+

किन सर्पलाई चिकित्सा विज्ञानको प्रतीक बनाइयो ?

२०८२ साउन  १३ गते १४:३३ २०८२ साउन १३ गते १४:३३
Shares
किन सर्पलाई  चिकित्सा विज्ञानको प्रतीक बनाइयो  ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिकित्सा विज्ञानको निशान छापमा सर्पको प्रयोग दुई किसिमको छ, क्याडूसियस र एस्कलापियसको लौरो, जुन प्राचीन युनानी देवतासँग जोडिएको छ।
  • एस्कलापियस, प्राचीन युनानी चिकित्सक, जसलाई चिकित्सा देवता मानिन्छ, उनको लौरोमा एक सर्प बेरिएको हुन्छ र यो स्वास्थ्य संस्थाहरूले प्रयोग गर्छन्।

सर्पलाई आम जनमानसले मृत्युको प्रतीक मानिरहेका हुन्छन् । यसैले होला सर्प देख्नेबित्तिकै मान्छे असाध्यै आत्तिन्छ र त्यसलाई मार्न खोजिहाल्छ । कि, आफ्नो क्षेत्रबाट टाढा लखेट्न खोज्छ । लखेट्ने स्थिति नरहेको खण्डमा ऊ आफैँ उत्त स्थान छाडेर भाग्छ। अथवा चिकित्सकीय भाषामा भन्नु पर्दा सर्प देखेपछि मान्छे तनावमा पर्दछ ।

यसो हुनुको कारण सर्पको डसाइ र त्यससँग जोडिएको मृत्युको भय हो । यही डरका कारण विभिन्न संस्कृति र समुदायका मानिसहरूले सर्पलाई पूजा गर्ने गर्दछन् । अझ हिन्दु संस्कृतिमा त सर्प पूजाको विशेष पर्व नै छ, नागपञ्चमी । यो पर्व हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ ।

समाजमा यस पर्वले धार्मिक सास्कृतिक र पौराणिक महत्वका साथै चिकित्सकीय महत्व पनि बोकेको छ । चिकित्सकहरूले यस पर्वलाई सर्पदंशको रोकथाम सचेतनादेखि लिएर सर्पदंशको आपतकालीन चिकित्सा, सर्पको भय(हर्पेटोफोबिया) को उपचारका दृष्टिबाट महत्वपूर्ण पर्वको रूपमा मनाउने गरेका छन् ।

सर्पसँग चिकित्सकहरूको अर्को सम्बन्ध पनि छ, त्यो के भने चिकित्सा विज्ञानको निशान छाप । चिकित्सा विज्ञानको निशान छापमा सर्पको चिह्न छ । सारा संसारले मृत्युको प्रतीक मानेको सर्पलाई चिकित्सा विज्ञानले आफ्नो निशान छापको प्रतीक किन बनायो ? सर्पको टोकाइबाट मान्छेको ज्यानै पनि जाने तथ्य जान्दाजान्दै पनि चिकित्सा विज्ञानले भने सर्पलाई आफ्नो मुकुटमणि किन बनायो त ?

आम जनमानसले चिकित्सकलाई जीवन रक्षक मान्दछन् । तिनै चिकित्सकको निशान छाप (लोगो) मा चाहिँ सर्प कसरी हुन पुग्यो ? धेरैलाई लाग्न सक्छ-चिकित्सा विज्ञान र त्यसको कुनै तारतम्य छैन, यो एक संयोग मात्रै हो ।

खासमा चिकित्सक र सर्पको नाता हजारौँ वर्ष पुरानो छ । सर्पले चिकित्सा विज्ञानको निशान छापमा स्थान पाउनुमा पनि केही पौराणिक कथाहरू जोडिएका छन्।

के छ चिकित्सा विज्ञानको निशान छापमा ?

१. क्याडूसियस निशान छाप

चिकित्सा विज्ञानको निशान छाप दुई किसिमको छन् र आम रूपमा प्रयोग भइरहेको निशान छापलाई क्याडूसियस भनिन्छ । क्याडूसियसको मध्य भागको टुप्पामा दुईवटा पखेटा जडिएको एउटा लठ्ठीको छ । यो लठ्ठीलाई केन्द्रमा पारेर ६ ठाँउमा क्रस भएर सातौँ स्थानमा आमने-सामने भएका दुईवटा सर्प छन् ।

यस निशानको प्रयोग धेरैजसो अमेरिकी स्वास्थ्य संस्थाहरूले गर्ने गरेका छन् । अमेरिकी आर्मी क्रप देखि अखिल भारतीय आयुर्विज्ञान संस्थान, नेपाल मेडिकल एसोसिएसन, नेपाल शरीर क्रिया विज्ञान समाज लगायतका थुप्रै स्वास्थ्य संस्थाले यो निशान छाप प्रयोगमा ल्याएका छन् ।

चिकित्सा विज्ञानले आफ्नो निशान छापमा प्रयोग गरेको यो पखेटामा भएको लौरो प्राचीन युनानी सभ्यताका ओलम्पियन देवता हर्मेसको हो। हर्मेस युनानी सभ्यताका सन्देश बाहक देवता हुन । उनको काम भनेको देवता र मानवबीच सन्देश आदान प्रदान गर्नु हो । उनको लौरोमा जडित पँखेटा स्वर्गलोकको प्रतीक हो भने लौरो मर्त्यलोकको प्रतीक हो ।

यसैगरी हार्मेनलाई यात्राको देवताका रूपमा पनि चिनिन्छ र हार्मेनको यो पहिचान चिकित्सा विज्ञानका हकमा पनि सान्दर्भिक ठहरिन्छ किनकि प्राचीन समयमा चिकित्सक कोसौ टाढा बिरामीको घरघरमा खाली खुट्टा हिँड्दै जानु पर्दथ्यो ।

एउटा युनानी किम्बदन्ति अनुसार हर्मेनलाई यो लौरो एपोलोले दिएका थिए । युनानी सभ्यतामा एपोलो औषधिका देवताका रूपमा चिनिन्छन् । यसैगरी अर्को युनानी किम्बदन्ती अनुसार हर्मेसले यो लौरो युनानी देवताहरूका राजा जिउसबाट प्राप्त गरेका थिए । जिउसले हर्मेसलाई दिएको यो लौरोमा सर्पको ठाँउमा २ वटा सेता रिवनहरू बेरिएका थिए र पछि हार्मेनले उपचारको काम पनि गर्न थालेपछि रिवनको स्थान सर्पले लियो ।

२. एस्कलापियसको लौरो

चिकित्सा विज्ञानमा अर्को खालको निशान छाप पनि प्रयोगमा छ । यस निशान छापलाई विद्वानहरू क्याडूसियस भन्दा आधिकारिक निशान छाप मान्दछन् । यो निशान छापलाई एस्कलापियसको लौरो पनि भनिन्छ । यस निशान छापमा एउटा काँडादार लौरोमा एउटा मात्र सर्प बेरिएको छ । यो निशानको प्रयोग स्वास्थ्यको सर्वोच्च संस्था विश्व स्वास्थ्य संगठन, इमर्जेन्सी मेडिकल सर्भिसको निशान छाप स्टार अफ लाइफमा, फार्मेसीको निशान छापमा पनि यो निशान प्रयोग भएको छ ।

एस्कलापियस ईसापूर्व १२०० ताकाका युनानी चिकित्सक थिए । उनलाई चिकित्साका देवता पनि मान्ने गरिन्छ । उनी प्राचीन युनानी देवता एपोलोका छोरा थिए ।उनी गर्भमा भएका बखत उनकी आमा कारोनिसले अन्य व्यक्तिसँग गैर-वैवाहिक सम्बन्ध स्थापना गरेपछि एपोलोले उनकी आमालाई जिउँदै चितामा राखेर जलाउन लगाएका थिए। चितामा त्यस क्रममा उनलाई गर्भमा भएको शिशुको मायालाग्यो र शिशुलाई बचाए ।

तिनै बालकलाई पछि एस्कलापियस भनियो र चिकित्सा विज्ञान पढाइयो । एस्कलापियस प्राचीन ग्रीकका मन्दिर एवं तीर्थस्थल हरूमा बस्ने गर्दर्थे र तिनै मन्दिरमा इन्क्यूबेसन स्लिप भनिने गहिरो, गहन र उपचारात्मक निन्द्रा लगाएर उपचार गर्दथे । बिरामीहरू गहन निन्द्रामा परिसकेपछि ती बिरामीको शरीरमा सर्प छोडिदिन्थे र उपचार गर्थे ।

एस्कलापियसको यो परम्परालाई अन्य पुजारीहरूले पनि निरन्तरता दिइरहे । ती पुजारीहरूलाई स्कलापियडी थनिन्थ्यो । यो परम्परा इसापश्चात छैठौँ शताब्दीसम्म चल्दै रह्यो र पछि इसाई धर्मको चपेटामा आएर समाप्त भयो । यो परम्परामा बाबुले छोरालाई यो हिलिङ्ग कला सिकाउने गर्दथे । एस्कलापियसको लौरोमा बेरिएको सर्प नवजीवन र स्वास्थ्य लाभको प्रतीक हुन् ।

जसरी सर्पले पुरानो काँचुली फेरेर नयाँ जीवन पाउँछ, त्यसैगरी बिरामीले पनि उचित चिकित्सापश्चात नयाँ जीवन प्राप्त गर्ने हुँदा सर्पलाई चिकित्सा विज्ञानको निशान छापमा समाहित गरिएको हो । एस्कलापियसका मेडिट्रिना, हाइजिया र पानासिया नाम गरेका तीनजाना छोरीहरू थिए । ती तीनै जाना छोरीहरू पछि औषधि, स्वच्छता र उपचारका देवीहरू कहलिए । एस्कलापियसका मकानोस र पोडालिरियस नाम गरेका दुईवटा छोरा थिए । यी दुवै छोरा ग्रीक आर्मीका चिकित्सक थिए ।

सर्प वैद्यनाथ शिवको गहना

सर्प पूर्वीय संस्कृतिका देवता शिवको गहना पनि हो । भगवान शिव जसलाई वैद्यनाथ पनि भनिन्छ, उनले सर्पको माला लगाउँथे उनको त्रिशूलमा पनि सर्प लपेटिएको हुन्थ्यो । प्राचीन ग्रीकहरूले चिकित्सा कर्ममा प्रयोग गरेका सर्प भगवान शिवकै सर्प हुन भन्ने किम्बदंती पनि छ ।

क्याडूसियस, कुण्डलिनी र सात चक्र

चिकित्सा विज्ञानले प्रयोगमा ल्याएको क्याडूसियस र कुण्डलिनी शक्तिको बीचमा गहन सम्बन्ध रहेको मत विद्वानहरूको छ । क्याडूसियसको मध्य दण्डले सुसुम्ना नाडीको प्रतिनिधित्व गर्ने र दुई सर्पले इडा र पिङ्गला नाडीलाई प्रतिनिधित्व गर्ने गर्दछ ।

सर्प एक आपासमा जोडिएका बिन्दुहरू षटचक्र हुन् भने लौरोको टुप्पामा रहेको पँखेटा सहस्र कमल सहस्रार चक्र हो । यसर्थ विद्वानहरू क्याडूसियसको सर्पलाई साधारण सर्प नमानेर कुण्डलिनीको सर्प मान्दछन् । पूर्वीय स्वास्थ्य विज्ञानमा एउटा व्यक्ति स्वस्थ हुनका लागि यो कुण्डलिनी शक्ति सशक्त हुन आवश्यक छ । यो शक्तिको सशक्तिकरण पश्चात व्याक्ति स्व–अवश्था वा स्वास्थ अवस्थालाई प्राप्त गर्दछ र नाग पञ्चमीलाई यसै कुण्डलिनी शक्ति पुजनको पर्वको रूपमा मनाउने गरिन्छ ।

(लेखक वरिष्ठ योग तथा प्राकृतिक चिकित्सा विशेषज्ञ हुन् । )

चिकित्सा नाग पञ्चमी
डा. हेमराज कोइराला
लेखक
डा. हेमराज कोइराला
वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक एवं वरिष्ठ विशेषज्ञ रिजेनेरेटिव मेडिसिन

बीएनवाईएस एमफिल (रिजेनेरेटिव मेडिसिन), पिएचडी (बायोटेक्नोलोजी अध्ययनरत) योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर र काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालयमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय