+

आफ्नै शरीरभित्र कैदी बनेको एक क्यान्सर बिरामीको उकुसमुकुस

२०८२ चैत  २६ गते १७:३६ २०८२ चैत २६ गते १७:३६

कहिलेकाहीँ नर्सको रूपमा ‘औषधि खानुभयो ?’ भनेर सोध्नुभन्दा, एउटा साथी बनेर ‘तपाईंलाई कस्तो छ ?’ भनेर सुनिदिनु ठूलो उपचार बन्दो रहेछ।

आफ्नै शरीरभित्र कैदी बनेको एक क्यान्सर बिरामीको उकुसमुकुस

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले अनुभव गरिन् कि अस्पतालमा बिरामीको शरीर मात्र होइन, थाकेको मन पनि उपचारको आवश्यकता हुन्छ र कसैको दुःख सुनिदिनु सबैभन्दा ठूलो दान हो।

शनिबारको दिन ।

अस्पतालको ओपिडी अगाडिको त्यो लामो बेन्च ।

शनिबारको दिन भएकाले सधैंको जस्तो भीडभाड र हतारो आज केही कम थियो ।

म सधैं नर्सको सेतो एप्रोनमा वार्डको दौडधुपमा हुन्थेँ, तर आज परिस्थिति फरक थियो । आज वार्डको नर्स होइन, एउटा सामान्य सेवाग्राही बनेर ओपिडी अगाडिको खाली बेन्चमा बसिरहेकी थिएँ।

केही व्यक्तिगत कामले गर्दा त्यहाँ कुर्नुपर्ने भएको थियो । अस्पतालका ती गल्लीहरू शनिबार अलि शान्त र शून्य लाग्दा रहेछन् । सेतो एप्रोनभित्र लुकेको मेरो स्वास्थ्यकर्मीको परिचय आज बाहिर कतै अस्पतालको गेटमै छुटेको थियो ।

त्यही शून्यताका बीच मेरो छेउमा एकजना बुबा आएर बस्नुभयो । उहाँको गलामा ‘ट्र्याकियोस्टोमी ट्युब’ प्रस्टै देखिन्थ्यो । क्यान्सरले उहाँको आवाज त खोसेको थियो, तर आँखामा भने एउटा छटपटी झल्किरहेको थियो ।

हामी दुवै एकअर्काका लागि अपरिचित थियौँ । तर त्यो शून्यतामा मलाई एउटा अनौठो उकुसमुकुस भयो । म उहाँसँग बोल्न त चाहन्थेँ, तर डराइरहेकी थिएँ, कतै मैले केही सोध्दा उहाँलाई जवाफ फर्काउन सास्ती हुने त होइन ? उहाँको घाँटीमा परेको त्यो प्वाल र ट्युबले उहाँलाई कति पीडा दिइरहेको होला ?

तर त्यो सुनसान करिडोरमा हामीबीचको मौनता अलि भारी हुँदै गयो। उहाँले मलाई हेर्नुभयो, सायद उहाँभित्र केही गुम्सिरहेको थियो । उहाँका ओठहरू चल्न खोज्थे, तर आवाज निस्कँदैनथ्यो ।

एउटा मान्छे जसले वर्षौँसम्म संसारसँग कुरा गर्यो, आज आफ्नै मनको बह पोख्न पनि असमर्थ हुनुको पीडा उहाँको अनुहारमा प्रस्टै देखिन्थ्यो ।मैले आँखा उठाएर उहाँलाई हेरेँ र बिस्तारै मुस्कुराएँ । मेरो मुस्कानले सायद उहाँलाई केही बोल्ने अनुमति दियो ।

मलाई लाग्यो, ‘कहिलेकाहीँ ओखतीभन्दा बढी मान्छेलाई एउटा सुनिदिने कानको खाँचो पर्छ । ‘आज त शनिबार बुबा, किन आउनुभएको त ?’ मैले बिस्तारै सोधेँ ।

उहाँ बोल्न खोज्नुभयो । ओठहरू थर्थराए, तर शब्द निस्किएनन् । एउटा भयानक मौनता हावामा तैरियो । उहाँले इसाराले भन्नुभयो, उहाँ भर्ना भएकै बिरामी हुनुहुँदो रहेछ । एकछिन खुला हावा खान बाहिर निस्कनुभएको रे ।

मैले आफ्नो झोलाबाट एउटा डायरी र कलम निकालेर उहाँको हातमा राखिदिएँ।

उहाँको अगाडि सार्दै भनेँ, ‘बुबा, यहाँ लेख्नुस् न । म पढ्छु ।’

उहाँको अनुहारमा एउटा यस्तो चमक आयो, मानौँ उहाँले हराएको सम्पत्ति फिर्ता पाउनुभयो । काँपेका औंलाहरूले कापीको पानामा अक्षरहरू कोर्न थाल्नुभयो।

‘नानी, आवाज नहुँदा त मान्छेले सुन्नै छाड्दा रहेछन् । म भित्रभित्रै चिच्याइरहेको हुन्छु, तर सबैलाई लाग्छ म शान्त छु । म त आफ्नै शरीरभित्र थुनिएको एउटा कैदी जस्तै भएँ ।’

त्यो वाक्य पढ्दा मेरो आँखा रसाए ।

उहाँले अगाडि लेख्नुभयो, ‘घरमा नातिनातिनासँग खेल्न मन लाग्छ, उनीहरूलाई कथा सुनाउन मन लाग्छ । तर यो घाँटीको प्वालले मेरो सबै खुसी थुनिदियो । अस्पतालमा सबैले मेरो ‘रिपोर्ट’ हेर्छन्, तर मेरो ‘मन’ कसैले हेर्दैनन् । मलाई औषधिभन्दा बढी एउटा बोल्ने साथी चाहिएको थियो ।’

त्यो क्षण मेरो मुटु ढक्क फुलेर आयो । हामी सग्लो आवाज भएकाहरू, कहिलेकाहीँ आफ्ना कुरा सुनाउन खोज्दा अरूले गाली गर्लान् कि वा नसुन्लान् कि भनेर डराउँछौँ । तर, ती बुबा ? जोसँग भन्नुपर्ने कुराको पहाड थियो, तर ती शब्दहरूलाई बाहिर ल्याउने बाटो (आवाज) नै सदाका लागि बन्द भइसकेको थियो ।

एउटा बोल्न मन पराउने मान्छेका लागि आफ्नै आवाज हराउनु कति ठूलो रिक्तता होला ?

हामीबीच करिब आधा घण्टा कापी र कलमको माध्यमबाट कुराकानी भयो । मैले उहाँका कुराहरू पढ्दै टाउको हल्लाएँ, कहिले मुस्कुराएँ त कहिले सहानुभूति प्रकट गरेँ । उहाँले आफ्नो मनको कुनामा सँगालेर राखेको पीडा, एक्लोपन र बाँच्ने इच्छालाई त्यो कापीको पानामा पोख्नुभयो ।

त्यो क्षण मलाई महसुस भयो– अस्पताल भनेको औषधि र सुई मात्र होइन रहेछ । यहाँ त मान्छेहरू बिरामी शरीर मात्र होइन, थाकेको मन लिएर पनि आउँदा रहेछन् । कहिलेकाहीँ नर्सको रूपमा ‘औषधि खानुभयो ?’ भनेर सोध्नुभन्दा, एउटा साथी बनेर ‘तपाईंलाई कस्तो छ ?’ भनेर सुनिदिनु ठूलो उपचार बन्दो रहेछ।

झण्डै आधा घण्टापछि उहाँ उठ्नुभयो । उहाँको मनको भारी त्यो कापीको पानामा पोखिएर होला, अनुहार निकै हलुका देखिन्थ्यो । उहाँले मलाई हेरेर बिस्तारै हात जोड्नुभयो । उहाँको आँखा रसाएका थिए, र मेरा पनि ।

म फर्किँदै गर्दा सोच्दै थिएँ हामी कति भाग्यमानी छौँ कि हामी बोल्न सक्छौँ । तर हामी कति अभागी छौँ कि हामी अरूको कुरा सुन्न चाहँदैनौँ । त्यो शनिबारको शून्यताले मलाई एउटा ठूलो पाठ सिकाएर गयो पीडा पोख्न शब्द नै चाहिन्छ भन्ने छैनरैछ ।

त्यो दिन मैले एउटा कुरा गहिरोसँग बुझेँ यो संसारमा सबैभन्दा ठूलो दान भनेको कसैको दुःख सुनिदिनु रहेछ । आवाज नहुनेहरूको पनि आफ्नै एउटा भाषा हुँदो रहेछ, जुन बुझ्न कान होइन, केवल एउटा सफा मुटु भए पुग्दो रहेछ ।

हामीबीच करिब आधा घण्टा कापी र कलमको माध्यमबाट कुराकानी भयो । उहाँले आफ्ना ती पीडाहरू पोख्नुभयो जुन उहाँले वार्डको सेतो बेडमा एक्लै टोलाइरहँदा कसैलाई भन्न पाउनुभएको थिएन । हामी सग्लो आवाज भएकाहरू कहिलेकाहीँ अरूले सुनिदिएनन् भनेर झर्को मान्छौँ, तर ती बुबासँग त सुनाउनका लागि केवल एउटा कापीको पाना र मेरो मौन सहानुभूति मात्र बाँकी थियो ।

त्यो क्षण मलाई महसुस भयो अस्पताल भनेको केवल मान्छेहरू आफ्नो रोग लागेको शरीर मात्र होइन, एउटा थाकेको र कसैले सुनिदेओस् भन्ने भोको मन लिएर पनि आउँदा रहेछन् । वर्षौँको जागिरे जीवनमा मैले कति बिरामीलाई सुई लगाएँ होला, तर आज पहिलो पटक कसैको ‘मौनता’ लाई सुनिदिनु नै संसारको सबैभन्दा ठूलो औषधि रहेछ भन्ने बोध भयो ।

क्यान्सर
लेखक
प्रेचन थपलिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय