
एउटा घोडाले कति भारी बोक्नसक्छ ? कति केजी, कति क्विन्टल ? त्यत्तिका भारी बोकेर कति दूरीसम्म हिँड्न सक्छ ? एउटा खच्चडले कति इँटा बोकेर दिनभर ओहोर–दोहोर गर्न सक्छ ? एउटा राँगाले टाँगामा कति बोझ तान्न सक्छ ?
सायदैले लेखाजोखा गर्लान् ।
किनभने मान्छेका लागि ती पशु फगत पशु हुन् । उनीहरू बोल्न जान्दैनन्, ‘हुन्न’ भन्न सक्दैनन् । जसले जति भारी बोकाए पनि, जसले जहाँसम्म हिँडाए पनि उनीहरूले चुपचाप–चुपचाप सहनुपर्छ । भारी बोक्नुपर्छ । हिँड्नुपर्छ ।
त्यसैले त एउटा खच्चडको ढाडमा इँटाको भारी बोकाएर दिनभर सयौँ पटक ओहोर–दोहार गराइन्छ । एउटा घोडालाई उचाल्नै कठिन हुने फलामे छड बोकाएर पहाडको उकाली–ओराली गराइन्छ । एउटा राँगालाई बयलगाढामा पहाड जत्रो अन्नको थुप्रो बोकाएर कुट्दै हिँडाइन्छ ।
त्यसै त उठाउनै कठिन हुने बोझ बोकाइन्छ अझ त्यसमाथि मान्छेहरू मस्तसँग बस्छन् । अनि जोडले पुच्छर तान्छन् वा लठ्ठीले पिट्छन् । आखिर गह्रौं पाइला चाल्दै सकीनसकी हिँड्नैपर्ने हुन्छ ।
तर, कहाँसम्म हिँड्ने ? कहिलेसम्म हिँड्ने ? थाहापत्तो हुँदैन ।
प्रचण्ड गर्मीले रापिएको तराईका व्यस्त सडकमा, आफ्नै शरीर थेग्न गाह्रो हुने पहाडका भिरालो गोरेटोहरूमा । जहाँ लखेट्छन्, जहाँ डोहोर्याउँछन् त्यतै जानुपर्छ ।
मान्छेहरूले महसुस गर्दैनन्, यिनीहरू पनि थाक्छन् । यिनीहरूको खुट्टा दुख्छ, ढाँड दुख्छ । तिर्खा र भोक लाग्छ । मान्छेलाई यतिमात्र लाग्छ, यिनीहरू फगत पशु हुन् । पशुको चेतना हुँदैन । चेतना नभएकाले यिनीहरूलाई महसुस हुँदैन । महसुस नभएकाले यिनीहरूलाई पीडाबोध हुँदैन ।
पीडाबोध नभएकाले यिनीहरूलाई जे गर्दा पनि हुन्छ, जसो गर्दा पनि हुन्छ ।
तपाईं मधेसतर्फ फर्केर हेर्नुहोस्, बयलगाढामा एउटा राँगालाई कति बोझ तान्न बाध्य पारिन्छ । तपाईं पहाडतर्फ फर्केर हेर्नुहोस्, घोडालाई कति गह्रौ अनि असजिलो भारी बोकाएर हिँड्न लगाइन्छ ।
दिनभर भारी बोकेका पशु थाकेका होलान् । सुविस्ताले आरम गर्न मन लागेको होला । अघाउँजी दानापानी खान मन लागेको होला । मान्छेको मनमा यस्तो न्यायपूर्ण करुणा कहिल्यै जाग्दैन । बरु अघिल्लो दिनभर भारी बोकाएर थाकेका पशुलाई राम्ररी आरम गर्न नदिई अर्को दिन फेरि भारी बोक्न लगिन्छ ।
यो आलेख अडियोमा सुन्नुहोस्
भारीको बोझले छाला रगडिन्छ, घाउ हुन्छ, पिप जम्छ, संक्रमण हुन्छ । तर, औषधिपानी गरिँदैन । त्यस्तै हालतमा भारी बोकाइन्छ । त्यसबेलासम्म बोकाइन्छ, जबसम्म ऊ आजित भएर लम्पसार पर्दैन । थचक्कै भुँइमा बस्दैन । शक्तिहीन र निरीह भएर पछारिँदैन ।
आफ्नो क्षमताभन्दा बढी भारी बोक्दा-बोक्दा यिनीहरू रोगी हुन्छन् । अकालमा ज्यान गुमाउँछ्न ।
गह्रौं भन्दा गह्रौं भारी बोकाएर घन्टौं हिँडाइरहँदा एउटा अबोध पशु शारीरिक र मानसिक रुपले थिलथिलो हुन पुग्छन् । उनीहरू थाक्छन् । मांशपेसी दुख्छ, हड्डी दुख्छ, खुट्टा र मेरुदण्ड दुख्छ । छालामा खटिरा आउँछ । भोको पेट, तिर्खाले उनीहरूको शरीर कमजोर बनाउँछ । अनिद्रा र अतिश्रमले जिउँदै मरेतुल्य हुन्छन् ।
पशुले बोल्न सक्दैन, हामीले जसरी । तर, उनीहरूको चेतना हुन्छ, उनीहरूको भावना हुन्छ । उनीहरूले आफ्नो पीडा महसुस गर्न सक्छन् ।
पशुप्राणीलाई क्षमताभन्दा बढी भारी बोकाउनु, क्षमताभन्दा बढी हिँडाउनु, क्षमताभन्दा बढी श्रम लगाउनु अपराध हो । यस्तो कृत्य गर्न कानुनी छुट छैन । तर, कसले बुझ्ने ? कसले बोल्ने ? कसले लड्ने ?
सामान्यता एउटा स्वस्थ्य र वयस्क घोडाले आफ्नो तौलको २० देखि ३० प्रतिशत बोझ बोक्न सक्छ । जस्तो ४०० वा ५०० किलो तौलको घोडाले ८० देखि १५० किलोसम्म बोझ बोक्न सक्छ । यद्यपि यो उसको स्वास्थ्य, उमेर, नश्ल र प्रशिक्षणमा भर पर्छ । स्वस्थ र जवान घोडा दिनमा ३० किलोमिटरसम्म हिँड्न सक्छ ।
यद्यपि यसबीचमा उनीहरूलाई आराम, खाना र पानीको जरुरत हुन्छ ।
यसैगरी वयस्क राँगाले आफ्नो तौलको २–३ गुणा बोझ तान्न सक्छ, वयलगाढासहित । खासगरी समतल भूभागमा । यस्तो बोझ तानेर उनीहरूले दिनमा ३–४ घण्टा हिँड्न सक्छ । तर, त्यसबीचमा उनीहरूलाई आरम र खानापानी चाहिन्छ ।
सबै पशुको नश्ल, उमेर, क्षमता आदि अनुसार उनीहरूले काम गर्न सक्छन् । तर, पशुप्राणीलाई यसरी श्रमिक बनाएपछि उनीहरूको स्वास्थ्य र खानपानमा ध्यान दिनैपर्छ । औषधि उपचार र अघाउँजी पोषिलो खाना दिनुपर्छ । त्यससँगै माया र स्पर्शको पनि जरुरत हुन्छ ।
खासगरी पशु ढुवानीसम्बन्धी २०६४ को मापदण्ड अनि पशु कल्याण निर्देशिका २०७३ ले घरपालुवा पशुहरूको स्याहारसुसार तथा ओसारपसारबारे विभिन्न व्यवस्थाहरू गरेको छ।
हिँडाएर पशुको ओसारपसार गर्ने हो भने दिनको ८ घण्टाभन्दा बढी हिँडाउन पाइँदैन। त्यसपछि दानापानी, घाँसपात र आराम दिनुपर्छ । यदि गाडीमा ढुवानी
गराउने गर्ने हो भने बढीमा ४८ घण्टामा गन्तव्य पुर्याउनुपर्छ अनि हरेक ८ घण्टामा तल झारेर दानापानी दिएर मात्र लैजानुपर्छ ।
साथै पैदल ढुवानी गर्दा गाई भैँसीलाई दिनको अधिकतम २५ किलोमिटर, भेडा बाख्रालाई ३० किलोमिटर अनि सुँगुर बङ्गुरलाई १२ किलोमिटरभन्दा धेरै हिँडाउन पाइँदैन।
पशुसँगको व्यवहार गर्दा भोक, प्यास, डर, त्रास र तनाव हुन दिन नहुने निर्देशिकामा उल्लेख छ। त्यसमा रहेका केही व्यवस्था यस्ता छन् –
-धेरै दुब्लो र पातलो अनि अस्वस्थ्य पशुलाई काममा लगाउन नहुने,
-दिनमा ८ घण्टाभन्दा धेरै काममा लगाउन नहुने,
-हप्तामा कम्तीमा १ दिन आराम दिनुपर्ने,
-धेरै गर्मी, धेरै जाडो, अविरल वर्षा, असिना पानी, वज्रपातको समयमा काममा लगाउन नहुने,
-पशुको तौलको ४० प्रतिशतभन्दा धेरै भार बोकाउन नहुने,
-भारवाहक पशुलाई हरेक ३ घण्टामा दानापानी र आराम दिनुपर्ने,
-निर्दयी व्यवहार गर्न र छाडा छाड्न नहुने, आदि।
प्रतिक्रिया 4