News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा बाल क्यान्सरको प्रारम्भिक निदान र स्टेजिङमा लाग्ने ३० हजारदेखि ५० हजार रुपैयाँसम्मको खर्च हुन्छ ।
- पाटन अस्पतालले म्याक्स फाउन्डेसनको सहयोगमा बालबालिकाको क्यान्सर प्रारम्भिक निदान निःशुल्क सेवा सुरु गरेको छ।
नेपालमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तरको सवालमा अझै धेरै चुनौती छन् । विशेषतः गम्भीर रोग जस्तै क्यान्सरको उपचारमा । त्यसमाथि जब बिरामी बालबालिका हुन्छन्, त्यो त परिवारका लागि दोहोरो पीडा बन्छ भावनात्मक र आर्थिक दुवै रुपमा ।
नेपालमा बाल क्यान्सरका अवस्था, उपचारमा हुने चुनौतीहरू र बाल क्यान्सरको उपचारका कस्तो पहल भइरहेको छ त ?
यी विषयमा पाटन अस्पतालकी बाल हेमाटोलोजिस्ट तथा ओन्कोलोजिस्ट डा. सुचरिता तुलाधरसँग अनलाइनखबरकी सुमित्रा लुइटेलले गरेको कुराकानीको सम्पादित अंश :
क्यान्सरको पहिचान गर्न लाग्ने सुरुवाती खर्चले गर्दा नै उपचार निरन्तरता दिन नसक्नेको संख्या धेरै छ, भनिन्छ नि ?
नेपालमा बाल क्यान्सरको उपचारमा सबैभन्दा ठूलो चुनौती भनेको प्रारम्भिक निदान र रोगको फैलावट पहिचान ‘स्टेजिङ’मा हुने खर्च हो ।
क्यान्सरको शंका लागेदेखि निदान पुष्टि हुँदासम्म विभिन्न जाँचहरू गर्नुपर्छ, जस्तै बायोप्सी, इम्युनोहिस्टोकेमिस्ट्री ‘आईएचसी’, एमआरआई, सिटी स्क्यान, बोन स्क्यान र बोन म्यारो जाँच । यी जाँचहरूको खर्च सामान्यतया ३० हजारदेखि ५० हजार रुपैयाँसम्म पुग्छ । यो रकम सामान्य आय भएका र निम्न आय भएका परिवारका लागि ठूलो बोझ हुन्छ ।
जब उनीहरूले बच्चालाई क्यान्सर भएको थाा पाउँछन् प्रायः उपचारबाट पछि हट्छन् वा घर फर्किन्छन्, किनभने उनीहरूसँग यति ठूलो रकम तत्काल उपलब्ध हुँदैन ।
पाटन अस्पतालमा सुरू भएको निःशुल्क प्रारम्भिक जाँच सेवा के हो ?
रोगको पहिचान गर्न लाग्ने धेरै खर्चको कारण धेरै परिवारले उपचार नै सुरु गर्न सक्दैनन् । त्यसैले हामीले यो प्रारम्भिक निदानको खर्चलाई सहज बनाउनुपर्छ भन्ने सोच्यौँ । र, यसलाई सहजीकरण गर्नका लागि संघसंस्थाहरूसँग सहयोग माग्यौँ ।
त्यसकै फल स्वरुप पाटन अस्पतालले म्याक्स फाउन्डेसनको सहयोगमा भर्खरै जन्मेदेखि १९ वर्षसम्मका बालबालिकामा क्यान्सरको प्रारम्भिक निदान र स्टेजिङको खर्च बेहोर्ने सुविधा सुरु गरेको छ । यो सुविधाले बायोप्सी, आईएचसी, एमआरआई, सिटी स्क्यान, बोन स्क्यानजस्ता जाँचहरू निःशुल्क उपलब्ध गराउँछ । यो पहलले धेरै परिवारलाई उपचार सुरु गर्न प्रोत्साहन गरेको छ । यो सुविधा पाटन अस्पतालबाट सुरु भएको छ, तर भविष्यमा यसलाई देशव्यापी बनाउने लक्ष्य छ ।
उपचार सुरु भएपछि सरकारले के-के सहयोग गर्छ ?
नेपाल सरकारले पनि बाल क्यान्सरको उपचारमा सहयोग गर्न विभिन्न कार्यक्रमहरू ल्याएको छ । सरकारले प्रत्येक क्यान्सर रोगी बच्चालाई १ लाख रुपैयाँसम्मको सहायता प्रदान गर्छ । हालैदेखि स्वास्थ्य बीमा कार्यक्रममा पनि २ लाख रुपैयाँसम्मको सुविधा थपिएको छ ।
साथै, विभिन्न प्रदेशहरूले ५० हजारदेखि २ लाख रुपैयाँसम्मको अतिरिक्त सहायता प्रदान गर्छन् । यी रकमहरू अस्पतालमा हुने बेड चार्ज, जाँच र अन्य खर्चहरूमा प्रयोग गर्न सकिन्छ ।
यसबाहेक, विश्व स्वास्थ्य संगठन र जीआईसीसी कार्यक्रममार्फत नेपालमा ३५ प्रकारका किमोथेरापी औषधिहरू निःशुल्क उपलब्ध भइरहेका छन् । म्याक्स फाउन्डेसनले पनि इम्याटिनिबजस्ता महँगा औषधिहरू निःशुल्क प्रदान गरिरहेको छ, जसले क्यान्सर लागेका बालबालिकाका परिवारहरूलाई ठूलो राहत मिलेको छ ।
बालबालिकाको उपचारका लगि गाउँबाट शहर आएका अभिभावकहरुलाई त बस्न, खान र आउजाउको समस्या पनि हुन्छ होला ?
उपचारसँगै बस्ने र खाने समस्यालाई सम्बोधन गर्न लियोनार्डो एडवर्ड श्रेष्ठ फाउन्डेसनले क्यान्सरको उपचार हुने देशका चार प्रमुख अस्पतालहरू पाटन, कान्ति, भक्तपुर र भरतपुरमा सहयोग गरिरहेको छ । यो फाउन्डेसनले काठमाडौँ वा अन्य शहरमा उपचारका लागि आउने परिवारलाई निःशुल्क बस्ने र खाने सुविधा प्रदान गर्छ ।
साथै, पाटन अस्पतालमा उपचार गराउने बिरामीहरूलाई हात्तीवनबाट अस्पतालसम्म आवतजावतका लागि निःशुल्क यातायात सुविधा पनि उपलब्ध गराइएको छ ।
गाउँबाट आउने परिवारहरूले आफ्नो जागिर वा खेतीपाती छोडेर आउनुपर्छ, जसले गर्दा उनीहरूको आयस्रोतमा ठूलो असर पर्छ । यस्तो अवस्थामा बस्ने, खाने र यातायातको सुविधाले उनीहरूलाई ठूलो सहयोग पुग्छ ।
यति धेरै सहयोग हुँदा पनि क्यान्सर निको हुने दर किन बढ्न सकेको छैन ?
पाटन अस्पतालले विगत ५ वर्षमा क्यान्सर उपचारमा उल्लेखनीय प्रगति गरेको छ । हाल ६० प्रतिशत बालबालिका निको हुने अवस्थामा पुगेका छन् । यद्यपि, विकसित देशहरूमा बालक्यान्सरमा निको हुने दर ८० प्रतिशत छ । यसको तुलनामा नेपालमा अझै सुधारको आवश्यकता छ ।
क्यान्सर निको हुने दर नबढ्नुको कारण के–के हुन सक्छन् ?
नेपालमा बाल क्यान्सरको प्रारम्भिक निदानको कमी छ । जसले गर्दा धेरै बच्चाहरू क्यान्सरको शंका लागेपछि पनि समयमै अस्पताल नआउने समस्या छ । यसको कारण क्यान्सर भएपछि उपचार सम्भव छैन भन्ने गलत धारणा हो ।
अर्को प्रमुख कारण संक्रमण हो । किमोथेरापीले बच्चाहरूको रोग प्रतिरोधी क्षमता कमजोर बनाउँछ । नेपालजस्तो देशमा अन्य संक्रमणको जोखिम उच्च हुन्छ । पर्याप्त आईसीयू सुविधा र एन्टिबायोटिक्सको अभावले बच्चाहरूलाई गुमाउनुपर्ने अवस्था आउँछ ।
क्यान्सरको उपचारमा मल्टिडिसिप्लिनरी टिमको आवश्यकता पर्छ, जसमा प्याथोलोजिस्ट, सर्जन, रेडियोथेरापिस्ट र ल्याब टेक्निसियनहरू पर्छन् । यी सबै क्षेत्रमा दक्ष जनशक्तिको कमी छ ।
बाल क्यान्सर निको हुने दर बढाउन के गर्नुपर्छ ?
क्यान्सर निको हुने दर बढाउन सबैभन्दा पहिले त प्रराम्भिक निदान हुन जरुरी छ जसका लागि प्रारम्भिक चेतना र शिक्षाको जरुरी हुन्छ । त्यसैले बाल क्यान्सरको प्रारम्भिक चेतनाबारे जनचेतना फैलाउन स्कुल तथा समुदायलक्षित कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ ।
साथै गाउँ–गाउँमा गएर स्वास्थ्यकर्मीहरूलाई तालिम दिइरहेका छौँ । आँखाको नानी फुलेको, गाँठो आएको, लगातार ज्वरो आउने वा बच्चा सुस्त हुने जस्ता लक्षण देखिए बाल क्यारको शंका गर्नुपर्छ र थप जाँचको सिफारिस गर्नुपर्छ । यस्ता लक्षणबारे जानकारी भएमा बच्चाहरू समयमै अस्पताल पुग्न सक्छन्, जसले उपचारको सम्भावना बढाउँछ ।
नेपालमा बाल क्यान्सरको उपचारलाई विकसित देशहरूको स्तरमा पुर्याउन स्टेप–वाइज सुधारको रणनीति अपनाएका छौँ । जस्तोः– प्रारम्भिक निदानको खर्चमा सहायता गर्ने म्याक्स फाउन्डेसनको सहयोगलाई देशव्यापी बनाउने, औषधि र उपचारको पहुँचका लागि विश्व स्वास्थ्य संगठन र जीआईसीसी प्रोग्राममार्फत थप औषधिहरू निःशुल्क उपलब्ध गराउने, लियोनार्डो एडवर्ड श्रेष्ठ फाउन्डेसनजस्ता संस्थाहरूसँग सहकार्य गरेर बस्ने, खाने र यातायातको सुविधा विस्तार गर्ने ।
स्वास्थ्यकर्मी, ल्याब टेक्निसियन र अन्य विशेषज्ञहरूलाई तालिम प्रदान गर्ने । प्रारम्भिक लक्षणहरूबारे जनचेतना फैलाउने र गलत धारणाहरू हटाउने ।
प्रतिक्रिया 4