भएको ।
२०औ शताब्दीको अन्त्यतिर नेदरल्याण्डले पशु हिंसाविरुद्ध कडा कानुन पारित गरेको थियो रे । यदि पशुलाई बेवास्ता वा दुर्व्यवहार गरिएमा ३ वर्षसम्म जेल वा जरिवाना । यो कानुनले नेदरल्याण्डमा सडक कुकुर व्यवस्थापनमा निक्कै ठूलो सफलता मिलेको थियो रे ।
नेपालमा पनि पशु दुर्व्यवहारसम्बन्धी कानुन छ । तीन महिनासम्म को जेल सजाय । सजाय कम छ । यही कम सजाय पनि पशु त हो भनेर कार्यान्वयनमा तदारुकता देखाइँदैन । यो अवस्थाले के देखाउछ भने पशु क्रुरताको अन्त्यमा सरकारकै चासो कम छ ।
प्रतिक्रिया 4