News Summary
Generated by OK AI. Editorially reviewed.- पेनकिलर औषधिहरूले शरीरमा दुखाइ उत्पन्न गर्ने रासायनिक पदार्थ बन्नबाट रोक्छन् र मस्तिष्कमा पुगेर दुखाइको सिग्नल बन्द गरिदिन्छन् ।
- दीर्घकालीन पेनकिलर सेवनले कलेजो, मुटु, मिर्गौला र पेटमा गम्भीर समस्या निम्त्याउन सक्छ, जसमा कलेजोको विषाक्तता र उच्च रक्तचाप प्रमुख छन्।
टाउको दुख्यो, जोर्नी दुख्यो, दाँत दुख्यो, हात खुट्टा दुख्यो । यदि यस्तो समस्या भयो भने अधिकांश व्यक्ति सजिलो विकल्प खोज्छन्- दुखाइ कम गर्ने औषधि अर्थात पेनकिलर सेवन गर्ने । तत्काललाई दुखाइ च्वाट्टै हुने, खर्च र अस्पताल आउजाउको झन्झट पनि नहुने ।
तर प्रश्न उठ्छ, के साँच्चै पेनकिलर औषधि सेवन गर्दा सकरात्मक हिसाबले दुखाइ निको हुन्छ ? यसले कालान्तरमा कुनै हानि त गर्दैन ?
दुखाइ कम गर्ने औषधिले दुखाइ कसरी हटाउँछ ?
बजारमा विभिन्न प्रकारका दुखाइ कम गर्ने औषधिहरू पारासिटामोल, एनएसआइएडीएस (जस्तै आइबुप्रोफेन, डाइक्लोफेनाक, न्याप्रोक्सेन) र ओपिओइड्स (जस्तै कोडिन, ट्रामाडोल, मोर्फिन) पाइन्छन् ।
यी सबै औषधिहरूको मुख्य काम शरीरमा हुने दुखाइमा राहत दिनु हो । पेनकिलर औषधिहरूको प्रभाव बुझ्नका लागि पहिले हामीले चोट लाग्दा वा अत्यधिक दबाब पर्दा दुखाइ कसरी हुन्छ भन्ने कुरा जान्न आवश्यक छ।
शरीरको कुनै भागमा चोट लाग्दा विभिन्न रासायनिक पदार्थहरू उत्पादन हुन्छन्, जसले त्यो ठाउँमा दुखाइको अनुभूति गराउँछन् । प्रोस्टाग्ल्यान्डिन नामक रासायनिक पदार्थका कारण दुखाइ हुन्छ र पोल्न सक्छ। यी रासायनिक पदार्थहरू चोट लागेको ठाउँमा सेतो रक्त कोशिकाहरूसँगै पुग्छन् ।
पेनकिलर औषधिहरूले शरीरमा यस्ता रासायनिक पदार्थहरू बन्नबाट रोक्ने काम गर्छन् । जब तपाईं पेनकिलर औषधि खानुहुन्छ, यो घुल्दै रगतमा मिसिन्छ । त्यसपछि यी औषधिहरू मस्तिष्कमा पुगेर यस्ता रासायनिक पदार्थहरू बन्नबाट रोक्छन् ।
यसपछि तपाईंको मस्तिष्कले यस्ता पदार्थहरू रिलिज हुनबाट रोक्छ र दुखाइको सिग्नल बन्द गरिदिन्छ । यही कारणले पेनकिलर खाएपछि दुखाइको अनुभूति कम हुन्छ । तर जतिबेला यस्ता औषधिहरूको प्रभाव कम हुन्छ, तब फेरि दुखाइ महसुस हुन सक्छ । त्यो मात्र होइन, लामो समयसम्म खाँदा यसले दीर्घकालीन असर पनि गर्न सक्छ ।
लामोसमयसम्म खाँदा के हुन्छ ?
लामो समयसम्म पेन किलर सेवन गर्दा विभिन्न गम्भीर असरहरू देखिन सक्छन् । यी सबै औषधि कहिलेकाहीँ एक दुई चक्की खाँदा खासै असर गर्दैन । तर, बारम्बार खाने र लामो समयसम्म यही सिलसिला चलिरहयो भने दीर्घकालीन फरक–फरक जोखिम हुनसक्छ । यी औषधि कहिलेकाहीँ एक–दुई चक्की खाँदा सामान्यतया सुरक्षित हुन्छन् । तर, नियमित र दीर्घकालीन प्रयोगले कलेजो, मुटु, मिर्गौला जस्ता अंगमा गम्भीर क्षति पुर्याउँछ ।
१. कलेजोमा समस्या
पेन किलरको दीर्घकालीन प्रयोगले कलेजोलाई सबैभन्दा बढी असर गर्छ, विशेषगरी पारासिटामोलले । यो अरू औषधिको तुलनामा सुरक्षित छ तर लामो समयसमम सेवन गरिरहने हो कलेजोमा विषाक्त पदार्थ जम्मा हुन्छ, जसले कलेजोको कोषिकाहरू नष्ट गर्छ ।
अध्ययनहरूका अनुसार, पारासिटामोल ओभरडोज पश्चिमी देशहरूमा एक्युट लिभर फेलियरको प्रमुख कारण हो । दीर्घकालीन प्रयोगले कलेजो सुन्नाउने, फाइब्रोसिस र सिरोसिस निम्त्याउन सक्छ ।
जो पारासिटामोल अत्याधिक खान्छन्, मदिरा सेवन, कुपोषण वा पहिलेदेखि कलेजोको समस्या भएका व्यक्तिमा यो जोखिम धेरै गुणा बढ्छ । एनएसएआईडीएस र ओपिओइड्सले पनि अप्रत्यक्ष रूपमा कलेजोलाई असर गर्न सक्छन्।
२. उच्च रक्तचाप र मुटुमा समस्या
पेनकिलर औषधिको सबैभन्दा पहिलो र सिधा असर शरीरको रक्तचापमा पर्छ । यी औषधिले किड्नीको कार्यप्रणालीलाई प्रभावित गर्छन्, जसका कारण शरीरमा तरल पदार्थ जम्मा हुन थाल्छ ।
यी औषधिले रक्तनली सुन्नाउने काम गर्छन् तर दुखाइ उत्पन्न गराउने प्रोस्टाग्लान्डिन्स हर्मोनलाई रोकेर रक्तचाप बढाउँछन् र रक्त प्रवाहमा बाधा पुर्याउँछन् । हृदय रोगीका लागि बढेको रक्तचाप गम्भीर अवस्था हो, किनकि यसले सिधै हार्ट फेलियर हुने जोखिम बढाउँछ । यदि छाती भारी महसुस भयो वा मुटुको धड्कन तेज भयो भने तुरुन्त सतर्क हुनुहोस् ।
डाइक्लोफेनाक र उच्च डोजको आइबुप्रोफेनले हृदयघात र पक्षघातको जोखिम ३०–५० प्रतिशतसम्म बढाउँछ । अध्ययनहरूले देखाएअनुसार, हजार व्यक्तिमा वर्षमा ७–९ अतिरिक्त यो समस्या हुनसक्छ ।
न्याप्रोक्सेनको मुटु जोखिम कम हुन्छ, तर पनि दीर्घकालीन प्रयोगमा सावधानी चाहिन्छ । ओपिओइड्स औषधिले पनि मुटुको धड्कन अनियमित बनाउन सक्छन् र हार्ट फेलियरको जोखिम बढाउँछन् ।
जो पहिले देखि नै उच्च रक्तचाप, मधुमेह, धुम्रपान वा पहिलेदेखि मुटु रोगबाट गुज्रिरहेका छन्, उनीहरुमा तुलनात्मक रुपमा जोखिम बढी हुन्छ ।
३. मिर्गौलामा क्षति
एनएसएआईडीएसले मिर्गौलालाई दीर्घकालीन असर गर्छन् । एनएसएआईडीएसले मिर्गौलामा रक्त प्रवाह कम गर्छन्, जसले एक्युट किड्नी इन्जुरी डिजिज हुनसक्छ ।
यो भनेको मिर्गौलाले अचानक राम्रोसँग काम गर्न छाड्ने अवस्था हो ।
यसमा केही घण्टा वा दिनमै किड्नीको कार्यक्षमता घट्छ, शरीरमा विषाक्त पदार्थ जम्मा हुन्छन् र पिसाबको मात्रा कम हुन सक्छ । समयमै उपचार नभए गम्भीर समस्या हुन सक्छ ।
दीर्घकालीन प्रयोगले मिर्गौला फेलियरको जोखिम दोब्बर बनाउँछ । आइबुप्रोफेन, डाइक्लोफेनाक र न्याप्रोक्सेन औषधि लगातार सेवन गर्नेमा यो जोखिम उच्च छ । वृद्धावस्था, डिहाइड्रेसन वा पहिलेदेखि मिर्गौला समस्या भएमा झन् खतरा हुन्छ ।
ओपिओइड्सले अप्रत्यक्ष रूपमा (डिहाइड्रेसन वा अन्य कारणले) मिर्गौला प्रभावित गर्न सक्छन् ।
पेट तथा आन्द्रामा समस्या
एनएसएआईडीएसले पेटको भित्तामा अल्सर, रक्तस्राव वा प्वाल पार्न सक्छ । वर्षमा १००० मध्ये २ देखि १६ जनामा गम्भीर पेटको समस्या देखिन सक्छ । ओपिओइड्सका विशेष जोखिमः लत लाग्ने, टोलरेन्स (बढी डोज चाहिने), कब्जियत, सास फेर्न गाह्रो हुने, डिप्रेसन, हड्डी कमजोर हुने र ओभरडोजबाट मृत्युसम्म हुनसक्छ । दीर्घकालीन प्रयोगले प्रतिरोधात्मक क्षमता पनि कमजोर बनाउँछ ।
सबै दुखाइमा एकै औषधि उपयुक्त हुँदैनन्
दुखाइ निवारक औषधिहरू अवस्था र समस्या अनुसार फरक–फरक हुन्छन् । दुखाइ निवारकहरूले हरेक अवस्थाको लागि उस्तै तरिकाले काम गर्दैनन् । त्यसैले, परामर्श बिना आफैंले सेवन गर्ने दुखाइ निवारकहरूले प्रायः दुखाइ कम गर्दैनन् । चिकित्सकहरूले बिरामीको अवस्था अनुरूप दुखाइ निवारक औषधिहरू सिफारिस गर्छन् । आफैंले जथाभावी औषधि पसलमा गएर पेनकिलरको अनावश्यक प्रयोग गर्ने बानी गलत हो ।
पसलमा गएर पेनकिलर किनेर खाने बानी एकदम गलत हो । चिकित्सकको सल्लाह अनिवार्य लिने गर्नुपर्छ।
प्रतिक्रिया 4