News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा झण्डै एक लाख सडक कुकुर छन्, जसमा ३० हजार काठमाडौं उपत्यकामा छन् र धेरै कुकुरहरू रोगी वा उमेरले सडकमा अलपत्र छन्।
- मुलुकी अपराध संहिता–२०७४ ले पशु दुर्व्यवहारमा दण्ड व्यवस्था गरेको छ तर कार्यान्वयन अझै कमजोर छ र स्थानीय निकायहरूले संरक्षणमा काम गरिरहेका छन्।
- सडक कुकुरहरूको संरक्षणका लागि सेफ हाउस व्यवस्थापन गर्न र दुर्व्यवहार गर्ने अपराधीलाई कानुनी दायरामा ल्याउन स्थानीय निकाय र सरकारले सहजिकरण गर्नुपर्छ।
प्रत्येक दिनका मेरा पाइला पीडादायी थकानका डोबहरू छोडेर घर फर्कन्छन् । म बिहान घरबाट निस्कन्छु, चरिकोटको मुख्य चोक सातदोबाटोमा कफीको तिर्सना पूरा गर्न । पाँच मिनेटको मेरो पैदल यात्रामा दर्जन बढी सडक कुकुरहरूसँग जम्काभेट हुन्छ ।
लुतोले छाला खुइलिएका, ढल्कँदो उमेरमा भोका पेट भर्नका लागि मासु पसल आपसमा संघर्ष गरिरहेका, अलि बलियाको डरले अलि ढाटा बसेर चिहाइरहेका, सडक हिँड्नेहरूलाई खुट्टाले कोट्याउँदै खानाको याचना गरिरहेका… यस्तै– यस्तै धेरै कुकुरहरू असरल्ल सडकको यत्रतत्र भेटिने गर्छन् ।
खल्तीमा पैसा हुँदा एकाध कुकुरलाई विस्कुट किनेर दिनु मेरो दिचर्या जस्तै छ । मलाई थाहा छ मेरो एक पुरिया विस्कुटले न त्यो कुकुरको भोक मेटिन्छ, न उसको सडक संघर्षको दैनिकी बन्द हुन्छ । मैले दिने विस्कुटको पुरिया उसका लागि केवल क्षणिक स्नेहको त्यान्द्रोमात्र हो । त्यही स्नेहको त्यान्द्रोले ती कुकुरहरू मेरो दैनिकीलाई पछ्याउँदै बिहान कफी पिउन चोक आउँदा र साँझ रेडियोको काम सकेर घर फर्कंदा एक पुरिया बिस्कुटको याचना गरिरहेका हुन्छन् ।
म विवश छु, प्रेमको अथाह सागर हुँदाहुदै पनि मैले ती सडक कुकुरहरूको अभिभावकत्व ग्रहण गर्न सक्दिनँ । उनीहरूलाई पेटभरी खान दिने र सडकबाट उद्धार गरी सुरक्षित वासस्थानको व्यवस्था गरिदिन सक्दिनँ।
चरिकोटमा केही यस्ता कुकुरहरू छन्, जसको उमेर १३– १४ वर्ष पार भइसकेको छ । कुनैबेला घरपालुवा ती कुकुरहरू बढ्यौली उमेर भएपछि सडकमा छोडिएका छन् र पेट भर्नका लागि मृत्युसँग संघर्ष गर्दै सकिनसकी सडकमा घिस्रिरहेका छन् ।
राति सडकमै कतै अलपत्र सुत्ने ती कुकुरहरू बिहानीको सुर्योदयसँगै मासु पसल र केही मायालु मानिसको आशमा लर्खराउँदै सडकको यताउता गरिरहेका हुन्छन् । उनीहरूको यो पीडादायी दैनिकी सूर्यास्त नभएसम्म कायमै रहन्छ ।
चरिकोटमा एउटा कालो कुकुर छ । उमेर त्यस्तै १३– १४ वर्षको । बुढ्यौलीले कान सुन्न छोडेको छ । आँखा कम देख्छ । हिँड्दा लर्खराउन थालेको छ । फेरि पनि भोको पेटलाई अलिकति भए पनि राहत दिनलाई नै होला प्रत्येक दिन सकिनसकी मासु पसलमा ढुकिरहेको हुन्छ ।
मृत्युसँग उसले गरेको संघर्षले मलाई द्रवीभूत बनाउँछ । भेटेसम्म म उसलाई केही पुरिया बिस्कुट र मासुका टुक्राहरू दिनेगर्छु । बिहानदेखि साँझसम्म सडक पेटीमा खाने मेसो पहिल्याउँदै लर्खराउने त्यो कुकुर रात छिप्पिँदै गएपछि सकेसम्म तातो खोज्दै कतै ओतलाग्न पुग्छ ।
थाहा छैन उसको यो संघर्ष जीवनको लालच हो वा बाध्यताको परिणाम ! सायद यो कालो कुकुर कुनै समय कुनै घरको दरिलो सुरक्षा थियो । अब यो त्यही घरका लागि ठूलै घाँडो भएर सडकमा फालिएको छ ।
……………
चरिकोटको सातदोबाटो चोक र मुख्य तथा शाखा सडकका आसपास पेटको भोक मार्न दौडधुप गर्ने कुकुरहरू प्रतिनिधि पात्र मात्र हुन् । काठमाडौंको हरेक मार्ग र गल्लीहरूमा पनि यसैगरी अनाथ, अलपत्र छोडिएका कुकुरहरूको जुलुस देख्न सकिन्छ । त्यतिमात्र हैन सिंहदरवारको मुख्य द्वार आसपास पेटीमा घामको तातोसँग रमाउदै भोकै सुतिरहेका दजर्नौं कुकुरहरू राज्यका लागि टाउको दुखाइ बनेको हुनुपर्छ ।
सडकमा भौंतारिएका धेरै कुकुरहरू मानिसको निष्ठूरी सौखको शिकार भएको पाइन्छन् । कुकुरहरू निरोगी, जवान र फूर्तिलो हुदाँसम्म घरको सुरक्षाका लागि भनेर पाल्ने अनि जब त्यो रोग र उमेरले थलिँदै जान्छ सडकमा अलपत्र छोडिदिने ।
कतिले कोठा छोडेको बहानामा, घर सरेको बहानामा, विदेश गएको वा स्वदेशकै अर्को ठाउँ गएको बहानामा कुकुरहरू लाई सडकमा अलपत्र खेद्ने गरेका छन् । यो अपराध हो । मानवताको घोर अपमान हो । एउटा निरीह– निर्दोष जनावरलाई सडकमा अलपत्र पीडादायी संघर्षका लागि खेदेर आफू सुखद् जीवनशैलीमा रमाउनु क्रुरताको पराकाष्ट हो ।
क्रुरता यतिसम्म कि कतिपय मालिकले आफूले पालेको कुकुरलाई हातखुट्टा बाँधेर, मुख थुनेर सडकमा छोडिदिएका छन् । खोलामा धकेलिदिने र भीरबाट खसालिदिने गरेका छन् । अनि केही उग्र उरन्ठेउला अल्लारेहरूले रमाइलो गर्न, टिकटक बनाउन र आफ्नो क्रुरता प्रर्दशन गर्न अवोध–निर्दोष कुकुरलाई कुट्ने, मार्ने र यातना दिने गरेका छन् ।
मानव अपराधको यो युगमा केही यस्ता मनकारी मानव पनि देखिएका छन्, जसले पशु क्रुरताको प्रतिवाद गर्दै निरीह धेरै कुकुरहरूलाई आश्रय दिइरहेका छन् । त्यस्ता अपराधीहरूको पहिचान गरी कानुनी कारबाही गराउन सहजिकरण गरिरहेका छन् ।
अनि केही मायालु मालिक पनि छन् जसले कुकुरलाई आफ्नो सन्तानको दर्जा दिएर पालन, पोषण गरिरहेका छन् ।
……………
नेपालमा झण्डै एक लाख सडक कुकुर रहेको अनुमान गरिएको छ । त्यसमध्य झण्डै ३० हजार सडक कुकुर काठमाडौं उपत्यकामा मात्र रहेको एक अध्यनले देखाएको छ । यी मध्ये धेरै कुकुरहरू रोगी भएपछि वा निश्चित उमेर पुगेपछि मालिकको अपहेलना र यातनाकै कारण सडकमा पुगेको पाइन्छ ।
देशमा कानुन छ, पशु चौपाया सम्बन्धी । कुकुर, गाई-भैंसी, गोरु लगायतका पशु वा जनावरलाई गर्ने व्यवहार कानुनले निर्धारण गरेको छ । तर त्यसको कार्यान्वयन राम्रोसँग हुनसकेको छैन ।
कसैले कुकुरलाई यातना दियो, हत्या गर्यो वा आफूले पालेको कुकुर अशक्त भएको अवस्थामा उपचार नगरी सडकमा अलपत्र छोडिदियो भने पनि त्यो कानुनको नजरमा दण्डनीय हुन्छ । यी सबै अपराधमा संलग्नलाई कानुनले निश्चित सजायको व्यवस्था गरेको छ ।
मुलुकी अपराध संहिता– २०७४ मा पशुलाई दुर्व्यवहार गर्दा वा पशुमाथि क्रुरता देखाउँदा हुने दण्ड, सजयाबारे स्पष्ट व्यवस्था गरिएको छ ।
हरेक जीवित प्राणीको सुरक्षा र अधिकारको संरक्षण गर्नु राज्यको दायित्व हो । कानुनले निर्धारण गरेको दण्ड– सजायमा विभेद हुनुहुँदैन । अहिले स्थानीय निकायहरूले सडकमा अलपत्र परेका कुकुरहरूको संरक्षण र सुरक्षामा धेरै हदसम्म काम गरिरहेका छन् । तर अझै पनि प्रयाप्त छैन । स्थानीय निकायहरूले कुकुर पालनका लागि कानुनी मान्यता प्रदान गर्ने र कसैले अशक्त र बुढ्यौली उमेरको कुकुरलाई सडकमा अलपत्र छोडेको पाइयो भने त्यस्ता मानिसलाई कानुनी दायरामा ल्याउने कुरामा सहजिकरण गर्नुपर्छ ।
विभिन्न बहानामा सडक कुकुरको हत्या गर्ने, यातना दिने वा सामाजिक सञ्जालमा रमाइलो गर्न कुकुरहरूलाई दुर्व्यवहार गर्ने मानिसको पहिचान गरी कानुनी दायरामा ल्याउन सहजिकरण गर्नुपर्छ । र त्यस्ता सडक कुकुरको सुरक्षा र संरक्षणको लागि सेफ हाउसको व्यवस्थापन गर्नुपर्छ ।
स्थानीय निकाय वा सरकारको दायित्व नागरिकको सुरक्षा र संरक्षणमा जति छ त्यतिनै पशु– पंक्षि वा जनावरको सुरक्षा र संक्षणमा पनि छ र हुनुपर्छ ।
एउटा मानिससँग जति भावना छ, जति स्नेह छ, जति जीवनप्रतिको लगाव र मोह छ त्यति नै भावना, स्नेह र जीवन प्रतिको मोह पशुपन्छी र जनावरसँग पनि छ ।
प्रतिक्रिया 4