१ मंसिर, काठमाडौं । मन चंगा छ । एकाबिहानै उड्दैउड्दै अन्नपूर्ण र माछापुच्छ्रे हिमालको काखमा पुगिसकेको छ । घरबाट पाइला चाल्नुअघि नै मनले भने अन्नपूर्ण बेसक्याम्पमा लुटुपुटु गरिसकेको छ ।
सायद मनजत्तिकै तीव्र गतिमा मानिसको पैताला चल्ने भए म पनि सेकेण्डमै अन्नपूर्णलाई पृष्ठभूमिमा राखेर उफ्रिसकेको हुने थिएँ । तर, मनजस्तो कहाँ हुन्छ र यात्रा ? बन्दोबस्तीका सामग्री झोलामा राख्नैपर्यो, घरबाट निस्कनैपर्यो, पाइला चाल्नैपर्यो । मन अन्नपूर्ण आधार शिवरमा पुगेर रमाइसकेपछि म त्यही दृश्यलाई आँखा राखेर घरबाट निस्किएँ ।
हुन त बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् भन्ने गीत जति सुन्दर छ, पोखरेलीको मन पनि त्यतिकै रोमाञ्चक बनाउँछ अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखलाले । पोखराबाट बिहानै उठेर हेर्दा लाग्छ, खुर्र दौडिए, अन्नपूर्ण हिमशृंखला पुगिन्छ, बुरुक्क उफ्रिए माछापुच्छ्रे् टेकिन्छ ।
सायद संसारमा यस्तो अनुभूति सायदै गर्न पाइन्छ । तर, हिमालकै काखमा हिमालको चिसो हावा लिँदै हिमालसँगै रमाउनका निम्ति त हिँड्नैपर्थ्यो । केही दिन अघि म त्यही मजा लिन निस्किएँ ।
पोखरादेखि सार्वजनिक बसमै पुगें नयाँ पुल, झिनु डाँडासम्म । त्यसपछि सुरु भयो हिँडाइ । वनजंगलको मीठो बासना, खोलानालाको कलकल, चराचुरुंगीको चीरबीर । एक्लै हिँड्नुको मजा बेग्लै छ तर यात्रामा एक्लै हुनु पर्दैन ।
संसारकै प्रशिद्ध अन्नपूर्ण पदमार्ग एकपटक पुग्ने रहर विदेशी र पछिल्ला नेपाली पुस्तासँग हुन्छ भन्ने वोधयात्रामै हुन्छ । यात्रामै भेटिन्छन्, अनेक देशका अनेक सपना बोकेर हिँडिरहेका मानिसहरु । जिन्दगीको विरहलाई अन्नपूर्ण पदमार्गमा हिँडेरै सेलाइदिनेहरु यात्राकै दुख बिर्सिएर मुस्कुराइरहेका भेटिन्छन् ।
अन्नपूर्ण बेस क्याम्प यात्रामा निस्कने जो कोहीले पहिले नै कहाँ कहाँ बस्ने ठाउँ छ भन्ने प्राय यकिन गरिसकेका हुन्छन् । झनु डाँडादेखि छोम्रुङसम्मको यात्रा कसैका निम्ति केही अप्ठेरो लाग्न सक्छ । तर, जोखिम उठाएरै जीवनका मजा लिनेहरुले त्यही अप्ठेरोमा मजा मानिरहेका हुन्छन् ।
यात्रा आफैंमा साधना लाग्छ, हिँड्नु आफैं योग लाग्छ । मन लागेको ठाउँमा बस्नुस्, हिँड्न मन लागे हिँड्नुस् तर हतारिएर केही नगर्नुस् । सगरमाथाभन्दा पहिले आरोहण सुरु भएको अन्नपूर्ण हिमालले सोचेजस्तो फड्को मार्न सकेन । तर, दक्षिणी बेस क्याम्पसम्म पुग्ने पर्यटकको भने यो लर्को नै लाग्ने समय हो ।
झिनुबाट हिँड्दै छोम्रुङ गएर बास बस्नुस् वा सिन्हामा । त्यो व्यक्ति अनुसारको हिँडाइ, अवस्था र समयले भर पार्ने छ । दोभान, देउराली हुँदै माछापुच्छ्रे बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्प पुग्दा अहिले सिजनको कोही पनि एक्लो हुनु पर्दैन । थकाइ लाग्न, पैतालाहरु दुख्न सक्छ, पसिनाले निथ्रुक्क पार्न सक्छ ।
खुइय गर्दै प्रकृतिको मजा दिँदै ठाउँ ठाउँमा भेटिएका पर्यटकहरुसँग नमस्कार आदानप्रदान गरेर मुस्कान छर्दै, बेला बेला चिच्याउँदै जब अन्नपूर्ण बेसक्यास पुगियो, तब मुखबाट अनायसै निस्कियो, ‘वाह ।’
मेटिए यात्राका सबै दुखाइहरु र भेटिए अनेक खुसीका रङहरु । सायद अन्नपूर्ण पुग्नेका खुसीका रंगले पोतिएको छ, हिमाल पनि । अनि त के चाहियो, झोला फाल्यो र आफूलाई समर्पण प्रकृति र हिमालसँग । ४ हजार १३० मिटर उचाइको अन्नपूर्ण बेसक्याम्पमा छु तर खुसीको हजारौं माइल उचाइमा पुगेको अनुभव मनमा छचल्कियो ।
एकै छिन वा एकैदिन किन नहोस्, जिन्दगीका सारा दुख र सपनाहरु । रमायो र मन चंगा बनायो । अनि कैद गरें ती दृश्यहरु, मनको क्यानभासमा जस्तै क्यामरामा पनि ।
कतै सेताम्मे त कहिले सुनजस्ता टल्किएका हिमालले अहिले पनि मेरो अनुहारमा खुसीको रङ ल्याइरहेको छ । ती दृश्यहरु कैद गरेर फर्किएदेखि अहिले पनि यत्तिकै मन चंगा नै छ र यी दृश्यहरु पदयात्रा पारखीका निम्ति पस्किएको छु ।
प्रतिक्रिया 4