+
+
Shares

दिल्लीमा क्यान्सरको नक्कली औषधि बेच्ने गिरोहको काठमाडौं कनेक्सन

भारतीय अधिकारी भन्छन्: नेपालबाट औषधि पठाउने पक्राउ पर्दैछन्, नेपाली अधिकारी भन्छन्: यसबारे पहिलो पटक सुन्दैछु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते २१:०२

१२ असार, काठमाडौं । क्यान्सरको उपचार हुने भन्दै भारतको दिल्लीमा बिक्री भएको औषधिबारे अनुसन्धान गरिरहेको क्राइम ब्राञ्च (अपराध शाखा) ले नेपाल कनेक्सन फेला पारेको छ ।

क्राइम ब्रान्चका अधिकारीहरूले अनुसन्धानका क्रममा क्यान्सरका नक्कली औषधि ठूलो परिमाणमा काठमाडौं हुँदै भारतसम्म भित्रिएको पत्ता लगाएको भारतको अखबार द इण्डियन एक्सप्रेसले जनाएको छ ।

नेपालबाट भारतमा ती औषधि पठाउनेको समेत पहिचान भइसकेको भन्दै संदिग्धको खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ । ती व्यक्ति चाँडै पक्राउ पर्ने समेत दाबी गरिएको छ ।

नेपाल प्रहरीका अधिकारीहरूले भने त्यसबारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन् ।

अन्तरदेशीय अपराध अनुसन्धान र आतकंवाद मामलामा अनुसन्धान गर्ने विशेष ब्यूरोका एक उच्च अधिकृतले अनलाइनखबरसँग भने, ‘त्यो विषयमा हामीसँग कुनै खाले समन्वय भएको छैन ।’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतले पनि अनविज्ञता प्रकट गरे ।

यो महिनाको सुरुमा क्राइम ब्राञ्चले भण्डाफोर गरेको नक्कली क्यान्सर औषधिको गिरोहसम्बन्धी अनुसन्धानले ती नक्कली औषधिहरूको ठूलो परिमाण नेपालको काठमाडौं हुँदै भारत भित्रिएको पत्ता लगाएको प्रहरीले जनाएको छ ।

जुनको पहिलो सातामा दिल्ली प्रहरीले अनधिकृत रुपमा दर्ता नभएका क्यान्सरका औषधिहरू बिक्रीलाई बिक्री गर्ने गिरोहलाई समातेको थियो । पक्राउ परेकाहरूबाट अनुसन्धान जारी राखेको प्रहरीले त्यस्ता औषधि नेपालबाट भित्रिएको थाहा पाएको भनिएको छ ।

फरार छन् मुख्य अभियुक्त

यो प्रकरणका मुख्य अभियुक्त नवीन आर्य हालसम्म फरार रहेको भारतीय अधिकारीहरूले भनेका छन् । उनले दिल्लीको व्यापारिक क्षेत्र चाँदनी चोकमा रहेको भागिरथ प्यालेस क्यान्सर एण्ड हेपटाइटिस उपचार केन्द्र चलाउँदै आएका थिए ।

आर्य यसअघि पनि उस्तै किसिमको मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् । त्यसबेला उनी चार/पाँच महिना जेल बसेपछि जमानतमा छुटेका थिए ।

तर, जेलबाट रिहा भएलगत्तै उनले फेरि नक्कली औषधिको धन्दा थालेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् । तर, यसपटक चाहिँ उनले रुट परिवर्तन गरेर नेपालतर्फबाट औषधि ल्याउन थालेको पाइएको अधिकृतहरूको भनाइ छ ।

क्राइम ब्रान्चका डेपुटी कमिश्नर अफ पुलिस (डीसीपी) विक्रम सिंहले औषधि जाँचको रिपोर्ट आइसकेको र ती सबै नक्कली भएको पाइएको बताएका छन् । ‘हाम्रा अधिकृतहरूले बरामद औषधिहरूलाई फरेन्सिक प्रयोगशालामा परीक्षणका पनि पठाएका छन्’, सिंहले भनेका छन्, ‘विस्तृत प्रतिवेदन कुरिरहेका छौं ।’

‘अरु राज्यका घटनाहरूमा पनि या मामिला जोडिनसक्छन् कि भन्ने हो, वा कुनै समानता छन् कि हिसाबले पुराना फाइलहरू पनि हेरिरहेका छौं’, उनले थपे ।

डीसीपी सिंहको नेतृत्वमा असिस्टेन्ट सीपी यशपाल, इन्स्पेक्टर आशिष शर्मा, सब–इन्स्पेक्टर प्रकाश र गुमन, र असिस्टेन्ट सई संदीप चौलालगायतको टोलीले यो मामिलामा अनुसन्धान गरिरहेको क्राइम ब्रान्चको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीका अनुसार नवीन आर्यकी पत्नीसमेत यो र्‍याकेटमा जोडिएको हुनसक्ने देखिएको छ । विरामीबाट अनलाइन अर्डर लिन उनका मोबाइल फोन प्रयोग भएको पाइएपछि उनको भूमिकाबारे जाँच भइरहेको अधिकृतहरूको भनाइ छ ।

यो गिरोहले नगद कारोबारमात्र गर्ने भएकाले पैसाको ट्रेल पत्ता लगाउन कठिन भइरहेको प्रहरीले जनाएको छ ।

‘कुनै बिल छैनन्, आर्यले अनलाइन अर्डर लिने र ह्वाट्सएपमा कुरा गर्ने गर्थे’, सिंहले भने, ‘त्यसकारण कुनै डिजिटल प्रमाण बाँकी रहेन, यदि कसैले अनलाइन यस्ता औषधि खरिद गरेको छ भने, कृपया अगाडि आउनुहोस्, ताकि हामी पुरै सञ्जाल पत्ता लगाउन सकौं ।’

उनले विभिन्न राज्यहरूमा दर्ता भएका यस किमिसको मुद्दाहरू पनि प्रहरीले हेरिरहेको बताएका छन् । ‘अरु राज्यका घटनाहरूमा पनि या मामिला जोडिनसक्छन् कि भन्ने हो, वा कुनै समानता छन् कि हिसाबले पुराना फाइलहरू पनि हेरिरहेका छौं’, उनले थपे ।

सामाजिक सञ्जालबाट बिक्री

प्रहरीका अनुसार लक्ष्मीनगर, बुढ विहार र चाँदनी चौकमा एकसाथ छापा मारेर ६ जनालाई पक्राउ गरिएको थियो । त्यसक्रममा लाखौं मूल्य बराबरका नक्कली औषधिहरू बरामद भएका थिए ।

प्रहरीका अनुसार, अभियुक्तहरूले सामाजिक सञ्जालका समूहहरू प्रयोग गरी क्यान्सरका बिरामीहरूलाई लक्षित गर्थे र महँगा औषधि छुटमा दिने भन्दै प्रलोभन देखाउने गरेका थिए ।

पछि थप दुई व्यक्तिहरू पनि पक्राउ परेका थिए । उनीहरूमाथि दिल्ली, एनसीआर क्षेत्रमा नक्कली क्यान्सर औषधिका फाइलहरू ल्याएको आरोप थियो ।

प्रहरीसँग बयान दिने क्रममा उनीहरूले ती औषधिहरू काठमाडौं हुँदै भारत भित्र्याएको खुलाएको अधिकारीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?