+
+

दुई कोरियाबीच किन बढिरहेको छ तनाव ?

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ४ गते ८:४०
दक्षिण कोरियाको भूमिबाट उत्तर कोरियातर्फ दूरबिनबाट हेर्दै पर्यटक

काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियामाथि राजधानी प्योंगयांगमा ड्रोन उडाएको आरोप लगाएको छ । त्यसपछि यी दुई देशबीच महिनौँदेखि चलिरहेको तनाव अझै गहिरिएको छ ।

दक्षिण कोरियाली ड्रोनहरुले प्योंगयांगमा प्रोपोगान्डावाला पर्चा छरेको उत्तर कोरियाको आरोप छ । यस्तो गतिविधिलाई उक्साउने खालको कारवाही भन्दै उत्तर कोरियाले यसबाट सशस्त्र संघर्ष र युद्ध समेत छेडिन सक्ने चेतावनी दिएको छ ।

शुक्रबार दक्षिण कोरियामाथि यस्तो आरोप लगाए पश्चात् उत्तर कोरियाले सिमानामा खटिएका सैनिकहरुलाई गोली हान्नका लागि तयार रहेन आदेश दिएको छ ।

उता दक्षिण कोरियाले पनि त्यसको जवाफ दिन तयार रहेको जनाएको छ । आफ्ना नागरिकको सुरक्षामा कुनै क्षति पुगेमा त्यो उत्तर कोरियाली शासनको अन्त्यको संकेत हुने दक्षिण कोरियाको चेतावनी छ ।

गत मंगलबार उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिने दुईवटा सडकका केही हिस्सालाई बमले उडाइदिएको थियो । उत्तर कोरियाले यसअघि नै त्यस्तो विस्फोट गर्ने चेतावनी दिएको थियो ।

त्यसको अर्को दिन उत्तर कोरियाले आफ्ना १४ लाख जना युवाले सेनामा सहभागी हुन वा पुनः सैन्य सेवामा फर्किनका लागि आवेदन गरेको दाबी गर्यो ।

उत्तर कोरियाका नेता किम जोंग उनले गत जनवरीमै दक्षिण कोरियालाई आफ्नो ‘नम्बर वान’ दुश्मन घोषित गरेका थिए । पछिल्ला घटनाले उत्तर र दक्षिण कोरियाबीचको तनाव चरम विन्दुमा पुगेको छ ।

उत्तर र दक्षिण कोरियामा के भइरहेको छ ?

गत अक्टोबर ११ मा उत्तर कोरियाको विदेश मन्त्रालयले दक्षिण कोरियामाथि दुई हप्ताम्म रातको समयमा प्योंगयांगमा ड्रोन पठाएको आरोप लगायो ।

ती ड्रोनद्वारा छरिएका पर्चाहरुमा भड्काउयुक्त, अफवाह तथा बकवास कुराहरु सामेल रहेको उत्तर कोरियाको भनाइ छ ।

उत्तर कोरियाको राजनीतिमा निकै प्रभावशाली अनुहार मानिने किम जोंग उनकी बहिनी किम यो जोंगले दक्षिण कोरियालाई चेतावनी दिँदै यदि दक्षिण कोरियाले प्योंगयांगमा ड्रोन उडाउने काम गरिरहेमा त्यसको निकै नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी दिइन् । साथै उनले उक्त गतिविधिका पछाडि दक्षिण कोरियाली सैन्य समूहको हात रहेको प्रष्ट प्रमाण रहेको पनि दाबी गरिन् ।

किम जोंग उन र उनकी बहिनी किम यो जोंग

उत्तर कोरियाले आकाशमा उडिरहेका ड्रोनका केही धमिला तस्वीरहरु पनि सार्वजनिक गरेको छ । साथै केही तस्वीरमा छरिएका पर्चा पनि देखिन्छन् । यद्यपि उत्तर कोरियाको उक्त दाबीको स्वतन्त्र रुपमा पुष्टि गर्ने कुनै उपाय भने छैन ।

सुरुमा दक्षिण कोरियाले उत्तर कोरियाली आकाशमा ड्रोन उडाएको आरोप अस्विकार गरेको थियो । तर पछि दक्षिण कोरियाली सेना प्रमुखले उत्तर कोरियाली आरोपको न त पुष्टि गर्न सकिने, न त खण्डन नै गर्न सकिने बताएका छन् ।

स्थानीय स्तरमा के अनुमान गरिएको छ भने ती ड्रोनहरु विभिन्न अभियानकर्मीहरुले उडाएका थिए, जसले बेलुनहरुको सहयोगमा उत्तर कोरियामा विभिन्न सामग्रीहरु पठाइरहेका थिए ।

फ्री नर्थ कोरिया आन्दोलनका नेता पार्क सांग हकले ड्रोन घुसपैठका बारेमा उत्तर कोरियाको दाबीको खण्डन गर्दै आफूहरुले उत्तर कोरियामा ड्रोन नपठाएको बताउँछन् ।

उत्तर र दक्षिण कोरियाको सीमा नजिकका ११ इलाका खतरनाक क्षेत्र घोषित

उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएका अनुसार किम जोंग उनले सोमबार देशका सेना प्रमुख, राज्य सुरक्षा तथा रक्षा मन्त्रीका साथै शीर्ष अधिकारीहरुसँग छलफल गरेका छन् । त्यसक्रममा उनले तत्काल सैन्य कारवाही गर्ने आदेश दिनुका साथै अधिकारीहरुलाई आत्मरक्षाकोे अधिकारको प्रयोग गर्ने पनि स्वीकृति दिएका छन् ।

उत्तर कोरियाले बम विष्फोट गराएर दक्षिण कोरिया जोड्ने सडक भत्काइदिएको छ ।

दक्षिण कोरियाली सेना प्रमुखका जनसम्पर्क अधिकारी ली सुंग जुनका अनुसार आगामी दिनमा उत्तर कोरियाले सानो स्तरमा केही उक्साउने खालका गतिविधि गर्न सक्दछ । दुई कोरिया जोड्ने सडकमा विस्फोट गर्ने कार्य त्यसको एउटा हिस्सा हो ।

विश्लेषकहरुका अनुसार ज्योंगुई र डोंगहेका ती दुबै सडक लामो समयदेखि बन्द छन् र त्यसलाई नष्ट गरेर उत्तर कोरियाली दक्षिण कोरियासँग कुनै कुराकानी गर्न नचाहेको सन्देश दिएको छ ।

सडकमा विस्फोटपछि उत्तर कोरियाली सेनाले शक्ति प्रदर्शनका लागि सीमा क्षेत्रमा गोलाबारी पनि गरेको थियो । उत्तर कोरियामाथि निगरानी बढाइएको दक्षिण कोरियाको भनाइ छ ।

त्यसको केही घण्टापछि मानिसहरुलाई सीमापार उत्तर कोरिया सरकार विरोधी प्रोपोगाण्डायुक्त पर्चा पठाउनबाट रोक्नका लागि राजधानी सोलको चारैतर्फबाट घेर्ने ज्योंगी प्रान्तको सरकारले उत्तर र दक्षिण कोरियाको सीमा नजिकका ११ इलाकालाई खतरनाक क्षेत्र घोषित गरेको छ ।

ज्योंगी प्रान्तका उपगभर्नर किम सुंग जुंगका अनुसार उत्तर कोरियातर्फ पर्चा छर्ने काम निकै खतरनाक हो । यसले दुई देशबीचको सेन्य विवाद बढाउन सक्दछ र यसले दक्षिण कोरियाली नागरिकहरुको जीवन तथा सुरक्षामा खतरा पैदा गर्न सक्दछ ।

के दुई कोरिया युद्धतर्फ अघि बढेका हुन् ?

प्राविधिक रुपमा उत्तर कोरिया र दक्षिण कोरिया अहिले पनि युद्धकै स्थितिमा छन् । किनकि सन् १९५३ मा कोरियाली युद्ध समाप्त भएपछि दुई देशले शान्ति सन्धिमा हस्ताक्षर गरेका थिएनन् ।

विश्लेषकहरुका अनुसार दुई कोरिया युद्धमा जाने तत्काल सम्भावना भने छैन । बुसानस्थित डोंग आ विश्वविद्यालयका प्राध्यापक कांग डोंग वान भन्छन्– यो अवस्था युद्धको स्तरसम्म बढ्छ भन्नेमा मलाई आशंका छ । उत्तर कोरियाले आन्तरिक तालमेललाई बलियो बनाउनका लागि सैन्य टकरावको फाइदा उठाइरहेको छ ।

केही विश्लेषक चाहिँ ठूलो स्तरमा युद्ध गर्नसक्ने उत्तर कोरियाको क्षमतामै प्रश्न उठाउँछन् । त्यस्तो युद्धका नतिजा गम्भीर हुने तथ्यमा पनि उत्तर कोरिया जानकार हुनुपर्छ ।

सोलस्थित कोरिया विश्वविद्यालयमा उत्तर कोरियाली अध्ययन विषय पढाउने प्राध्यापक नाम सुंग वुकका अनुसार ड्रोन उडाउने विषयलाई लिएर अहिले भैरहेको झगडा सम्भवतः एक मौखिक लडाइँ बनेर नै रहनेछ ।

उनका अनुसार दुबै कोरियालाई राम्रोसँग के थाहा छ भने उनीहरु युद्धको लागतको बोझ उठाउन सक्दैनन् । त्यसैले परमाणु हतियारको प्रयोग गर्ने सम्भावना कम छ ।

यद्यपि प्राविधिक रुपमा उत्तर कोरिया र दक्षिण कोरिया अहिले पनि युद्धकै स्थितिमा छन् । किनकि सन् १९५३ मा कोरियाली युद्ध समाप्त भएपछि दुई देशले शान्ति सन्धिमा हस्ताक्षर गरेका थिएनन् ।

दक्षिण कोरियाको स्थापना भएदेखि नै त्यसलाई आफूमा पुनः एकीकरण गर्नु उत्तर कोरियाली विचारधाराको एक महत्वपूर्ण हिस्साको रुपमा रहेको छ । तर जनवरीमा किम जोंग उनले दक्षिण कोरियासँग पुनः एकीकरण गर्ने आफ्नो सपनालाई त्यागिदिएका थिए ।

किम जोंग उनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनको नेतृत्वमा उत्तर कोरियालाई रुसको नजिक ल्याएका छन् । जसका कारण ऊ दक्षिण कोरियाका प्रमुख सहयोगी रहेका अमेरिका र पश्चिमी देशबाट अलग भएको छ ।

यसका अतिरिक्त उत्तर कोरियाको चीनसँग लामो समयदेखि चलिआएको सम्बन्ध पनि महत्वपूर्ण छ, जो सम्भवतः उत्तर कोरियाको सबैभन्दा अहम् मित्र पनि हो ।

दुई कोरियाबीच तनाव बढिरहेको पछिल्लो अवस्थाका विषयमा मंगलबार बोल्दै चीनको विदेश मन्त्रालयका प्रवक्ताले कोरियाली प्रायद्वीपमा संघर्षलाई थप बढ्नबाट रोक्नका लागि सबै पक्षसँग अपिल गरेका छन् ।

तथापि कोरियाली प्रायद्वीपमा तनाव बढिरहेको छ किनकि अमेरिकी राष्ट्रपतिको चुनाव अभियान अन्तिम चरणमा पुगिरहेको छ ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?