+
+
Shares
कथा :

साथ र प्रेमको नाममा…

त्यो स्वनिल समयमा हामीलाई लाग्थ्यो– हामी सदाबहार वसन्त हौं, कहिल्यै नओइलाउने फूल हौं ।

सापेक्ष सापेक्ष
२०८२ माघ १० गते ९:२४

एउटा टेबल, दुई किनारा । एकातिर ऊ एक्लै थियो । अर्कोतिर उनीहरू तीन जना लहरै बसेका थिए ।

नयाँ क्याफेको अपरिचित परिवेशमा उनीहरूको कुराइ वेटरले ल्याउने मेनुमा अडिएको थियो । त्यो निस्तब्धतालाई चिर्न उनीहरू उपलब्ध समयमा ‘के खाने’ गफ गर्दै थिए ।

अचानक, आफूहरू बसिरहेको क्याबिनको बाक्लो पारदर्शी सिसाबाट उसले एउटा दृश्य देख्यो । एउटा वेटर हुरी जसरी उनीहरू भएतिर दौडिदैं आइरहेको थियो । वेटरको हातमा मेनु थिएन, एउटा भीमकाय सर्चलाइट थियो । उसले केही प्रतिक्रिया जनाउन नपाउँदै वेटरले सोझै उसको आँखामा चहकिलो प्रकाश खन्याइदियो । त्यो तीक्ष्ण उज्यालोले उसका आँखाहरू तिरमिराए । दृश्यहरू धमिलिए । उसले हातको आडमा प्रकाश छेक्न खोज्यो । त्यसो नगर्न अनुनय गर्यो ।

सायद उसको बिन्ती सुन्ने मुडमा वेटर थिएन । प्रकाशको त्यो अत्याचार हदभन्दा बढी भएपछि ऊ क्रोधित हुँदै कुर्सीबाट जुरुक्क उठ्यो र वेटरमाथि जाइलाग्न खोज्यो । ऊ केही कदम मात्र के बढेको थियो, एक्कासी अन्धकार छायो । उसले आँखा छोपिरहेको हात हतायो । तर, उसको आँखा खुल्दा त्यहाँ न वेटर थियो, न त उसका तीन साथीहरू नै । उसले पछाडि फर्किएर हेर्यो, बाँकी थिए त केवल रित्ता कुर्सीहरू । सग्लो शून्यताहरू ।

उसले त्रस्त आँखा चारैतिर डुलायो । दृष्टि जति दौडाए पनि उसले अनन्तसम्म उस्तै दृश्य मात्र देख्यो । एकातिर एउटा कुर्सी, अर्कोतिर तीन वटा कुर्सी । ती दृश्यहरू बिल्कुल उसले भर्खरै छाडेर आएको क्याबिनको ‘फोटोकपी’ जस्तै थिए ।

उसले चित्कार गर्दै उनीहरूको नाम पुकार्यो । तर, आफ्नै आवाजको प्रतिध्वनि बाहेक उसले केही सुनेन । जति सकिन्थ्यो, ऊ हिँडिरह्यो । तर, क्याबिनको उही विरक्त लाग्दो दृश्य फेरिएन । जति सकिन्थ्यो, ऊ चिच्याइरह्यो । तर, प्रतिउत्तरमा शून्यता बाहेक केही आएन ।

मेरो छेउमा पहिल्यैको ऐना मात्र थियो । र, त्यो ऐनामा मैले आफैंलाई मात्र देखिरहेको थिएँ  ।

ऊ गल्यो, थकित भयो र अन्ततः रिस र निराशाको भुमरीमा फस्यो । क्याफेमा आखिर के भयो? उसले भेउ समेत पाएन । त्रासले उसको सातो उड्यो । र, उसको जीवनको अन्तिम ढुकढुकी मात्र बाँकी हुँदा संयोगवश मैले उसलाई त्यस्तै अवस्थामा भेट्टाएको थिएँ ।

त्यस मध्यरात म चियाको तलतल मेटाउन एक विशेष स्थानतिर जाँदै थिएँ । मूल गेट खोल्नुअघि मैले हेडफोनमा प्ले बटन थिचेको थिएँ । अनमोल गुरुङको कुनै दिन को सुरिलो धुन सुरु भइसकेको थियो । तर, सङ्गीतको धुनलाई चिर्दै एउटा मसिनो, काँप्दो आवाज मेरो कानमा ठोक्कियो । त्यो उसकै अन्तिम सासको सङ्घर्ष थियो ।

जब मैले उसलाई मूल गेटबाहिर जीवन र मृत्युको दोसाँधमा लडिरहेको देखेँ, चियाको प्यास हरायो । उसलाई काँधमा हालेर आफ्नै कोठामा ल्याएँ । ऊ अझै अचेत अवस्थामा थियो । मैले उसलाई न्यानो हावा र ओठमा मनतातो पानी खन्याइदिएँ । केही बेरको प्रयासपछि ऊ होसमा आयो ।

अकस्मात् उसले आँखा खोल्दा म कुनै डाँडाको सडक किनारमा उभिएको आभास भयो । जहाँ ऊ पनि फुटपाथमै थियो । उभिएरै कसैलाई हतास भई फोन गरिरहेको थियो । सायद फोन उठिरहेको थिएन । उसको अनुहारको भावभङ्गीमाले त्यस्तै बताइरहेको थियो । ऊ मोबाइलको स्क्रिनमा घुरेर हतार-हतार टेक्स्ट टाइप गरिरहेको थियो । उसको सम्पूर्ण ध्यान मोबाइलमा थियो । वरपरको दुनियाँसँग ऊ पूर्ण बेखबर थियो । ठीक त्यहीबीच तीव्र गतिमा हुइँकिएर आएको एउटा बसले उसलाई निर्ममतापूर्वक कुल्चिएर गयो । त्यो बीभत्स दृश्य सहन नसकेर मैले आँखा चिम्लिएँ ।

आँखा खुल्दा ऊ र म मेरै कोठामा थियौं । उसलाई पूर्ण होसमा ल्याउन म हरसम्भव प्रयास गर्दै थिएँ । उसका आँखाहरू घरि खुल्थे, घरि बन्द हुन्थे । वातावरणलाई अलिक शान्त बनाउन मेरो दिमागमा के सुर चल्यो कुन्नि, मैले लाना डेल रेको राइड बजाएँ ।

बालुवाहरू उडिरहेझैं लाग्ने त्यस गीतको सुरुवाती धुनसँगै लाना डेल रे भन्छिन्– ‘आई वाज इन द विन्टर अफ माई लाइफ, एन्ड द मेन आई मेट अलोङ द रोड वेर माई वन्ली समर…

तर, त्यो विरहको धुन बजिरह्यो । अपेक्षित मोनोलग आएन ।

बरू ऊ ज्वरो आएको बिरामीझैं बर्बराउन थाल्यो । म एकाग्र भएर सुन्न थालेँ…

मलाई भ्रम थियो– म उनीहरूलाई प्रेम गर्छु, साथ दिन्छु । अथवा, उनीहरू मलाई प्रेम गर्छन्, मलाई साथ दिन्छन् ।

तर आज मलाई बोध हुँदै छ– म कसैलाई प्रेम गर्थिनँ, कसैलाई साथ दिन्थिनँ । उनीहरू पनि मलाई प्रेम गर्दैनथे । हामी कोही कसैका लागि बनेकै थिएनौं ।एक अर्थमा मैले नै उनीहरूको साथ छाडेको हुँ । जब वेटरले मेरो आँखामा त्यो तीक्ष्ण प्रकाश बाल्यो, म उनीहरूलाई खबरै नगरी क्याबिन बाहिर निस्केँ । मैले उनीहरूलाई साथ दिन गुहारिनँ । कुनै भौतिक आक्रमण हुन्छ कि भन्ने भयले अघि सर्दा म उनीहरूबाट धेरै पछि छुटिसकेको थिएँ ।

त्यसमा उनीहरूले साथ दिन नआउनु उनीहरूको गल्ती थियो/थिएन, म जानकार छैन । सिधा भन्दा सिक्काको अर्को पाटो मलाई थाहा छैन । यस्तो पनि भएको हुन सक्छ– मलाई उनीहरूबाट अलग गराउन उनीहरूले नै त्यो ‘लाइट’ को प्रपञ्च रचेका हुन सक्छन् ।

म अलमलमा छु, त्यो घटनापछि उनीहरू र ममा कसले प्रेम गर्न छाड्यौं ? कसले साथ दिन छाड्यौं ? मलाई लाग्छ, हामीले एक-अर्कालाई साथ दिँदादिँदै प्रेमको अभिनय गर्न थालेका थियौं । र, संशय ममा छँदै छ– कि म उनीहरूलाई साँच्चै प्रेम गर्थेँ ?

प्रेम दर्शनहरूको ठेली पल्टाएर हेर्ने फुर्सद अब मलाई छैन । र, अब त उनीहरूसँगको साथ र प्रेम पनि शेष रहेन । हामी अलग भइसक्यौं । मलाई लाग्दैन कि म उनीहरूलाई प्रेम गर्थेँ न त उनीहरूको साथलाई नै । उनीहरू पनि सायदै गर्थे । अर्थात्, हामी एक-अर्कासँग आफ्नो फुर्सदिलो समय कटाउन मात्र खोज्थ्यौं, जसलाई हामी भूलवश प्रेम र साथको नाम दिन्थ्यौं ।

अहिले आएर झन् लाग्दै छ, हामी एउटा महाभ्रममा थियौं कि हामीले एक-अर्कालाई चिन्थ्यौं । जे भयो, मलाई थाहा छैन त्यो के हो । तर त्यसले एउटा नाङ्गो सत्य देखाएर गयो । नत्र त म भ्रम पिएरै मर्ने रहेछु ।किनकि, हामी चार जनाको सम्बन्ध हजारौं वर्ष पुरानो थियो । हामी फरक-फरक बाटो हुँदै आएर एउटा खुलामञ्चमा मिसिएका थियौं । सुरुमा हामीबीच औपचारिकता थियो, जो समयको वेगसँगै मर्दै गयो । र, हामी अनौपचारिक भयौं ।

त्यसपछि खुलामञ्च छाडेर हामीले डाँडापाखा, खोलाका किनार र बस्तीका भित्री गल्लीहरूमा पाइला नाप्न थाल्यौं । थिएटरको अन्तिम सिटदेखि टेम्पोको अघिल्लो सिट र क्लबको डान्सबारसम्म कब्जा जमाउन थाल्यौं । युग फेर्ने विद्रोह होस् वा मलामी र जन्त, हामी सँगैसँगै हुन थाल्यौं ।

ती सारा घटनाक्रमले हामीलाई एकाकार बनाइरहेको थियो । रङ मिल्दै गइरहेको रुबिक क्युब जस्तै सग्लो बनाइरहेको थियो । र, त्यसबाट एउटा गजबको सङ्गीत सिर्जना भइरहेको थियो । जसलाई सुनेर झुम्नेहरूको सङ्ख्या बढ्दै थियो, रुनेहरूको सङ्ख्या थपिँदै थियो । हामी एउटा सुन्दर चित्र सरह बन्दै गइरहेको थियौं । जसलाई हेरेर जो-कोही पनि एकै क्षण हेर्न लालायित हुन्थे । चित्रलाई आफ्नो बनाउन मरिहत्ते गर्थे ।

त्यसरी नै हामीले केही सय वर्ष सँगै हाँसेर बितायौं । केही सय वर्ष सँगै रोएर बितायौं । केही सय वर्ष सँगै हिँडेर र केही सय वर्ष हजारौं वर्षपछि पूरा गरिने सपनाहरूको तानाबाना बुनेर बितायौं ।

त्यो स्वनिल समयमा हामीलाई लाग्थ्यो– हामी सदाबहार वसन्त हौं, कहिल्यै नओइलाउने फूल हौं । तर, एउटा सानो घटनाले आज त्यो हजारौं वर्षको सम्बन्ध सिसाझैं टुक्रा-टुक्रा भयो । हामीले जहिल्यै एउटा सग्लो पर्खालको मात्र कुरा गरिरह्यौं, तर कहिल्यै पनि त्यो पर्खाल बन्ने ईंटाबारे कुरा गरेनौं । आखिरीमा त्यही हेपिएको ईंटाले जग हल्लाईदियो र विध्वंस मच्याएर गयो ।

हामी जहिल्यै जोखिममा थियौं, तर त्यसको हेक्का कहिल्यै राख्न सकेनौं । र, हुँदै नभएको प्रेम र साथको बिल्ला भिरेर भ्रममा बाँचिरह्यौं । त्यही भ्रम तोडिएको खुसी सुनाउन मेरो यो अन्तिम घुटघुटी तिमीले सुनेका हौं । मैले त्यो संयोग बनाएको हुँ ।

कुनै दिन, वर्षौं अघिदेखि मैले सुन्दै आएको गीत हो । खास कुरा त, अनमोलले यो गीत मेरै डीएनए चोरी गरेर बनाएका हुन् । त्यसबेला सयौं वर्षदेखि म मस्त निद्रामा थिएँ । म उनीहरूलाई सधैं भन्ने गर्थेँ, कुनै दिन हार्यौ भने घर फर्कन नडराउनू । मलाई उनीहरूको घर म भएको लाग्थ्यो । अनि अनमोलले गीत निकाले पछि उनीहरूलाई मेरो याद आउँदा सुन्नू भनेर पनि भनिरहेका हुन्थेँ ।

त्यो बीचमा हामीलाई आआफ्नो भविष्य बनाउनु पनि थियो । त्यसपछि उनीहरू आ-आफ्नो कर्म गर्न छुट्टिएका थिए । लामो समयसम्म उनीहरू घर फर्किएनन् । तर, म उनीहरूलाई सपनामा पनि देखिरहेको हुन्थेँ, उनीहरूको याद गरिरहेको हुन्थेँ । उनीहरूको साथ खोजिरहेका हुन्थेँ ।

एकफेर मैले उनीहरू सङ्कटमा पर्न लागेको सपना देखेँ । उनीहरूलाई अलग्याउन डरलाग्दा बाटाहरू तयार हुँदै थिए । त्यो बाटोलाई कसरी रोक्ने मलाई थाहा थियो । अनि त म हडबडाएर उनीहरूलाई भेट्न दौडिएको थिएँ । त्यसक्रममा उनीहरूलाई मैले एउटा भवनमा भेटेर त्यो क्याफे लिएर आएको थिएँ ।

त्यो हाम्रो वर्षौंपछिको पहिलो भेट सरह थियो । तर, त्यसमा जे नहुनु थियो, त्यही भइदियो ।

धन्न! त्यो घटनापछि तिमीले पनि कुनै दिन सुन्न थालेछौ । यो गीत जजसले सुन्न लाग्दै छ, ऊ सामु पुग्ने मेरो सामर्थ्य छ । खैर, तिमीलाई थाहै छैन, त्यो क्याफेबाट निस्केर तिमी यहाँ कसरी आएँ?

म क्याफेभित्र दृश्यहरूको द्वन्द्वमा थिएँ । त्यहाँ विचारहरू एकआपसमा लडिरहेका थिए । रिसहरूको फौज बढिरहेको थियो । सहनशीलता मर्दै गइरहेको थियो ।

त्यो अनन्त लाग्ने क्याबिनको भूलभुलैयामा त्यस्तो अवस्थाबीच पनि थाकुञ्जेल म हिँडिरहेँ । कतैबाट कुनै आवाज आइरहेको थिएन । अँध्यारो थियो, मसँग उज्यालो थिएन । छामछुम गर्दै म अन्धकारमा अघि बढिरहेँ । दुई-तीन वर्ष त्यसरी नै हिँडेँ । किनकि त्यसपछि म जुन ठाउँमा पुगेँ, त्योभन्दा अघि कुनै क्याबिनहरूको दृश्य थिएन । र, मधुरो उज्यालो देखिन थालिसकेको थियो ।

लागेथ्यो, म भुलभुलैयाको अन्तिम घेरामा छु । केही कदम पछि म उनीहरूलाई तुरुन्तै भेट्ने छु । किनकि म सेनाको ब्यारेक पुगेको थिएँ । सायद त्यो नै भुलभुलैयाको अन्तिम स्थान थियो । त्यहाँ मेरो नजरमा कुनै सैनिक परेनन् । नभएको पनि ठीकै भयो । गोली-गठ्ठाको बक्साबाट मैले एउटा स्नाइपर उठाएँ । र, डाँडाको टुप्पामा पुगेर स्कोपबाट चारैतिर नियाल्न थालेँ । अनि मैले जे दृश्य देखेँ, त्यो कुनै सत्य नहोस् भन्ने म अहिले पनि चाहन्छु ।

रङ्गिविरङ्गि बगैंचाको बीच उनीहरू तीन जना मस्तले हाँसिरहेका थिए । मानौं, उनीहरूले क्याफेको घटना बिर्सिसके । उनीहरू म भित्र पहिल्यैको स्वरूपमा थिए । तर, उनीहरूको भित्र ‍म लाचार, निरीह र पागलको स्वरूपमा थिएँ । आफ्नै त्यस्तो रूप देखेर मलाई आफैंसँग घृणा जागेर आयो । सायद म उनीहरू भित्र भएको अलग र फरक थिएँ… वा छु ।

मलाई भ्रम थियो– म उनीहरूलाई प्रेम गर्छु, साथ दिन्छु । अथवा, उनीहरू मलाई प्रेम गर्छन्, मलाई साथ दिन्छन् ।

अनि, मैले तीन मिनेटको अन्तरालमा उनीहरूमाथि स्नाइपरबाट गोली चलाइदिएँ । उनीहरू मरे मरेनन् मैले निश्चित गर्न सकिनँ । किनकि ठीक त्यही बेला तिमीले कुनै दिन बजायौ । अहिले लाना डेल रे बजाइरहेका छौ ।

अब लाना डेल रेलाई सुनाइदिनू–

आज साथ र प्रेमहरू भड्किएका आत्मा बनेका छन् । यिनीहरू एकअर्कासँग ‘टिक-ट्याक-टो’ खेलिरहन्छन् । कसैले जिते झ्याली गरेर अर्को धर्सा कोरिरहन्छन् । यसकारण तिमी स्वतन्त्र हुन खोज्दाखोज्दै पनि पागल भयौ…

विगत कथन गर्दै गरेको उसको आवाज एक्कासी बन्द भयो । म, जो यसबेलासम्म आँखा चिम्लिएर उसलाई सुनिरहेको थिएँ, आवाज नआएपछि झसङ्ग भएँ । के भएछ भनेर आँखा खोल्दा ऊ कोठामा थिएन ।

मेरो छेउमा पहिल्यैको ऐना मात्र थियो । र, त्यो ऐनामा मैले आफैंलाई मात्र देखिरहेको थिएँ  ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?