बसाइँसराइले समाज र राजनीतिलाई कसरी रूपान्तरण गर्दछ, अर्थ–राजनीति विषयको प्रधान प्रश्न हो। दुई फरक प्रसंगका विचारहरू सँगै हेर्दा बसाइँसराइले समाज र राजनीतिमा पार्ने प्रभावलाई बृहत् रूपमा बुझ्न सजिलो हुन्छ।
पहिलो, कार्ल मार्क्स, मार्क्स वेबरदेखि फ्रान्सिस फुकुयामासम्मका आधुनिकीकरणको क्षेत्रमा काम गरेका विद्वान्हरूले आफ्नो सिद्धान्त र विचार विकासमा औद्योगीकरणमा आधारित बसाइँसराइलाई छलफलको प्रस्थानविन्दु मानेका छन्।
उनीहरूको प्रमुख चासोको विषय भनेको औद्योगीकरणको सिलसिलामा गाउँबाट अनगिन्ती युवाहरू समुद्र वा नदीको किनारामा रहेका उद्योगहरूमा कामदार भएर भेला भएपश्चात्को समाज र राजनीति कस्तो हुन्छ र हुनुपर्छ भन्ने नै हो।
निश्चित रूपमा कुन वर्गले कसरी शासन गर्दछ वा गर्नुपर्दछ भन्नेमा उनीहरू बीच ठूलो मतान्तर छ। अहिलेसम्मका यस्तो आधुनिकतावादको सिद्धान्तमा जस्ताको त्यस्तै टेकेर वर्तमान नेपाली समाज र राजनीतिलाई व्याख्या गर्न कठिन हुन्छ।
हाम्रा युवाहरू पश्चिमा वा पूर्वी एशियाका देशहरूमा जस्तो गाउँ छोडेर आफ्नै देशमा परिश्रम गर्न जाने र सोही शहरमा आफ्ना परिवारका सदस्यलाई लगेर स्थायी बासिन्दा हुनेभन्दा पनि अर्काको देशमा जानुपर्ने अवस्था छ, गइरहेका छन्। धेरै नेपाली आफू अहिले बसेको स्थानका अस्थायी बासिन्दा सम्झन्छन्। बसाइँसराइको सामाजिक र राजनीतिक प्रभाव बुझ्न यो चुरो कुरोमा हाम्रो बुझाइ प्रस्ट हुनु आवश्यक छ।
कोरियामा रहेको कम्पनीको मालिक वा पूँजीपतिसँगको नेपाली श्रमिकको द्वन्द्वले काभ्रेमा रहेका उसका परिवारका सदस्यको राजनीतिक सहभागितामा पारेको प्रभावलाई विश्लेषण गर्न मार्क्स वा वेबर जसको विश्लेषणात्मक सिद्धान्त वा विधि प्रयोग गर्दा पनि त्यसमा व्यापक संशोधन आवश्यक छ। मार्क्स वा वेबरले त्यति आलोचनात्मक हुने छुट पनि दिएका छन्।
फेरि यस्तो अभ्यास संसारभर धेरै अगाडि बढेको विषयलाई पनि नजरअन्दाज नगरौं। संसारमा दुई जना मार्क्सवादी चिन्तक छन्। एउटा कार्ल मार्क्स अर्को ‘म’ भन्ने हठ पनि नगरौं। साथै, आधुनिकतावादको परिकल्पनाको वर्ग र त्यस्ता वर्गको सम्बन्ध पनि यहाँ पहिचान गर्न सहज छैन। यस अर्थमा आधुनिकतावादमा आधारित समाज र राजनीतिको व्याख्यामा गहन पुनर्विचार अत्यावश्यक छ।
दोस्रो, सन् १९५० पछि तुलनात्मक राजनीति र अर्थ–राजनीतिमा बसाइँसराइको प्रभावलाई सामाजिक पूँजीको अवस्था, त्यसले समाजमा पारेको प्रभाव र प्रजातन्त्रको संस्थागतीकरणमा केन्द्रित भई विश्लेषण गर्ने गरेको पाइन्छ। बसाइँसराइका कारण कुनै निश्चित स्थानमा एक्कासि जनसंख्या वृद्धि हुँदा त्यहाँका नागरिकहरू बीचको सामाजिक सम्बन्ध विकासलाई सहजीकरण गर्ने गतिविधिहरूको अभावले स्थानीय सुरक्षा एवं राजनीतिक विकासमा नकारात्मक प्रभाव पर्दछ भन्ने बारेमा धेरै अध्ययन छन्।
इटालीको बारेमा दुई दशक लामो अध्ययन पश्चात् रोबर्ट पुटनमले दक्षिण इटालीको तुलनामा उत्तरी इटाली विकसित हुनु र स्थानीय सरकारहरू प्रभावकारी हुनुको कारणलाई सामाजिक सम्बन्ध र त्यसले सृजना गरेको सामाजिक पूँजीमा रहेको पुष्टि गरेका छन्।
दक्षिण इटालीमा आप्रवासीहरू धेरै रहेको र उनीहरू बीच सामाजिक सम्मिलन अभावले नकारात्मक प्रभाव परेको पुष्टि गरेका छन्। बसाइँसराइले बस्ती र शहर निर्माण गर्दछ तर त्यसलाई समाजमा रूपान्तरण गर्न राज्यको नेतृत्वमा धेरै निकाय र संस्थाको सहकार्य आवश्यक पर्दछ। हामी के गर्दैछौं होला?
बसाइँसराइले लोकतन्त्रको संस्थागतीकरणमा पार्ने प्रभावका अध्ययनहरू मूलतः मार्क्सवादी चिन्तनमा नै आधारित छन्। कुनै एउटा देशको आर्थिक आधुनिकीकरण, त्यो देशको वर्गीय संरचना र उनीहरूको सम्बन्धमा आएको परिवर्तनले राजनीतिक व्यवस्थाको छनोट र त्यसको संस्थागतीकरणमा पारेको प्रभावमा केन्द्रित भएका छन्।
यदि त्यस्तो रूपान्तरणले मध्यम वर्गको संख्यालाई वृद्धि गर्यो र त्यसले निरन्तरता प्राप्त गर्यो भने त्यस्तो देश लोकतान्त्रिक हुने सम्भावना बढी हुन्छ भन्ने मार्क्सवादीहरूले सम्म स्वीकार गरेका छन्। लोकतन्त्र र अधिनायकवादको सामाजिक उत्पत्ति भन्ने बहुप्रचलित पुस्तकका लेखक हार्वर्ड प्राध्यापक ब्यारिंगटन मोर प्रमुख उदाहरण हुन्।
वर्तमान नेपाललाई बुझ्न चुरो प्रश्न यहीं छ : के अहिलेको व्यापक आन्तरिक एवं बाह्य बसाइँसराइले मध्यम वर्गको संख्या वृद्धि गरेको छ त? प्रायः सबै अध्ययनहरूले ‘छैन’ भन्ने निष्कर्ष निकालेका छन्। त्यसका लागि पूर्णभन्दा पनि अल्प बसाइँसराइ, मध्यम आय भएका व्यक्तिहरू मध्ये धेरैको पेशागत अस्पष्टता र झन्डै ९० प्रतिशत भन्दा धेरै रोजगारी अनौपचारिक क्षेत्रमा रहेका जस्ता आर्थिक एवं सामाजिक आधारहरू पेश भएका छन्।
हामी प्रस्ट हुनुपर्दछ। नेपालको वर्तमान सामाजिक एवं राजनीतिक अवस्था विश्लेषण गर्न बसाइँसराइलाई आधार मान्ने विचार वा सिद्धान्तलाई हुबहु अनुसरण गर्न सकिने अवस्था छैन। कसरी विश्लेषण गर्ने त ? आ-आफ्नै विश्लेषणका आधार र कोणहरू होलान्। आँखाले देख्न सकिने व्यापक बसाइँसराइका बाबजुद सामाजिक र राजनीतिक विकासको कछुवा गतिमा रहेकोमा आम सहमति छ। त्यसको सम्बन्ध पहिचानको नै सबैभन्दा उपयुक्त विश्लेषण हुने नै भयो।
सामाजिक विकासको प्राज्ञिक परिभाषाहरूले मूलतः नागरिक र समुदायको क्षमता विकास, उनीहरूको सम्बन्धमा आउने परिपक्वता र जैविक व्यक्ति सामाजिक व्यक्तिमा रूपान्तरण हुने प्रक्रियामा ध्यान दिएको पाइन्छ। हाम्रा शहरहरू आफ्ना शहरमा बस्ने नागरिकको विवरणका बारेमा पनि बेखबर छन्।
कस्ता समाजकल्याण, क्षमता विकास र सम्बन्ध सुधारका कार्यक्रमले शहरमा बस्ने नागरिकहरूको सक्षमता विकास गरेर शहरलाई उत्पादक तथा आर्थिक रूपमा चलायमान बनाउन सकिन्छ ? शहरको शान्ति सुरक्षा र दिगो विकासलाई प्रत्याभूति गराउन सकिन्छ ? जस्ता प्रश्नमा हाम्रा शहर, त्यहाँ रहेका उच्च पदस्थ व्यक्तिहरूले हाँक्ने कार्यालय र विश्वविद्यालयहरू पनि प्रवेश गर्न सकेका छैनन्।
सुन्दा खल्लो लाग्न सक्ला तर सत्य के हो भने शहरमा टोल र बस्तीहरू छन् तर समाज अत्यन्तै कमजोर छ। हो हिजो थियो। शहर पनि सानो थियो र त्यो सानो शहरको सुन्दर समाज थियो। तर आज शहर ठूला भए। त्यस अनुसारको समाज निर्माणको प्रयत्नमा सिंगो राज्य नै चुक्यो।
गाउँले सामाजिक विकास भन्ने शब्दमा आशा मरेको धेरै भयो। हामी सबै त्यसका साक्षी छौं। सामुदायिक विद्यालय र स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवाको गुणस्तरमा हामीले निरन्तर गरेका प्रश्नहरू त्यसका ठोस प्रमाण हुन्।
राजनीतिक विकासको पाटो झन् दर्दनाक छ। आधुनिक युगमा राजनीतिक विकासलाई व्याख्या गर्दा राजनीतिक गतिविधिहरू कत्तिको युक्तिसंगत छन्, राष्ट्रिय एकीकरणको अवस्था कस्तो छ, लोकतन्त्र तथा नागरिक सहभागिताको अवस्थालाई विशेष प्राथमिकता दिने गरिन्छ। तर त्योभन्दा पहिला राजनीतिक विकासलाई सो कालखण्डको शासन व्यवस्था संस्थागत भएको छ कि छैनबाट हेर्नु उपयुक्त हुन्छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अहिलेको शासन व्यवस्था हो।
सामुयल हङ्टिंगटनले भने झैं शासन व्यवस्था संस्थागत भए–नभएको हेर्न व्यवस्था प्रतिको स्वीकारोक्ति र त्यसको स्थायित्वलाई आधार मान्नुपर्दछ। यी दुई महत्वपूर्ण आधारलाई विश्लेषण गर्न यसको कुनै नयाँ विषय वा मुद्दालाई तत्काल सम्बोधन गर्न सक्ने क्षमता, बृहत्तर निर्णय प्रक्रिया एवं कार्यान्वयन जहाँ सरोकारवालाहरू बीच प्रस्ट सोपानक्रम, कार्यविभाजन र त्यसका आधारमा सबैले आ–आफ्नो भूमिका निर्वाह गर्ने संस्कार, त्यस्तो भूमिका निर्वाह गर्न सबै तह र निकायको स्वायत्तता र सबै प्रशासनिक प्रक्रियाको एकरूपतालाई समावेश गरेर मूल्यांकन गर्नुपर्दछ।
यी सबै विषयलाई एकमुष्ट विश्लेषण गर्ने हो भने नेपालको राजनीतिक विकासको अवस्था दर्दनाक रहेको छर्लङ्ग हुन्छ। यो पनि प्रष्टसँग राखौं कि २०४६ सालदेखि नेपालमा मौलाएको केवल दलतन्त्र मात्रै हो।
अब यी सबै विषयहरू बसाइँसराइ कसरीसँग अन्तरसम्बन्धित छन्, चिरफार गरौं। माथि पनि केही विषय उत्खनन् भएका छन् त्यसलाई अब विस्तृत रूपमा हेरौं। अन्तर्राष्ट्रिय रोजगारी मूलतः हाम्रो बसाइँसराइको प्रमुख सूत्रधार हो। आईएलओको प्रतिवेदन अनुसार नेपालका कुल घरधुरीमध्ये विदेशमा काम गरिरहेको वा गरेको अनुभव रहेको घरधुरीको संख्या आधाभन्दा धेरै छ। बसाइँसराइको सामाजिक एवं राजनीतिक प्रभाव पनि त्यसैको वरिपरि भेट्न सकिन्छ।
पहिलो, नागरिकहरूको भौगोलिक पहिचान नै अस्पष्ट बन्न पुग्यो। अस्थायी बसोबासलाई सामान्य वा अपरिहार्य जस्तो बनायो। साह्रै दुःख लाग्दछ परिवारका सदस्य अनिवार्य रूपमा सँगै बस्नुपर्दछ भन्ने मूल्य र मान्यता नै लोपोन्मुख छ। यो शृंखलाले मानवताका आधारभूत सिद्धान्तमाथि नै प्रहार गर्ने त होइन भन्ने चिन्ता छ।
ठूलो संख्याका नागरिकहरूलाई तपाइँको घर कहाँ हो भन्ने प्रश्नको प्रस्ट उत्तर दिन नै कठिन हुने अवस्था सिर्जना भएको छ। अब कहाँ भन्ने बा-आमा गाउँमा हुनुहुन्छ। मैले उतै बजारमा स–सानो टहरो बनाएको छु अहिले शहरमा बच्चा पढाउन बसेको छु। यहाँ बसेको १० वर्ष जति भयो। यतै रमाइलो लाग्न थाल्यो। मिल्यो भने यतै बसौं भन्ने नि छ फेरि गाउँमा खेतीपाती हेर्नुपर्दछ।
यस्तो अवस्था आउनुको प्रमुख कारण घरमा कमाउने मानिसहरूको औपचारिक रोजगारी नहुनु नै हो। औपचारिक रोजगारी हुन्थ्यो भने परिवारका सबै सदस्यलाई आफ्नो रोजगारी वरिपरि ल्याउने, सबै सँगै बस्ने, समाज निर्माण गर्ने र स्थानीय राजनीतिमा सक्रिय सहभागी हुने न्यूनतम वातावरण सिर्जना हुन्थ्यो। यहाँ कसरी निर्माण हुन्छ आधुनिक समाज जहाँ धेरै नागरिकले आफूले आफूलाई अस्थायी बासिन्दाको रूपमा मात्रै परिभाषित गर्दछन्?
दोस्रो, यसले हाम्रो समाज र राजनीति दुवैमा ‘प्रश्न’ले शून्यताको अवस्थालाई थप मलजल गर्यो। गाउँमा युवाहरू नियमित नबस्ने हुँदा सम्भावित प्रश्नकर्ताहरूको संख्या नै कम छ। यसले राजनीतिक दलहरूको आधिपत्यलाई झन्-झन् बलियो बनायो। पार्टी बाहिर युवा नै नहुँदा पार्टीका निर्णयहरूलाई चुनौती दिन सक्ने वर्ग वा समूह निर्माण नै हुन सकेन।
शहरमा भीड छ तर समाज छैन। ठूलो जनसंख्याले आफूलाई अहिले बसेको टोल वा वडालाई अल्पकालीन बसोबासको स्थानको रूपमा लिएको छ। उसले त्यहाँ समाजी सम्बन्ध स्थापना गर्ने, टोलको विकास वा राजनीतिमा चासो देखाउने परिकल्पना नै गरेको हुँदैन। अस्थायी बासिन्दाको बारेमा बेखबर राज्यले, कसरी त्यस्ता नागरिकहरूलाई राजनीतिक रूपमा परिचालन गरोस् !
यहाँसम्मको संवादका आधारमा एउटा निष्कर्ष निकाल्न सकिन्छ। नेपालको बसाइँसराइलाई बुझ्न अन्तर्राष्ट्रिय श्रम बजारले निर्माण गरेको अर्थ-सामाजिक संरचनाबाट प्रस्थान गर्नुपर्दछ। साथै, त्यस्तो श्रमले पठाएको रेमिट्यान्समा आधारित सेवा क्षेत्रको विकासलाई हेर्नुपर्दछ जहाँ प्रायः सबै रोजगारीहरू अनौपचारिक छन्।
यी सबै विकासक्रमले ‘सामूहिक सौदाबाजी’ लाई नेतृत्व गर्ने नयाँ वर्ग वा समूह उत्पादन हुन सकेन जसका कारण नेपाली सामाजिक एवं राजनीतिक विकास अझै पनि कछुवा गतिमा छ। यसले राजनीतिमा राजनीतिक दलहरूको र समाजमा रैथानेहरूको आधिपत्यको निरन्तरतालाई मलजल गरेको छ।
युग अनुसारको समाज र राजनीतिको रूपान्तरण अभावले नैराश्यतादेखि राज्य र समाज पार्टीको अविश्वास र आक्रोश वृद्धि गरेको छ। समाज र राजनीति दुवै क्षेत्रमा युक्तिसंगत संवाद होइन अतिवादी विचारहरूको स्थान बलियो बन्दै गएको छ।
साथै, यी सबै विकासक्रमको पछाडि अर्को एउटा महत्वपूर्ण तथ्य पनि रहेको छ। बहुसंख्यक नेपालीहरू अधिनायकवादी वा कम लोकतान्त्रिक देशहरूमा श्रम गरिरहेका छन्।
अहिले लोकतान्त्रिक भए पनि विकास गर्ने सिलसिलामा अधिनायकवादी शासन प्रणाली अवलम्बन गरेका देशहरूमा पनि छन्। र, त्यहाँबाट अधिनायकवाद र अतिवादका हावा अन्तर्राष्ट्रिय बसाइँसराइको सिलसिलामा नेपाल भित्र्याइँदैछ। हिजो अंग्रेजसँग युद्ध लड्न गएका लाहुरेहरूले गाउँ-गाउँमा प्रजातन्त्रको हावा बोकेर आए जस्तै।
प्रतिक्रिया 4