
१३ साउन, काठमाडौं । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आयोजनामा स्वस्थ शिशु प्रतिस्पर्धा हुने भएको छ । अस्पतालले बुधबार (भोलि) स्वस्थ शिशु प्रतिस्पर्धा गर्न लागेको हो ।
प्रतिस्पर्धामा भाग लिने शिशुहरू प्रसूति गृह थापाथलीमै जन्मेको हुनु पर्नेछ । यो अस्पतालले गर्दै आएको स्वस्थ शिशु प्रतिस्पर्धाको ६१ औं संस्करण हो । यद्यपि विजेताको पुरस्कार भने ३१ साउनका (कृष्ण जन्माष्टमी) दिन मनाईने अस्पतालको वार्षिकोत्सव समारोहमा वितरण गरिने छ ।
स्वस्थ शिशु प्रतिस्पर्धा समिति संयोजक डा. कल्पना सुवेदीका अनुसार तीन समूहमा प्रतिस्पर्धा गरिने शिशुलाई हरेक समूहबाट पहिलो, दोस्रो, तेस्रो र सान्त्वना गरी चार जनाका दरले कुल १२ जनालाई पुरस्कृत गरिनेछ ।
शिशुलाई जन्मेदेखि ४५ दिनभित्र, ४५ दिनदेखि ६ महिनाभित्र र ६ महिनादेखि १ वर्षभित्र गरी तीन समूहमा विभाजन गरिने छ ।
शिशुको तौल, उचाइ, उमेरअनुसारको मानसिक तथा शारीरिक विकास, सरसफाइ र समग्र स्वास्थ्य अवस्था मूल्यांकन हुने आयोजकले बताएका छन् ।
‘स्वस्थ त हुनैपर्छ, त्यसपछि सरसफाइ र विकासको अवस्था पनि हेर्छौं’, डा. सुवेदीले भनिन् । बच्चासँगै आमाको भूमिका पनि मूल्यांकन गरिनेछ ।
जस्तै गर्भावस्थामा कम्तीमा आठपटक एएनसी (गर्भ जाँच) गराएको छ कि छैन ? फ्यामिली प्लानिङको जानकारी छ कि छैन ? पोषणको अवस्था कस्तो छ ? बच्चालाई के खुवाउने भन्ने जानकारी र स्तनपानको अभ्यासबारे ज्ञान छ कि छैन ? भन्ने कुरा पनि मूल्यांकनमा समावेश हुनेछन् ।
प्रत्येक समूहका शिशुको मूल्यांकन पिडियाट्रिसियन (बालरोग विशेषज्ञ), गाइनोकोलोजिस्ट (प्रसूति विशेषज्ञ), नर्स र सपोर्ट स्टाफको संयुक्त निर्णायक टोलीले गर्नेछ ।
प्रतिस्पर्धामा भाग लिन नाम दर्ता गराउन भन्दै अस्पतालले गत १० असार देखि ८ साउनसम्मको अवधी तोकेको थियो । यसअवधिमा १०४ शिशुको नाम दर्ता भएको छ ।
प्रतिक्रिया 4