+

औषधिको पत्ता तथा बट्टामा के-के लेखिन्छ ? प्रयोग गर्नेले थाहा पाउनुपर्ने कुरा

२०८२ मंसिर  ४ गते १८:३७ २०८२ मंसिर ४ गते १८:३७
Shares
औषधिको पत्ता तथा बट्टामा के-के लेखिन्छ ? प्रयोग गर्नेले थाहा पाउनुपर्ने कुरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • औषधिको पत्ता, प्याकेट वा बट्टामा नाम, ब्रान्ड, रासायनिक नाम, सक्रिय र सहायक तत्व, प्रकार, प्रयोग विधि र मात्रा उल्लेख हुन्छ।
  • औषधिको भण्डारण, म्याद समाप्ति, निर्माता विवरण र ओभरडोज जोखिमसम्बन्धी निर्देशनहरू औषधिको पत्तामा स्पष्ट रूपमा दिइन्छ।

हामीले प्रयोग गर्ने औषधिको पत्ता, प्याकेट, बट्टा वा बट्टाभित्रको कागजमा धेरै महत्वपूर्ण जानकारीहरू हुन्छन् । यी जानकारीहरूले औषधि किन, कसरी, कहिले र कति मात्रामा प्रयोग गर्ने भन्ने कुरा बुझ्न मद्दत गर्छन् । त्यसैले औषधि प्रयोग गर्नुअघि यी विवरणहरू ध्यानपूर्वक पढ्ने बानी बसाल्न जरुरी छ।

यसमा औषधिको नाम, त्यसको ब्रान्ड नाम र रासायनिक (जेनेरिक) नाम हुन्छ । औषधिभित्र के-के पदार्थ (सक्रिय तत्व र सहायक तत्व) प्रयोग भएको छ भन्ने पनि उल्लेख हुन्छ । औषधि कुन प्रकारको हो- जस्तै एन्टिबायोटिक, दुखाइ कम गर्ने वा सुन्निएको कम गर्ने जस्ता कुरा पनि त्यहाँ उल्लेख गरिएको हुन्छ।

औषधि कसरी र कहिले खानुपर्छ, कति मात्रामा दिनमा कति पटक लिनुपर्छ, खाना अघि वा पछि लिनु उपयुक्त हुन्छ कि हुँदैन, र कति दिनसम्म चलाउनुपर्छ भन्ने सबै निर्देशन त्यही पत्तामा हुन्छ । साथै औषधि कुन समस्यामा प्रयोग गरिन्छ भन्ने जानकारी पनि पाइन्छ।

कसलाई यो औषधि प्रयोग गर्न नहुने, कुनै पदार्थमा एलर्जी भएको छ कि छैन वा शरीरले नसहने अवस्था छ कि छैन भन्ने चेतावनीहरू पनि उल्लेख गरिएका हुन्छन् । गर्भावस्था, स्तनपान, दीर्घरोग वा अन्य विशेष अवस्थामा के-कस्तो सावधानी अपनाउनुपर्छ भन्ने जस्ता अत्यन्त महत्वपूर्ण जानकारी पनि हुन्छ।

औषधिले देखाउन सक्ने साधारण र गम्भीर दुष्प्रभाव, अन्य औषधिसँग तथा खाना-पेय पदार्थसँग हुने अन्तरक्रिया र ती अन्तरक्रियाले शरीरमा पार्न सक्ने असरहरूको स्पष्ट विवरण त्यहाँ पाइन्छ । यदि औषधि धेरै मात्रामा खाइयो भने के-कस्ता लक्षण देखिन सक्छन्, त्यसको उपचार कसरी गर्नुपर्छ, र ओभरडोज अत्यधिक खतरनाक किन हुन्छ भन्ने कुरा पनि उल्लेख हुन्छ ।

त्यसबाहेक औषधि कसरी र कहाँ भण्डारण गर्ने, कति तापक्रममा राख्ने, बालबालिकाबाट टाढा राख्ने, सूर्यको किरणबाट जोगाउने, जस्ता निर्देशन पनि त्यहाँ हुन्छन् । निर्माण कम्पनीको नाम, ठेगाना, सम्पर्क विवरण, साथै निर्माण मिति र म्याद सकिने मिति पनि उल्लेख गरिएको हुन्छ, जुन जाँच्न सदैव आवश्यक हुन्छ।

कहिलेकाहीँ औषधि कसरी फाल्ने भन्ने विशेष निर्देशन तथा सरकारी निकायले दिएको अनुमति र दर्ता नम्बरजस्ता आधिकारिक जानकारी पनि सामेल हुन्छन् । बिरामीका लागि छुट्टै महत्त्वपूर्ण सूचना र प्रयोग गर्दा ध्यान दिनुपर्ने नोटहरू पनि त्यही कागजमा दिइएका हुन्छन् ।

अन्त्यमा, यी सबै जानकारीहरूले औषधि सही तरिकाले, सुरक्षित रूपमा र चिकित्सक वा फार्मासिस्टको सल्लाह अनुसार प्रयोग गर्न सहयोग गर्छन् । औषधिको पत्ता पढ्नु अत्यन्त महत्वपूर्ण छ।

यी सबै जानकारीहरूले औषधिको सही प्रयोग र सम्भावित जोखिमहरूको बारेमा सूचित गर्न मद्दत गर्छ । औषधिको पत्ता पढ्नु र चिकित्सक वा फार्मासिस्टको सल्लाह अनुसार औषधिको प्रयोग गर्नु अत्यन्त महत्वपूर्ण छ।

औषधि स्तर नियमावली वि.सं २०४३ ले औषधिलाई निम्न समूह र उपसमूहमा विभाजन गरेको छ । औषधिको पत्तामा अथवा बट्टामा कुन समूहको औषधि हो भन्ने कुरा खुलाइएको हुन्छ । समूह ‘ग’ बाहेकका अरू औषधिहरू आफैँ किनेर खान मिल्दैन ।

समूह ‘क’ मा लागू र विषालु औषधिहरू पर्छन् । एकपटक वितरण भइसकेपछि चिकित्सकले लेखेको पत्रमा अनिवार्य ‘वितरण भएको’ भनेर छाप लगाउनुपर्छ । ताकि यसको फेरि खरिद गरेर दुरुपयोग हुन नसकोस्।

समूह ‘क’ को उपसमूह १ र २ मा परेका औषधिको लेबलमा ‘होसियार ! चिकित्सकको विष र प्रेस्क्रिप्सनबिना विक्री वितरण गर्न नमिल्ने’ भन्ने शब्द लेखिएको हुन्छ ।

समूह ‘ख’ मा एन्टिबायोटिक र हर्मोन आदि पर्छन् । समूह ‘ख’ मा पर्ने औषधिको लेबलमा ‘होसियार : चिकित्सकको प्रेस्क्रिप्सनबिना विक्री वितरण गर्न नमिल्ने’ भन्ने शब्द लेखिएको हुन्छ।

त्यसैले समूह क र ख मा पर्ने औषधिहरू विक्री वितरण गर्न चिकित्सकको निदानपत्र अनिवार्य आवश्यक पर्छ र फार्मासिस्टको निगरानीमा मात्र वितरण गर्न मिल्छ ।

समूह ग मा पर्ने औषधिहरू सहजै रूपमा विक्री वितरण गर्न सकिन्छ । चिकित्सकको निदानपत्र तथा फार्मासिस्टको उपस्थिति अनिवार्य छैन । यसको उपसमूह १ मा समूह क र ख मा भएका औषधिहरू निश्चित रूपमा तोकिएको थोरै मात्रामा भएकाहरू समावेश हुन्छन् । बाँकी दुखाइ कम गर्ने, ज्वरो, झाडापखाला आदिमा प्रयोग हुने औषधिहरू उपसमूह २ मा पर्छन्।

समूह क, ख र ग मा पर्ने औषधिहरू के-के छन् भनेर हेर्न औषधि स्तर नियमावली वि.सं २०४३ को अनुसूची ४ मा हेर्न सकिन्छ ।

अब उदाहारणबाट बुझौँ ।

नेपालमा सामान्यतया ट्याब्लेटको पत्तामा पाइने लेबलको एक नमुना हेरी बुझ्ने प्रयास गरौँ ।

माथि दिएको चित्रमा हेरौँ ‘Acetamol’ भनेको उत्पादन गर्ने कम्पनीले दिएको आफ्नो व्यापारिक नाम हो र यसको मूल तत्त्वको नाम ‘Acetaminophen’ (जेनेटिक नाम) हो ।

विश्वभरमा हजारौँ कम्पनीहरूले ‘Acetaminophen’ उत्पादन गर्छन् । तर हरेकले आ-आफ्नो व्यावसायिक नाम फरक-फरक दिन सक्छन् । त्यसैले तपाईँले कहिलेकाहीँ औषधि किन्नु पर्‍यो भने यदि कुनै व्यावसायिक नामको औषधि महँगो छ भने, अर्को कम्पनीको औषधि लिन सक्नुहुन्छ । तर माथि भनिएझैँ मूलतत्व अर्थात जेनेरिक नाम एउटै हुनुपर्‍यो।

त्यसैगरी त्यहाँ ‘USP’ लेखिएको छ, जुन भनेको ‘United States Pharmacopoeia’ अर्थात् अमेरिकी फार्माकोपिया भन्न खोजेको हो । यसको अर्थ यो औषधि ‘USP’ भन्ने पुस्तकमा लेखेअनुसार बनाइएको हो । त्यसैगरी विभिन्न औषधिहरू विभिन्न फार्माकोपिया अनुसार बनाइएका हुनसक्छन् । नेपालमा प्राय प्रयोग हुने फार्माकोपीहरू JP, IP, BP, USP, Ph.Int. आदि हुन्।

त्यसैगरी ५००mg भनेको यसको एउटा ट्याब्लेटमा हुने मूल तत्त्व ‘acetaminophen’ को मात्र हो ।

यसको तल Excipients q.s लेखेको छ । यसको अर्थ औषधिको मूलतत्त्वलाई निश्चित आकार दिन, लामो समयसम्म भण्डारण गर्न सक्ने, आदि प्रयोजना हेतु प्रयोग हुने गैर औषधिय तत्त्व (निष्क्रिय तत्त्व)  हो । जसको प्रभाव शरीरमा हुँदैन ।

यसैगरी ‘Dosage’ मा ६ घण्टामा एक ट्याब्लेट खाने वा चिकित्सकको सल्लाह बमोजिम भनेको छ । तर २४ घण्टामा ६ ट्याब्लेटभन्दा बढी खान नमिल्ने निर्देशन छ ।
यस्ता कुराहरू पूर्णरूपमा पालना गरौ, यो औषधि धेरै खाएमा तपाईँको कलेजोमा क्षति पुर्‍याउँछ । यसैगरी ‘Storage’ मा कसरी भण्डारण गर्ने भन्नेबारे बताएको छ । चिसो, सुक्खा र अँध्यारो ठाउँमा राख्ने अनि बच्चाको पहुँचबाट टाढा राख्न भनेको छ । तापक्रम, आद्रता, सूर्यको प्रकाश आदिले औषधिको प्रभावकारिता घटाउन सक्छ ।

यसैगरी त्यसको तल उत्पादकको लाइसेन्स नम्बर, ब्याच नम्बर, उत्पादित मिति र म्याद समाप्त हुने मिति दिइएको छ ।

लाइसेन्स नम्बरले सरकारबाट अनुमति लिएर गरेको भन्ने बुझाउँछ । हमेशा म्याद समाप्ति जानकारीमा राख्ने गरौं । म्याद समाप्त भएको औषधि नखाऊँ । यसैगरी त्यसको तल उत्पादकको नाम र ठेगाना दिइएको छ । यदि कुनै औषधिका विरुद्ध उजुरी गर्न पर्यो भने यी कुराहरू जानकारीमा राखौं ।

‍औषधि
डा. दीर्घराज जोशी
लेखक
डा. दीर्घराज जोशी
औषधि रसायन विज्ञ

औषधि रसायन विज्ञानमा विद्यावारिधि गरेका डा. दीर्घराज जोशीले अमेरिकामा केही समयका लागि भाइरस विरुद्धको औषधि आविष्कार कार्यमा समेत काम गरेका थिए । हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपप्राध्यापकका रुपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय