News Summary
Generated by OK AI. Editorially reviewed.- प्राध्यापक अच्युतरमण अधिकारीले नेपाली साहित्यमा लामो समय प्राध्यापन र पत्रकारितामा योगदान पुर्याए।
- उनी त्रैमासिक पत्रिका 'उन्नयन' को सम्पादन र प्रकाशनमा एकल रूपमा सक्रिय थिए।
- वि.सं. २०८२ पुस २८ गते काठमाडौंमा निधन भएपछि नेपाली साहित्यले एक महत्वपूर्ण व्यक्तित्व गुमायो।
दौरासुरुवाल, कोट र टोपीको पहिरनमा एक हातेझोला बोकेर दुब्बो काँटको व्यक्ति बागबजारबाट लुखुरलुखुर रत्नपार्कतिर आइरहेको हुन्थ्यो । कुनै परिचित साथी वा साहित्य क्षेत्रको व्यक्ति भेटिनेबित्तिकै झोलाबाट एक थान पत्रिका निकालेर उपहारस्वरूप ट्क्र्याउँथ्यो । अनि, आफ्नो बाटो लाग्थ्यो । यस्तो दृश्य दोहोरिरहन्थ्यो ।
यस्ता व्यक्ति थिए- प्राध्यापक अच्युतरमण अधिकारी पत्रिकाको नाम थियो- ‘उन्नयन’ ।
उनको जीवन धान्ने पेशा प्राध्यापन थियो । लामो समय पद्मकन्या क्याम्पसमा बिताए । त्यसका अतिरिक्त उनी लामो समय साहित्यिक पत्रकारितासँग जोडिए । साथै त्रैमासिक पत्रिका ‘उन्नयन’ को सम्पादन प्रकाशनमा पनि आफ्नो सिप उर्जा र शक्ति समर्पण गरे ।
०००
उनी जन्म वि.सं. २००८ साल वैशाख ५ गते खोटाङ जिल्लाको डुम्रेमा जन्मेका हुन् । माता दुर्गादेवी अधिकारी र पिता मित्रनाथ उपाध्यायका ७ छोरा र पाँच छोरीमा उनी माहिला छोरा हुन् । उनका पिता ज्योतिष थिए । आमा भने निरक्षर थिइन् ।
विसं २०१३ सालमा उनको गाउँको माथिल्लो गाउँमा कालिका पाठशाला खुल्यो र उनको पढाइ त्यहाँ प्रारम्भ भयो । उनले ६ महिना मामाघरका कान्छा हजुरबुवासँग ओखलढुंगाको छहरेमा गई संस्कृत पढेका थिए । उनले त्यतिबेला ‘कृष्णचरित्र’ कण्ठस्थ पारेका थिए ।
वि.सं. २०१६ सालमा सेनामा भएका एकजना नातेदारको साथ लागि घर छाडेर हिंडे । त्यसपछि धरानमा गएर त्यहाँ अवस्थित संस्कृत विश्वविद्यालय पिण्डेश्वर महाविद्यालयमा उनी भर्ना भए ।
उनले त्यहाँ पूर्वमध्यमा, उत्तरमध्यमा गर्दै शास्त्रीसम्म अध्ययन गरेका थिए ।उनी धरानमा साहित्यकार जगदीश नेपालीको घरमा डेरा गरेर पनि बसेका थिए ।
उनका त्यतिबेलाका गुरूहरूमा छबिलाल पोखरेल, हेमप्रसाद दाहाल र भोग्यप्रसाद भण्डारी आदि थिए । पछि उनी काठमाडौं आए र जीवनका उत्कर्ष काल काठमाडौंमै व्यतीत गरे ।
००००
वि.सं. २०३६ सालमा जनमत सङ्ग्रहको घोषणा भयो । त्यस घोषणापश्चात् सुरु गरिएको सडक कविता क्रान्ति र स्वतन्त्रताका लागि पुनर्जागृत भएका साहित्यिक एवम् साँस्कृतिक माहोलमा अधिकारी पनि मिसिए ।
अशेष मल्लको प्रयोगात्मक नाटक ‘सडकदेखि सडकसम्म’ चर्चा र चासोको विषय भएको थियो काठमाडौंमा ।
त्यो नाटकमा पेशेवर कलाकार मात्रै होइन कवि, लेखक, प्राध्यापक, सम्पादक आदिले अभिनय गरेका थिए । त्यसमध्ये एक व्यक्ति अच्युतरमण अधिकारी पनि थिए ।
म आफैं पनि सो नाटकको एक कलाकार थिएँ । र त्यो नाटकको पूर्वाभ्यास पद्मकन्या क्याम्पसको कक्षा कोठामा हुन्थ्यो । हामी सबै जागिर हुनेहरू जागिरको समयपछि भेला भएर नाटकको अभ्यास गर्थ्यौं ।
यसरी त्यो क्याम्पसमा पूर्वाभ्यासका ठाउँ मिलाउने अच्युरमण अधिकारी नै थिए। उनीसँग पहिलो चिनजान त्यसैबेला भएको हो ।
सरल व्यवहार, सज्जन चरित्रका उनीसँग राम्रो सम्बन्ध बन्यो । तर साहित्यिक पत्रकार संघको चुनावको सिलसिलामा उनी अर्कै प्यानलमा अध्यक्षको उम्मेदवार भए । हामी भने डा. ध्रुवचन्द्र गौतमको नेतृत्वको प्यानलमा समेटियौं । पछि हाम्रो प्यानलले उम्मेदवारी फिर्ता लिएपछि अच्युतरमण अधिकारी साहित्यिक पत्रकार संघको अध्यक्ष भए ।
उनी पञ्चायतले रजत जयन्ती मनाउने सिलसिलामा आयोजना गरिएको भव्य कवि गोष्ठीमा पनि सामेल थिए । सो गोष्ठी राष्ट्रिय सभागृहको भव्य प्रेक्षालयमा सम्पन्न भएको थियो । प्रतियोगिताका लागि देशभरबाट २५ कविहरू छनोट गरिएको थियो । कविताको छनोटमा उनको पनि भूमिका थियो । ती छानिएका कवि र कविताले १४ अञ्चललाई समेटेको थियो । सबै कविहरूलाई हजार रुपैयाँका दरले पुरस्कृत समेत गरिएको थियो । ती २५ कविताहरू २०४३ माघ २४ गते शनिबारको गोरखापत्रमा प्रकाशित थियो।
अच्युतरमण अधिकारी र म पैदल हिंडेर काठमाडौं उपत्यका चहार्ने साहित्यकारको रूपमा चर्चित थियौं । हामी जुनसुकै कार्यक्रममा पनि सहभागी हुन पुग्थ्यौं । त्यसैले कतिले ठट्टा गरेर गोविन्द र अच्युतरमणको खुट्टामा मिटर जडान गरिदिने हो भने कस्कोमा बडी अंक चढ्छ होला भनेर ठट्टा समेत गर्थे ।
०००
अच्युतरमण अधिकारीले ‘उन्नयन’ पत्रिकाको प्रकाशन थालेपछि उनी थप व्यस्त बने । रचना संकलन, सम्पादन, वितरण यी सबमा उनी एकल थिए । साहित्यिक पत्रिकाको जति महत्व भए पनि यसलाई सहयोग र सम्बर्धन गर्ने संस्था वा निकाय नेपालमा कहिल्यै भएनन् । तर पनि अच्युतरमणले उन्नयनका केही यस्ता विशेषांक प्रकाशित गरे, जुन नेपाली भाषा साहित्य रहेसम्म सम्झना गरिनेछ।
हुन त कति साहित्यिक पत्रिकाहरूले केही आर्थिक टेवा पाएर विशेषांक प्रकाशित गर्ने गरेको पनि पाइन्छ । तर अच्युतरमण अधिकारीले त्यसतर्फ भन्दा नेपाली वाङ्मयलाई सेवा पु-याएका र अरूले उतिसारो ध्यान नदिएका पात्रहरू तथा विशिष्ट पात्रहरूकै छनौट गरे ।
उनले भूपि विशेषांक, मदनमणि दीक्षित विशेषांक, भवानी भिक्षु विशेषांक, सुब्बा ऋध्दिबहादुर मल्ल विशेषांक, केशवराज पिँडाली विशेषांक, इन्द्रबहादुर राई विशेषांक प्रकाशित गरे । ती प्रतिभाहरूको अध्ययन अनुसन्धानका लागि यी विशेषांक अपरिहार्य देखिन्छन्।
एक्लो व्यक्तिले त्यत्रो आँट गर्नु, त्यस्तो समर्पण गर्नु कदापि सहज थिएन । तर उनले सहजतापूर्वक ती काम सफलतापूर्वक फत्ते गरे।
सम्पादन सम्बन्धमा उनको दृष्टिकोण उदार थियो । मैले सन् १९९२ मा बेलायत भ्रमण गएर फर्केपछि लेखेको ‘फेरो’ नियात्रा कृति उन्नयनमा पूरा पाठ छाप्न कसो होला भनेर सोधें । उनले यो प्रस्तावलाई सहर्ष स्वीकारे ।
‘फेरो’मा केही यौनजन्य प्रसङ्ग छन् । उनले, लेखकले यति सहजसँग लेखेको यति राम्रो प्रसङ्गलाई म सम्पादकले छुनै मिल्दैन भनेर सम्पादकीय उदारता समेत देखाएका थिए ।
‘फेरो’को सिङ्गो पाठ उन्नयनमा प्रकाशित भएपछि त्यसले निकै चर्चा बटुल्यो । उनले घरघरमा, बाटोमा भेटेजति साहित्यकार र साहित्यप्रेमीलाई उन्नयन वितरण गर्थे । त्यसले निकै ठूलो जमात पाठकसम्म ‘फेरो’ पुग्यो र निकै चर्चित भयो ।
त्यति मात्र नभएर कुनै बेला रुसी साँस्कृतिक संघले प्रकाशित गर्ने नेपाली भाषाको पत्रिका ‘सोभियत-भूमि’ पत्रिकाका सम्पादक शिवप्रसादको नाममा स्थापित ‘शिवप्रसाद उन्नयन पुरस्कार’ वर्ष भरि उन्नयनमा प्रकाशित रचनाको रूपमा ‘फेरो’ पुरस्कृत समेत भयो ।
यसरी उनले साहित्यिक कर्म, साहित्यिक पत्रकारिताको धर्म पूरा गर्दै गर्दा मलाई पनि निकै ठूलो गुन लगाए ।
०००
वि.सं. २०५३ साल वैशाख ८ गते काठमाडौंमा ‘छन्द वचाउ अभियान’ को स्थापना भएको थियो । सो अभियानलाई बल पु-याउन २०५३ साल असार २२ गतेदेखि कोक गोष्ठी (कोठे कविगोष्ठी) को सञ्चालन भयो । यस गोष्ठीका संयोजक अच्युतरमण अधिकारीद्वारा सम्पादित तथा प्रकाशित ‘उन्नयन पत्रिका’ थियो । कोक गोष्ठीका सुरुवातकर्ता पाँच साहित्यिक हस्तीहरू कमलमणि दीक्षित, रमेश खकुरेल, कोषराज न्यौपाने, प्रह्लाद पोख्रेल तथा अच्युतरमण अधिकारी थिए ।
पछि छन्दवादी निकै कविहरू कोक गोष्ठीमा सामेल भए । तर एक प्रकारले आरम्भकर्ता र स्थापनाकालका पाँच प्रतिभाहरूमा अच्युतरमण अधिकारीको भूमिका महत्वपूर्ण थियो । उनी यसरी परम्परागत छन्द कविताको सम्बर्धन र संरक्षणमा संलग्न भएका थिए।
०००
अच्युतरमण अधिकारी साहित्यिक पत्रकारसँघसँग जोडिएर विभिन्न पदमा निर्वाचित हुँदै अन्ततः वि.सं. २०३८ सालमा सभापतिमा निर्वाचित भए ।
उनको आफ्नो सभापतित्वकालमा वि.सं. २०३८ माघ १७ गते राजनीतिज्ञ तथा नेपाली आधुनिक साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक अभिनन्दन भयो । प्रतिबन्धित रहेको नेपाली कांग्रेसका महान नेता विश्वेश्वर प्रसाद कोइरालालाई त्यतिबेलाको पञ्चायती व्यवस्थामा अभिनन्दन गर्नु कम जोखिमको कुरा थिएन ।
त्यसमाथि राजा कुलपति भएको त्रिभुवन बिश्वविद्यालयका उनी प्राध्यापक थिए । तर उनले ठूलै जोखिम मोलेर वी.पी.को अभिनन्दन सफलतापूर्वक सम्पन्न गर्न नेतृत्वदायी काम गरे ।
उनकै सभापतित्वकालमा वि.सं. २०३८ साल चैत १३ देखि १९ सम्म नेपालमै पहिलोपल्ट ‘कथा सप्ताह’ मनाइयो । त्यसपछि चैत १९ लाई कथा दिवसका रूपमा आजपर्यन्त मनाईंदै आएको छ । कथा सप्ताहकै कारण मैनाली कथा पुरस्कारको स्थापना भयो । त्यसपछि प्रत्येक वर्ष ‘मैनाली कथा पुरस्कार’ वितरण हुँदै आएको छ ।
०००
आफ्नो प्राध्यापनपछिको समय साहित्यिक गतिविधि र पत्रिका सम्पादन, प्रकाशनमा ज्यादा ऊर्जा खर्च गरेका अच्युतरमण अधिकारीले लेखनमा भने धेरै समय लगाउन सकेनन् । उनले साहित्यिक पत्रिकाहरू संकलनको विशाल भण्डार निर्माण गरेका थिए । निकै मेहनत गरेर साहित्यिक पत्रिका, पुस्तकहरू घरघर पुगेर संकलन गर्थे । तर उनले तिनलाई व्यवस्थित गर्न भने सकेनन् ।
त्यति दु:ख गरेर संकलन गरिएका पुस्तक, पत्रिकाको खासै सदुपयोग हुन सकेन । उनले केही कृति भने लेखे । विशेषत समीक्षा समालोचनामा उनको कलम चलेको थियो र दुई समीक्षात्मक कृतिहरू ‘विवेचनै विवेचना'(२०४६) तथा ‘मूल्याङ्कन र समीक्षा’ (२०४७) दुई पुस्तक प्रकाशित गरे ।
उनले कमल दीक्षितको सम्पादनमा मदन पुरस्कार गुठीद्वारा प्रकाशित मुखपत्र ‘नेपाली’ त्रैमासिक पत्रिकाको सुरुवाती १०० अङ्कको समीक्षाको पुस्तक ‘नेपाली रचनात्मक मूल्याङ्कन’ (२०४७) पुस्तक समेत लेखे । यो पनि समीक्षात्मक पुस्तक नै हो । यसरी उनले समीक्षात्मक तीन पुस्तक लेखे ।
समीक्षा लेख्ने अच्युतरमणको आफ्नै शैली थियो । ती समीक्षा पढ्दा कति ठाउँमा कवितात्मक अभिव्यक्ति जस्तो लाग्नु उनको आफ्नोपन थियो ।
उनले आधुनिक नेपाली कथाका जनक गुरूप्रसाद मैनालीको जीवनमा आधारित महाकाव्य ‘गुरूप्रसाद मैनाली'(२०६८) समेत प्रकाशित गरेका थिए । यस कृतिको उतिसारो चर्चा हुन सकेन ।
०००
वि.सं. २०४४ साल जेठ ४ गते अच्युतरमण अधिकारीले ‘साहित्यकार परिचय र अभिव्यक्ति’ नामक साहित्यकारहरूको फोटो सहितको परिचयात्मक तथा विचार संग्रहको पुस्तकका लागि यस्तो विचार प्रकट गरेका थिए, ‘मानिस जे गर्न चाहन्छ, त्यसलाई हृदयले राम्ररी स्वीकारेपछि मात्र सुरु गरोस् तर बीचमा हरुवा भएर नभागोस् । पलायन मृत्यु हो, मृतकहरू मात्र कर्तव्यबाट भागेर लुक्छन् । जीवन संघर्षको मैदान हो, मानिसले गरे सिध्द नहुने कुनै काम छैन । ‘हुँदैन’ कसैले भन्छ भने त्यो पहिले नै मर्यो भनेर सम्झे हुन्छ ।
जीवनमा बाधा दिने षड्यन्त्रकारीहरू प्रशस्त हुन्छन् तर एउटा बलियो मुटु अथवा विश्वास भएको व्यक्तिलाई हजार जना षड्यन्त्रकारीले हराउन सक्तैनन्, आखिर ती अपराधीहरू आफैँ हारेर पछि पर्छन् । मुटु जीवन हो, मस्तिष्क जीवनलाई मार्ग प्रदर्शन गर्ने ज्योति हो । प्रत्येक युवकले यही मन्त्र लियो भने ऊ महान् हुन्छ । धेरै कमजोरलाई एउटै विश्वास (मुटु) ले तह लगाउँछ । ‘छैन’ र ‘हुन्न’ कतै हुँदैन ।’
साँचो अर्थमा उनी स्पष्टवक्ता थिए ।
०००
नेपाली वाङ्मयको क्षेत्रमा पु-याएको योगदानका लागि केही पुरस्कार र सम्मान पनि प्राप्त गरे । उनले धरणीधर पुरस्कार (२०४५), भवानी साहित्यिक पत्रकारिता पुरस्कार(२०६०) पाएका थिए ।
त्यस्तै लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरको रजत वर्षका अवसरमा सरस्वती गद्य सम्मानका साथ उनले ५१ हजार एक रुपैयाँको प्राप्त गरेका थिए ।
०००
खासगरी जीवनको एक मोडमा स्थायी रुपले बसोवास गर्ने मनसायका साथ नेपालबाट उनी अष्ट्रेलियाम गए । त्यो निर्णय उनलाई व्यक्तिगत रूपमा र साहित्यिक रूपमा पनि फलदायी देखिएन ।
उनले नेपाल छाड्नुअघि आफूले जीवनभर संकलन गरी संगालेर राखेका पुस्तक, पत्रिका दान गरेका थिए । उनको अष्ट्रेलिया प्रस्थानले उन्नयन पत्रिकाको प्रकाशन रोकियो । उनको लेखनीले पनि विश्राम लियो ।
तर उनी अष्ट्रेलिया बस्न सकेनन्, रम्न सकेनन् । नमिठो अनुभूति र निराशा बोकेर नेपाल फर्किए । उनी नेपाल आउँदा उनले आर्जेको सबथोक धराशायी बनेको थियो । उनको कलम चलेन । पत्रिका प्रकाशन त स्थगित नै भयो । साहित्यिक गतिविधिमा पनि लाग्न सकेनन् ।
सुस्त भए । उनको सुस्तता बढ्दै गयो । झण्दै दर्जन वर्ष उनले झण्डै गुमनाम जस्तै जीवन बिताए ।
त्यहीबीच विसं २०८२ पुस २८ गते यो धराधामबाट सदाका लागि विदा भए ।
नेपाली वाङमयले एक सज्जन प्राध्यापक र निस्वार्थ भाषा साहित्यसेवी गुमायो ।
प्रतिक्रिया 4