२६ फागुन काठमाडौँ । नेपाललाई अत्यावश्यक ओैषधिमा आत्मनिर्भर बनाउन सबैले जोड दिएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले आज ‘नेपाल फर्मा एक्सपो र ओैषधिमा आत्मनिर्भरता बिषयमा नीतिगत सवाल’ सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
ललितपुर क्षेत्र नं. ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्की अत्यावश्यक औषधिमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन् ।
अब बन्ने सरकारको प्रमुख प्राथमिकता जनताको औषधि उपचार रहेको उनले बताइन् । औषधि ऐन संशोधन गरेर नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा धारणा उनले राखिन् ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले औषधि ऐन २०३५ लाई संशोधन गरेर नेपाली औषधि उद्योगमैत्री बनाउनुपर्नेमा जोड दिए । उनले स्वास्थ्य बीमा बोर्डबाट प्रदान गरिने सबै औषधि नेपाली औषधि उद्योगबाट उत्पादन भएकै नीति बनाउनुपर्ने डा.दासले बताए ।

‘भरसक हाम्रै औषधि उद्योगबाट उत्पादन भएका औषधि बीमा बोर्डबाट विवरण गरिने व्यवस्था गर्नुपर्ने छ’ उनले भने, ‘नेपाली औषधिको खपत बढाउने हो भने मुलुकको अर्थतन्त्रमा सुदृढ हुन्छ ।’
राष्ट्रिय ओैषधि प्रयोगशालाका निर्देशक भरतप्रसाद भट्टराईले ओैषधि परामर्श समितिका कारण धेरै समस्या रहेको भन्दै ओैषधिको गुणस्तर प्रत्याभूति गर्न विश्व स्वास्थ्य सङ्गठनले लागू गरेको मापदण्डलाई पूरा गर्नुपर्नेमा जोड दिए ।
उनले दिगो विकास लक्ष्यमा उल्लेख गरेअनुसार ओैषधि सम्बन्धि नीतिगत व्यवस्था परिवर्तन गरिनुपर्ने बताउँदै अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरेर गुणस्तरीयतामा ध्यान दिनुपर्नेमा बताए ।
नेपाल फार्मेसी परिषद्का अध्यक्ष प्रवलजंग पाण्डेले नेपालले नीतिगत सुधार गरेर ओैषधि उद्योगलाई गुणस्तरीय उत्पादनमा प्रेरित गर्नुपर्ने बताए । प्राविधिक सीप र वैदेशिक मुद्रामा कारोबार गर्न सहज बनाइदिने हो भने धेरै उपलब्धि हासिल गर्न सकिने दावी उनले गरे ।
नेपाल मेडिकल काउन्सिलका सदस्य डा. दिपेन्द्र पाण्डेले जेनेरिक ओैषधि उत्पादनका लागि नेपाल सरकारले उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
उत्पादनको प्रक्रिया र गुणस्तर परीक्षण गरेर जान सक्दा राम्रो हुने उनको भनाइ छ । उनले देशको अवस्था सुधार हुँदैगर्दा कच्चापदार्थमा कर छुट दिएर नेपाली ओैषधि उत्पादक कम्पनीलाई सहुलियत दिनुपर्नेमा जोड दिए ।
नेपाल ओैषधि व्यवस्था विभागका प्रमुख ओैषधि व्यवस्थापक शिवानी खड्गीले राजनीतिक स्थायित्वको अभावले स्वदेशी ओैषधि उद्योगमैत्री ओैषधि ऐन बन्न नसकेको बताइन् ।

नयाँ सरकार बनेसँगै यो समस्या समाधान हुने विश्वास उनले व्यक्ति गरिन् । विभागले स्वदेशी ओैषधि उद्योगलाई प्रोत्साहन गर्न ध्यान दिएर लागि परेको उनले बताइन् ।
नेपाल ओैषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले २०३५ सालमा बनेको ओैषधि ऐन नेपालका ओैषधि व्यवसायीको हितमा नभएको गुनासो गरे । आयातमुखी ओैषधि ऐनलाई सुधार गर्नुपर्नेमा माग उनले राखे । उनले औषधि ऐन नेपाली औषधिको पक्षमा बन्ने हो भने ५ वर्षमा मुलुकलाई औषधिमा ८० प्रतिशत आत्मनिर्भर बनाउन सकिने दावी गरे ।
नेपाली उद्योगलाई भारत र बंगालादेशका तुलनामा कम मूल्यमा ओैषधि उत्पादन गर्न सरकारले वातावरण बनाइदिनुपर्नेमा अधिकारीले बताए ।
एपोनका पूर्व अध्यक्ष दीपक दाहालले सरकारले नेपाली औषधिलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष भिषा काफ्लेले ओैषधिको गुणस्तरमा ध्यान दिन, स्वास्थ्य क्षेत्रका नीतिगत समस्या समाधानका लागि सर्वपक्षीय छलफलका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
प्रतिक्रिया 4