+
+
विश्व पौडेलसँग अन्तर्वार्ता :

पासपोर्ट खुला गरिदिएको भए पञ्चायत त्यति छिटो नढल्न सक्थ्यो

‘२०३६/३७ सालपछि पासपोर्ट खोलिदिएको भए पञ्चायती व्यवस्था त्यति छिटो नढल्न सक्थ्यो । पञ्चायतसँग नजिक भएका मानिसहरू धनी पनि हुन्थे । तर, त्यसो गरिएन । त्यसपछि नेपालमा आर्थिक संकट शुरू भयो ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २६ गते २०:१२

२१ असोज, काठमाडौं । नेपालमा नेपालीहरू कहाँबाट आए, कहाँकहाँ पुगे, कसरी पुगे र के गरिरहेका छन् ?

आर्थिक अवसर हुनु र नहुनुले बसाइँसराइमा के असर पर्छ ? विश्वभरका नेपालीहरूबाट मुलुकले कसरी लाभ लिन सक्छ भन्ने सम्बन्धमा अर्थशास्त्री विश्व पौडेलसँग अनलाइनखबरका लागि जनार्दन बरालले गरेको संवादको सारः

यहाँको अध्ययन र अनुभवमा नेपालमा हाल बसोबास गरिरहेका मानिसहरू कसरी यहाँ आइपुगेका हुन् ?

संसारभर मान्छे हिंडिराख्ने प्राणी हो । अफ्रिकाको तान्जानिया भ्यालीमा मान्छेहरू उत्पत्ति भएको र त्यसपछि संसारभर फैलिएको भन्ने विश्वास गरिन्छ । त्यसमध्ये एउटा समूह इरान हुँदै भारत आयो, त्यसलाई धेरै पुरानो ‘मूभमेन्ट’ मानिन्छ । अमेरिका मान्छे गएको पनि त्यसैगरी हो ।

मेरो थर पौडेल, पौडी भन्ने ठाउँबाट पौडेलहरू नेपाल आए भनिन्छ । पौडी नैनीतालको प्रसिद्ध ठाउँ हो । यहाँका ब्राह्मणलाई हेर्ने हो भने उत्तर भारतमा भएका विभिन्न ब्राह्मणमध्ये एक हो । उनीहरू जुम्ला हुँदै आएको देखिन्छ ।

राणा थारूहरूलाई हेर्ने हो भने राजस्थानको थारबाट आएको मानिन्छ । शेर्पाहरू तिब्बतबाट आएको भन्ने छ । सबै प्राणी ‘मूभ’ गरिरहेका हुन्छन्, हामी पनि ‘मूभ’ गर्दै आफ्नो परिवारका लागि राम्रो गर्दै यहाँसम्म आइपुगेका हौं ।

केही बसाइँ सरी आएका र केही यहाँका आदिवासी हुन् भन्ने कतिपयको मान्यता छ, त्यस्तो हो ?

यो संवेदनशील प्रश्न हो । कतिपय मान्छेलाई हाम्रा पुर्खा यही ठाउँमा उत्पत्ति भएका हुन् भनेर दाबी गर्न मन लाग्छ । त्यो हो वा होइन भनेर प्रमाणित गर्न सजिलो छैन । मान्छेको जात आर्थिक अवसर खोजिरहेको हुन्छ ।

हामी हाम्रो ‘जेनेरेसन’ र बुबा वा हजुरबाको ‘जेनेरेसन’ देखिरहेका छौं । त्यसैले पुर्खा नै लाखौं वर्षबाट यहीं छन् जस्तो लाग्छ । हाम्रा पुर्खाहरू तपाईंहरूको पुर्खाभन्दा पहिले यहाँ आएका हुन् भन्न त सक्नुहोला तर उत्पत्ति नै यहीं भएका हुन् भन्न सक्नुहुन्न ।

खासगरी मल्ल र लिच्छविकालमा बसाइँसराइको अवस्था कस्तो पाउनुहुन्छ ?

लिच्छविहरू वैशालीबाट आएका हुन् भन्ने थाहै छ । तर, हाम्रो रुचिको कुरा चाहिं पृथ्वीनारायण शाहले आक्रमण गर्ने बेला नेपाल खासगरी काठमाडौं उपत्यकाको बसोबास कस्तो थियो भन्ने हो । त्यसबेला बंगालसँग हाम्रो राम्रो सम्बन्ध थियो । बंगालको चन्द्रनगरमा फ्रेन्च र आर्मिनियनहरू थिए । अरबमा पानीजहाज पठाउने काममा उनीहरूको एकाधिकार थियो ।

सन् १६०० देखि नै इष्ट इन्डिया कम्पनी, इष्ट इन्डिया फ्रेन्च कम्पनी, डच, पोर्चुगिजहरू यता व्यापारमा सक्रिय थिए । अहिले जस्तो दिनमा सयौं जहाज नहोलान्, तर हप्तामा २/४ जहाज त्यसबेला आउजाउ हुनु सामान्य थियो । तिनीहरूको व्यापार तिब्बतियनसँग पनि थियो ।

अर्को काठमाडौंमा सक्रिय भएको ग्रुप कस्मिरी र इराकी मुसलमानको पनि हो । पहिले भेडासिंलाई राकी बजार भन्थे । त्यहाँ इराकीको उपस्थिति भएकाले त्यो राकी बजार भएको हो । अहिले पनि नेपालमा राकी थर भएका मानिसहरू छन् ।

त्यसबेला नेपालमा आर्मिनियनहरू पनि थिए, क्रिश्चियन पनि आइसकेका थिए । उनीहरू व्यापारिक भन्दा पनि धर्म प्रचारको सिलसिलामा आइसकेका थिए । पृथ्वीनारायण शाह आइपुग्दा नै पटनाबाट तिब्बतको ‘मूभमेन्ट’ का लागि काठमाडौं एउटा गन्तव्य थियो । कुती, केरुङ सबैभन्दा कम हाइटमा पास भएकाले पनि त्यो भएको हो ।

त्यसबाहेक खसहरू पनि त्यहाँ थिए । हरिसिंह देवको पतनपछि सिम्रौनगढबाट मानिसहरू आए । मैथली ब्राह्मण पहिल्यैदेखि यहाँ राम्रै संख्यामा थिए । नगरकोटी र दशनामीहरू पनि यहाँ राम्रै थिए । धेरै विविधतापूर्ण समाज यहाँ थियो ।

नेपालबाट धेरै पहिलेदेखि नै बाहिर जाने क्रम सुरु भएको देखिन्छ । नेपालीहरू कहिलेदेखि बाहिर जान थालेका हुन् ?

अहिले भुटान, सिक्किम, तिब्बत जानुभो भने नेपाली मूलका मान्छेको प्रभाव देख्छौं । १३१० सालमा यहाँ ठूलो भुइँचालो गएको थियो । त्यसको ५/६ वर्षपछि फेरि अर्को भुइँचालो गयो । त्यसपछि १३१८ मा अरनिको तिब्बत गए, उनी एक्लै गएका होइनन्, ८० जना लिएर गएका थिए ।

त्यो टिमलाई बेइजिङका राजाले बोलाउनुमा केही न केही प्रसिद्धि त थियो होला । केही मान्छे तिब्बत वा चाइनामा सक्रिय थिए होलान् । चीनको राजधानी सियानमा हुँदा नरेन्द्रदेवदेखि नै केही सम्बन्ध त थियो नै ।

त्यो बेला खासगरी कलाकर्ममा ख्याति कमाएका मानिसहरू बाहिर जाने गरेका थिए । त्यसबेला नेपालीको सीप एउटा टक्सार पनि हो । अरू पहाडी राज्यमा टक्सार गरी मुुद्रा बनाउने प्रचलन शुरु नहुँदै नेपालमा खासगरी काठमाडौंले त्यो काम गरेको थियो ।

सिक्किममा त्यो टक्सार चलाउने योजनामा यहाँबाट पनि एक जना नेवार गएका थिए । मेटल, काठ, थाङ्कामा काम गर्नेहरू पनि बाहिर जाने गरेका थिए । अर्थात् कलामा दक्षता भएका मानिसहरू त्यसबेला बाहिर जाने गरेका थिए ।

तर, लडाइँबाट नेपाल बनेपछि नेपालीहरू सीपयुक्त जनशक्तिबाट लडाकुका रूपमा चिनिन थाले । टिस्टाबाट काँगडासम्मको एउटा भूभाग देश बनाउने विषय चानचुने थिएन । नालापानीको लडाइँ, अमरसिंहको लडाइँका बेला धेरैले नेपालीलाई हेरेका थिए ।

नालापानीको लडाइँ सकिनेवित्तिकै पन्जाबीहरूले नेपालीहरूलाई सेनामा नियुक्त गरे । भीमसेन थापाको ‘सेकेन्ड म्यान’ रणध्वज थापा त अमरसिंह थापाको आफ्नै छोरा हुन् । अमरसिंहका अन्य छोराहरू भोपालसिंह थापा, अर्जुनसिंह थापा पन्जाब गए । यिनीहरूको तलब पनि राम्रो थियो । उनीहरुले सेनाको आपूर्तिकर्ताका रूपमा काम गरे ।

यस अर्थमा यिनीहरू नै नेपालको पहिलो ‘म्यानपावर एजेन्ट’ जस्ता भए । रणजित सिंहले त्यसबेलामा जनरल नेपोलियनका दुईजना प्रख्यात सैनिक अधिकृतहरु एलार्ड र भेन्टुरालाई जर्नेल बनाएका थिए । उनीहरूलाई जति तलब त नेपालीहरूलाई दिएको होइन ।

कोटलहरका राजा नारायण पाल बलभद्र कुँवरका मीतबुवा थिए । उनले सिफारिस गरेपछि कुँवर पनि गए ।

लडाइँपछि नेपाली सैनिकको मनोबल गुमेको थियो । हारेर के मुख देखाउन जाउँ भनेर पनि विदेशतिर भासिएको देखिन्छ । उनीहरूले पहाडमा यिनीहरू काम लाग्छन् भनेर लिन चाहेकाले पनि नेपालीहरूलाई त्यहाँ जान सजिलो भयो ।

नेपालीहरू ‘हायर’ गरेपछि रणजित सिंहलाई युद्ध जित्न सहज पनि भयो, नौसेराको लडाइँपछि अफगानिस्तान कब्जा गर्ने समथर राज्यका पहिलो राजा रणजित सिंह पनि भएका थिए ।

यी सबै कुराले ब्रिटिशलाई पनि रुचि भयो । ब्रिटिशहरूले हामीलाई ‘मार्सल रेस’ भनेर पहिचान गरे । यिनीहरूलाई लडाउन पाए हुन्थ्यो भन्ने उनीहरूलाई लाग्यो । उनीहरूलाई ‘फ्रि लेबर’ चाहिएको थियो, सानो ब्रिटेनले सिङ्गो इन्डिया कब्जा गरेर राख्याथ्यो ।

हड्सन नेपालमा बेलायतको राजदूत भएर बसेको बेला दुइटा विषयलाई बढी जोड दिएको देखिन्छ । एउटा सेनामा नेपालीलाई लिने, दोस्रो व्यापार । हड्सनको एउटा सहयोगी आर्चिबाल्ड क्याम्पबेल थियो ।

यिनीहरूले काठमाडौंमा चिया खेतीको प्रयास गरिरहेका थिए । ब्रिटेनले चाइनाबाट चिया धेरै किन्ने गर्दथ्यो । उनीहरूले काठमाडौंको मौसममा चिया खेती गर्न सकिन्छ भन्ने पत्ता लगाएका थिए ।

पछि क्याम्पबेल सिक्किमको आन्तरिक समस्या समाधान गर्न भनेर उता गएका थिए । पूर्वमा टिस्टादेखि मेची एरियासम्मको केही भाग नेपालले सिक्किमलाई दिएको थियो । सिक्किममा आन्तरिक झगडा भयो, कतिपय सिक्किमेली भागेर इलाममा आएर सिक्किमका राजा विरुद्ध लडाइँ गरिरहेका थिए ।

ब्रिटिश त्यसलाई सेटल गराउन त्यहाँ गए, त्यहाँ जाँदा दार्जीलिङ लगायत तलको क्षेत्र उनीहरूलाई मन पर्‍यो । त्यसलाई शुरुमा लिजमा लिए, पछि आफ्नो राज्यमा मिलाए । त्यस क्षेत्रको प्रशासन हेर्ने पहिलो ‘कमिसनर’ तिनै आर्चिबाल्ड क्याम्पबेल थिए ।

वास्तवमा उनैले दार्जीलिङमा बस्ती विस्तार गरेका हुन् । उनले त्यसबेला दार्जीलिङ एरियामा रेल लगायत पूर्वाधार व्यापक विकास गरेका थिए । काठमाडौंमा बसेका बेला यता चिया खेती गराउने प्रयास गरेका क्याम्पबेलले त्यो काम दार्जीलिङमा गरे । चियाको लागि व्यापक लगानी ल्याए ।

त्यो काम जंगबहादुरको पालामा भएको थियो । यी सबै कामका लागि ठूलो मात्रामा कामदार आवश्यक पर्थ्यो । दार्जीलिङमा उनले यो क्षेत्रकै पहिलो खुला र प्रतिस्पर्धी श्रमबजार शुरु गरे । ब्रायन हड्सन भन्ने मान्छे पनि त्यहीं गएर बसे । क्याम्पबेल र हड्सन दुवै नेपाल बुझेका मान्छे भएकाले उनीहरूले नेपालबाट श्रमिक लगे । त्यो निःशर्त ‘लेबर मार्केट’ थियो त्यसकारण नेपालीहरू त्यहाँ गए ।

त्यसबेला नेपाललाई पनि विदेशीहरू नेपालमा काम गर्न आउन् भन्ने थियो । किनभने हाम्रो तराईमा धेरै जंगल थियो । गोर्खालीलाई लडाइँ लड्न पैसा चाहिएको थियो, जंगल मात्रै राखेर त पैसा आउँदैनथ्यो !

त्यसपछि नेपालीले भारतीय जमिनदार र साहुहरूलाई बोलाएर तिमी तराईमा जंगल फडानी गर, १०० बिघा गर्‍यो भने १० बिघा तिमीलाई दिन्छु भन्नेजस्ता शर्तमा काममा लगाए । पर्साको छपकैयाको ‘सेटलमेन्ट’ १८५६ सालमा रणबहादुर शाहकै पालामा त्यसरी बसेको थियो ।

जंगबहादुरको पालामा बसाइँसराइ र श्रमबजारका मूलतः दुई प्रवृत्ति देखिन्छन् । पहिलोः ब्रिटिशहरूले हाम्रा मान्छे तानिरहेका थिए । पूर्वको दार्जीलिङ, असाम, मेघालयमा उनीहरूको रेल्वे परियोजना र चिया बगान थिए । त्यतिबेला नेपालीहरूले नगद पनि खासै देखेका हुँदैनथे, त्यसैले त्यहाँ काम गर्नु उनीहरूका लागि पनि फाइदाजनक भयो ।

दोस्रोः ब्रिटिशले आर्मीमा तान्न खोजेका थिए । जंगबहादुरको पालामा उनीहरू सफल भएनन्, तर वीरशमशेरको पालामा आइसकेपछि सेनामा पनि मान्छे तान्न सफल भए ।

यस बाहेक झारा बेठ, बेगरी प्रथाका कारण पनि नेपालीहरू यहाँबाट भागेर भारत जान थाले । यो प्रथा अनुसार जनतालाई ज्याला नदिई काममा लगाइन्थ्यो । काठमाडौंका भारदार घुम्न जाँदा पनि ‘फ्रि लेबर’ मा काम लगाइदिने, निश्चित समयसम्म आफ्नो निजी काममा लगाइदिने भन्ने अवस्था थियो ।

त्यस्तो अवस्थामा भारततिर नेपालीले अवसर पाएपछि त भाग्ने भए । गाउँहरू खाली भए । पछि फेरि भारतबाट मान्छे फर्काउनका लागि मान्छे नै पठाएर प्रयास गरिएका स्टोरीहरू पनि छन् । जंगबहादुरले १९०४ देखि १९१० सम्म झारा प्रथा उन्मूलन गरे । जंगबहादुर लोकप्रिय हुनुको कारण झारा प्रतिबन्ध गर्नु पनि हो ।

जंगबहादुरले नेपालीहरू बाहिर नजाउन् भन्नका लागि गरेका काममा एउटा जंगल फँडानी गरेर जमिन दिने ‘अफर’ गरे । त्यसपछि ब्रिटिश आर्मीमा जान पनि कडाइ गरे । गल्लाहरूलाई संगठित रूपमा सिक्किमतिर मान्छे लैजान नदिने जस्ता काम पनि उनले गरेकै हो । त्यहीं बेलामा जंगबहादुरले दुईवटा काम गरे, जसले गर्दा हामीले भारतबाट पनि मान्छे तान्न सक्यौं ।

एउटा जंगल फँडानी गरेर खेती शुरु गर्‍यौं र त्यसो गर्नेलाई निश्चित प्रतिशत भूमि पनि दियौं । त्यसले हामी आफैंलाई पनि पूँजी सृजना गरेको थियो । भारतमा रेल्वे सुरु भएको थियो, त्यहाँ काठ सप्लाइ गर्ने काम भयो । त्यसले पनि पूँजी संकलन भयो । यी दुवै काममा नेपालले पनि भारतबाट मान्छे तान्न सकेको थियो ।

नेपाल ब्रिटिश युद्धपछि गल्लाहरू आएर नेपालीलाई नियुक्ति गर्न शुरु गरिसकेका थिए ?

ब्रिटिशले सुुरुमा धेरै प्रयास गरे । नेपालको तिब्बतसँग लडाइँ होला होला जस्तो भएको बेला उनीहरूले त्यसमा केही सफलता पाए । किनभने उनीहरूसँग हामीले बन्दुक किन्न खोज्यौं । उनीहरू मान्छे लैजान खोज्ने । सुरुमा एउटा मान्छे बराबर एउटा बन्दुक देऊ भन्यौं ।

त्यसरी नेपालीहरू बेलायती सेनामा गए । तर शुरूमा राम्ररी लड्न पनि नसक्ने मान्छे दियो भनेर उनीहरू ‘कम्प्लेन’ गर्दथे । ब्रिटिशहरूले राम्रा, सफल मान्छे ‘हायर’ गरेको वीरशमशेरको पालादेखि हो ।

जंगबहादुरपछि २००७ सालसम्मको बसाइँसराइको अवस्था कस्तो थियो ?

आन्तरिक बसाइँसराइको मामलामा राणाहरूले गरेको एकदुइटा सुधारमध्ये मालअड्डाहरूको स्थापना हो । त्यो चन्द्रशमशेरको पालामा भयो । र अर्को मुलुकी ऐनको पहिलो संशोधनले जमिनको स्वामित्वमा सुरक्षा प्रदान गर्‍यो ।

चन्द्रशमशेरको पालामा १९७९ सालबाट जिल्ला जिल्लामा मालअड्डाको पहुँच पुगेको हो । त्यसपछि जिल्लामै ‘रजिस्टर’ गर्न पाउने भए । यी विषयले जग्गामाथिको अधिकार स्थापित हुन थाल्यो । जंगबहादुरले सुरु गरेको मुलुकी ऐनपछि एक किसिमको कानुनी व्यवस्था सुरु भयो । त्यसले मान्छेलाई यो देशमा बस्न आकर्षित गरेको थियो । तर, पहिलो र दोस्रो विश्वयुद्धले यो बिथोल्यो ।

दुईवटा विश्वयुद्धका बेला ठूलो संख्यामा नेपाली बाहिर गए भन्ने छ, त्यो बेला तपाईंको अध्ययन अनुसार कति नेपाली युद्धमा सामेल भए, कति मारिए, कति बाहिरिए ?

चन्द्रशमशेरको पालामा पहिलो विश्वयुद्ध भयो । पहिलो विश्वयुद्धमा एक लाख र दोस्रो विश्वयुद्धमा २ लाख मान्छे उनीहरूले ‘हायर’ गरे । पहिलो विश्वयुद्धपछि २५ करोड रुपैयाँ नेपालमा आयोः मर्मत र पेन्सन बापत । जसले गर्दा पहिलो विश्वयुद्धपछि जापानी सामान पर्याप्त आयात भयो ।
दोस्रो विश्वयुद्धपछि केही ‘रिवार्ड’ पनि पायौं ।

त्यसलाई औद्योगिकीकरणमा लगाउने कि हाइड्रोमा लगाउने कि ! औद्योगिकीकरण पनि त्यही समयमा भएको छ । विराटनगरमा जुन औद्योगिक विकास भयो, त्यो दोस्रो विश्वयुद्धपछि हो ।

तर, यी दुई विश्वयुद्धको प्रमुख असर जनसांख्यिक बनोटमा पर्‍यो । २००८ सालमा हाम्रो जनसंख्या ७७ लाख थियो । राणाशासन सुरु हुँदा ५२ लाख भनेका थियौं । समग्रमा ६० लाख हाराहारीमा नेपालको जनसंख्या थियो ।

त्यतिबेला नेपालीको ‘मिडियन एज’ (यस्तो उमेर जसले जनसंख्यालाई आधा आधामा विभाजन गर्छ) १५ वर्ष थियो, यसको अर्थ आधा संख्या बालबच्चाको थियो । सन् २०३० मा ‘मिडियन एज’ बल्ल २७ वर्ष पुग्ने भनेका छौं । जबकि त्यो बेला त आधाभन्दा कम मान्छे १५ वर्षभन्दा कम उमेरका थिए । ती लडाइँका लागि योग्य भएनन् ।

लडाइँ अर्थात् ‘मार्सल रेस’ का लागि योग्य भनेको क्षेत्री, मगर, राई, लिम्बूबाट युवाहरू हुन्थे । त्यस्ता युवालाई गाउँ खाली बनाएर लगे । त्यसपछि १६ देखि ३०/३५ वर्षसम्मका मान्छे कति बाँकी रहे होलान् ? त्यतिबेला निश्चित समुदायमा बाबुआमा दुवैको छत्रछायाँमा हुर्किन पाउने ‘जेनेरेसन’ नै भएन । त्यसले बच्चाको हुर्काइ, शैक्षिक अवसरमा असर पार्‍यो ।

शिक्षा तथा उद्यमशीलतामा पछाडि पर्नुमा त्यो बेला युवाहरू खाली बनाउनु पनि एउटा कारण रहेछ ?

बाहुन, क्षेत्रीहरू त्यो बेला ‘इस्टर्न इन्डिया’ तिर बढी गए । अरूहरू लडाइँमा गए । जंगबहादुरपछि सकेसम्म युद्धलाई टार्न खुब बल गरेको देखिन्छ ।

अरूसँग त युद्ध हुने कुरा थिएन, तिब्बतसँग युद्ध रोक्न खुब बल गरेको देखिन्छ । चन्द्रशमशेरको अन्तिम कालमा पनि तिब्बतसँगको युद्ध टारियो । युद्ध नभएपछि युवाहरू देशमा रहन थाले ।

२००७ सालमा प्रजातन्त्र आएपछि २०३६ सालसम्मको नेपालको बसाइँसराइको प्रवृत्ति कस्तो हो ?

२००८ सालको जनगणना अनुसार हाम्रो देशमा १० हजारभन्दा बढी जनसंख्या भएका जम्मा पाँचवटा शहरहरू मात्रै थिए । त्यसो हुँदा त्यसबेला हाम्रोमा धेरै जनसांख्यिक केन्द्रहरू थिएनन् । तर, मानिसहरू पहाडबाट तराईतिर सर्ने क्रम शुरु भइसकेको थियो ।

ताप्लेजुङ, पाँचथर लगायत जिल्लाबाट झापा, मोरङ आउने, सिन्धुली रामेछाप लगायतबाट जनकपुरमा आउने, प्युठानबाट दाङ, गुल्मी, पाल्पा, अर्घाखाँचीतिरबाट बुटवल, भैरहवा, बैतडी डडेलधुरा लगायतबाट कैलाली कञ्चनपुर झरेर आउने क्रम शुरु भएको थियो । तर, त्यो सुस्त थियो ।

त्यसबेला नेपालीको ठूलो आवतजावत चाहिं भारततिर भयो । २०२४ सालमा नेपालमा गाउँ फर्क अभियान शुरु भयो । त्यो मलाई जोक जस्तो लाग्छ । किनभने त्यसबेला शहर नै कति थिए, शहरमा मानिस नै कति थिए र गाउँ फर्क अभियान चलाउनुपर्‍यो ?

माओबाट प्रभावित कमलराज रेग्मीलाई पञ्चायतमा ल्याइएको थियो । माओले गाउँमा मान्छे पठाएको भएर गाउँफर्क अभियान शुरु गरियो ।

वास्तवमा पञ्चायतमा नीतिनिर्माणमा बस्ने पनि बच्चा जस्ता थिए । गाउँफर्क शुरु भएको केही समयपछि मात्रै बल्ल काठमाडौंबाट पोखरा जोड्ने सडक बनेको हो । त्यही भएर २०३६ सालमा राविसे अन्त्य गर्दा विद्यार्थीहरू खुब खुसी भएका थिए ।

२००७ सालदेखि ०३६ सालसम्मको मूल प्रवृत्ति भनेको नेपालबाट भारततर्फ जाने नै हो । पूर्वमा पनि आसामतिर मानिसहरू पुगे ।

आसाम, बर्मा, थाइल्याण्डसम्मै नेपाली पुगेका छन् । ती देशमा चाहिं उनीहरू कहिले पुगे ?

जंगबहादुरको पालामा नै धेरै नेपाली ती देश पुगेका हुन् । सबैभन्दा धेरै नेपाली त्यहीबेला गएका हुन् । बर्मालाई ब्रिटेनले कब्जा गरेपछि नेपाली त्यहाँ जान थालेका थिए, तर त्यस क्षेत्रमा रेल लाइन बन्न र चिया बगानहरू खुल्न थालेपछि नेपालीहरू ठूलो मात्रामा त्यता जान थाले ।

दार्जीलिङमा चियामा काम गर्न थालेपछि त्यस क्षेत्रमा सबैभन्दा अनुभवी नेपाली नै हो । चियाको विस्तार पूर्वतर्फ विस्तार हुँदै जाँदा अनुभवी कामदारका रूपमा नेपालीहरू पनि विस्तारित हुँदै आए ।

सिक्किम र भुटान पनि नेपालीभाषी मुलुक थिए । त्यहाँ चाहिं नेपालीहरू कहिलेदेखि जान थालेको देखिन्छ ?

सिक्किम र भुटानसँगको नेपालको सम्बन्ध चाहिं निकै पुरानो र सौहार्दपूर्ण देखिन्छ । गोरखा राज्य हुँदा नै त्यस क्षेत्रमा बिर्ता दिएरै भुटानका गुम्बाहरू त्यहाँ राखिएको पाइन्छ । भुटानको ‘टाइगर नेस्ट’ मन्दिरमा नेवारी कलाकृति देखिन्छ । भुटानका राजालाई सम्मानका साथ धर्मराजा भन्ने चलन थियो ।

सिक्किम त नेपालसँगै जोडिएको कारणले भिन्न किसिमको सम्बन्ध भयो । काम तथा नेपालको पहाडी क्षेत्रमा खेती गर्ने तथा पशुपालन गर्ने जमिन सीमित हुँदै जाँदा नेपालीहरू भारतको दार्जीलिङ, आसाम, बर्मालगायत मुलुकमा पुगेको देखिन्छ ।

हामीले बसाइँसराइको कुरा गर्दा पहाडेहरूको कुरा धेरै गर्छौं । तर, तराईका अन्य जातजातिको बसाइँसराइको चर्चा त्यति धेरै हुँदैन । त्यहाँका मानिसहरूको बसाइँसराइको प्रवृत्तिबारे बताइदिनु न !

तराईको जंगल फाँडेर काठ निर्यात गर्ने तथा बस्ती बसाउने क्रममा नेपालले बिहारतिरका साहुहरू ल्याउने गरेको थियो । छपकैया फडानी गर्दा त्यसै गरिएको थियो । यहाँ बिर्सन नहुने कुरा के हो भने बिहार पहिलेदेखि नै हामीभन्दा धनी हो ।

पटनामा कोठीहरू पृथ्वीनारायण शाह आउनुभन्दा अघिदेखि नै थिए । त्यस हिसाबले पटना पहिल्यै ‘कस्मोपोलिटन’ हो । अफिम बेच्नुपर्‍यो भने नेपालबाट पटना लगेर त्यहाँबाट कोलकाता हुँदै चीन पुर्‍याइन्थ्यो ।

पहाड र भारतका बस्तीहरूको बीचमा नेपालको निकै घना जंगल थियो । टीकापुरबाट जनकपुर एउटा बाँदर जानुपर्‍यो भने भुइँ नछोई जान सक्छ भनेर ‘जोक’ गर्ने चलन थियो । त्यो घना जंगलमा जनावरहरू पनि मर्ने भएकाले त्यहाँ विषालु हावा फैलिएको हुन्थ्यो, बेमौसममा त्यो जंगल पार गर्न खोज्ने बीचमै मर्नसक्ने अवस्था थियो ।

जंगल फडानी गरेर बेच्न थालेपछि नेपालले भारतका साहुजीहरूलाई पनि लिएर आयो, किनभने उनीहरूको पूँजी र श्रमिक दुवै हामीलाई चाहिएको थियो । बजार पनि भारतले दिइरहेको थियो । सन् १८५० तिर उनीहरूले रेलवे विस्तार गरिरहेका थिए । नेपालको सालको काठ बलियो हुने हुँदा उनीहरूले त्यो किनेर रेलवे बनाए ।

त्यसअघि बहादुर शाहका पालामा पनि उनीहरूले पानीजहाज बनाउन सालको काठ किन्ने प्रस्ताव गरेका थिए । राणाकालमा त्यसरी काठको व्यापारमा भारतका साहुहरू ल्याइयो, जसले आवादी गरे । राणाकालको अन्त्यसम्म पनि तराईमा धेरै ‘सःमिल’हरू थिए ।

२०३६ साललाई बसाइँसराइको दृष्टिले एउटा कुइनेटोका रूपमा तपाईंले चित्रित गर्नुभएको छ । त्यसको कारण के हो ?

२०३६ सालमा एउटा यस्तो घटना भयो, जसलाई धेरैले नोटिस गरेका छैनन् । एउटा– कोरियाली कम्पनी ‘सम्भु कन्स्ट्रक्सन’ भन्नेले एकैपटक १०० जना मान्छे विदेश लगेको थियो । साउदी अरेबियामा रोजगारीका लागि मानिसहरू पठाउन थालिएको थियो ।

त्यसबेलादेखि नै अरबी मुलुकमा कामदारको माग थियो । श्रीधर शमशेर, पूर्वआईजीपी रोमबहादुर थापा लगायतले २०३६–३७ सालतिर म्यानपावर एजेन्सीको काम गरिरहेका थिए । त्यहाँ उनीहरूले मान्छे पठाउन खोजेका थिए । तर, उनीहरूले त्यो गर्न सकेनन् ।

किनभने त्यसबेला पासपोर्ट खुला थिएन, मानिसहरूले सजिलै पासपोर्ट पाउँदैनथे । त्यसबेलाका म्यानपावर एजेन्सीको लक्ष्य नै महिनाको ५० जना लैजाने भन्ने हुन्थ्यो । एक जनासँग २ हजार रुपैयाँ कमिसन लिने भन्ने सूचना निस्कन्थ्यो । तर, पासपोर्टका कारण महिनाको ५० जना कामदार पनि उनीहरूले पठाउन सकेनन् ।

त्यसबेला पासपोर्ट खोलिदिएको भए पञ्चायत व्यवस्था त्यति छिटो नढल्न सक्थ्यो । पञ्चायतसँग नजिक भएका मानिसहरू धनी पनि हुन्थे । तर, त्यसो गरिएन । त्यसपछि नेपालमा आर्थिक संकट शुरु भयो ।

त्यसलाई सम्बोधन गर्न २०४२ सालमा ‘स्ट्रक्चरल एड्जस्टमेन्ट’ को कार्यक्रम शुरु गरिएको थियो । प्रजातन्त्र आइसकेपछि पासपोर्टलाई नागरिकको नैसर्गिक अधिकार बनाइयो । शुरुमा त्यसरी पासपोर्ट लिएका मानिसहरू भकाभक शरणार्थी भएर जर्मनी लगायत मुलुकमा पुगे ।

किनभने पहिला लाहुरेको जीवनशैलीसँग मानिसहरू खुब प्रभावित थिए । मरेर जाने लाहुरेको चर्चै हुँदैनथ्यो, जो बाँचेर आयो, उसले राम्रा कपडा लगाउँथ्यो, घडी लगाएर क्यासेट बोकेर आउँथ्यो । गाउँकी राम्री केटीसँग बिहे गथ्र्यो । त्यो देखेका मानिसहरू पासपोर्ट पाउनेबित्तिकै विदेशतिर हान्निए ।

पचासको दशकको अन्त्यसम्म आइसकेपछि नेपालले दुई पक्षीय श्रम सम्झौता गरेरै विदेशमा जनशक्ति पठाउन शुरु गर्‍यो । त्यसपछि नेपालीहरू खहरे बगे जसरी विदेश जान थाले ।

कतिपयले श्रमिकका रूपमा मानिसहरू विदेश गएकोलाई नराम्रो रूपमा लिने गरेका छन् । मानिसहरू नेपालमै बसेर काम गरेको राम्रो भन्छन् । यसलाई तपाईं के भन्नुहुन्छ ?

हामी को हौं र कोही व्यक्तिलाई तँ यहाँ जा, यहाँ नजा भन्ने ? बरु हामीले श्रम सम्झौता गर्न सकेको छ कि छैन, त्यसको पालना गरेको छ, शोषण गरेको छैन र सुरक्षा के छ भन्ने विषयमा ध्यान दिनुपर्छ । नेपालीहरू विदेशमा गएर काम गर्नु नराम्रो होइन । पछिल्लो समय यस किसिमको व्यवस्थामा सुधार हुँदै गएको देखिन्छ ।

अहिले हरेक वर्ष एक लाख बढी विद्यार्थी पढ्न विदेश गइरहेका छन् । २०५७ सालपछि नेपालमा आउने विदेशी मुद्रा व्यापक बढेको छ । त्यसबेला १ अर्ब डलर विदेशी मुद्रा हामीसँग थियो, अहिले १५ अर्ब डलर पुगेको छ ।

त्यसो हुँदा असल शासकले कसरी सोच्नुपर्थ्यो भने नेपालीहरू विदेश जान्छन्, जान्छन् । न हिजो कसैले रोक्न सकेको थियो, न भोलि सक्छ । राम्रो अवसरका लागि स्वीसहरू पनि अमेरिकामा काम गर्छन् । त्यसो हुँदा अवसरका लागि विदेशिनेलाई रोक्न सकिन्न ।

बरु उनीहरूलाई राम्रो सीप र शिक्षा दिएर पठाउनुपर्छ भनेर सोच्नुपर्थ्यो । र, रेमिट्यान्सबाट आएको पैसालाई स्वास्थ्य र शिक्षामा लगानी गर्नुपर्थ्यो । त्यसरी मुलुकले आम्दानी गरेको पैसालाई भत्ता बाँड्न खर्च गरेका छौं ।

नेपालीहरू कहाँकहाँ पुगेका छन् । उनीहरू कसरी बसेका छन् । र, बसाइँसराइका सन्दर्भमा नेपालको रणनीति के हुनुपर्छ ?

यसलाई दुई दिशामा बाँडेर रणनीतिबारे सोचौं । एउटा पूर्वतर्फको छुट्टै रणनीति हुनसक्छ । भारत, भुटान, बंगलादेश, बर्मा, मलेसिया, थाइल्यान्ड, सिंगापुर, अस्टे«लिया र न्युजिल्यान्ड ।

यी सबै देशमा नेपाल छन् । भुटानमा जहाँ गए पनि नेपाली बोल्न सक्नुहुन्छ, सिक्किममा पनि त्यही हो । त्यसभन्दा पूर्व आसाम, बर्मा लगायत मुलुकमा नेपाली बोलिरहन सक्नुहुन्छ ।

म केही समयअघि गुवाहिटी जाँदा त्यहाँ जंगबहादुरको पालामा पुगेका मानिसका सन्तान भेटें । हामीले जुन नेपाली बोलिरहेका छौं, जुद्ध शमशेरको पालाभन्दा अघि हाम्रा पुर्खाले यसरी बोल्दैनथे ।

हामीले त्यसबेला भाषाको मापदण्ड बनाएको हो । त्यहो हुँदा हामी स्ट्यान्डर्ड नेपाली बोल्छौं, बाहिरका नेपालीको बोली फरक छ । किनभने उनीहरू हामीसँग छुट्टिएको धेरै समय भयो र उनीहरूमा त्यहाँ स्थानीय प्रभाव पनि परेको छ ।

मैथली लगायत अन्य भाषाको कुरा पनि यही नै हो । यी सबैलाई सम्बोधन गर्ने गरेर नेपालले भाषाको स्कुल बनाउन ध्यान दिनुपर्छ । भारत, भुटानदेखि न्यूजिल्यान्डसम्म त्यसो गर्नु आवश्यक छ । त्यसरी नेपाली भाषा प्रसार गर्न सकिन्छ ।

त्यसले नेपालीहरूलाई ‘इन्ट्याक्ट’ राख्न मद्दत हुन्छ । यसका लागि पाठ्यपुस्तक पठाउन सकिन्छ । दोस्रो– कोलम्बो प्लानमा छात्रवृत्ति बढाएर नेपाली भाषामा वा नेपाल आएर पढ्न खोज्नेलाई छात्रवृत्ति दिऊँ । यसले नेपाली संगीत, चलचित्र, पत्रिका र साहित्यको बजार बढाउँदै लैजान्छ ।

ती देशमा नेपाली सिनेमाको २० लाख टिकट बेच्न सक्नुहुन्छ । अहिले एउटा फिल्मले राम्रो व्यापार गरेको छ भने २० लाख टिकट बेच्दा १ अर्ब आम्दानी हुन्छ । त्यसो हुँदा ती देशमा भएका नेपालीले भविष्यमा राजनीतिक, सामाजिक र व्यावसायिक अवसर सृजना गर्न सक्छन् । किनभने पूर्वतिर हाम्रो संस्कृति मिल्छ ।

अर्को ती देशमा बसिरहेका मानिसहरूलाई नेपालमा लगानी गर्न सजिलो बनाइदिउँ । ताकि उनीहरूको देशमा केही भयो भने नेपालमा आएर बस्न सकून् । हामीले ती देशमा गर्ने लगानी पनि बढाउनुपर्छ, दूतावासबाट हुने हाम्रा गतिविधि बढाउनुपर्छ ।

न्यूजिल्यान्डसँग हाम्रो सम्बन्ध राम्रो छ । अष्ट्रेलियाको जनसंख्या अढाइ तीन करोड छ । त्यहाँ ५ लाख नेपाली छन् । उनीहरूले राजनीतिक रूपमा महत्वपूर्ण प्रभाव पार्न सकिन्छ ।

चीनको क्वान्चाउबाट सिन्चाङ जान साढे ६ घण्टाको उडान छ । अमेरिकाको पूर्वी तटबाट पश्चिम तट पुग्न पनि करिब त्यति नै समय लाग्छ । ६ घण्टाको उडान भनेको एउटा देश जस्तै हो । त्यसो हुँदा पूर्वतिरका देशमा रहेका नेपालीहरू नेपालबाट धेरै टाढा छैनन् । ती देश गएर, व्यवसाय गरेर विश्वसमुदायसँग आत्मविश्वासका साथ ‘डिल’ गरेको नेपाली हुँदा त्यसले नेपाललाई लाभ हुन्छ ।

पश्चिमतिर चाहिं अलि जटिल संरचना पनि छ । त्यताका लागि मैले दोहोरो रणनीति सोचेको छु । नेपालीको ठूलो संख्या भएका साना देशका लागि छुट्टै रणनीति बनाउनुपर्छ । कतार, युएई, कुबेत, बेलायत लगायत यस्ता देश हुन् ।

उदाहरणका लागि कतारमा कतारीहरूको मात्रै जनसंख्या १० लाख छ । नेपालीहरूकै संख्या ५ लाख छ । यस्ता देशमा हाम्रा गतिविधि बढी नै हुनुपर्छ । त्यहाँ हाम्रो दूतावास कस्तो राख्छौं, त्यहाँका स्थानीयसँग हामी कसरी डिल गर्छाैं, त्यो महत्वपूर्ण हुन्छ ।

त्यहाँ एक–दुई जना नेपालीले कतारीलाई राम्रो प्रभाव पारे भने उनीहरूले नेपालमा गर्ने लगानी नै फरक पार्ने खालको हुन्छ । हामी त अहिले पहिल्यै हात उठाएर नेपालीहरू कतारीका समकक्षी हुनै सक्दैनन् भनेर बसेका छौं ।

तर, चार–पाँच लाख मानिस भएका ठाउँमा व्यवसाय पनि हुन्छ नि ! कुनै मुलुकमा एक लाख नेपाली भए भने त्यहाँ मम बेच्ने पनि धनी हुन्छ, मस्यौरा बेच्ने पनि धनी हुन्छ । त्यसरी अवसर लिन सक्नेको जीवनस्तर राम्रो भएको छ ।

बेलायत पनि त्यस्तै देश हो, जहाँको जनसंख्या सानो छ तर नेपालीको संख्या ठूलो छ । त्यस्ता देशमा नेपालीको हकहितका लागि त्यहाँको दूतावासले काम गर्नुपर्छ । नेपाल र नेपालीहरू बारे राम्रो सन्देश दिनुपर्छ । हामीले त्यहाँ रहेका नेपालीहरूलाई हाम्रो देशमा आकर्षित गर्ने खालका गतिविधि सञ्चालन गर्नुपर्छ ।

यस बाहेक ठूलो मुलुकमा रहेका नेपालीहरूसँग कसरी डिल गर्ने भन्नेमा पनि हामीले सोच्नुपर्छ । उदाहरणका लागि अमेरिका । अमेरिकामा विभिन्न मुलुकले विभिन्न रणनीतिले काम गरिरहेका छन् । इजरायलले हरेक वर्ष एक हजार यहुदीलाई हवाई टिकट निःशुल्क दिएर इजरायल बोलाउँछ ।

नेपालीहरू पनि ५ लाख जति छन् । उनीहरूका लागि सामुदायिक केन्द्र स्थापना गरिदिनुपर्छ । टर्किसहरूले यस्तो गर्छन् । नेपाली–नेपालीहरू बीच सांस्कृतिक आदानप्रदानको थलो यस्ता सामुदायिक केन्द्र बन्न सक्छन् ।

अमेरिकाको टेक्सासमा नेपालीहरूले पशुपतिनाथ र बौद्धनाथ मन्दिर एकै ठाउँमा भएको सामुदायिक केन्द्र बनाएका छन्, त्यो राम्रो अभ्यास हो । हाम्रो सरकारले पनि यस्ता काममा सघाउनुपर्छ ।

अमेरिकामा ‘ब्याटल ग्राउन्ट राज्य’, जहाँ कुन पार्टीले चुनाव जित्छ भन्ने टुंगो हुँदैन, त्यहाँ धेरै नेपाली भए भने उनीहरूले राजनीतिक रूपमा प्रभाव पार्न सक्छन् । यस्तो ठाउँमा भएका नेपालीलाई अझै सशक्त बनाउनुपर्छ ।

उनीहरूले अमेरिकी नीतिमा प्रभाव पार्न सक्ने अवस्था सृजना हुन्छ । भोलि नेपाललाई असर गर्ने साना–साना नीतिहरू परिवर्तन हुन खोज्यो भने नेपालका पक्षमा बनाउन सजिलो हुन्छ । अमेरिका ठूलो देश हो, ५ प्रतिशत मात्रै प्रभाव पार्न सकियो भने पनि त्यो ठूलो कुरा हो ।

भोलि देश फर्केर लगानी गर्ने भनेका त्यस्तै प्रभावशाली नेपालीहरू हुन् । विगतमा चीन र भारतमा पनि त्यस्तै भएको थियो । अहिल्यै पनि धेरै ठूलो लगानी गर्न नसके पनि ठिक्कको लगानी गर्न सक्ने अवस्थामा छन् । भोलिका दिनमा त्यो अझै बढ्दै जान्छ ।

ती देशमा राज्यले नेपालीहरूलाई वास्ता गरेन भने उनीहरूले पनि बेवास्ता गर्न थाल्छन् । उनीहरूबाट आउने लाभ गुम्छ, उनीहरूको भाषा बिग्रन्छ, संस्कृति बिर्सन्छन् । त्यसो हुँदा उनीहरूलाई समृद्धिको एउटा स्रोत मानेर सम्पर्क गर्ने, हामी प्रगति गर्दै जाने र उनीहरूलाई सँगसँगै लिएर हिंड्ने रणनीति अवलम्बन गर्नुपर्छ ।

जापान र कोरियाका लागि लागि छुट्टै रणनीति चाहिन्छ । त्यहाँ करिब २ लाख नेपाली होलान् तर जापानले जति बसे पनि नागरिकता दिंदैन । ‘पीआर’ मात्रे दिने हो । कोरियाको पनि त्यही हो । त्यहाँका नेपाली कुनै न कुनै दिने नेपाल आउने हुन् । त्यसो हुँदा उनीहरूलाई नेपालका राजनीतिक पार्टीले पनि ठाउँ दिइरहनुपर्छ ।

आन्तरिक बसाइँसराइको प्रवृत्तिलाई चाहिं तपाईं कसरी हेर्नुहुन्छ ?

२०७८ को जनगणनाले भक्तपुर, चितवन र रूपन्देहीमा सबैभन्दा धेरै जनसंख्या बढेको देखाएको छ । तराईमा पहाडबाट मानिसहरू जाने प्रवृत्ति धेरै पुराना हो । महेशचन्द्र रेग्मीले लेख्नुभएको छ, ‘हाम्रा पुर्खाले गरेको सबैभन्दा ठूलो गल्ती भनेकै पानी कम भएको र वर्षमा एक बाली मात्रै लाग्ने पहाडमा बसे ।’

रेग्मी लेख्छन्, ‘पानी धेरै भएको दुई–तीन बाली लाग्ने जग्गामा उनीहरूले वन लगाए । हुनुपर्ने चाहिं तराईमा बस्ने, पहाडमा वन लगाउने थियो । तर, विभिन्न रोगको डर इत्यादिले त्यसो गरेनन् । त्यसो हुँदा नेपालीहरू लामो समयसम्म एक छाक मात्रै खाएर बाँच्नुपर्‍यो ।’

तराईमा बस्ती र जनसंख्या बढ्नु राम्रो हो । पहाडमा दुई–तीन वटा जनसांख्यिक केन्द्रहरू काठमाडौं, पोखरा, सुर्खेत लगायतसँग राम्रो सम्पर्क स्थापित गरौं । बाँकी जनता आफैंले तय गर्छन् । उनीहरूलाई जहाँ सजिलो हुन्छ त्यहीं गएर बस्छन् ।

जबर्जस्ती पहाडमा राख्ने कुरा हुँदैन । कुनै दिन यस्तो दिन आउला, जुन बेला तराईमा बसेको मानिस बराबर पहाडमा बस्नेले पनि कमाउला । त्यसबेला सन्तुलन कायम हुन्छ । कुन ठाउँमा बस्ने भनेको मानिसहरूको स्वनिर्णय हो ।

अहिले जुनसुकै युवा विदेश जान चाहन्छ । त्यसो हुँदा नेपालमा ज्याला बढेको छ, माग कम छ । यस्तो अवस्थालाई कसरी सम्बोधन गर्ने ?

अहिले हामी हाम्रो जनशक्तिका लागि ब्रुनाईका राजा, दुबईका शेख लगायतसँग प्रतिस्पर्धा गरिरहेका छौं । तपाईं काठमाडौंबाट चितवन जाँदा पनि पाँच घण्टा लाग्छ, उडेर दुबई जान पनि त्यति नै । त्यो दूरीमा गएर एउटा नेपालीले काम गर्छु भन्दा के आपत्ति भयो ?

पहिला हली राख्न पाइन्थ्यो, कमारा–कमारी राख्न पाइन्थ्यो । अब पनि त्यही कुरा हुनुपर्छ भनेर त चल्दैन नि ! त्यो दृष्टिले भने नेपालको लेबर महँगो भएको छ, किनभने यो एउटा वस्तुको रूपमा रहेको छ । यो नयाँ यथार्थ हो ।

कुनै पनि नेपालीलाई नेपालमै बसेर काम गर, म पासपोर्ट दिन्नँ, बाहिर जान पाउन्नस् भन्न सक्नुहुन्छ । तपाईंले उचित मूल्य नदिएसम्म, सम्मान नदिएसम्म उसले ‘म यहाँ बस्दिनँ’ भन्न सक्छ । यसमा चित्त दुखाउनुपर्ने केही छैन । तपाईं स्वयम्लाई भोलि अर्को देशमा १५ हजार डलर महिनाको तलबको अवसर आयो भने तपाईं जान सक्नुहुन्छ, यहाँ तपाईंको प्रतिस्थापन खोज्ने हो ।

जापानमा गाउँका गाउँ खाली भयो भन्ने सुन्नमा आउँछ । नेपालमा पनि गाउँका गाउँ खाली हुने स्थिति पनि आउन सक्छ । यो देशमा गाउँ पहिला पनि खाली भएकै हो । आर्थिक अवसरले मानिसहरूलाई तान्छ । हामीले आर्थिक अवसर सृजना गर्न नसकेको हो ।

यो काम हामी इन्टेलेक्चुअलले पनि गर्न नसकेको हो । नेपालमा नयाँ एअरपोर्ट बनाउँछु भन्दा पनि विरोध नै हुन्छ । कसैले नयाँ लगानी ल्यायो भने पनि विरोध नै हुन्छ । त्यो विरोधलाई छिचोलेर राज्य अघि बढेको पनि छैन ।

यहाँ एनरोन आउँदा पनि विरोध हुन्छ, अडानी आउँदा पनि विरोध नै हुन्छ । एलन मस्क र जुकरबर्ग आएर लगानी गर्न खोजे भने पनि विरोध नै हुनेवाला छ । लगानी आए रोजगारी सृजना हुन्छ, त्यसलाई सहयोग गर्नुपर्छ भन्ने मानसिकता छैन । अनि युवा राख्नुपर्छ–राख्नुपर्छ मात्रै भनेर के हुन्छ ? के यहाँ आन्दोलन गर्न राख्ने ? ढुंगा हान्न राख्ने ? त्यो त होइन नि त !

ठूला परियोजना बने, जलस्रोत, यातायातमा लगानी गर्नुपर्छ । आर्थिक नीति उदार बनाउनुपर्छ । त्यसले रोजगारी सृजना गर्ला । त्यस्तो अवसर नभइकन कोही व्यक्तिले म बाहिर जान्छु आफ्नो परिवार खुसी बनाउँछु भन्यो भने त्यसलाई रोक्न सकिंदैन । रोक्न पनि हुँदैन । त्यो उसको अधिकार हो ।

देशभित्रै चित्तबुझ्दो रोजगारी नपाएकाले मानिसहरू विदेशिन बाध्य छन् । यो विषयलाई चाहिं कसरी सम्बोधन गर्ने ?

जनता र परिवारलाई बीचमा राखेर कुरा गर्नुपर्छ । हामीले चाहेको महिनाको ४–५ हजार डलर कमाएर मानिसहरू यही देशमा बसून् र परिवारसँगै रहन पाऊन् भन्ने हो । यो आदर्श अवस्था हो । अलिकति कम तलब भए पनि दिगो रोजगारी सृजना गर्न सकियो भने मानिसहरू यहाँ बस्छन् ।

तर, त्यसका लागि धेरै सम्झौता गर्नुपर्छ, रोजगारी त्यसै आउँदैन, उद्योगहरू त्यसै रातारात खुल्दैनन् । त्यसका लागि केही सम्झौता गर्नुपर्छ । विदेशी लगानीकर्ताले राखेको शर्तहरूमा हामी खुला हुनुपर्छ । हाम्रो विकल्प नै त्यही हो । हिजो चीनले अपमान सहेर भए पनि विदेशी लगानीकर्तालाई धेरै सुविधा दिएर बोलायो ।

संसार धेरै अघि बढ्को छ । हामी चाहिं पुरानै मानसिकता राख्छौं । विदेशीहरूप्रति अति नै संकीर्ण भावना राख्छौं । अनि रोजगारी र लगानी कहाँबाट आउँछ भन्ने सोच्दैनौं ।

नेपाली विदेशमा गएको पनि चित्त नबुझाउने, विदेशीले यहाँ आएर लगानी गरेको पनि नरुचाउने भएपछि कसरी हुन्छ ? अहिले जे भइरहेको छ, यो अवस्थामा हुनसक्ने यही नै हो । तर, हामीले यसबाट डिपार्चर लिन जरूरी छ । त्यसो भयो भने मात्रै बाध्यताले विदेश जाने क्रम कम होला ।

राजीखुसीले बाहिर जाने कुरा कहिल्यै रोकिन्न । तर, थोरै तलबका लागि परिवार छोडेर जानुपर्ने अवस्था भने अवश्य अन्त्य होला । म आशावादी छु ।

दशैं-बसैं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?