News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलहरूमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्ने नियम लागू गरेको छ।
- नगरसभाले चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयक पारित गर्दै सो व्यवस्था गरेको हो।
- महानगरले जनचेतना अभियानअन्तर्गत प्रहरी टोली परिचालन गरी धूम्रपानको हानिकारक प्रभावबारे सचेतना फैलाउने योजना बनाएको छ।
काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थलहरूमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिर्नुपर्ने भएको छ । हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो ।
महानगरका सहायक प्रवक्ता धुव्र कुमार काफ्लेका अनुसार, सार्वजनिक स्थानमा धूम्रपान ज्यादा हुने गरेको गुनासो धेरै आएपछि यो कदम चालिएको हो । ‘हामीले जनचेतना अभियानलाई प्राथमिकता दिएका छौं’ काफ्लेले भने, ‘महानगरले प्रहरीले माइकिङ, प्लेकार्ड प्रदर्शन, र चुरोटका ठुटा सङ्कलनका लागि स्टिलका भाँडा बोकेर चार–पाँचवटा टोली परिचालन गरेको छ ।’ यी टोलीले काठमाडौँका विभिन्न स्थानमा पुगेर धूम्रपानको हानिकारक प्रभावबारे सचेतना जगाइरहेको काफ्लेले जानकारी दिए ।
नियम उल्लंघन गर्नेलाई आर्थिक ऐनअनुसार ५०० रुपैयाँ जरिवाना लाग्नेछ । यो अभियानको उद्देश्य सार्वजनिक स्थानमा धूम्रपान रोक्नु र स्वस्थ वातावरण बनाउनु हो रहेको काफ्लेले बताए ।
चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक ऐनमार्फत पारित यो नियमले धूम्रपान न्यूनीकरण र स्वच्छ वातावरण कायम गर्ने लक्ष्य राखेको छ । महानगरले जनचेतना अभियानलाई निरन्तरता दिँदै नियमको प्रभावकारी कार्यान्वयन गर्ने योजना बनाएको छ ।
प्रतिक्रिया 4