१० माघ, पाल्पा । पूर्वउद्योगमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीबाट पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सोमप्रसाद पाण्डेयले ‘सिद्धबाबा सुरुङमार्ग’ निर्माणस्थलबाट चुनावी अभियान सुरु गरेका छन् ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका–३ मा निर्माणाधीन सुरुङमार्ग क्षेत्रमा पुगेर पाण्डेयले आफ्नो राजनीतिक संकल्प र एजेन्डा सार्वजनिक गर्दै चुनावी अभियान सुरु गरेका हुन् ।
उनले आफुले नागरिकको माग र चाहना अनुसार उम्मेदवारी दिएको दाबी गरेका छन् । ‘मैले मेरो आफ्नै कारण मात्र होइन, २०७९ मा पराजित भएपछि पनि म निरन्तर पाल्पाली जनताको सेवामा लागिपरे त्यसपछि सबैतिरबाट तपाईं उम्मेदवार बन्नुपर्छ भन्ने प्रेरणा र नागरिकको दबाब भो । त्यसपछि उम्मेदवार बनेको हुँ’, पाण्डेले भने ।
उनले आफूले सुरु गरेका अधुरा योजना सम्पन्न गर्न उम्मेदवार बनेको उनको भनाइ छ । उनले जेनजीका मागहरु उचित रहेको बताउँदै आफ्नो उम्मेदवारी जेनजी पुस्ताको भावना र मुलुकको सविधान रक्षा गर्नका लागि पनि रहेको बताए ।
सुरुङमार्ग निर्माणको हालको प्रगति अवलोकन गर्दै पाण्डेयले यस आयोजनाको परिकल्पनादेखि बजेट सुनिश्चिततासम्मको लागि आफूले निकै संघर्ष गर्न परेको दाबी गरे ।
चुनावी अभियानको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवार पाण्डेयले सुरुङमार्गको आयोजनालाई मूर्त रूप दिन आफूले संघर्ष गरेको दाबी गरे ।
अहिले सिद्धबाबाको ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माणको काम सकिएको छ । पाल्पाको सिद्धबाबा सुरुंगमार्गको इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सुरुङ मार्ग निर्माणका लागि २५ फागुन २०७८ मा चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड २१ लाख (करसहित) मा ठेक्का सम्झौता भएको थियो ।
सम्झौता बमोजिम चैत २०८३ भित्र सुरुङको निर्माण सम्पन्न गर्नुपर्नेछ । त्यसपछि कम्पनीले १८२५ दिन सुरुङ सञ्चालन एवम् मर्मत सम्भार गर्नेछ ।
सिद्धबाबा क्षेत्रमा वर्षायाम र हिउँदमा समेत ढुङ्गा खस्ने, माटो बगेर आउने तथा सुख्खा पहिरोले सवारी दुर्घटना हुदाँ मानवीय क्षति हुँदै गएको थियो । सिद्धबाबामा सुरुङ मार्ग निर्माण पूरा भएपछि यात्रुले सुरक्षित रुपमा सुरुङ मार्गबाट यात्रा गर्न पाउने छन् ।
प्रतिक्रिया 4