+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
3/0 (1.2)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिन सम्भावना कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • औषधि गुणस्तर कायम राख्न ढुवानी र भण्डारण प्रक्रियामा तापक्रम, आद्रता र सूर्यको किरणबाट बचाउन आवश्यक छ।
  • नेपालमा औषधि भण्डारणमा तापक्रम र आद्रताको भिन्नताका कारण गुणस्तर ह्रास हुने समस्या देखिन्छ।
  • औषधि पसलमा चर्को घाममा राखिएको देखेमा सच्याउन अनुरोध गर्न सकिन्छ, नमान्दा औषधि व्यवस्था विभागमा उजुरी गर्न सकिन्छ।

रोग निको पार्नका लागि हामी जुन औषधि खान्छौँ, त्यो गुणस्तरयुक्त हुनु जरुरी छ । कतिपय अवस्थामा औषधि गुणस्तरीय भए पनि त्यसको ढुवानी, भण्डारण जस्ता प्रक्रियामा हुने कमजोरीले गुणस्तर खस्किन पुग्छ ।

हामीले प्रयोग गर्ने औषधिहरूका गुण फरक-फरक हुन्छन् । कोठाको तापक्रममा राख्नुपर्ने, कम तापक्रममा राख्नुपर्ने, माइनस तापक्रममा राख्नुपर्ने राखका औषधि हुन्छन् । सूर्यको किरणको सम्पर्कमा आए बिग्रने, हावाको सम्पर्कमा वा धेरै आद्रता भएमा बिग्रने औषधिहरू पनि हुन्छन् । यस्ता विषयमा ख्याल गर्नुपर्छ ।

नेपालको भौगोलिक बनोट विशिष्ट र विविध छ । भू-गोलको विविधताका कारण हरेक ठाउँको तापक्रम र आद्रता भिन्न छ । बाटोघाटोको अवस्था, उपलब्ध साधन स्रोत, औषधि ढुवानी गर्ने जनशक्तिमा औषधीय ज्ञानको कमी जस्ता कुराले औषधिको गुणस्त ह्रास हुने समस्या देखिन्छ ।

निरन्तर चिसोमा राखेर ढुवानी गर्नुपर्ने औषधिहरू तथा भ्याक्सिनहरू कहिलेकाहीँ खुद्रा विक्रेताले थोक विक्रेताबाट औषधि ल्याउँदा गर्मी याममा पनि त्यस्तै बोकेर हिँडेको हुनसक्छन्।

विक्री गर्ने ठाउँमा लगेर पनि फ्रिजमा राम्ररी नराखेको हुनसक्छ । यसमा, ती व्यक्तिहरू अत्यन्तै धेरै जिम्मेवार हुन आवश्यक छ । सही रूपमा भण्डारण तथा ढुवानी भएको छ कि छैन भनेर अनुगमन गर्ने नियामक निकायको सक्रियता आवश्यक हुन्छ ।

यस्तै कम तापक्रममा राख्नुपर्ने औषधिहरू चिकित्सकले बिरामीलाई किनेर ल्याउ भन्ने र बिरामीले पोलिथिनमा बोकेर ल्याउने गरेको देखिन्छ । यसले गर्दा चिस्यानको श्रृङ्खलामा अवरोध आउँछ । औषधिको प्रभावकारिता घट्न सक्छ ।

औषधि भण्डारण गर्ने कोठामा सूर्यको प्रकाश, हावाको गति, आद्रता, निरन्तर विद्युत आपूर्ति लगायत कैयन कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ । यी कुरामा सेवाग्राही आफैँ पनि सचेत हुनुपर्छ ।

हरेक औषधिको आफ्नो स्थिरता अवधि हुन्छ । औषधिको पत्तामा हेर्यौँ भने- कहिले उत्पादन भएको हो र कहिले म्याद समाप्ति हुन्छ भनी लेखेको हुन्छ । त्यो म्यादसम्म तोकिएको तापक्रम तथा आद्रतामा राखिएमा सुरक्षित रहन्छ भनिएको हो । यदि तोकिएअनुसार ढुवानी तथा ‍भण्डारण नगरिएको खण्डमा म्याद समाप्ति मिति अगाडि पनि औषधि बिग्रन सक्छ, काम नगर्न सक्छ । त्यसैले औषधिको पत्तामा अथवा बट्टामा दिएको निर्देशन अनुसार भण्डारण गर्ने गरौँ।

नेपालमा कैयौँ फार्मेसीहरूमा राखेका औषधिहरूमा सिधै घामको किरण परेको देख्न सक्छौँ । चर्को घाम लागेका बेला पनि औषधिहरू घामको सम्पर्कमा आएको देखिन्छन् । के यी औषधिहरू सुरक्षित होलान् त ? यसै भन्न सकिने अवस्था छैन । औषधिको म्याद सकिएको छ कि छैन भन्ने कुरा मात्रै हेरेर हुँदैन त्यसलाई सही रूपमा भण्डारण गरिएको छ कि छैन त्यो पनि महत्वपूर्ण हुन्छ । सूर्यको किरण र आद्रताको सम्पर्कमा आउँदा केमिकल नै परिवर्तन भई फरक तत्व बन्न सक्छ।

सामान्यतया औषधिहरूलाई १५ देखि २५ डिग्री सेल्सियस वा ३० डिग्री सेल्सियससम्मको तापक्रममा मात्रै राख्न निर्देशित गरिएको हुन्छ । तराईमा गर्मीयाममा बाहिरको तापक्रम ३५-४0 डिग्री पनि हुन्छ । यस्तो तापक्रम भएका बेलामा पनि औषधिहरू घाम पर्ने गरी पसलमा बेच्न राखिएको देखिन्छ । यसरी कुनै औषधि महिनौ पसलमा रहन पनि सक्छन् ।

घरमा लगेपछि पनि घाम पर्ने ठाउँमा राखिएको हुनसक्छ । तराईको गर्मीमा पनि धेरै परिवारहरू टिनका छानामुनि बस्ने गर्छन्, जुन ठाउँको तापक्रम गर्मीको समयमा धेरै हुन्छ । यस्तो अवस्थामा घरभित्रै राखिएको अवस्थामा पनि बढी तापक्रममा औषधिको गुणस्तरमा असर गरिरहेको हुन्छ । हाम्रा कैयौँ असहज परिस्थितिका बावजुद पनि औषधिलाई सकेसम्म चर्को घाम र प्रत्यक्ष सूर्यको प्रकाशबाट बचाउनुपर्छ।

त्यसैले जमिनमा काठ राखेर थोरै माथि र तुलनात्मक रुपमा थोरै चिसो हुने ठाउँमा राखौं ।सकेसम्म टिनको छानाको ठ्याक्कै तल औषधि राख्नुहुँदैन ।

भण्डारण कसरी गर्ने भन्ने कुरा औषधिको बाहिरी पत्तामा अथवा बट्टामा लेखिएको हुन्छ । कुल प्लेस (cool place) अथवा रेफ्रिजरेटेड (refrigerated) भनेर लेखेको छ भने क्रमशः ८ देखि १५ डिग्री वा २ देखि ८ डिग्रीको चिस्यानमा राख्नुपर्छ । जसमा प्रायजसो भ्याक्सिन, बायोलोजिकल, तथा धेरै तापक्रमबाट असर पर्ने औषधिहरू पर्दछन्। साथै आद्रता ५०-६० प्रतिशत भन्दा बढी नहुनुलाई उपयुक्त मानिन्छ । किनकि माथि भनिएझैँ उच्च तापक्रम र उच्च आद्रताले औषधिमा रासायनिक प्रतिक्रिया गराउन सक्छ र औषधिको गुणस्तर नष्ट गराउन सक्छ ।

भण्डारण क्षेत्र जहिले पनि धुलोमुक्त, सफा, राम्रो हावा सञ्चार हुने र सिधै जमिनमा नभई र्‍याकमाथि राख्नु राम्रो हुन्छ । फार्मेसी चलाउनेहरूले औषधिको यकिन गरी सही भण्डारण गर्न जरुरी छ । र कुन औषधि कसरी भण्डारण गर्ने बिरामीलाई पनि बताउन जरुरी छ । कतैकतै गाउँघरमा आगो बाल्ने भन्दा ठिक माथिको र्‍याक तथा खटियातिर औषधि राखेको पनि भेटिन्छ । यसरी निरन्तर रूपमा धुवा र धेरै तापक्रमको सम्पर्कमा आउँदा औषधि बिग्रिन सक्छ । त्यसैले औषधिहरू चुलो तथा आगोको नजिकबाट पनि टाढा राखौं।

विगतमा नेपालमा व्यापक लोडसेडिङ थियो अहिले पनि कुनैबेला हुन्छ । ढुवानीका असहजताहरू अहिले पनि छन्। माथि चर्चा गरिएझैँ निरन्तर चिस्यान आवश्यक पर्ने औषधिहरू कति सुरक्षित छन् भन्ने कुरा यसै भन्ने अवस्था छैन । तर विश्वव्यापी रूपमा निर्देशित भएका मार्गदर्शनहरू हामीले पनि अनुसरण गरेका हुन्छौं । त्यसैले हाम्रा स्वास्थ्यकर्मीहरूले पनि सक्दो त्यो दिशामा प्रयत्न गर्नुभएको हुन्छ ।

फेरि पनि यी कुरामा सचेत बनौँ: उचित भण्डारण नहुँदा औषधिको सक्रिय तत्व क्रमशः विघटित हुँदै जान्छ, जसले यसको सक्रिय क्षमता तथा प्रभावकारिता घटाउँछ। केही औषधि प्रकाश-संवेदी वा आद्रतासंवेदी हुने भएकाले गलत वातावरणीय प्रभावले रासायनिक संरचनामा हानिकारक परिवर्तन ल्याउन सक्छ । यसो हुँदा विषाक्तता वा अनपेक्षित साइड इफेक्ट समेत उत्पन्न गर्न सक्छ । भण्डारण अवस्था बिग्रिएको औषधिले म्याद समाप्ति मिति नपुग्दै प्रभावकारिता गुमाउन सक्छ, जसले उपचार असफल हुनु, रोग दोहोरिनु, र अन्ततः औषधिप्रतिको विश्वास घट्नुजस्ता समस्याहरू निम्त्याउन सक्छ ।

यदि कुनै औषधि पसलेले चर्को घाम पर्ने ठाउँमा औषधि राखेको देखे त्यो सच्याउन अनुरोध गर्ने । यदि उसले अटेर गरेमा औषधि व्यवस्था विभागमा उजुरी पनि गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?