सामान्यतया थेरापी भन्ने बित्तिकै हामी फिजियोथेरापी भन्ने बुझ्दछौं । फिजियोथेरापी शारीरिक व्यायामसँग सम्बन्धित छ । पछिल्लो समय अनेक नामका थेरापीको विकास भएको छ । जस्तै; किमोथेरापी, इमुनोथेरापी, रेडियोथेरापी र फिजियोथेरापी ।
फिजियोथेरापीमा पनि अनेक किसिमका नयाँ-नयाँ प्रविधिहरू भित्रिएका छन् । फिजियोथेरापी बाहेक माथि उल्लेख गरिएका तीन वटा थेरापी अहिले विश्वमा बढ्दै गएको प्राणघातक रोग क्यान्सर उपचारमा मात्र प्रयोग हुन्छ ।
सौभाग्यवश मेरो शरीरले यी चारवटै थेरापीको अनुभव गर्ने मौका पायो । मेरो शरीरमा रहेको क्षमता (इमुनिटी पावर) र मलाई लागेको रोगको प्रकृति अनुसार थेरापीको डोज र यसका साइड इफेक्ट फरक हुन सक्छन् ।
तर, पनि सामान्यतया साइड इफेक्ट मिल्दोजुल्दो नै हुन्छ । हुन त म मेडिकल लाइनको विद्यार्थी होइन । तर पनि मेरो शरीरले अनुभव गरेको आधारमा थेरापीको बारेमा सामान्य जानकारी दिने जमर्को गरेकी छु ।
फिजियोथेरापी
फिजियोथेरापी शरीरका बाहिरी अंगको जाम खुलाउन प्रयोग हुन्छ । जस्तैः फ्रुजन सोल्जर (पाखुरा, पाताको जाम) खुलाउन घुँडा वा कम्मरको दुखाइ कम गर्न, पक्षघात खुलाउन, दुर्घटनामा परी हात–खुट्टा भाँचिएकाको अप्रेशन पछि फिजियोथेरापी गराएर व्यायाम सिकाइन्छ ।
फिजियोथेरापी व्यायामसँग पनि सम्बन्धित छ । फिजियोथेरापी सेवा प्रायः सबै हस्पिटलहरूमा उपलब्ध हुन्छ । कसै कसैले व्यक्तिगत रूपमा पनि सञ्चालन गरेका हुन्छन् । मूल्यको हिसाबले फिजियोथेरापी सबैभन्दा सस्तो उपचार विधिमा पर्छ ।
किमोथेरापी
किमो भन्ने बित्तिकै आम मानिसले क्यान्सरका बिरामीलाई उपचार गर्ने पद्धति भनेर बुझ्दछन् । किमोमा प्रयोग हुने औषधि विभिन्न नामका हुन्छन् । बिरामीको उमेर, शारीरिक क्षमता, क्यान्सरको प्रकार र स्टेज हेरेर डाक्टरले कुन नामको किमो कति मात्रामा कुन बिरामीलाई दिने भन्ने निर्णय गर्छन् र किमो चढाइन्छ ।
कुनै किमोले कपाल झर्छ भने कुनै किमोले झर्दैन । कुनै किमो क्याप्सुलमा पाइन्छ भने कुनै किमो आई.बी.क्यानलद्वारा सिधै नसामा दिइन्छ । किमोको साइड इफेक्ट अत्यन्त पीडादायी हुने भएकोले कतिपय क्यान्सरका बिरामीहरू किमोको साइकल पूरा नहुँदै मृत्युवरण गर्न पुग्छन् ।
कहिलेकाहीं बिरामी स्वयंले आफ्नो शारीरिक क्षमताको पहिचान नगरी डाक्टरले दिएको निर्देशन मात्र पालना गर्नतिर लाग्नाले यस्ता दुर्घटना हुने गर्दछन् । किमोले हाम्रो शरीरको रगतमा भएको रेड सेल र ह्वाइट सेल दुवैलाई मारिदिन्छ । त्यसपछि क्यान्सरका भाइरस शिथिल हुन्छन् ।
भाइरस मर्दैन तर बढ्न पनि पाउँदैन । किमो चढाएपछि बिरामीलाई हाई प्रोटिन डाइट खुवाइन्छ । तर, ती डाइट पचाउन सक्ने क्षमता बिरामीको शरीरमा नहुने भएकोले बिरामीलाई साह्रै गाह्रो हुन्छ । कसैलाई पखाला लाग्छ । धेरैजसोलाई कब्जियत हुन्छ । खाना खान मन लाग्दैन । कसैलाई त खाना देखेपछि वान्ता हुने समस्या उत्पन्न हुन्छ । जुन असाध्यै कष्टकर हुन्छ ।
किमो लगाइएका बिरामीको नसा दबिने वा पातलो हुने भएकोले आई.बी. क्यानल लगाउन कठिन हुन सक्छ । यस्तो अवस्थामा किमो पट (मूल नसा) को सहायताले किमो लगाइन्छ । यो बिरामी र क्यान्सर भाइरस बीच एक किसिमको लडाइँको अवस्था हो । पोषिलो खाना र सकारात्मक सोचले नै क्यान्सरका जीवाणु परास्त गर्न सक्ने क्षमताको विकास हुन्छ ।
इमुनोथेरापी
क्यान्सरका बिरामीलाई उपचार गर्ने विधिमध्ये इमुनोथेरापी सबभन्दा महँगो विधि हो । यसको साइड इफेक्ट कम छ । खाना रुच्छ र खाएको खाना सहजै पच्छ । यो एक किसिमको इन्जेक्सन हो । जुन क्यानलको माध्यमबाट नसामा दिइन्छ । यो एक डोजको नेपाली मूल्य सात लाख पर्दछ । विश्वमै चिकित्सा क्षेत्रका विज्ञहरू इमुनोथेरापीका नयाँ-नयाँ (औषधि) ड्रोप निर्माणमा लागिपरेका छन् ।
विकसित राष्ट्रहरूले क्यान्सरको अनुसन्धान र औषधि निर्माणमा ठूलो धनराशि खर्च गर्ने गरेका छन् । इमुनोथेरापीमा प्रयोग हुने औषधि पनि विभिन्न नामका कम्पनीबाट उत्पादित अनेक नामका हुन्छन् । कम्पनीले सिधै हस्पिटलहरूमा सम्पर्क गरेर माग अनुसार सीमित डोज उपलब्ध गराउँछ । जुन बजारमा खुल्लमखुल्ला बिक्री वितरणमा आइसकेको छैन ।
मैले प्रयोग गरेको पेम्ब्रोलिजुम्ब किट्रुडा एउटै इन्जेक्सनको भारु २ लाख १६ हजार ५०० पर्दछ । जुन नेपाली रुपैयाँ ३ लाख ४६ हजार ४०० पर्न आउँछ । दुईवटा इन्जेक्सन मिलाएर एक डोज बनाइन्छ । हरेक तीन हप्तामा लगाइने यो थेरापी नै क्यान्सर रोग निवारणको अन्तिम विकल्प भने होइन । यसलाई किमोथेरापीको विकल्पका रूपमा लिन सकिन्छ ।
रेडियोथेरापी
यो थेरापीले क्यान्सरका जीवाणुहरूलाई सेकेर मार्ने काम गर्दछ । जहाँ क्यान्सरका जीवाणुहरू एकै स्थानमा गुजुप्प भएर बसेका हुन्छन्, त्यहीं विकिरणको माध्यमबाट सेकेर मार्ने गरिन्छ । रेडियोथेरापी ‘ट्रु विम’ मेशिन रोग पत्ता लगाउने अरू मेशिन जस्तैः एम.आर.आई., सिटी स्क्यान र पेट सिटी स्क्यान भन्दा महँगो पर्दछ ।
यसमा अरू मेशिनमा जस्तै बिरामीलाई सुताइन्छ र थेरापिष्ट डाक्टरले शरीरको कुन भागमा क्यान्सरका जीवाणु रहेका छन् त्यो स्थानमा मार्करले चिनो लगाउँछन् अथवा जाली-जाली परेको ज्याकेट लगाई दिन्छन् । जसले गर्दा शरीरका अन्य भागमा विकिरणको असर पर्न पाउँदैन । जहाँ मार्करले चिनो लगाएको हुन्छ त्यहीं मेशिनले घुम्दै टक्क रोकिएर विकिरणको माध्यमले सेक्ने काम गर्दछ ।
यो फिल्म सुटिङ गर्दा चाहिने टिम डाइरेक्टर, लाइट, क्यामेरा मेन र कलाकार भए जस्तै एम.वि. डाइरेक्टर, एक्स रे, इमेज र रेडियसनको कम्वाइन मेशिन हुन्छ । कलाकारको रूपमा बिरामी मेशिनमा सुत्छ । त्यसपछि एम.वि. डाइरेक्टर मार्कर लगाएको स्थानमा रोकिन्छ । त्यही स्थानमा एक्स(रेले फोटो खिच्छ ।
त्यसलाई इमेजले देखाउँछ र रेडियसनले विकिरणको माध्यमबाट सेक्ने काम गर्छ । मात्रै पाँच मिनेटमा सकिने थेरापी शरीर सेटिङमा भने पाँच देखि दश मिनेटसम्म लाग्न सक्छ । मेशिनले शरीरमा स्पर्श गरेको हुँदैन । शुरूमा सेक्ने भन्ने बित्तिकै सिधै छालामा छोएर डाम्ने हो कि भनेर डर लाग्न सक्छ तर त्यस्तो हुँदैन । जति महँगो उपचार त्यति नै शरीरलाई आराम मिल्दछ ।
कुनै पनि थेरापी लिने मान्छेले पोषिलो झोलिलो खाना साथै प्रशस्तै पानी पिउनुपर्दछ । थेरापी लिएको आठ-दश दिनपछि हल्का साइड इफेक्ट देखा पर्न थाल्दछ । शरीर सुक्खा भएर हत्केला रगेड्दा खोस्टा जस्तो आवाज आउने, रेडियसन लिएको भाग भारी जस्तो लाग्ने वा दुख्ने आदि असर देखा पर्न सक्छ ।
यदि यस्तो असर देखा परेमा तुरुन्तै डाक्टरलाई खबर गरिहाल्नुपर्दछ । क्यान्सर सुरुवाती अवस्थामै पत्ता लाग्यो भने पनि रेडियोथेरापी दिने गरिन्छ । शरीरको कुनै अंग अप्रेसन गरेर फालिदियो तर केही जीवाणुहरू बाँकी छन् भने पनि रेडियोथेरापी दिइन्छ ।
अलि जटिल अवस्थामा पुगेको क्यान्सर छ भने किमो वा इमुनोथेरापी दिएका बिरामीलाई रेडियसन दिने गरिन्छ । कस्तो बिरामीलाई कुन अवस्थामा कति मात्रामा रेडियसन दिने भन्ने कुराको निर्णय रिपोर्ट हेरेर डाक्टरले गर्दछन् ।
निष्कर्ष
उपचारको हिसाबले क्यान्सर सबभन्दा महँगो रोगमा पर्दछ । क्यान्सर सरुवा रोग होइन । तर अहिले विश्वमा ७० प्रतिशत मानिसको मृत्यु यही रोगका कारणले हुने गरेको छ । यो रोग शरीरको कुनै पनि अंगमा, कुनै पनि बेला, कुनै पनि उमेरको मान्छेलाई लाग्न सक्छ ।
यो रोग लाग्ने बित्तिकै मान्छे मरिहाल्दैन । उपचारका अनेक विधि छन् । कुनै पनि विधि अपनाउँदा बिरामीले विशेष गरी बासी खानेकुरा नखाने, पोषिलो खाना खाने र आफूलाई सकेसम्म सकारात्मक सोचका साथ खुसी राख्न प्रयत्न गर्ने कुरामा ध्यान दिनुपर्दछ ।
अधिकांश क्यान्सरका बिरामीहरू रोग पत्ता लाग्ने बित्तिकै अब म मरिहाल्छु भन्ने सोचमा पुग्छन् र आफना अधुरा सपनाहरूमा रुमल्लिएर चिन्तित हुन्छन् । त्यसको सट्टा रोग पत्ता लाग्ने बित्तिकै म यो रोगलाई जित्छु भन्ने संकल्प लिन सके रोगसँग लड्ने क्षमताको विकास हुन्छ । संकल्पमा धेरै ठूलो शक्ति हुन्छ । लड्दा लड्दै मरिहाले पनि त्यत्ति धेरै पीडा हुँदैन ।
(वरिष्ठ पत्रकार मैनाली, दिल्लीको सर गंगाराम अस्पतालमा उपचाररत छन् ।)
प्रतिक्रिया 4