सामाजिक सञ्जालमा कसैले साझा गरेको त्यो भिडियो संभवतः हेर्न सक्नुहुन्न, यदि तपाईंमा करुणा, प्रेम, चेतना र विवेक छ भने ।
दृश्य कस्तो भने, गाउँमा ‘दशैं मेला’ लागेको छ । त्यहाँ गाउँभरका मान्छे ओइरिएका छन् । यस्तो लाग्दैन उनीहरू किनमेल र स्वस्थ मनोरञ्जनका लागि त्यहाँ भेला भएका हुन् । किनभने त्यो भीड एउटा प्राणीमाथि यति निर्मम र उच्छृंखल देखिन्छ, जुन दृश्य हेर्दा मन विचलित हुन्छ । त्यहाँ एउटा राँगोलाई भीडमा छाडिएको छ । त्यो अबोध प्राणी भीडसँग डराएर यताउता भाग्न खोज्छ । तब उपस्थित भीड उसमाथि एकसाथ जाइलाग्छ । डरलाग्दा हतियार, भाला, लट्ठी बोकेर उनीहरू राँगोलाई लखेट्न थाल्छन् ।
राँगो बारीको कान्लाहरूमा दौडन्छ । तर, चारैतिर घेरा हालेका मानिसहरूले उसलाई उम्कन दिंदैनन् । कसैले यताबाट लखेट्छन्, कसैले उताबाट । भाग्दा–भाग्दै थाकेको राँगोलाई कसैले ठूल्ठूला ढुंगाले हिर्काउन थाल्छन्, कसैले लट्ठीले र कसैले खुँडाले काट्न थाल्छन् ।
असह्य पीडा र भयले त्यो निरीह प्राणी कराउँछ । तैपनि भीडले छाड्दैन । उनीहरूले निर्ममतापूर्वक काट्ने, कुट्ने गरिरहन्छन् । यसरी एउटा निरीह प्राणीमाथि बर्बर हत्या गरिन्छ ।
जबकि भीडमा बुढापाका, युवा र प्रहरी समेत देखिन्छन् । उनीहरूमध्ये कसैले पनि त्यहाँ अबोध पशुको रक्षाका लागि कुनै यत्न गर्दैनन् । किनभने सामान्य आँखाले हेर्नै नसकिने यो दृश्यलाई ‘परम्परा’को रूपमा वर्षौंदेखि निरन्तरता दिइएको रहेछ । यो ‘परम्परा’ हो, अछाम जिल्लाको चौरपाटी गाउँपालिकास्थित मार्कु भन्ने ठाउँको । त्यहाँ वर्षेनि ‘दशैं मेला’ लाग्ने र यसैगरी बर्बरतापूर्वक पशु हिंसा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन थापाले बताए ।
उनका अनुसार उहिलेदेखि नै राँगोलाई लखेट्दै, काट्दै, कुट्दै बीभत्स ढंगले मार्ने ‘परम्परा’ छ । खासगरी दशैंको अष्टमी र नवमीको दिन यो मेला लाग्छ । ‘राँगालाई जति धेरै दुःख दियो, जति धेरै पीडा दियो उत्ति नै देवी खुसी हुन्छिन् भन्ने आम मान्यता रहेछ’ थापा भन्छन्, ‘त्यसैले जतिसक्दो यातना दिएर मार्ने गरिएको छ ।’
मेलाको त्यो दृश्य हेर्नै नसकिने उनले बताए । ‘धेरै पहिले एकपटक मेलामा गएको थिएँ’ उनी सुनाउँछन्, ‘त्यसयता म जान सकेको छैन । किनभने त्यहाँको दृश्य हेर्नै सकिंदैन ।’
……
अर्को प्रसंग फरक छ । तर; व्यहोरा, विधि उस्तै हो ।
घटना दोलखा जिल्लास्थित कालिञ्चोक गाउँपालिका मिलघुम्तीको हो । अष्टमीको दिन । एउटा खसीलाई ‘मार हान्न’ तयार गरियो । सो खसी स्थानीय सपना आचार्यको हो ।
परम्परा अनुसार खसीलाई मार हान्नुअघि पर्साउनुपर्ने हुन्छ । खसीलाई पर्साउन धेरै पटक उनको टाउकोमा पानी छ्यापियो, तर खसी पर्सेन ।
त्यहाँ उपस्थित एक जनाले ‘यसरी खसी नपर्सी काट्न नहुने’ तर्क गरे । यद्यपि एक जनाले खुट्टा र अर्कोले सिङमा समातेर खसीलाई जबरजस्ती मार हान्न तयार गरियो । तर, खसी आफैं लम्पसार परेर आँखाबाट आँसु झार्न थालेपछि उनीहरूले खसीलाई काट्न सकेनन् । स्थानीय सुवास बिक्रम शिवाकोटी भन्छन्, ‘त्यसपछि उनीहरूले खसीलाई छाडिदिए । खसी दौडेर आफ्नो गोठमा पुग्यो ।’
खसी धनी सपना आचार्यले यसरी खसी नकाट्ने निधो गरिन् । बरु त्यसलाई जीवनभर आफैंसँग राखेर पाल्ने भइन् । सो खसी उनकै घरमा जन्मिएको थियो र फरक क्षमता भएका जेठाजु रणबहादुर आचार्यले निकै माया गरेर पालेका थिए । ‘आफूले पालेको खसी कहिल्यै नकाट्ने थाहा पाएपछि रणबहादुर समेत खुसी भए’, शिवाकोटी भन्छन् ।
प्रतिक्रिया 4