+

के आयुर्वेदिक र एलोप्याथिक औषधि सँगै खान मिल्छ ?

२०८२ साउन  २९ गते १४:३६ २०८२ साउन २९ गते १४:३६
Shares
के आयुर्वेदिक र एलोप्याथिक औषधि सँगै खान मिल्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आयुर्वेदिक र एलोप्याथिक औषधिहरू सँगै प्रयोग गर्दा चिकित्सकको सल्लाह अनिवार्य छ, नत्र गम्भीर स्वास्थ्य जोखिम हुन सक्छ।
  • दुवै औषधि सँगै लिँदा कम्तीमा १–२ घण्टाको फरक राख्नुपर्छ र चिकित्सकलाई सबै औषधिबारे जानकारी दिनुपर्छ।

आयुर्वेदिक र एलोप्याथिक औषधिहरू सँगै प्रयोग गर्ने प्रवृत्ति आजकाल बढ्दो छ । किनकि, धेरैले यी दुवैको संयोजनले छिटो र प्रभावकारी उपचार हुने विश्वास गर्छन् । तर, यो बानी स्वास्थ्यको दृष्टिकोणबाट सुरक्षित छ त ? आयुर्वेदको प्राकृतिक उपचार र एलोप्याथीको वैज्ञानिक दृष्टिकोणलाई सन्तुलित रूपमा प्रयोग गर्न सकिन्छ, तर कसरी ?
चिकित्सकको सल्लाहबिना यी औषधिहरू मिसाउँदा गम्भीर स्वास्थ्य जोखिम निम्तिन सक्छ ।

युर्वेद र एलोप्याथी : फरक के ?

आयुर्वेद

यो हजारौं वर्ष पुरानो प्राकृतिक उपचार पद्धति हो । आयुर्वेदमा जडीबुटी, खानपान, योग, ध्यान र जीवनशैली परिवर्तनमार्फत रोगको उपचार गरिन्छ । यसले शरीरको सन्तुलन र रोग प्रतिरोधात्मक क्षमता बढाउन जोड दिन्छ । उदाहरणका लागि, अश्वगंधा तनाव कम गर्न र बेसार सुन्निएको समस्या कम गर्न प्रयोग हुन्छ ।

एलोप्याथी

यो आधुनिक चिकित्सा पद्धति हो, जसमा वैज्ञानिक अनुसन्धान र परीक्षणमा आधारित औषधिहरू प्रयोग गरिन्छ । डाक्टरले लेख्ने यी औषधिहरूले खास रोगलाई छिटो नियन्त्रण गर्छन्, जस्तै एन्टिबायोटिकले ब्याक्टेरियल संक्रमण ठिक गर्छ ।

दुवै औषधिहरू सँगै लिँदा कस्तो जोखिम हुन्छ ?

दुवै प्रकारका औषधिहरू सँगै लिँदा तिनीहरूको रासायनिक संरचना वा प्रभावले एकअर्कालाई असर गर्न सक्छ । यसलाई औषधिको ‘रियाक्सन’ भनिन्छ । उदाहरणका लागि अश्वगंधा र निद्राको औषधि । अश्वगंधाले तनाव कम गर्छ र निद्रालाई सहज बनाउँछ । यदि एलोप्याथिक निद्राको औषधि जस्तै ‘बेन्जोडायजेपाइन’सँगै अश्वगंधा लिइन्छ भने, अत्यधिक निद्रा वा बेहोसीको जोखिम बढ्न सक्छ ।

बेसार र रगत पातलो बनाउने औषधि पनि सँगै लिँदा औषधि रियाक्सन हुन सक्छ । बेसारमा रगत पातलो बनाउने गुण हुन्छ । यदि पहिलेदेखि रगत पातलो बनाउने औषधि जस्तै, एस्पिरिन वा वार्फरिन खाइरहेको छ भने, बेसारको प्रयोगले रगत बग्ने खतरा बढाउँछ । बेसार र एलोप्याथिक औषधिमा प्रयोग हुने रगत पातलो बनाउने औषधिहरूसँग अन्तरक्रिया गर्न सक्छ । कुर्कुमिन भनेको बेसारमा पाइने चम्किलो पहेंलो रासायनिक पदार्थ हो । सैद्धान्तिक रूपमा, कुर्कुमिनले रगत पातलो बनाउने औषधिसँगै लिँदा रगत बग्ने सम्भावना बढाउन सक्छ ।

एन्टिबायोटिक र आयुर्वेदिक औषधि

केही एन्टिबायोटिकले पेटका राम्रा ब्याक्टेरियालाई नष्ट गर्छन्, जसले आयुर्वेदिक औषधिको प्रभावकारिता घटाउन सक्छ । आयुर्वेदिक औषधिको गुणस्तरमा ध्यान दिनुपर्छ । बजारमा उपलब्ध २५ प्रतिशत आयुर्वेदिक औषधिहरूमा सिसा, पारा वा अन्य हानिकारक धातुहरू मिसावट भएको हुन सक्ने केही अध्ययनहरूले देखाएका छन् ।

यस्ता औषधिहरूले दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्छन् । त्यसैले, आयुर्वेदिक औषधि खरिद गर्दा प्रमाणित र विश्वसनीय ब्रान्डको मात्र प्रयोग गर्नुपर्छ ।

के दुवै औषधि सँगै लिन सकिन्छ ?

केही अवस्थामा आयुर्वेदिक र एलोप्याथिक औषधिहरू सँगै लिन सकिन्छ, तर चिकित्सकको सल्लाह अनिवार्य लिनुपर्छ । आजकाल केही क्लिनिकहरूले एकीकृत चिकित्सा ‘आयुर्वेद र एलोप्याथीको मिश्रण’ अपनाइरहेका छन् । जस्तो मधुमेहका बिरामीले एलोप्याथिक औषधिसँगै आयुर्वेदिक खानपान र योगलाई समावेश गर्न सक्छन् । तर, यस्तो संयोजन सधैं चिकित्सकको निगरानीमा हुनुपर्छ ।

सावधानीका उपायहरू

दुवै प्रकारका औषधिहरू सुरक्षित रूपमा प्रयोग गर्न केही कुरामा विशेष ध्यान दिनुपर्छ । आयुर्वेदिक र एलोप्याथिक औषधिहरू एकै पटक खानु हुँदैन । कम्तीमा १–२ घण्टाको फरक राख्नुपर्छ ता कि औषधिहरूले एकअर्कालाई असर नगरोस् ।

खाइरहेका सबै औषधि आयुर्वेदिक र एलोप्याथिक दुवैबारे चिकित्सकलाई बताउनुपर्छ । एक प्रतिवेदनअनुसार, ४० प्रतिशत मानिसहरूले दुवै प्रकारका औषधि लिन्छन्, तर चिकित्सकलाई जानकारी दिँदैनन् । यसले गम्भीर जोखिम निम्त्याउन सक्छ ।

गम्भीर रोगमा सावधानी अपनाउनु पर्छ क्यान्सर, टीबी वा मुटुको रोग जस्ता गम्भीर अवस्थामा बिनासल्लाह आयुर्वेदिक औषधि प्रयोग गर्नु हुँदैन । यस्ता रोगमा एलोप्याथिक उपचारलाई प्राथमिकता दिनुपर्छ ।

आयुर्वेदिक औषधिको स्रोत जाँच्नुपर्छ प्रमाणित र गुणस्तरीय आयुर्वेदिक औषधि मात्र प्रयोग गर्नुपर्छ । मिसावट भएका औषधिहरूले स्वास्थ्यलाई हानि पुर्‍याउन सक्छन् ।
जीवनशैलीमा ध्यान दिनुपर्छ आयुर्वेदले खानपान र दिनचर्यालाई जोड दिन्छ । चिकित्सकसँग सल्लाह गरेर स्वस्थ खानपान र योगलाई उपचारको हिस्सा बनाउन सकिन्छ ।

ध्यान दिनुपर्ने कुरा

आयुर्वेद र एलोप्याथी दुवैको आ-आफ्नै महत्त्व छ । आयुर्वेदले प्राकृतिक र दीर्घकालीन उपचारमा जोड दिन्छ, भने एलोप्याथीले तत्काल र लक्षित उपचार प्रदान गर्छ । दुवैलाई सँगै प्रयोग गर्न सकिन्छ, तर जानकारी, सावधानी र चिकित्सकको सल्लाह अनिवार्य हुन्छ । बिना सोचविचार दुवै औषधिहरू मिसाउँदा स्वास्थ्यमा हानि पुग्न सक्छ । त्यसैले, आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै चिकित्सकको मार्गदर्शनमा उपचार गर्नुपर्छ ।

‍औषधि आयुर्वेद
डा. सन्तोष घिमिरे
लेखक
डा. सन्तोष घिमिरे
जनरल फिजिसियन

जनरल फिजिसियन  डा. सन्तोष घिमिरेको नेपाल मेडिकल काउन्सिल नम्बर २२९३४  हो । उनी हाल लुम्बिनी प्रादेशिक अस्पताल , बुटवलमा कार्यरत छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय