+
+
Shares

सान्टा क्लज : मिथकदेखि कोका-कोलाको विज्ञापनसम्म

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डच भाषीहरूले \'सिन्टरक्लास\' लाई अमेरिकामा पुर्याएपछि यसको उच्चारण सान्टा क्लजमा परिणत भयो र त्यो कथा लोककथामा परिणत भयो।

क्रिससमका बेला विश्वभरी एउटा पात्र व्यापक हुन्छ । मोटो शरीर, लामो सेतो दाह्री, रातो टोपी र रातो पोसाक लगाएको हँसिलो वृद्ध मान्छे गैरधार्मिक समुदायमा समेत उत्तिकै छाउँछ । अर्थात् सान्टा क्लज ।

यो शब्द क्रिसमसको पर्याय नै हो । मुख्यत: सान्टा क्लजलाई ‘सोसल ब्रान्डिङ’ गरिएको छ । उनीमाथि अनेकन् भिडियो, फिल्म बनाइएको छ । कथनहरू जोडिएका छन् ।
यसरी सान्टा क्लज कसैका पौराणिक पात्र हुन्, कसैका लागि व्यापारिक ब्रान्ड त कसैका लागि बाल्यवस्थाको सबैभन्दा ठूलो सपना । किनकि सान्टा क्लजले बालबालिकाहरूलाई उपहार ल्याइदिन्छन् भन्ने कथन छ ।

सान्टाको इतिहास हेर्ने हो भने हामी चौथो शताब्दीमा पुग्छौं । प्राचीन शहर ‘मायरा’ (हालको टर्की)मा निकोलस नामका एक पादरी बस्थे । उनी निकै धनी परिवारमा जन्मिएका थिए । उनमा सम्पत्तिको लोभ पटक्कै थिएन ।

उनकै शहरमा गरिब बुबा र तीन छोरीहरू पनि बस्थे । तर ती बुबासँग छोरीहरूको विवाहका लागि दाइजो दिने पैसा थिएन । त्यसबेलाको समाजमा दाइजो दिन नसक्दा छोरीहरूलाई दासका रूपमा बेच्नुपर्ने अवस्था थियो ।

निकोलसले उक्त कुरा थाहा पाएपछि त्यो घरमा रातको समयमा सुटुक्क गए । झ्यालबाट सुनको सिक्का फालिदिए । अनि त्यही सिक्काको प्रयोग गरेर ती बुबाले छोरीहरूको विवाह गराइदिएका थिए ।

पछि सेन्ट निकोलसको मृत्यु भयो । तर, बालबालिका र गरिबका संरक्षक मानेर धेरैले उनलाई पुज्न थाले । जुन क्रम: लामै समयसम्म चल्यो । १६औं शताब्दीसम्ममा आइपुग्दा भने चर्चहरूमा सुधारको लहर आउन थाल्यो । त्यही लहरका क्रममा सेन्ट निकोलसलाई धेरैले पूजा गर्न छाडिदिए । यद्यपि नेदरल्याण्ड्समा सेन्ट निकोलसको कथा जीवित रह्यो ।

डच भाषामा उनलाई ‘सिन्टरक्लास’ भनिन्थ्यो । अनि डच भाषीहरूले उनी एउटा सेतो घोडामा चढेर आउने र असल बालबालिकाका लागि उपहार ल्याउने भनिन्थ्यो । यस्तो कथन बोकेका डच समुदायका मान्छेहरू १७औं शताब्दीको अन्त्यतिर अमेरिकाको न्युयोर्कमा पुगे । त्यहाँ ‘सिन्टरक्लास’को उच्चारण बिग्रेर ‘सान्टा क्लज’ हुन गयो ।

त्यति मात्र नभएर सान्टा क्लज साहित्य र कलामा पनि देखिन थाल्यो । जस्तो, सन् १८०९ मा वासिङ्टन इर्विङमा आफ्नो पुस्तकमा सान्टालाई तमाखु पिउने र उपहार बाँड्दै हिँड्ने एक व्यक्तिको रूपमा वर्णन गरे।

साहित्यमा सान्टाको त्यस्तो उपस्थितिले गर्दा धार्मिक स्वरूप बिस्तारै बदलिँदै गयो । र, लोककथाको स्वरूपमा देखिन थाल्यो । पछि त सान्टा क्लज साहित्यमा झनै धेरै देखिन थाल्यो । जस्तो, क्लेमेन्ट क्लार्क मोरले ‘अ भिजिट फ्रम सेन्ट निकोलस’ नामक कविता सन् १८२३ मा लेखे । उक्त कवितामा सान्टा क्लजको हुलिया र कार्यशैलीबारे वर्णन गरिएको थियो ।

पछि थोमस नास्टले सन् १८८१ मा पहिलो पटक सान्टाको चित्र कोरे । उनले सान्टालाई मोटो, हँसिलो, रातो लुगा लगाएको र सेतो दाह्री भएको देखाइएका थिए । अनि उनैले असल र खराब बच्चाहरूलाई सान्टाले फरक-फरक तरिकाले ‘ट्रिट’ गर्ने भन्ने कथनलाई अझ विस्तार गरिदिए ।

त्यस्तै लोककथा अनुसार सान्टा क्लज संसारको सबैभन्दा उत्तरी विन्दु ‘नर्थ पोल’ मा बस्छन् । त्यहाँ उनको एउटा ठूलो कार्यशाला छ । त्यहीं नै उनले आफ्नो सहयोगीहरू, जसलाई एल्भ्स भनिन्छ, सँग मिलेर बालबालिकाहरूका लागि काठका खेलौना र आधुनिक ग्याजेटहरू बनाउन व्यस्त रहन्छन् ।

जुन उनले क्रिसमसको छेकोमा संसारभर बाँड्छन् । उनलाई उनकी श्रीमती मिसेज क्लजले कुकिजहरू बनाउन सहयोग गर्छिन् । कथनमा सान्टा क्लजकी श्रीमतीको प्रवेश भने १८औँ शताब्दीको अन्त्यतिर भएको थियो।

त्यसरी परिवर्तन हुँदै आएको सान्टा क्लजलाई पेयपदार्थ कम्पनी कोका‍-कोलाले बनाएको भनेर पनि धेरैले विश्वास गर्ने गर्छन् । किनकि सान्टा क्लजलाई यो तहको चर्चित पात्र बनाउनुमा कोका‍‍‍‍-कोलाको ठूलो हात छ ।

१९औं शताब्दीसम्म सान्टाले कहिले हरियो, कहिले निलो त कहिले खैरो रङको कोट लगाएको देखाइन्थ्यो । तर सन् १९३१ मा कोका-कोलाले एडन सन्डब्लमलाई सान्टाको चित्र कोर्न लगायो । कम्पनीको लोगो रातो र सेतो भएकाले उनले सान्टालाई चम्किलो रातो लुगामा प्रस्तुत गरे ।

पछि त्यो चित्र भएको विज्ञापन यति चर्चित भयो कि मानिसहरूको मानसपटलमा सान्टाको एउटै मात्र ‘इमेज’ बस्यो । त्यसयता सान्टा भन्ना साथै रातो लुगा र सेतो भुवा भएको कोट बुझ्न थालियो ।

तर आज आएर सान्टा क्लज खेलमा बदलिएको छ । एउटा सांस्कृतिक सेतु बनेको छ । क्रिसमसलाई छेको पारेर धेरैले ‘स्रिकेट सान्टा’ जस्ता खेल खेल्छन् । यो भनेको आफ्नो साथीहरूलाई थाहा नदिएर गोप्य तरिकाले उपहारहरू दिने हो । अनि मल तथा चर्चहरूतिर सान्टा क्लज बन्ने लहड चलेको छ ।

यसरी एउटा मिथकबाट सान्टा क्लज अहिले विश्वव्यापी बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?