+

आफ्नै कलेजो फेर्नुपर्ने पीडामा पनि सडक कुकुरलाई खाना खुवाउने कमला

२०८२ पुष  ६ गते १४:३२ २०८२ पुष ६ गते १४:३२

डाक्टरहरूले उनलाई अन्तिम समाधानमा कलेजो प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन् । तर, प्रत्यारोपण गर्नुअघि नसाको अप्रेसन गर्नुपर्छ भनेका छन् ।

आफ्नै कलेजो फेर्नुपर्ने पीडामा पनि सडक कुकुरलाई खाना खुवाउने कमला

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कमला मोक्तान कलेजो रोगबाट पीडित छिन् र उपचारका लागि लाखौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ।
  • कमलाले सडकका आश्रित जनावरहरूको हकमा आवाज उठाएकी छिन् र कुकुरको कुटपिटपछि स्थानीयबाट पिटाइ पनि भोगेकी छिन्।
  • उनको उपचार खर्च जुटाउन दाताहरूले सहयोग गरिरहेका छन् तर पर्याप्त रकम नउठ्दा उनको जीवन जोखिममा छ।

अरुणा लामाको प्रख्यात गीत ‘पोहोर साल खुसी फाट्दा’मा यस्तो शब्द पनि छ–

सास फेरे जस्तो लाग्छ
तर भन्छन् मरिसकिस्
तेरो भाग्य यति नै हो
भोगचलन गरिसकिस्
सलहको भाग्य मेरो
मर्ने बाच्ने ठेगान छैन
भाग्य फाटे सिउथेँ बरू
तर मन सिउने केले हो ?

आंशिक रूपमै सही, गीतका यी पङ्क्तीहरू कमला मोक्तानको जीवनसँग मिलिरहेको छ । कमलाले यो गीत गाउँदी हुन् नि नाइँ, त्यो त थाहा छैन । तर उनको अवस्था गीतले गाइरहेको छ ।

आज उनी विरोधाभाषहरू बोकेर हिँडिरहेकी छिन् । जीवन दर्शनको, पीडाहरूको, बोझहरूको । चिन्नेहरूले उनलाई अनेकन् पहिचानले चिन्छन् । कतिले पशुप्रेमी । कतिले फाल्तु मुद्दा उठाउने सन्की । उनलाई परवाह छैन ।

आफ्नो ज्यान जा‌ओस्, उनी सडकलाई आश्रय लिएर बस्ने प्राणीहरूको पक्षमा बोल्न छाड्दिनन् । जब्बर छिन्। कारण त यही थियो, एक दिन त उनले पिटाइ नै खानुपर्‍यो । ललितपुरको इमाडोलमा स्थानीयहरूको कुटपिटबाट सडक कुकुर मरेको थियो ।

कुकुर मार्नेलाई कानुनी कारबाही हुनुपर्ने अडान उनले लिइन् । स्थानीयहरूलाई त्यो कुरा पचेन। त्यतिसम्म त ठीकै थियो । होचो कदकी कमलालाई उनीहरूले हातपात नै गरे ।

त्यति हुँदा पनि त्यस घटनालाई प्रशासनले सामान्य लियो । त्यो घटना भएको पनि धेरै भइसकेको छ । बल हुँदा उनले यस्ता अनेकन् मुद्दा उठाएकी छिन् । अहिलेपनि सकेसम्म गरिरहेकी छिन् ।

तर अब उनी त्यसरी प्राणीहरूबारे बोल्न सक्दिनन् । मन त उनको छ तर स्वास्थ्य बाधक बनेको छ ।

किनकि उनलाई उपचार गर्न लाखौं खर्च लाग्ने रोग लागेको छ । कलेजोको रोग । उपचार भइरहेको छ । निको हुन्छ/हुँदैन ठेगान छैन । उस्तै परे कलेजो प्रत्यारोपण नै पनि गर्नुपर्ने चिकित्सकले सुनाएका छन् । यी सबै गर्न उनको आर्थिक अवस्थाले धान्नेवाला छैन।

000

काभ्रेको नमोबुद्धमा जन्मे पनि कमला २०५९ सालमै काठमाडौं आएकी थिइन् । उनको शिक्षादीक्षा काठमाडौंमै भयो । प्रेम पनि यतै पर्‍यो । विवाह भयो । भविष्य उज्ज्वल बनाउनका लागि उनले धेरै कोसिस गरिन् ।

विदेश जान आईएल्स गरिन् र जर्मन भाषा पनि पढिन्। तर त्यसबेला स्वास्थ्यले धोका दियो । दुवै पटक उनी असफल भइन् ।

त्यसमाथि विवाह भएको ११ वर्षसम्म उनको सन्तान भएन । एउटी विवाहिता महिलाका लागि यो कम्ता दु:खको कुरो होइन । त्यही हीनताबोधले गर्दा उनी लामो समयसम्म गाउँ जान सकिनन् । सन्तानबेगर जाँदा गाउँलेहरूले अनेकन् कुरा काट्थे ।

‍वैदेशिक रोजगारीबाट श्रीमानले कमाएको पैसा सन्तानप्राप्तीमै खर्च भइरहन्थ्यो । त्यति हुँदा पनि उपलब्धि केही भइरहेको थिएन । अनि सन्तान अभावको पीडा भुलाउन उनको साहारा बनेर आइपुगे सडकका कुकुरहरू । त्यसमा एउटा बिरालोको ठूलो भूमिका छ ।

एक दिन उनको भाइले बाटोमा भेट्टाएर बिरालो ल्याएका थिए । त्यसबेला उनको विवाह भइसकेको थियो । तर पनि उनीहरू संयुक्त रूपमा बस्दै आएका थिए । बिरालो धेरै सानो थियो । शरीरभरी घाउ थियो । रौंहरू अत्यन्त कम थिए । हेर्ने मान्छेको जिउ सिरिङ्ग हुन्थ्यो ।

त्यस्तो हालत देखेर घरका सबै जना घिनाएका थिए । तर भाइले अत्यन्त जिद्दी गरेपछि कमलालाई त्यस बिरालोको माया लाग्दै गयो । त्यसपछि भाइसँग मिलेर उनले त्रिपुरेश्वरस्थित पशु हस्पिटलमा बिरालोको उपचार गर्न थाले । बिरालोको अगाडिको खुट्टा भाँच्चिएको थियो ।

उपचारपछि त्यो बिरालो यति राम्रो, मोटो र सफा भयो कि सबैको प्यारो बन्न पुग्यो । त्यो बिरालो उनीहरूसँगै एक वर्षभन्दा बढी समय बस्यो । उनीहरूले पनि आफ्नो बच्चा जसरी माया गरेर राखे ।

सायद कलेजो रोगीहरूको उपचारमा सरकारले केही सहयोग गरेको भए पनि उनले त्यति धेरै चिन्ता लिनु पर्थेन । तर कलेजी रोगका बिरामीहरूलाई सरकारले कुनै कुरामा सहयोग गर्दैन ।

तर कसैले विष खुवाएका कारण बिरालो मर्न गयो । त्यो घटनाले कमलालाई अत्यन्तै पीडा दियो । उनले मान्छेको मृत्यु भए जसरी नै शोक गरिन् । अनि उनलाई लाग्यो– आफ्नो घरभित्र सुरक्षित रूपमा पालेको जनावर पनि असुरक्षित रहेछन् । त्यसपछि बाहिरका बेसहारा जनावरहरूलाई हेर्नुपर्छ भन्ने उनलाई लाग्न थाल्यो । अनि त उनले बाटोमा देखेजतिका, भेटेजतिका कुकुरहरूलाई खान खुवाउन थालेकी हुन् । उपचार गर्न लागेकी हुन् ।

जुन काम उनले आज धेरै बिरामी हुँदासमेत छाडेकी छैनन् ।

घरखर्च चलाउन कमलाले दाना पसल चलाउँछिन् । कुकुरहरूलाई खाना खुवाउन पनि यसैबाट केही रकम निस्कन्छ । तर उनी सधैं पसलमा बस्न सक्दिनन् । बसेपछि पसल व्यापक चल्दैन ।

अहिले उनी दैनिक जसो रगत परीक्षणका लागि भैंसेपाटीबाट त्रिवि शिक्षण अस्पतालमा गइरहनुपर्छ । भर्खरै उनको नसाको अपरेसन भएको छ । एक पटक अपरेसन गर्दा २ लाख रुपैयाँ सकिन्छ ।

डाक्टरहरूका अनुसार रक्सी खाएर कमलाको कलेजो बिग्रेको होइन । उनको यो जन्मजात समस्या हो । जन्मदा नै मुटु र कलेज बीचको उनको नसा साँघुरो भएर आएको थियो । कालान्तरमा त्यो नसा बढ्नुपर्ने बेलामा बिस्तारै सुक्दै गयो ।

उनलाई यस्तो समस्या भएको धेरै भइसकेको थियो । तर ठ्याक्कै रोग यही हो भनेर थाहा थिएन । करिब ६ वर्षअघि डेंगु लागेर उनी अस्पताल पुगेकी थिइन् । त्यसबेला मात्र कलेजोमा समस्या भएको पत्ता लागेको थियो । सानो समस्या भनेर त्यसबेला उनलाई औषधि मात्र चलाइयो तर रोग ठीक भएन । झन् एक्कासी पेट फुट्लाझैं गरेर सुन्निएर आयो। शरीर सुक्दै जान थाल्यो ।

अनुहार कालोको हुँदै गयो । अनुहार र हातखुट्टामा रगत जमेको जस्तो देखिन थाल्यो । हालत नाजुक भएपछि मात्र उनी शिक्षण अस्पतालमा जाँच गर्न गइन् । सिटी स्क्यान गरेर हेर्दा थाहा भयो, उनको कलेजो काम नलाग्ने गरी बिग्रिसकेछ ।

डाक्टरहरूले उनलाई अन्तिम समाधानमा कलेजो प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन् । तर, प्रत्यारोपण गर्नुअघि नसाको अप्रेसन गर्नुपर्छ भनेका छन् । यदि नसाको समस्या समाधान गरेपछि कलेजोले राम्रै काम गर्‍यो भने प्रत्यारोपण नगर्दा पनि हुन्छ भनेका छन् ।

त्यही अनुसार अहिलेसम्म दुई पटक नसाको अपरेसन भइसकेको छ । अब त्यस्तै अपरेसन ४/५ पटकसम्म गर्नुपर्ने कमला सुनाउँछिन् । लाखौं खर्च र प्रयासपछि जन्मिएको उनका २ वर्षका एक एक छोरा छन् । अब कमलालाई चिन्ता छ– कतै यही रोगले त मलाई सक्ने होइन ? छोरीको अपरेसन चलेपछि हेरचाहका लागि आएकी कमलाकी आमालाई पनि त्यही चिन्ता छ ।

कमलालाई पनि कहाँ दु:खान्त कथा लेख्नु छ र !

उनलाई निको भएर भोकाएर बसेका कुकुरहरूलाई खाना दिन जानु छ । तिनलाई सुम्सुम्याउन जानु छ । बोलाउन जानु छ । त्यसो गर्दा उनी सारा दु:ख भुल्छिन् । त्यो उनी आफैंले बनाएको क्षमता पनि हो । उनी जहाँजहाँ जान्छिन्, त्यहाँ आफू जस्तै सडकका प्राणीहरूलाई खाना खुवाउने साथी बनाइहाल्छिन् । बुङ्गमति, कुलेश्वर, खोकना जस्ता ठाउँमा उनले त्यस्तै गरेकी छिन् ।

अहिले उनी जहाँ बसोबास गरिरहेकी छिन्, त्यहाँ आउनुअघि छ्यासीकोटको टहरामा उनको बसाइ थियो । जहाँ उनले १५ बढी कुकुरहरू पालेकी छिन् । जुन अन्य मान्छेले सडकमा ल्याएर बेबारिसे छाडिदिएका हुन् । तिनीहरूको मायाले गर्दा अहिले पनि उनले टहरा छाड्न सकेकी छैनन् ।

यद्यपि डाक्टरले भनेर उनी नयाँ ठाउँ सरेकी छिन् । अपरेसन पश्चात चिसो ठाउँमा बस्न नहुने, सफा ठाउँमा बस्नु पर्ने सुझाव उनलाई डाक्टरले दिएका छन् । तर, नयाँ ठाउँमा बस्ने खर्च, दैनिक खर्च र उपचार खर्च कसरी जोहो गर्ने ? उनलाई सबैभन्दा ठूलो चुनौति छ ।

नसाको अपरेसन सफल नभए उनले कलेजो नै प्रत्यारोपण गर्नु पर्नेछ । त्यसका लागि उनका आफ्नै भाइले अङ्गदान गर्ने सहमति भइसकेको छ । भएको सबै रकम अहिलेसम्म उपचार गर्दा सक्किसकेको छ । केही दाताहरूले उनको नाममा रकम सङ्कलन त गरिरहेका छन् । तर पर्याप्त उठिरहेको छैन । उठेको केही दिनमै उपचारमा सकिहाल्छ । थप उठ्ने नउठ्ने ठेगान छैन ।

सायद कलेजो रोगीहरूको उपचारमा सरकारले केही सहयोग गरेको भए पनि उनले त्यति धेरै चिन्ता लिनु पर्थेन । तर कलेजी रोगका बिरामीहरूलाई सरकारले कुनै कुरामा सहयोग गर्दैन । कमलालाई यही कुरामा सरकारसँग चित्त दु:खाइ छ । यदि औषधिमा मात्र पनि सरकारले केही राहत दिए धेरै कलेजो रोगीहरू बाँच्ने कमला सुनाउँछिन् ।

यस्तो परिस्थितिमा कमलाको थप उपचार ‘क्राउड फन्डिङ’मा नै भर पर्छ । डाक्टरहरूका अनुसार प्रत्यारोपण गर्नुपरेमा उनको पूर्णउपचार गर्न ५० लाख रुपैयाँभन्दा बढी लाग्छ । यति रकम कम समयमा उठाउनु कमलाका लागि असम्भव जस्तै छ ।

त्यति हुँदाहुँदै पनि उनी ती सारा दु:ख बिर्सन कृत्रिम प्रयास गरिरहेकी हुन्छिन् । एक्लै भएका बेला उनलाई अनेकन् सोच आउँछ । तर जब उनी आफ्नो छोरो र सडकका आश्रित प्राणीहरूसँग समय बिताउँछिन्, उनले ती सबै भुल्छिन् । अझ आफ्नै पीडा बिर्सेर उनी ती साहाराविहीन प्राणीहरूका लागि लड्न खोजिरहेकी हुन्छिन् ।

यसरी कमला विरोधाभासपूर्ण जीवनमा छिन् । एकातिर लाखौं रुपैयाँ जुटाएर आफ्नो ज्यान बचाउनुपर्ने संघर्ष छ, अर्कोतिर आफ्नै उपचार खर्चबाट समेत खर्च कटौती गरेर जनावरलाई खाना खुवाउनुछ । जनावरहरूलाई खाना खुवाउन पाइनन् भने त उनको पीडा आकाशिन्छ । कम्तीमा तिनले अहिलेसम्म कमलाको पीडामा महल्म लगाइदिरहेका छन् ।

तर एउटा प्रश्नले कमलालाई पछ्याइरहेको छ– यो निःस्वार्थ प्रेम कति समय लम्बिन्छ ?

उनलाई सहयोग गर्न,
Account Holder: KAMALA LAMA
Bank Name: Citizens Bank
Account Number: 0550100001793041
Whatsapp Number: 980-3331323

कमला सडक कुकुर
लेखक
सापेक्ष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय