+
+
Shares

सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

दाउद इब्राहिमकै शैलीमा उदाउँदै गरेका कुख्यात अपराधी लरेन्स विश्नोई समूहका केही सदस्यहरूको उपस्थिति नेपालमा समेत देखिएको छ । नेपाललाई तत्कालका लागि सेल्टरका रुपमा मात्र प्रयोग गरेको भए पनि समयमै सतर्कता नअपनाए थप जोखिम उत्पन्न हुनसक्छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८२ वैशाख १८ गते २०:२०

१८ वैशाख, काठमाडौं । तीन साताअघि भारतीय सुरक्षाकर्मीको एउटा समूहले नागार्जुन क्षेत्रमा प्रवेश गरेर अपरेशन चलाएपछि नेपाल प्रहरीले पक्राउ गरेको सूचना छ्याप्छ्याप्ती भयो ।

राजावादी समूहले प्रदर्शन गरिरहेका बेला यो गिरफ्तारीलाई जोडेर कतिपयले सामाजिक सञ्जालमा भ्रामक र उत्तेजक अभिव्यक्ति समेत दिए । खासमा दुई महिना पुरानो घटनालाई लिएर भारतको गृह मन्त्रालयले ‘विदेशमा अनुसन्धान गर्न जाँदा अपनाउनुपर्ने कार्यविधिबारे सकुर्लर’ जारी गरेपछि यो विषय चर्चामा आएको थियो ।

भारतीय अखबार ‘द हिन्दुस्तान टाइम्स’ले ७ अप्रिलमा पञ्जाब प्रहरीले चलाएको एउटा अपरेशनले कूटनीतिक तनाव सिर्जना गरेपछि गृह मन्त्रालयले विदेशी भूमिमा गरिने अपरेशनका लागि कडा निर्देशिका जारी गरेको लेखेको थियो । यो निर्देशिकामार्फत ‘विदेशी मुलुकमा कुनै पनि अनुसन्धान वा प्रहरी गतिविधिका लागि पूर्वस्वीकृति र समन्वय अनिवार्य बनाइएको’ उल्लेख गरिएको थियो ।

यो समाचार सार्वजनिक भएपछि मात्र भारतीय सुरक्षा अधिकृतहरू नेपाल आएकोबारे चर्चा भयो, जबकी घटना २०८१ फागुन दोस्रो साताको थियो । त्यसबेलै यो मामलाले पञ्जाब र नयाँ दिल्ली मात्र होइन, काठमाडौंमा समेत हलचल मच्चाएको थियो ।

अधिकृतहरूका अनुसार, गण्डकी प्रदेशको एक जिल्लाको नेतृत्व गरिरहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) ले पञ्जाब राज्यको एन्टी ग्याङस्टर टास्क फोर्स (एजीटीएफ) लाई सहयोग गरेको पाइएपछि तत्कालीन प्रहरी महानिरीक्षक वसन्त कुँवरले छानबिन समिति बनाएका थिए ।

प्रहरी प्रधान कार्यालय वा अन्तरदेशीय अपराध अनुसन्धान गर्ने अन्य निकायसँग समन्वयविनै काठमाडौं आएर ती डीएसपीले पञ्जाब प्रहरीलाई सहयोग गरेको खुलेपछि जिम्मेवारीबाट हटाइएको थियो ।

त्यसअघि तत्कालीन आईजीपी कुवँरको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सादा पोशाकमा रहेका पञ्जाब प्रहरीका ७ अधिकारीलाई नियन्त्रणमा लिएको थियो ।

‘जिल्लामा खटिएको अधिकृतले विना जानकारी काठमाडौं आएर त्यसरी आफूखुसी मानिसहरूलाई केरकार गर्दा चुपचाप बसिरहे, त्यस्तो प्रवृत्ति भोलिका दिन पनि दोहोरिने र अधिकृतहरू आफैं कुनै पनि बेला जोखिममा पर्नसक्ने स्थिति हुन्थ्योे’, कुँवरको सचिवालयमा काम गरेका एक अधिकृत भन्छन्, ‘त्यसैले त्यो घटनालाई छानबिनको दायरामा ल्याइएको थियो ।’

नेपाल प्रहरीले समातेर लैनचौरस्थित भारतीय दूतावासमा बुझाइदिएपछि पञ्जाब प्रहरीलाई समेत तनाव भएको थियो । एजीटीएफका प्रमुख प्रमोद वनले चाहिँ आफ्नो टोली अपरेशनका लागि नभई सूचना संकलनका लागि काठमाडौं गएको प्रतिक्रिया दिएका छन् ।

विश्नोई समूहको सदस्य खोज्दै काठमाडौंमा

बलिउड अभिनेता सलमान खानलाई धम्क्याएर चर्चामा आएका भारतीय अपराधी लरेन्स विश्नोई जेलबाटै आफ्नो गिरोह चलाउँछन् । फोटोः न्यूज१८ डटकम

पञ्जाब प्रहरीको एजीटीएफ टोली काठमाडौं आएको विषयले ‘नेपाल–भारत कूटनीतिक तनाव गराएको’ चर्चा गरिए पनि उनीहरू खास किन काठमाडौंसम्म आइपुगे भन्ने विवरण दुवै पक्षबाट सार्वजनिक भएको छैन ।

उच्च सुरक्षा स्रोतले अनलाइनखबरलाई बताएअनुसार, एजीटीएफको टोली त्यसबेला पञ्जाब मुख्य आधार इलाका भएका कुख्यात ग्याङस्टर लरेन्स विश्नोई समूहका चार सदस्यलाई खोज्दै काठमाडौं आएको थियो ।

नेपाल प्रहरीको विशेष ब्यूरो स्रोतका अनुसार, विश्नोई समूहको गोली प्रहारबाट १२ अक्टुबर २०२४ मा मुम्बईको बान्द्रामा मारिएका पूर्वमन्त्री बाबा सिद्दिकी हत्यामा जोडिएका चार सदस्य काठमाडौंमा लुकिरहेको सूचनाको आधारमा ती प्रहरी अधिकृतहरू काठमाडौं पसेका थिए ।

विश्नोई समूहको गोली प्रहारबाट मुम्बईमा मारिएका पूर्वमन्त्री बाबा सिद्दिकी हत्यामा जोडिएका चार सदस्य लुकिरहेको सूचनाको आधारमा पञ्जाब प्रहरीका अधिकारीहरु काठमाडौंसम्म आइपुगेका थिए। उनीहरुमध्ये दुई जना मुक्तिनाथ समेत पुगेको नेपाल प्रहरीको अनुसन्धानमा खुलेको छ

स्रोतका अनुसार, मुम्बई प्रहरी र उत्तर प्रदेशको स्पेशल टास्क फोर्स (एसटीएफ) ले २०२४ को नोभेम्बरमा नेपाल भाग्न लागेका सुटर शिवकुमार गौतमलाई पक्राउ गरेको थियो । उनीहरूलाई नेपाल भगाउन सहयोग गरेको आरोपमा अनुराग कश्यप, ज्ञानप्रकाश त्रिपाठी, आकाश श्रीवास्तव र अखिलेन्द्र प्रताप सिंह पनि समातिएका थिए ।

उनीहरूले दिएको बयानमा गौतमलाई मुम्बईबाट पुणे, झाँछी र लखनऊ हुँदै बहराइचसम्म पुर्‍याइएको खुलेको थियो । त्यहाँबाट उनलाई नेपाल प्रवेश गराउने बन्दोबस्ती मिलाएको खुलेको स्रोत बताउँछ । तर, उनलाई नेपाल छिर्न लाग्दा उनलाई पक्राउ गरिएको भारतीय प्रहरीको दाबी छ । कतिपय अधिकृतहरू भने गौतमलाई नेपालबाटै पक्राउ गरिएको हुनसक्ने समेत बताउँछन् ।

गौतमसहितका व्यक्तिहरूमाथि अनुसन्धान गरिरहेको प्रहरीले रुपैडिया नाका हुँदै थप चार जना सुटर नेपाल प्रवेश गरेको पत्ता लगाएको अनुसन्धानमा संलग्न अर्का एक अधिकृत बताउँछन् ।

‘उनीहरूले नेपाल आएर उपत्यका अपराध अनुसन्धान कार्यालय र अन्यत्र कार्यरत भए पनि व्यक्तिगत सम्बन्ध रहेका अधिकृतहरूसँग समन्वय गरेका रहेछन्’, स्रोतले भन्यो, ‘त्यस क्रममा उनीहरूले टोखामा रहेको होटल ड्रागन रिसोर्टमा खोजतलास गरेको भेटिएको छ ।’

मुख्य सुटर शिवकुमार गौतम र बाबा सिद्धिकी ।

स्रोतका अनुसार, पञ्जाबबाट आएको टोलीले समूहको चार जनाको नामसहित ती व्यक्तिहरू काठमाडौंमा बसिरहेको सूचना दिएको थिए । पछि नेपाल प्रहरीले गरेको जाँचका क्रममा तीमध्ये दुई जनाको नेपालमा उपस्थिति हुने आधार देखिए पनि बाँकीको पत्तो नलागेको स्रोत बताउँछ । दुई जना चाहिँ मुक्तिनाथ दर्शन गर्न समेत गएको भेटिएको छ ।

‘तिनीहरूसँग पुग्ने सुत्र मानिएका केही व्यक्तिलाई समात्ने वित्तिकै शंका भएर हुनसक्छ, उनीहरू मोबाइल छाडेर भागेको पाइएको थियो’, एक अधिकृत भन्छन्, ‘उनीहरूले प्रयोग गरेको मोबाइलमा भएका सीमकार्ड समेत फर्जी कागजातका आधारमा लिइएका थिए ।’ प्रहरीले उनीहरूले प्रयोग गरिरहेका मोबाइल नम्बर दर्ता गर्न प्रयोग गरिएका नागरिकता प्रमाण पत्र वाहकहरूसँग समेत सोधपुछ गरेको थियो ।

‘प्रहरीले काठमाडौंमा खोजी रहेको थाहा पाएपछि उनीहरू भागेको जस्तो देखिन्छ, पछि पनि उनीहरू नेपालकै कुनै स्थानमा लुकेर बसिरहेको हुनसक्ने शंका गरिएको थियो’, स्रोत भन्छ, ‘तर, अनुसन्धान जारी रहेकै बेला भारतीय प्रहरीको टोली समातिएकोबारे दिल्लीमा पनि हल्लीखल्ली भयो र अपरेशन अघि बढाउन कठिनाइ भयो ।’

स्रोतका अनुसार, प्रहरी महानिरीक्षकको प्रत्यक्ष मातहतमा रहने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टोलीले उनीहरूलाई समातेर लैनचौरस्थित भारतीय दूतावासमा बुझाएको थियो भने होटलका सञ्चालक लगायतलाई बोलाएर केरकार समेत गरेको थियो ।

सीआईबीले पक्राउ गरेका पञ्जाब प्रहरीका अधिकारीहरूलाई काठमाडौंस्थित भारतीय दूतावासमा बुझाइएको थियो । फाइल फोटो ।

झापाबाट गुपचुप लगिएका थिए सुटर

विश्नोई समूहको उपस्थिति नेपालमा देखिएको यो पहिलो पटक होइन ।

पञ्जाबका चर्चित र्‍यापर सिद्धु मुसेवालाको हत्यामा संलग्न सुटरसमेत २३ भदौ २०७९ मा पूर्वी नाका हुँदै झापा प्रवेश गरेका थिए । तर, अनौठो के भयो भने भारतीय प्रहरीले खोजी गरिरहेको सुटरलाई कचनकवल गाउँपालिका–४, भटियागाउँका स्थानीयले नै समातेर झापा प्रहरीलाई बुझाइदिए ।

नेपाल भारत सीमा क्षेत्रबाट सिद्धु मुसेवाला प्रकरणका आरोपी पक्राउ परेकोबारे पञ्जाब प्रहरीका डीजीपीले सामाजिक सञ्जालमार्फत दिएको सूचना ।

त्यो दिन एक्कासि गाउँमा नयाँ मान्छे ‘बच्चा चोरी गर्न आएको’ भन्दै हल्लीखल्ली भएपछि स्थिति तनावपूर्ण बन्यो, स्थानीयले कारबाहीको माग गर्दै सीमा प्रहरी चौकी समेत घेरे ।

प्रहरीले उनीहरूलाई केही घन्टा जिल्ला प्रहरी कार्यालय, झापाको हिरासतमा राखेर आफन्तको जिम्मा लगाएको बतायो । तर, त्यसरी पक्राउ गरिएका कपिल पण्डित, दिपक मुण्डी र राजिन्द्र उर्फ जोकरलाई दुई दिनपछि पश्चिम बंगालस्थित नेपाल–भारत सीमा क्षेत्रबाट समातिएको भन्दै पञ्जाब प्रहरीले प्रेस विज्ञप्ति जारी गर्‍यो ।

एजीटीएफलाई ‘महत्वपूर्ण सफलता हात लागेको’ भन्दै दिपक मुख्य सुटर र कपिल र राजिन्द्रले उनीहरूलाई हतियार र सेल्टर व्यवस्थापन गरेको पञ्जाब प्रहरीले बतायो । विशेष ब्यूरोका एक अधिकृतका अनुसार, उनीहरू नेपालमा सेल्टर लिने हिसाबले आएका थिए । तर, भारतीय प्रहरीको निरन्तर निगरानी र नेपाल प्रहरीको समेत सहयोगका कारण पक्राउ परे ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख चन्द्रकुवेर खापुङ खुला सीमा भएका कारण नेपालका अपराधी भारत र भारतका अपराधी नेपालमा सेल्टर लिएर बस्ने गरेको बताउँछन् । ‘कहिले यताका उता, कहिले उताको यता पक्राउ परिरहेका हुन्छन्, मुख्य कुरा अपराध नियन्त्रण हो’, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङ भन्छन्, ‘निश्चित घटनाहरूमा चाहिँ मलाई जानकारी भएन ।’

झारखण्ड इन्काउन्टरको नेपाल साइनो

कुख्यात अपराधी साहु प्रहरी मुठभेडमा मारिए पनि उनले नेपालमा गरेको लगानी अहिले कसले प्रयोग गरिरहेको छ ?  उनका नेपाली साझेदारहरू को–को थिए ? अन्तर्राष्ट्रिय अपराधीसँग नेक्सस भएका गुण्डागर्दी पृष्ठभूमिका नेपाली व्यक्तिहरू को हुन् ? यी प्रश्न अनुत्तरित छन्

प्रहरी हिरासतबाट फरार भएका झारखण्डका कुख्यात गुण्डा नाइके अमन साहु नेपालमा लुकेर बसेको भन्दै २०२४ को सुरूवाततिर भारतीय प्रहरीले नेपाल प्रहरीको विशेष ब्यूराका अधिकृतहरूलाई सूचना दिए ।

भारतको राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) का अनुसार, जेलमा रहेका लरेन्स विश्नोईको उनीसँग ‘आपराधिक साझेदारी’ थियो ।

त्यो साझेदारी अन्तरगत उनीहरूले कुनै पनि प्रतिस्पर्धी वा अरुलाई ‘सफाया’ गर्न एकअर्कालाई हतियारसहित सुटर उपलब्ध गराउँथे भने समूहका सदस्यहरूलाई सीमा पार गराउन सहयोग गर्थे । नयाँ दिल्लीको माल्भिया नगर प्रहरी चौकीमा एक व्यवसायीले हप्ता असुलीका लागि धम्की दिएको भन्दै विश्नोई र साहुविरुद्ध उजुरी समेत दिएका थिए ।

पछि साहुले क्रिकेटका बुकी (सट्टेबाजी गराउने व्यक्ति) को हत्यामा संलग्न शाहनवाज र सुनिल कारोलियालाई बिहारको मज्जाफरपुर हुँदै नेपालतिर भगाउन सहयोग गरेको पञ्जाब प्रहरीले पत्ता लगाएको थियो । प्रहरीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गर्दा सीमा पार गरेर नेपाल जान लाग्दा पक्राउ गरिएको बताएको थियो ।

यस्तोमा विश्नोईसँग जोडिएका साहु नेपाल प्रवेश गरेको सूचना पाएपछि विशेष ब्यूरोले निगरानी बढाएको थियो । जानकार स्रोतका अनुसार, काठमाडौंको बालुवाटारस्थित इम्पेरियल बुटिक होटलमा भएको एउटा बर्थडे पार्टीमा उनी देखिएका थिए ।

भारतीय प्रहरीले त्यहाँ भएको पार्टीको फोटो समेत नेपाली पक्षलाई पठाइदिएको स्रोतको दाबी छ । यसपछि होटलका सञ्चालकहरूलाई बेलाएर विशेष ब्यूरोले केरकार गरेको थियो । त्यसक्रममा सञ्चालकहरूले आफूहरूलाई साहु त्यस्तो पृष्ठभूमिको व्यक्ति भएको थाहा नभएको बताएका थिए, लगानीको कुरा समेत इन्कार गरेका थिए ।

स्रोतका अनुसार, भारतीय अनुसन्धान अधिकृतहरूले भने शाहुको नेपालका तीन वटा होटल र रियल स्टेटमा समेत लगानी रहेको दाबी गरेका थिए । एनआईएको जाँचमा साहुले काठमाडौं र सिंगापुरमा गरेको लगानीबारे खुलेको उनीहरूको भनाइ थियो । थापा थरका एक व्यक्तिको सहयोगमा साहुले काठमाडौंमा लगानी गर्ने गरेको एक अधिकृत बताउँछन् ।

अमन साहु ।

विशेष ब्यूरोको निगरानीमा रहिरहेका बेला साहुलाई एकाएक सन् २०२२ मा भारतीय प्रहरीले पक्राउ गरेको विवरण सार्वजनिक भयो । पछि उनले जेलभित्रैबाट फिरौती असुलीसहित अन्य आपराधिक गतिविधि गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको अधिकृतहरू बताउँछन् । साहुको नामको सामाजिक सञ्जाल समेत समर्थकहरूले चलाइरहेको र त्यही आधारमा उनले प्रभाव फैलाइरहेको भारतीय प्रहरी अधिकृतहरूको निष्कर्ष थियो ।

यस्तोमा ११ मार्च २०२५ मा छत्तीसगढको रायपुर जेलबाट राँची सार्ने क्रममा प्रहरीसँग मुठभेड हुँदा उनी मारिएको विवरण सार्वजनिक भयो । झारखण्ड प्रहरीको एन्टी टेरोरिज्म स्क्वाड (एटीएस) ले उनलाई रायपुर सेन्ट्रल जेलबाट सार्ने क्रममा उनका समर्थकहरूले आक्रमण गरेको प्रहरी बताउँछ । त्यसक्रममा साहुले प्रहरी अधिकृतकै राइफल खोसेर गोली हान्न खोजेपछि प्रतिरक्षामा फायरिङ हुँदा उनी मारिएको भारतीय सुरक्षा अधिकृतहरूले दाबी गरेका छन् ।

कुख्यात अपराधी साहु प्रहरी मुठभेडमा मारिए पनि उनले नेपालमा गरेको लगानी अहिले कसले प्रयोग गरिरहेको छ ? त्यसबेला उनका नेपाली साझेदारहरू को–को थिए ? अन्तर्राष्ट्रिय अपराधीसँग नेक्सस भएका गुण्डागर्दी पृष्ठभूमिका नेपाली व्यक्तिहरू को हुन् ? यस्ता प्रश्नको जवाफ अनुत्तरित छ ।

जानकारहरूका अनुसार, यी प्रश्नहरूमा गम्भीर जाँच नभए भोलि विश्नोई समूहका अरु सदस्यहरूले पनि पहुँच बढाउने र सेल्टरको रुपमा प्रयोग गर्ने परिस्थिति थप बढ्न सक्छ ।

‘जसले हुण्डीदेखि विभिन्न क्षेत्रमा लगानी गर्नसम्म सघाए, तिनीहरू कानुनी दायरामा नल्याउने हो भने भोलि यस्ता समूहबाट अरु नेपाली पनि परिचालित हुनसक्ने अवस्था रहन्छ’, आतंकवाद मामलामा अनुसन्धान गर्ने एक अधिकृत भन्छन्, ‘त्यसैले नेपालमा साहु वा विश्नोई जस्ता समूहले सक्रिय उपस्थिति देखाउनु अघि नै टाउको उठाउनै नसक्ने वातावरण बनाउनु पर्छ ।’

विश्नोईसँग जोडिएका साहु बालुवाटारस्थित इम्पेरियल बुटिक होटलमा भएको एउटा बर्थडे पार्टीमा देखिएका थिए, होटलका तत्कालीन सञ्चालकहरूलाई बेलाएर विशेष ब्यूरोले केरकार समेत गरेको थियो

जानकारहरूका अनुसार, भारतीय अन्डरवर्ल्डका कुख्यात डन दाउद इब्राहिम र छोटा राजनको दबदबा कमजोर बनिरहेका बेला अहिले भारतमा विश्नोईले उनीहरूको जस्तै आपराधिक सिण्डिकेट खडा गर्ने प्रयास गरिरहेका छन् ।

भारतका विभिन्न राज्यमा ७ सय बढी सक्रिय सदस्यहरू तयार गरिसकेका उनले जेलबाटै बलिउड अभिनेता सलमान खानलाई समेत धम्की दिइरहेका छन् । कहिलेकाहीँ अभिनेता खानको घरमा गोली हानेर विश्नोई समूह आफ्नो दबदबा देखाउने कोशिस गर्छ ।

सन् १९६० देखि उत्कर्षतर्फ लागेको मुम्बई अन्डरवर्ल्डको बलिउडसँग त्यसबेलादेखि नै विवादास्पद सम्बन्ध रहँदै आएको छ । अधिकृतहरूका अनुसार, यस्तोमा खानलाई धम्क्याएर विश्नोई आफूलाई दाउदको शैलीमा विकास विकास गर्न चाहन्छन् ।

नेपाल प्रहरीको विशेष ब्यूरोमा बसेर लामो समय काम गरेका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई जेलबाटै अपराध चलाइरहेका विश्नोई वा अरु कुनै समूहका व्यक्तिहरू नेपाललाई सेल्टर बनाएर बस्नु जुनसुकै बेला चुनौतिपूर्ण बन्नसक्ने बताउँछन् ।

‘अपराधीको कुनै जात, धर्म, क्षेत्र वा भुगोल हुँदैन, अवसर पाए उनीहरू जहाँ पनि गलत कर्म गर्छन्’, राईले भने, ‘त्यसैले त्यस्ता व्यक्तिहरूप्रति गम्भीर निगरानी जरुरी हुन्छ ।’ त्यस्ता अपराधिक गिरोहका सदस्यहरूलाई नेपाल उनीहरूका लागि सुरक्षित छैनन् भन्ने सन्देश दिनु जरुरी हुनेमा जानकारहरू एकमत छन् ।

प्रतिआतंकवाद मामलाका अध्येता नारायण अधिकारी भन्छन्, ‘नेपाल–भारत खुला सीमा भएकाले अपराधीहरूले त्यसको फाइदा उठाइरहेका छन्, त्यसलाई रोक्न कडा सुरक्षा निगरानी र नियन्त्रण आवश्यक छ ।’ त्यसो गर्न सकिए मात्र विश्नोई जस्ता अपराधिक समूह वा अन्य आतंककारीहरूले नेपाललाई ट्रान्जिट वा आश्रयस्थलका रुपमा प्रयोग गर्न नसक्ने उनी बताउँछन् ।

अधिकारीको बुझाइमा, यस्ता कुख्यात अपराधीका गतिविधि र आतंकवाद नियन्त्रणमा नेपाल–भारतबीच औपचारिक रुपमै खुफिया खाझेदारी आवश्यक हुन्छ ।

यो पनि, फैजानदेखि लाल मोहम्मद काण्ड : नेपालमा रअ र आईएसआईबीच ‘प्रोक्सी वार’

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?