+

बेवास्ता नगरौँ, मधुमेहले निम्त्याउन सक्छ यी ११ जटिलता

२०८२ साउन  १५ गते १०:०१ २०८२ साउन १५ गते १०:०१
Shares
बेवास्ता नगरौँ, मधुमेहले निम्त्याउन सक्छ यी ११ जटिलता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधुमेहले मुटु रोग, पक्षघात, मिर्गौला रोग, उच्च रक्तचाप, आँखाको क्षति लगायत ११ प्रमुख जटिलताहरू निम्त्याउँछ।
  • मधुमेह भएका व्यक्तिमा रक्त ग्लुकोजले रक्तनलीको भित्री तहलाई नोक्सान पुर्‍याएर मुटु र मस्तिष्कका रक्तनलीहरूमा समस्या ल्याउँछ।
  • मधुमेहको नियमित ब्लडसुगर जाँच, जीवनशैली सुधार र चिकित्सकसँग सम्पर्कमा रहनु आवश्यक छ।

मधुमेह, चिनी रोग, सुगर, मधुमुत्र, इक्षुमेहः, क्षारमेहः, औदकमेहः, पिप्पलीमेहः र डायबिटिज जस्ता अनेकौं नामले परिचित यो रोगको मुख्य लक्षण रगतमा ग्लुकोजको मात्रा बढ्नु हो ।

यो रोग खानामा रहेको कार्बोहाइड्रेटको पाचनपश्चात् बनेको ग्लुकोजको रक्त स्तर विविध कारणले बढ्न गई देखापर्छ । सामान्यतया, रोग लागेर उच्च तहमा पुगिसक्दा पनि त्यत्ति धेरै असहजता र अप्ठ्यारोपन महसुस नहुनाले यसले भित्रभित्रै जटिलताहरू निम्त्याइरहेको छ ।

यसकारण मधुमेह भएकाहरूले यसले ल्याउने विविध जटिलताहरूको बारेमा सचेत रहनुपर्छ । त्यसैलै ब्लडसुगरको नियमित जाँच, रोगको निगरानी र जटिलताहरूको समेत नियमित मूल्यांकन गर्नुपर्ने हुन्छ । मधुमेहले निम्त्याउने जटिलताहरू धेरै छन् जसमध्ये प्रमुख ११ लाई यहाँ प्रस्तुत गरिएको छ ।

१. मुटु रोग

मधुमेह भएका व्यक्तिमा मुटु रोगको जोखिम अत्यधिक हुन्छ । रगतमा ग्लुकोजको मात्रा बढ्दा रक्तनलीहरूको भित्री तह (ईन्डोथेलियम) लाई नोक्सान पुर्‍याउँने, सुन्निने र रगतमा खराब चिल्लो (एलडिएल) कोलेस्टेरोल बढ्ने हुन्छ । खराब कोलेस्टेरोल जम्मा भएर रक्तनलीको भित्तामा जम्दा मुटुको मांसपेशीलाई अधिक भार पर्न जान्छ र मुटुको समस्या देखा पर्न थाल्छ।

यसका अलावा मधुमेहसँग सम्बन्धित अन्य स्वास्थ्य समस्या जस्तै: उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मोटोपन, जस्ता समस्या निम्त्याउछ । यस कारण पनि मधुमेहमा मुटुरोगको उच्च जोखिम रहन्छ ।

२. पक्षघात (स्ट्रोक)

मधुमेह भएका व्यक्तिमा सामान्य व्यक्तिको तुलनामा पक्षघातको जोखिम उच्च हुन्छ । पक्षघात मस्तिष्कको रक्तनलीको रोग हो ।  मधुमेह हुँदा मुटुरोगमा जस्तै बढेको रक्त ग्लुकोजले मस्तिष्कका रक्तनलीहरूको भित्री तह (ईन्डोथेलियम) लाई नोक्सान पुर्‍याउने, सुन्निने, रक्तनलीमा एलडिएल कोलेस्टेरोललाई जम्मा भई मस्तिष्कका रक्तनलीहरूलाई कमजोर पारी फुटाउने समेत भएकाले पक्षघातको जोखिम बढाउछ ।

३. मिर्गौला रोग

रगतमा उच्च मात्रामा ग्लुकोजको हुँदा मिर्गौलाको रगत छान्ने क्षमतामा असर पर्छ । यसो हुँदा मिर्गौला फेल हुने जोखिम धेरै हुन्छ । रगतमा बढेको ग्लुकोजको मात्राले मुटु र मस्तिष्कका रक्तनलीहरू क्षतिग्रस्त भए जस्तै मिर्गौलाका ग्लोमेरुलस र ट्युब्यूलहरूलाई समेत क्षतिग्रस्त बनाउछ र मिर्गौला फेल हुन पुग्छ ।

४. उच्च रक्तचाप

रक्तनलीमा रगत बग्दा बगेको रगतले रक्तनलीको भित्तामा दिएको दवावलाई रक्तचाप भनिन्छ । मधुमेह भएका व्यक्तिमा बढेको रक्त ग्लुकोजले रक्तनलीहरूका भित्री तह (ईन्डोथेलियम) लाई नोक्सान पुर्‍याउँने, आँखाले नदेखिने खालका घाउहरू देखापर्ने, रक्तनलीमा खराब चिल्लो जम्मा गरेर नसा साँघुरो बनाउने हुन्छ । यस कारण उच्च रक्तचापको समस्या देखा पर्न सक्छ ।  रक्तचाप बढेर असामान्य भए हृदयघात, पक्षाघात, दृष्टिमा क्षति र मिर्गौला फेल हुनेसम्मका समस्या देखा पर्छन् ।

५. आँखालाई क्षति

बढेको रक्त ग्लुकोजले आँखाका स-साना रक्तनलीहरू र रेटिनालाई समेत क्षति पुर्‍याएर दृष्टि नाश समेत गर्दछ । यसका अलावा मधुमेहले आँखासम्बन्धी ग्लूकोमा, माेतीबिन्दु, डायबेटिक रेटिनोपेथी जस्ता समस्याहरूको जोखिमलाई समेत बढाउँछ । यी समस्याहरूको समयमै उपचार नगरिएमा दृष्टि गुम्न पनि सक्छ । यसर्थ मधुमेह भएकाले नियमित आँखा परीक्षण र रगतमा ग्लुकोज नियन्त्रण गरिरहन अत्यावश्यक छ ।

६. खुट्टासम्बन्धी समस्या

मधुमेहका कारण स्नायुमा क्षति भएर  खुट्टा झमझमाउने, पोल्ने वा सोलाहान्ने, दुख्ने, ताप, चिसो वा पीडा थाहा नपाउने अवस्था, चोटपटक र संक्रमणको बढी जोखिम हुने, जस्ता समस्या देखिन सक्छ । रक्त ग्लुकोज अनियन्त्रित भइरहे गम्भीर अवस्थामा खुट्टाको बनावट नै बदलिन सक्छ र विशेष जुत्ता आवश्यक पर्न सक्छ । यसका लागि सुरुवातमै जाँच र हेरचाह आवश्यक हुन्छ ।

७.छालासम्बन्धी समस्या

मधुमेह भएका व्यक्तिमा छालासम्बन्धी समस्याहरू पनि देखा पर्न सक्छन्, जस्तैः घाउ खटिरा आउने,  फोकाहरू देखा पर्ने, छालामा पुतली देखापर्ने, फंगल संक्रमण भएर  एथ्लेट्स फुट हुने, छाला खैरो हुने, छाला खुइलिने डायबेटिक (डर्मोपेथी), डिजिटल स्क्लेरोसिस जस्ता समस्या आउन सक्छ ।

८.सुन्ने क्षमतामा ह्रास

विभिन्न अनुसन्धान अनुसार, मधुमेह भएका व्यक्तिमा सामान्य मानिसको तुलनामा सुन्ने क्षमतामा कमी देखिन्छ । उच्च रक्तचिनीले कानभित्रका साना रक्तनली र स्नायु नसाहरूलाई क्षति पुर्‍याउने हुदाँ यसो भएको हो । यसले बहिरोपनको अवस्था ल्याउन सक्छ । नियमित कानको परीक्षण गरिरहने र रगतमा ग्लुकोजको मात्रालाई नियन्त्रणमा राख्नुपर्छ ।

९. बिर्सिने समस्या

मधुमेहले डिमेन्सिया, विशेषगरी अल्जाइमर रोगको जोखिम बढाउने प्रमाणहरू फेला परेका छन् । लामो समयसम्म रगतमा ग्लुकोजको मात्रा बढी भइरहँदा मस्तिष्कका रत्तनलीहरूलाई क्षति पुर्‍याउने वा मस्तिष्कमा इन्सुलिनको प्रभाव घटाउने गर्दछ ।

१०. यौन र मूत्रसम्बन्धी समस्या

नसाहरूको क्षति र रक्तप्रवाहमा बाधाका कारण मधुमेहले यौन समस्याहरू निम्त्याउन सक्छ । मधुमेह हुँदा पुरुषमा इरेक्टाइल डिसफङ्क्सन (लिंग उत्तेजनामा समस्या) देखिन सक्छ भने महिलामा यौन इच्छा कमी वा यौन प्रतिक्रिया घट्न सक्छ । साथै, पिसाब चुहिने वा पिसाब नलीको संक्रमण भइरहने पनि हुँन सक्छ ।

११. डिप्रेसन

मधुमेह जस्तो दीर्घ रोगले मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्छ । मधुमेह भएका व्यक्तिमा डिप्रेसनको सम्भावना उल्लेखनीय रूपमा बढी हुन्छ, जसले रोग नियन्त्रणमा पनि बाधा पुर्‍याउँछ । डिप्रेसन हुँदा निराशा, थकान, निद्रा र भोकमा परिवर्तन जस्ता लक्षणहरू देखिन सक्छन् ।

यसर्थ मधुमेह भएका व्यक्तिले यो रोगको मात्र होइन, त्यससँग सम्बन्धित जटिलताहरूको पनि सचेतपूर्वक व्यवस्थापन गर्नु अति आवश्यक छ । यसका लागि स्वस्थ रक्तग्लुकोज कायम राख्नु, जीवनशैलीमा सुधार ल्याउनु, र आफ्नो चिकित्सकसँग निरन्तर सम्पर्कमा रही रोगको उचित व्यावस्थापन गर्नु पर्दछ ।

मधुमेह
डा. हेमराज कोइराला
लेखक
डा. हेमराज कोइराला
वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक एवं वरिष्ठ विशेषज्ञ रिजेनेरेटिव मेडिसिन

बीएनवाईएस एमफिल (रिजेनेरेटिव मेडिसिन), पिएचडी (बायोटेक्नोलोजी अध्ययनरत) योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर र काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालयमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बेवास्ता नगरौँ, मधुमेहले निम्त्याउन सक्छ यी ११ जटिलता

बेवास्ता नगरौँ, मधुमेहले निम्त्याउन सक्छ यी ११ जटिलता

बाल क्यान्सर पहिचान र अस्पताल खर्च नभएकालाई निःशुल्क सेवा दिएका छौं (भिडियो)

बाल क्यान्सर पहिचान र अस्पताल खर्च नभएकालाई निःशुल्क सेवा दिएका छौं (भिडियो)

के हुन्छ शरीरमा, जब हरेक दिन समोसा खाइन्छ ?

के हुन्छ शरीरमा, जब हरेक दिन समोसा खाइन्छ ?

हेपाटाइटिसबारे जानौं, कसरी बिगार्छ यसले कलेजो ?

हेपाटाइटिसबारे जानौं, कसरी बिगार्छ यसले कलेजो ?

किन सर्पलाई  चिकित्सा विज्ञानको प्रतीक बनाइयो  ?

किन सर्पलाई चिकित्सा विज्ञानको प्रतीक बनाइयो ?

डा.शाही बने ‘क्यान्सर इम्युनोथेरापी’ कोर्स पूरा गर्ने पहिलो नेपाली चिकित्सक

डा.शाही बने ‘क्यान्सर इम्युनोथेरापी’ कोर्स पूरा गर्ने पहिलो नेपाली चिकित्सक