+

औषधिको प्रयोगबारे जानी राखौं यी महत्वपूर्ण कुरा

२०८२ साउन  १५ गते १८:०३ २०८२ साउन १५ गते १८:०३
Shares
औषधिको प्रयोगबारे जानी राखौं यी महत्वपूर्ण कुरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • औषधि सही तरिकाले प्रयोग गर्न चिकित्सकको सल्लाह लिनु आवश्यक छ र अरूको औषधि प्रयोग गर्नुहुँदैन।
  • औषधि प्रयोग गर्दा म्याद, प्याकिङ, मात्रा, र प्रयोग विधि ध्यान दिनुपर्छ र पुरानो प्रेस्क्रिप्सनबाट औषधि नलिनुहोस्।
  • म्याद गुज्रिएको औषधि नष्ट गर्न स्वास्थ्य संस्था र फार्मासिस्टको सल्लाह लिनुहोस् र नक्कली औषधि किन्नबाट बच्न चनाखो रहनुहोस्।

औषधि हाम्रो जीवनको पर्याय हो । कुनै स्वास्थ्य समस्या हुनेबित्तिकै हामी स्वास्थ्य संस्थामा पुगेर जाँच गरी औषधि ल्याएर खान्छौँ । नभए एक नजिकैको औषधि पसलमा पुगिहाल्छौँ, औषधि किन्न । दीर्घरोगका कारण हरेक दिन औषधि खानेको संख्या पनि ठूलो छ । लगभग सबैले धेरथोर औषधिको प्रयोग गर्नेगर्छन् ।

वर्षौँदेखि औषधि प्रयोग गर्दै आएपनि धेरैलाई यसबारेका जान्नै पर्ने कुराको ज्ञान नहुन सक्छ । औषधिलाई सही तरिकाले प्रयोग गर्न, यसको प्रभावकारिता कायम राख्ने केही ज्ञानहरू आवश्यक छ ।

औषधिबारे जान्ने पर्ने कुराहरू

१. कतिपय सामान्य स्वास्थ्य समस्यामा औषधिको जरुरी नहुन सक्छ । योग्य स्वास्थ्यकर्मीको सल्लाहबिना औषधि लिनुहुँदैन। औषधि खाएर मात्रै रोग निको हुन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । विश्वमा १० हजार बढी दुर्लभ रोगहरू माथि अध्ययन भएको छ । तर, केवल ५ प्रतिशत जतिको मात्रै अहिलेसम्म उपचार छ । प्रत्येक व्यक्तिको फरक शारीरिक अवस्था र स्वास्थ्य समस्या हुने भएकाले, चिकित्सकले बिरामीको अवस्था अनुसार औषधि लेखिदिन्छन् । त्यसैले उस्तै समस्या देखियो भन्दैमा अरूको औषधि प्रयोग गर्नुहुँदैन ।

२. औषधिको प्रयोग गर्ने समय र मात्रा पालना गर्नुहोस्। पुरानो प्रेस्क्रिप्सनबाट औषधि नलिनुहोस् । यदि तपाईंसँग पहिलेबाटै केही औषधिहरू छन् र त्यसलाई प्रयोग गर्न चाहनुहुन्छ भने, डाक्टर वा फार्मासिस्टसँग परामर्श गर्नुहोस् । प्रेस्क्रिप्सन आवश्यक पर्ने औषधि आफैं परिवर्तन नगर्नुहोस्।

३. औषधिको प्याकिङ राम्रो भएको छ वा छैन जाँच गर्नुहोस् । च्यातिएको वा फुटेको प्याकेजिङ भएको औषधि प्रयोग गर्नुहुँदैन किनकि यसले औषधिको गुणस्तरमा असर पार्न सक्छ।

४. औषधिको पत्ता वा कभरमा लेखिएको (लेबल/ प्रयोगकर्ता सूचना पत्र) राम्रोसँग पढ्नुहोस्।  म्याद गुज्रिएको औषधि नलिनुहोस्। कुनै पनि औषधि प्रयोग गर्नुअघि यसको उत्पादन मिति र समाप्ति मिति जाँच गर्नुहोस् ।

५. चिकित्सकलाई आफूले खाइरहेको औषधिको जानकारी दिनुहोस् । कुनै नयाँ लक्षण देखिएको छ भने पुराना औषधि प्रयोग नगर्नुहोस् । डाक्टरसँग परामर्श गरी नयाँ उपचारको योजना बनाउनुहोस्।

६. सजिलो भाषामा औषधिको नाम र मात्रा नोट गर्नुहोस् । औषधिको दुष्प्रभावबारे हमेसा जानकारी राख्नुहोस् । औषधिको लेबल हटाउनु हुँदैन। लेबलमा औषधिको नाम, खुराक र प्रयोग विधि आदि महत्त्वपूर्ण जानकारीहरू लेखिएको हुन्छ ।

७. औषधि बालबालिका र पाल्तु जनावरबाट टाढा राख्नुहोस् । औषधि सही तापक्रममा भण्डारण गर्नुहोस् । घाम र ओसिलोपनाबाट बचाउनुहोस् । चिकित्सकले भने बमोजिम पूरा मात्रा औषधि खानुहोस् कुनै नयाँ लक्षण देखिए तुरुन्तै चिकित्सकलाई जानकारी गराउनुहोस् ।

८. एकै प्रकारका दुई औषधि एकैपटक नलिनुहोस्। बिहान खाली पेटमा लिनुपर्ने औषधि कम्तीमा खाना खानुभन्दा एक घण्टा अगाडि लिनुहोस् । खाना पछि खानुपर्ने औषधि खाना खाएको कम्तीमा ३० मिनेटपछि मात्रै लिनुहोस्। औषधि खाँदा प्रशस्त पानी पिउनुहोस् । बिनापानी निल्ने प्रयास नगर्नुहोस् । जुस वा दूधसँग औषधि खाने बानी नगर्नुहोस्।

९. यदि औषधि खान बिर्सिनुभयो र अर्को डोज खाने समय भइसक्यो वा आधाभन्दा बढी समय गुज्रिसक्यो भने डबल नखानुहोस् ।  हरेक दिन खाने गरेको गर्भनिरोधक चक्की यदि खान भुल्नुभयो भने सम्झनेबित्तिकै खानुहोस् ।

१०. कुनै औषधिले निन्द्रा लगाउन सक्छ । त्यस्ता औषधि खाइरहँदा गाडी नचलाउनुस् । यस्ता औषधि सुत्नुअगाडि मात्र खानुहोस् । त्यसैले आफ्नो पेशा पनि चिकित्सकलाई जानकारी गराउनुहोस्, ता कि चिकित्सकले सोहीअनुसार औषधि लेख्न सकुन् ।

११.औषधि खाइरहेको समयमा धूम्रपान, मध्यपान वा कुनै थप औषधि नलिनुहोस्। यिनीहरू बीचको अन्तरक्रियाले घातक असर निम्त्याउन सक्छ ।

१२. आयुर्वेदिक औषधिहरूमा आधुनिक औषधि जस्तो एक मात्रै मूलतत्त्व हुँदैन । त्यसैले तुलनात्मक रूपमा आधुनिक औषधि भन्दा धेरै कम साइड इफेक्ट देखाउने भए पनि, आयुर्वेदिक औषधिहरूको साइडइफेक्ट हुँदैन भन्ने भ्रममा नपर्नुहोस्। चिकित्सकको सल्लाहबिना कुनै पनि खालका औषधि प्रयोग नगर्नुहोस्।

१३. औषधिका सामान्य साइड इफेक्ट देखि नडराउनुहोस् । डराएर औषधि खान नछोड्नुहोस् ।

१४. गर्भवती महिलाले औषधि लिँदा सावधानी अपनाउनुपर्छ । गर्भावस्थामा खानयोग्य छ, छैन अनिवार्य बुझ्नुहोस् । आफैँ किनेर कुनै पनि औषधि नखानुहोस्। तपाईँले खाएको औषधि सालनाल हुँदै बच्चामा जानसक्छ र कहिलेकाहीँ गम्भीर असर पर्न सक्छ ।

१५. औषधि कहिल्यै धुलो पारेर वा चपाएर नलिनुहोस्। यदि चपाएर लिन सकिने भए स्पष्ट निर्देशन लेखिएको हुन्छ । टुक्र्याउन मिल्ने औषधिमा प्राय धर्को तानेको हुन्छ, जहाँनिरबाट टुक्र्याउन सकिन्छ।

१६. औषधि लिने समयका लागि अलार्म सेट गर्नुहोस् । खान पनि नछुटोस् र डबल डोज पनि नपरोस् । जेष्ठ नागरिक र बच्चाहरूका लागि विशेष ख्याल गर्नुहोस् ।

१७. औषधि समाप्त भएपछि चिकित्सकसँग पुन: परामर्श गर्नुहोस् । सन्चो भयो भन्दैमा बीचैमा औषधि खान नछोड्नुहोस् र बचेको औषधि अरुलाई दिने प्रयास नगर्नुहोस् । दुखाइ, ज्वरो आदिका औषधिहरू लामो समयसम्म नखानुहोस्। यिनीहरूको शरीरमा सञ्चितिकरण भई जटिल समस्या ल्याउन सक्छ।

१८. चिकित्सकले तपाईँको स्वास्थ्य समस्या अनुसार कहिलेकाहीँ निन्द्रा लगाउने, कुनै लत बसाउन सक्ने खालका औषधि लेखेको हुनसक्छ । यस्ता औषधि एकदमै लुकाएर राख्नुहोस् । परिवारका कुनै सदस्यले वा अरूले दुरुपयोग नगरुन् । लागूऔषध सेवन गर्नेहरूले यस्ता औषधि प्रयोग गर्न सक्छन्  । यी औषधि धेरै मात्रामा खायो भने जटिल अवस्था पैदा हुन सक्छ ।

१९. म्याद गुज्रिएको या प्रयोग नभएको औषधि खुला ठाउँमा, नदीनालामा जथाभावी नफ्याक्नुहोस् । नजिकैको स्वास्थ्य संस्था र चिकित्सक/ फार्मासिस्टको सल्लाहअनुसार नष्ट गर्नुहोस् । यी औषधिले वातावरण, तथा अन्य प्राणीलाई असर गर्न सक्छ ।

२०. चिकित्सकसँग सबै ‘हेल्थ हिस्ट्री’ इतिहास बताउनुहोस् । तपाईँले खाइरहेको औषधि र चिकित्सकले लेख्ने नयाँ औषधिबीच अन्तरक्रिया हुन सक्छ ।

२१. तपाईँले भुलेर डबल डोज खानुभो र त्यसको शरीरमा प्रतिक्रिया देखिन लाग्यो भने तत्काल स्वास्थ्य संस्था जानुहोस् । गलत तरिकाले प्रयोग गर्दा औषधि विष बन्न सक्छ।

२२. सामान्य रुघाखोकी हप्ता दिनमा आफैँ सन्चो भएर जान्छ । यस्ता समस्या हुँदा जथाभावी औषधि नखानुहोस् । सामान्य दुखाइमा जथाभावी पेनकिलरहरू नखानुहोस् ।

२३. चिकित्सकले लेख्ने हरेक औषधिहरू किन र केका लागि लेखिएको हो, यिनका साइड इफेक्टहरू के के हुन्छन्, सबै कुराहरू खुलेर सोध्नुहोस् । तपाईँको अधिकारको कुरा हो, कुनै चिकित्सकले यो कुरा खुलाउन चाहँदैन भने सम्बन्धित निकायमा उजुरी गर्नुहोस् ।

२४. कुनै-कुनै औषधिले तपाईँको पिसाबको रङ बदल्न सक्छन्, नआत्तिनुहोस् । जस्तै भिटामिन बी खाँदा तपाईंको पिसाबको पहेंलोपना बढ्छ।

२५. कहिलेकाहीँ चिकित्सकले औषधि विक्रेता कम्पनी र तिनीहरूका प्रतिनिधिहरूको प्रलोभनमा परेर बिरामीलाई अनावश्यक रूपमा धेरै औषधि लेखिएको हुनसक्छ । बिरामीले निसंकोच औषधि लेख्नुको कारण के हो, किन लेखिएको बुझ्नुपर्छ ।

२६. हरेक औषधि अलगअलग प्याकेटमा माग्नुहोस् । र त्यो प्याकेटमा चिन्ह लगाइदिन भन्नुहोस् । किनकि औषधिको पत्तामा लेखिएको कुरा खाँदै गर्दा हराएर जान्छ । एउटै प्याकेटमा धेरै प्रकारका औषधि भए धेरै झुक्किने सम्भावना हुन्छ । जसले गर्दा कुनै औषधि खान छुट्छ र कुनै औषधि डबल पर्न सक्छ।

२७. बजारमा नक्कली औषधिहरू, गैरकानुनी रूपमा प्रयोग गर्न नमिल्ने औषधिहरू भित्रिएका हुनसक्छन्। त्यसैले अरुले भनेको भरमा सुनेर त्यस्ता औषधि जथाभावी किनेर प्रयोग नगर्नुहोस्। खुला सिमानाले गर्दा कतिपय नेपालीहरूले भारतमा गएर गैरकानुनी औषधि किनेको खबर आइरहन्छन्। यसले जटिल स्वास्थ्य समस्या ल्याउन सक्छ, ज्यानै पनि लिन सक्छ, यस्ता कुरामा हमेशा चनाखो रहनुहोस् ।

२८. कैयौँ औषधिहरू डाक्टरको सिफारिसबिना किन्नु गैरकानुनी मानिन्छ । त्यस्ता औषधि विक्री वितरण गरेको थाहा पाए तत्काल उजुरी गरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहोस् ।

२९. कुनै नयाँ औषधि प्रयोग गर्दा शरीरमा कुनै असामान्य ‘साइड इफेक्ट’ देखिएमा तुरुन्तै औषधि खान छाड्नुहोस् । र, स्वास्थ्यकर्मीसँग परामर्श लिनुहोस् ।

३०. म्याद गुज्रिएको औषधि खाइहाल्नु भयो भने  आत्तिनु पर्दैन । यस्ता औषधि रोक निको पार्न कम प्रभावकारी हुनसक्छ तर म्याद गुज्रिएको औषधि खाएर शरीरमा अत्यन्तै खतरनाक नकारात्मक प्रभाव पारेको घटना खासै छैन ।

३१. भण्डारण, विक्री वितरण, ढुवानी सही तरिकाले भएन भने चाँडै पनि औषधि बिग्रिएको हुनसक्छ । ट्याब्लेट टुक्रिएर धुलो भएको छ, क्याप्सुलको बाहिरी भाग चिपचिप गलेको छ, झोल औषधिहरू जति हल्लाउँदा पनि राम्ररी मिसिएन, या त्यो भित्र कुनै कंकड भेट्नुभो भने त्यस्ता औषधि प्रयोग नगर्नुहोस् र तत्काल विक्रेतालाई जानकारी गराउनुहोस् । साथै औषधि व्यवस्था विभागमा उजुरी गर्नुहोस्।

३२. स्तन ठूलो र टाइट बनाउने, लिङ्गको मोटाइ र लम्बाइ बढाउने, यौन सम्पर्कको अवधि बढाउने, महिलाको यौनाङ्ग टाइट गराउने जस्ता भ्रामक प्रचारको आधारमा कुनै औषधि नकिन्नुहोस् । यस्ता कुराहरूमा प्राय हर्मोनल औषधिहरू प्रयोग भएको हुन्छ । यस्ता धेरै औषधिहरू मान्यता प्राप्त छैनन्। यस्ता औषधिले स्वास्थ्यमा अत्यन्तै जटिल प्रभावहरू ल्याउन सक्छन्।

३३. छाला गोरो बनाउने, चाया पोतो र डन्डीफोर निको गर्ने, कपाल झर्ने समस्या रोक्ने र कपाल उमार्ने, दाँत टल्काउनेलगायत निकै भ्रमपूर्ण प्रचारहरू भेटिन्छन् । चिकित्सकको सिफारिसबिना कुनै पनि औषधि प्रयोग गर्नु हुँदैन। यस्ता रसायनहरूले छाला सम्बन्धी जटिल समस्याहरू, हर्मोनल असन्तुलन र कालान्तरमा क्यान्सर जस्ता प्राणघात रोगहरू निम्त्याउन सक्छ ।

३४. ट्याब्लेट वा क्याप्सुललाई धुलो पारेर बाहिरी घाउमा लगाउने खालको गलत अभ्यास पनि भेटिन्छ । यसले एलर्जी तथा इरिटेसन गर्न सक्छ । संक्रमणलाई बढाउन सक्छ । यिनीहरू मुखबाट खाँदा मात्र प्रभावकारी हुने गरी बनाइएको हुने हुँदा बाहिरी शरीरमा धुलो पारेर लगाउनु हुँदैन।

‍औषधि
डा. दीर्घराज जोशी
लेखक
डा. दीर्घराज जोशी
औषधि रसायन विज्ञ

औषधि रसायन विज्ञानमा विद्यावारिधि गरेका डा. दीर्घराज जोशीले अमेरिकामा केही समयका लागि भाइरस विरुद्धको औषधि आविष्कार कार्यमा समेत काम गरेका थिए । हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपप्राध्यापकका रुपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

औषधिको प्रयोगबारे जानी राखौं यी महत्वपूर्ण कुरा

औषधिको प्रयोगबारे जानी राखौं यी महत्वपूर्ण कुरा

बेवास्ता नगरौँ, मधुमेहले निम्त्याउन सक्छ यी ११ जटिलता

बेवास्ता नगरौँ, मधुमेहले निम्त्याउन सक्छ यी ११ जटिलता

बाल क्यान्सर पहिचान र अस्पताल खर्च नभएकालाई निःशुल्क सेवा दिएका छौं (भिडियो)

बाल क्यान्सर पहिचान र अस्पताल खर्च नभएकालाई निःशुल्क सेवा दिएका छौं (भिडियो)

के हुन्छ शरीरमा, जब हरेक दिन समोसा खाइन्छ ?

के हुन्छ शरीरमा, जब हरेक दिन समोसा खाइन्छ ?

हेपाटाइटिसबारे जानौं, कसरी बिगार्छ यसले कलेजो ?

हेपाटाइटिसबारे जानौं, कसरी बिगार्छ यसले कलेजो ?

किन सर्पलाई  चिकित्सा विज्ञानको प्रतीक बनाइयो  ?

किन सर्पलाई चिकित्सा विज्ञानको प्रतीक बनाइयो ?